फुटबलको विकल्प बन्दै फुटसल
गुल्मी, गैंडाकोटका थम्मन भुसाल (२९) लाई सानैदेखि फुटबल खेल्ने रहर थियो तर स्कुलमा भलिबलको विकल्प थिएन। कारण पहाडमा फुटबलको चार्म थिएन, न त फराकिलो फुटबल खेल मैदान नै।
थम्मन प्रवेशिका सकेर जब काठमाडौं टेके, त्यसपछि उनको फुटबल खेल्ने इच्छा पूरा भयो। बानेश्वर, कमर्स क्याम्पसमा पढाइसँगै उनले फुटबल खेल्न थाले। कलेजस्तरीय प्रतियोगितामा राम्रो खेल्दै गएका उनी विस्तारै ‘बी’ डिभिजन क्लब च्यासल, युनाइटेड युथजस्ता क्लबबाट खेल्न थाले। मिडफिल्डमा पोख्त बन्दै गएका थम्मन केही समयमै ‘ए’ डिभिजनका चर्चित खेलाडी बने।
थम्मन काठमाडौं आउँदा फुटबलको क्रेज राम्रो थियो। सहिद स्मारक ‘ए’ डिभिजन लिग व्यवस्थित रूपमा सञ्चालन भइरहेको थियो। खेलाडीको कमाइ पनि माथि थियो। उनले मच्छिन्द्र र फ्रेन्ड्सबाट ‘ए’ डिभिजन लिग खेले। खेल जीवनसँगै उनी ठमेलस्थित जीएए हलमा सञ्चालित फुटबल एकेडेमी पनि हेर्थे। लिगमा राम्रो खेल्दै राष्ट्रिय टोलीमा पर्ने सपना बुनेका थम्मनको उक्त सपना भने पूरा भएको छैन। ‘म मिडफिल्डमा राम्रो खेलाडी हुँ। नियमित लिग नहुँदा खेलमा निखार ल्याउन सकिनँ’, थम्मनले भने।
उनले फुटबल लिग बन्द हुनासाथ नयाँ विकल्प रोजे। उनी आफूले जानैकै विषयलाई व्यावसायिक बनाउन चाहन्थे। जीएएको सानो मैदानमा फुटबल सिक्ने र सिकाउने बानी परेका थम्मनलाई काठमाडौंमा सुरु भएको फुटसलले तान्यो। विस्तारै फुटसल खेलाडी बने, उनी। फुटसलले यति तान्यो कि उनले आफैं काठमाडौंमा तीनवटा फुटसल कोर्ट सञ्चालन गरे।
व्यवस्थापनमा स्नातकोत्तर पढिरहेका थम्मन फुटसलका राम्रा प्राविधिक र प्रशिक्षक पनि हुन्। एन्फाले केही महिनाअघि सञ्चालन गरेको एएफसी फुटसल कोचिङ कोर्स ‘ए’ लेभल पूरा गरेका थम्मन फुटसल कोर्ट निर्माणका लागि परामर्शको काम पनि गर्छन्। उनले काठमाडौंमा दर्जनभन्दा बढी फुटसल कोर्ट निर्माणका लागि सहयोग पनि गरे। उनी उपत्यकाबाहिर चितवन, हेटौंडा, झापा र धनगढीमा पनि फुटबल कोर्ट निर्माण गरिरहेका छन्।
चार वर्षदेखि घरेलु लिग फुटबल रोकिँदा फुटबल खेलाडीको रोजाइ फुटसल बनेको छ। चर्चित फुटबलरसँगै हजारौं नेपाली युवा अहिले फुटसल खेलको मजा लिनुका साथै यसैमा भविष्य खोजिरहेका छन्।
उनले चीनमा गत वर्ष सम्पन्न भएको फुटसल फेस्टिवलमा नेपाली टोलीको नेतृत्व गरे। उनी अहिले फुटसल भिलेजबाट लिग र प्रतियोगिता खेल्छन््। फुटबलको राष्ट्रिय टोलीमा नपरे पनि उनी फुटसलको टोलीबाट राष्ट्रिय टोलीमा पर्ने जमर्को गर्दैछन्।
फुटबलजस्तै फुटसललाई पनि कमर्सियल बनाउन सकिने थम्मनको सोच छ। ‘काठमाडौं उपत्यकामा मात्र एक सयको हाराहारीका फुटसल कोर्ट छन्। युवा खेलाडीको आकर्षण फुटसलमा बढ्दो छ। सहरमा खाली ठाउँ छैन। सानो कोर्ट र थोरै खेलाडीले खेल्न सकिने भएकोले यसको क्रेज बढेको हो’, थम्मन भन्छन्।
सुरुमा फुटसललाई फन गेमका रूपमा लिइएको थियो। फुटसल बिग्रिएका युवा जम्मा हुने र होहल्ला गर्ने ठाउँ भनेर गलत म्यासेज गएको थियो। एकताका पुलिस, प्रशासनले फुटसललाई रोक लगाउने निर्णय पनि गर्यो। ‘तर, सरकारले विस्तारै फुटसल पनि खेल हो भन्ने बुझेको छ। अहिले पुलिसले दुःख दिन छाडेको छ’, थम्मनले भने।
फुटसल अहिले हरेक क्षेत्रका मानिसको रोजाइमा परेको छ। तर पनि नेपालका अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कोर्ट बनिसकेको छैन। थम्मनका अनुसार नेपालमा अहिले स्वयम्भू फुटसल मात्र अन्तर्राष्ट्रिय मापदण्डको छ।
