लुम्बिनीमा भेटिएका ‘आतंककारी’
दसदिने विपश्यना शिविरको नवौं दिन जब मौन खुल्यो र साधकहरू आपसमा कुरा गर्न थाले, त्यति बेला महसुस भयो कि एउटा सिंगै विश्व एकसाथ ध्यानमा बसेको रहेछ।
सदियौं पुरानो, पूर्वीय सभ्यताबाट लगभग विलुप्त भएको र करिब २५ सय वर्षअघि गौतम बुद्धले पुनः पत्ता लगाएको यो साधना सिक्न विश्वका लगभग सबै कुनाबाट साधकहरू भेला भएका रहेछन्। आफ्ना आफ्ना समूह बनाएर विपश्यीहरू एकअर्कासँग परिचय साट्न र गफ गर्न थाले। नौ दिन सम्मको मौनताबाट बाहिर निस्केका उनीहरूको आवाजमा ध्यानको शान्ति र खुसी महसुस गर्न सकिन्थ्यो।
एउटा कुनामा शिविरको यो अवधिभर पुरुष र महिलाको भिन्दाभिन्दै आवासमा छुट्टिएर बस्नु परेका र साधनाको समयमा एउटै हलमा भएर पनि देखादेख मात्र हुने एक जर्मन जोडी एकअर्कालाई छोइन्छ कि भनेर सजग हुँदै गफिँदै छन्। उनीहरूको सजगता बडो रमाइलो देखिन्थ्यो।
तिमी कहाँबाट नि ?
हल्यान्ड, साइकलहरूको देश।
अनि तिमी कहाँबाट ?
इरान (नबुझिने भाषामा केही भन्यो र फिस्स हाँस्यो।)
अनि तिमी ?
म नेपाल (बुद्धको देश भनौं ? होस् भन्दिनँ।)
एउटा कुनामा हामी तीन गफिँदै थियौं। इरानबाट आएको साथीले आफूलाई पूरा युरोप साइकलमा घुम्ने रहर भएको बतायो। हल्यान्डको साथीले खुसीखुसी निम्तो दियो।
इरानको साथीले भन्यो, ‘तर तिम्रो निम्तोले मात्र म त्यहाँ आउन सक्दिनँ।’
किन ?
तिम्रो सरकारले मलाई त्यहाँ आउन अनुमति दिन निकै गाह्रो छ।
त्यस्तो के छ र ?
किनकि म आतंककारी हुँ।
हँ ?
कम्तीमा तिम्रो देशका अधिकारीहरूका लागि, किनकि म इरानको हुँ। (यसो भनेर ऊ जोडले हाँस्यो।)
नौ दिनको मौनतापछिको हाँसो हामीलाई स्वादिलो लाग्नुपर्ने थियो, तर त्यस्तो भएन। हल्यान्डबाट आउने साथीलाई लागेको रहेछ, संसारभरका मानिसहरू उनले जस्तै हवाई टिकट काटेर सीधै एअरपोर्टमा भिसा लगाएर संसार घुम्न सक्छन्।
अनि इरानी साथी, तिम्रो नाम के नि ?
