सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माण गर्ने स्वेता खड्काको घोषणा
काठमाडौं : नायिका स्वेता खड्काले सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माण गर्ने औपचारिक घोषणा गरेकी छिन् । स्वेता श्री फाउण्डेशनको तर्फबाट स्वेताले मंगलबार ‘कान्छी म्युजिकल नाइट’ कार्यक्रममा बस्ती निर्माणको घोषणा गरेकी हुन् ।
‘शुभकार्य श्रीगणेशको नामबाट गरिन्छ, श्रीकृष्ण श्रेष्ठको नाममा समर्पित गर्दछु’, ‘सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदी किनारका ५६ घर माझीका लागि एकीकृत बस्ती बनाउने घोषणा गर्दछु ।’
स्वेताले सुन्दर, शान्त र विकसित बस्ती निर्माणका लागि देश विदेशमा रहेका नेपालीबाट सहयोगको अपेक्षा गरेको बताइन् । ‘पहिलो काम रकम संकलन हो । सुन्दर, शान्त र विकसित बस्ती निर्माणका लागि देश विदेशमा रहेका नेपालीको योगदान रहन्छ भन्ने विश्वास छ’, उनले भनिन्।
नायिका खड्काले सबैले गौरव गर्न लायक बस्ती बनाउने बताइन् । एक वर्षअघि माझी बस्तीमा पुग्दा त्यहाँको पीडा देखेर आफूले त्यही बस्ती निर्माण गर्ने सोच बनाउनेको स्वेताले प्रष्ट पारिन् ।
‘पैसा भएर निर्माणको घोषणा गरेकी होइन् । सामाजिक कामका लागि धन मात्र भएर हुँदैन मन र तन हुनुपर्छ’, नायिका खड्काले भनिन्, ‘आँट र साहस भए हिमाल पनि फुटाउन सकिन्छ ।’
बस्तीमा निर्माण हुने सबै घर उस्तै र एउटै रङका हुनेछन् । एकीकृत बस्तीलाई खुला होमस्टेको रुपमा विस्तार गर्ने उनको भनाइ छ । ‘बस्ती स्वेताको होइन, तपाईं हामी सबैको हो । काम गर्दा आइपर्ने समस्यासँग डठराउदिन किनकी म एक्लै छैन’, उनले भनिन्, ‘हामी घर होइन, बस्ती हस्तान्तरण गर्दै छौँ । हामी बस्ती माझीलाई होइन, स्थानीय सरकारलाई हस्तान्तरण गर्दै छौँ ।’
स्वेताश्री फाउण्डेसनको सल्लाहकारमा वसन्त श्रेष्ठ, प्रेम खत्री, आकाश अधिकारी, शेरबहादुर केसी, नरेस भट्टराईलगायत रहेका छन्।