नेपालमा फुटसल अर्धव्यावसायिक भएको छ। निजी क्षेत्रको प्रयासमा गत वर्ष रेडबुल फुटसल लिग सम्पन्न भयो। हाल एन्फाले फुटसलको लिग गरेर राष्ट्रिय टोलीसमेत बनाएको छ। ‘यो फुटसल खेलमा भविष्य खोजिरहेका युवाका लागि खुसीको कुरा हो तर नियमनकारी निकायले अझै चासो दिएको छैन’, थम्मन भन्छन्।
थम्मनजस्तै बौद्धका सांगे लामा पनि सुरुमा फुटबलकै खेलाडी हुन्। ‘बी’ डिभिजनसम्म खेल्ने मौका पाएका लामा विस्तारै फुटबलबाट टाढिए। ‘‘बी’ डिभिजनको प्रतियोगिता नेपालमा खासै नहँदा नरमाइलो लाग्यो। तर, फुटबलको लत मेट्न मैले फुटसल रोजेँ’, लामा भन्छन्।
दुई वर्ष पहिलेदेखि फुटसल खेल्न थालेका उनी अहिले दैनिकजसो कोर्ट पुग्छन्। ‘कलेजका साथीसँग छुट्टाछुट्टै समूह मिलाएर फुटसल खेल्दाको मजा बेग्लै हुन्छ। बौद्धमा फुटसल कोर्ट बनेपछि झनै रमाइलो भएको छ’, लामा भन्छन्। उनी विस्तारै फुटसलको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने योजना बनाउँदैछन्।
कुपण्डोलका रमेश डंगोलको दैनिकी पनि हिजोआज फुटसलले बदलिदिएको छ। उनी पनि पहिला फुटबलका खेलाडी हुन्। कलेजस्तरको प्रतियोगितामा सहभागिता जनाउँदै आएका रमेशले अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने लिगमा कुनै दिन भाग लिने सपना पालेका थिए। तर, नेपालमा लिग रोकिएपछि उनको इच्छा विस्तारै मर्यो। फुटबलको मोहलाई उनी अहिले फुटसलबाट मेटिरहेका छन्।
तीन वर्ष भयो, उनले फुटसल खेल्न थालेको। फुटसल कोर्टमा पुगेपछि दिनभर ऊर्जा मिल्ने, कोर्टमा प्रतिस्पर्धासँगै नयाँ साथी बनाउँदा झनै खुसी लाग्ने बताउँछन् उनी। ‘नेपालमा लिग फुटबल नियमित नभएकाले फुटसलले धेरै फुटबल खेलाडीलाई राहत दिएको छ। फुटसलका पनि ठूला प्रतियोगिता हुन थालेका छन्। यसमा पनि राम्रो खेलेर देशलाई चिनाउने मौका छ’, रमेश भन्छन्।
थम्मन, सांगे र रमेश फुटसलका प्रतिनिधि पात्र मात्र हुन्। चार वर्षदेखि घरेलु लिग फुटबल रोकिँदा फुटबल खेलाडीको रोजाइ फुटसल बनेको छ। चर्चित फुटबलरसँगै हजारौं नेपाली युवा अहिले फुटसल खेलको मजा लिनुका साथै यसैमा भविष्य खोजिरहेका छन्। फुटबल खेलिरहेका मात्र होइन, स्वस्थ र फिट रहन फुटसल कोर्ट धाउनेको जमात अहिले सहरमा ठूलो छ।
फुटबल र फुटसलबीच भिन्नता
फुटसल र फुटबल एकै प्रकृतिका खेल भए पनि यसको नियम र खेल्न तरिका फरक छन्। फुटबलमा ११ खेलाडी उत्रन्छन्। फुटसलमा ५ खेलाडी भिड्छन्। फुटबल खेलिने मैदान १०५ गुणा ६८ मिटरको हुन्छ भने फुटसल मैदान ४० गुणा २० मिटरको हुन्छ। फुटबल खुला घाँसे मैदानमा खेलिन्छ। फुटसल कडा सतहमा खेलिने इन्डोर गेम हो। फुटबल खेल ४५-४५ मिनेटको दुई हाफमा विभाजन गरी ९० मिनेट खेलाइन्छ। फुटसल २०-२० मिनेट गरी दुई हाफमा ४० मिनेट खेलिन्छ। फुटसल बल कम उफ्रन्छ र आकार पनि सानो हुन्छ। फुटबलको प्रत्येक खेलमा सामान्यतया तीन खेलाडी मात्र परिवर्तन गर्न पाइन्छ तर फुटसलमा खेलाडी परिवर्तन गर्न छेकबार छैन।
फुटबलमा मैदानबाहिर बल जाँदा हातले बल थ्रो गरिन्छ भने फुटसलमा खुट्टाले किक हानिन्छ। फुटबलमा खेलाडीले रातो कार्ड पाएमा उक्त खेलाडीको स्थानमा अर्को खेलाडी ल्याउन पाइन्न। तर, फुटसलमा रातो कार्ड पाएको २ मिनेटपछि अर्को खेलाडी ल्याउन पाइन्छ। दुई मिनेट नबित्दै कम खेलाडी भएको टोलीले गोल खाएमा नयाँ खेलाडी आउन सक्छ। टाइम र स्पेस कम हुने भएकाले फुटसल खेलाडी टेक्निकल रूपमा चनाखो र फिट हुनुपर्छ।