मसौद।
मसौदबाट थाहा पाएँ उनीबाहेक हामीसँग अरू पनि दुई इरानी साथी रहेछन् जम्मा तीन। दुईजना विपश्यना साधक र एकजना सेवक। संसारभरका मिडियामा कट्टर मुस्लिम र आणविक हतियारको मोहमा फसेको राष्ट्रका रूपमा प्रस्तुत गरिने एउटा देशका नागरिकहरू, जसलाई बाँकी विश्व लगभग आतंकवादी मान्छ, उनीहरू बुद्धको जन्मस्थल लुम्बिनीमा पञ्चशीलको पालना गरेर ध्यान बसिरहेका थिए। शिविर सकिएपछि उनीहरू तीनैजनासँग कुरा गर्ने योजना बन्यो।
इर्शा खलेघीको यो चौथो विपश्यना शिविर हो। यसभन्दा अघि दुईपटक भारतमा, लगत्तै अघि पोखरामा ध्यान बसेर उनी लुम्बिनीमा सेवाका लागि आएका रहेछन्।
इर्शा खलेघीको यो चौथो विपश्यना शिविर हो। यसभन्दा अघि दुईपटक भारतमा, लगत्तै अघि पोखरामा ध्यान बसेर उनी लुम्बिनीमा सेवाका लागि आएका रहेछन्। फिरन्ते स्वभावका उनी पाँच वर्षदेखि संसारका विभिन्न देश घुमिरहेका छन्, जुनजुन देशले उनलाई सजिलै भिसा दिन्छ।
मसौद मायेली पहिलोपटक ध्यान बसेका हुन्। उनी पनि पाँच वर्षदेखि लगातार घुमिरहेका छन्, यहाँ पनि उही सर्त लागू हुन्छ, जुन जुन देशमा उनले सजिलै भिसा पाउँछन्। अर्का अराश फराख्रुजीको उनका छिमेकी देश बाहेकको यो पहिलो टाढाको यात्रा हो। उनी पनि पहिलोपटक विपश्यना बसेका हुन्। तीनैजना फिरन्ते भएकाले उनीहरूले आजसम्म एकअर्कालाई इरानभित्रै भने भेटेका छैनन्। अराशले मसौदलाई जर्जियामा पहिलोपटक भेटे केही वर्षअघि, त्यसपछि टर्कीमा फेरि उनीहरूको भेट भयो। इर्शाले पनि मसौदलाई जर्जियामै पहिलोपटक भेटे भने अराशलाई टर्कीमा केहीअघि मात्र, जब उनी नेपाल आउने तयारी गर्दै थिए।
टर्कीमा डिज्रुडु बजाइरहेका अराशलाई जब इर्शाले एउटा सामूहिक भेटघाटमा भेटे, त्यति बेला अराशसँग अगाडिको कुनै योजना थिएन, पैसा पनि थिएन। अराशलाई इर्शाले नेपाल जाने आफ्नो योजना सुनाए र इच्छा भए नेपालमा उनीहरूले भेट्नसक्ने बताए। करिब तीन वर्ष अघिसम्म कुनै प्रिन्टिङ कम्पनीमा राम्रो जागिर खाइरहेका अराशको जीवनमा एक साथीको माध्यमबाट डिज्रुडु आइपुगेको थियो र त्यसैले उनलाई सबथोक छोडेर फिरन्ते बनाइदिएको थियो। इर्शाको नेपाल जाने प्रस्ताव उनलाई मन प¥यो तर उनीसँग त्यसका लागि पैसा थिएन।
यस्तैमा उनी टर्कीमा बसिरहेका घरबेटीले उनलाई अगाडिको योजना सोधे। अराशले आफ्नो इच्छा र समस्या घरबेटीलाई बताए। त्यसको दुई दिनपछि उनको हातमा नेपाल जाने टिकट घरबेटीले थमाइदिए।
इन्साल्लाह !
यसरी नेपाल जाऊँ भन्ने इर्शाभन्दा दुई हप्ताअघि नै नेपाल आइपुगे। पैसा थिएन, उनीसँग। त्यही उनलाई सबथोकबाट छुटाएर फिरन्ते बनाउने डिज्रुडु थियो। काठमाडौं आइपुगेर उनी त्यही बाजा बोकेर बौद्ध स्तूपअघि आफ्नो टोपी ओछ्याएर बसे। बिस्तारै टोपीमा पैसा जम्मा भयो। दिनभरिको कमाइले उनलाई एक दिनको खाना र बस्ने बन्दोबस्त गर्न पुग्थ्यो। चार दिन बौद्ध स्तूपमा डिज्रुडु बजाइसकेपछि उनलाई प्रहरीले त्यहाँबाट हटायो। त्यसपछि उनी ठमेल गए, त्यसपछि पोखरा। दुई महिना अघिदेखि नेपाल बसिरहेका मसौदसँग तेस्रोपटक उनको त्यहीँ भेट भयो। यस बीचमा इर्शा टर्कीबाट नेपाल आइपुगे, पोखरामा इर्शाको विपश्यना थियो, त्यो सके। त्यसपछि उनीहरू तीनैजना लुम्बिनी आए, मसौद र अराश विपश्यना गर्न। इर्शा त्यही शिविरमा साधकहरूको सेवा गर्न।
इरान, जसलाई कट्टर मुस्लिम शासन भएको देशको रूपमा चित्रित गरिन्छ, त्यहाँ उनीहरूले विपश्यनाका बारेमा कसरी जानकारी पाए त ? इर्शालाई लागिरहन्थ्यो, यी सबै तनाव, दैनन्दिनको जीवनको बीचमै केही यस्तो चिज पक्कै हुनुपर्छ, जो एकदमै सामान्य होस्, सरल होस् तर एकदम गहिरो र सूक्ष्म होस्। यस्तैमा जर्जिया घुम्दै गर्दा उनको एक इरानी केटीसँग भेट भयो, जो १४ वर्षको उमेरमा पहिलोपटक विपश्यना शिविर बसेकी थिइन्। उनैले इर्शालाई विपश्यनाको बारेमा बताइन्। उनले यही त खोजिरहेका थिए, एकदमै सामान्य तरिकाले एकदमै गहिरो अनुभूति गराउनसक्ने केही। धेरै कर गरेपछि उनले इर्शालाई भारतमा विपश्यना गरेको ठाउँको जानकारी दिइन्। यसरी उनको यो यात्रा सुरु भयो र तीनपटक साधना र एकपटक सेवा गरेर चारवटा शिविरमा उनले सहभागिता जनाइसके।
अराशलाई उनै इर्शाले टर्कीमा यसबारे बताए। अराशलाई विपश्यना गरिसकेपछि लागेको छ, किन नेपालको नाम सुन्नेबित्तिकै केही नसोची उनलाई यहाँ आउन मन लागेको रहेछ, बिनाकुनै योजना, पैसा उनलाई ‘संयोग’ले नेपालसम्म डो¥याउनुको रहस्य पत्ता लागेजस्तो लागेको छ।
मसौदले पहिल्यै विपश्यनाबारे कुनै किताबमा पढेका रहेछन्। अराशलाई भेटिसकेपछि जुरेको यो संयोगले उनलाई पनि खुसी बनाएको छ। उनीहरूको देशमा विपश्यना, ध्यान, योग आदिलाई कसरी लिइन्छ त ?
संविधानमा ध्यान, योग गर्न पाइँदैन भनेर लेखेको छैन तर उनीहरूले यसको अनुमति पनि दिँदैनन्। संविधानले नरोकेर के भयो त ? उनीहरूसँग शक्ति छ, इर्शाले भने।
त्यहाँ अचेल केही विपश्यीहरू छन्, तेहरानमा योगका कक्षाहरू पनि कतैकतै भित्रभित्रै चल्छ, तर योग भनेर हैन, शारीरिक व्यायाम अथवा कुनै खेलको रूपमा, यसको ऐतिहासिकतासँग नजोडी। कठोर मुस्लिम सरकार भएको इरानमा सरकारी कट्टरताले वास्तविक इस्लामप्रतिको विश्वासलाई समेत संकट पार्न थालेको इर्शाको बुझाइ छ।
मानिसहरू बिस्तारै बाहिरी दुनियाँका राम्रा कुराहरूप्रति पनि आकर्षित हुँदै गइरहेका छन्। केहीअघि मात्रै ठूलो संख्यामा इरानीहरू भारतमा एउटा लामो योग शिविरमा बसेर गएको सुनेको उनले बताए। तर, इरान सरकारले यसलाई राम्रो मान्दैन। त्यसैले उनीहरू यो सब त्यति खुलेर गर्दैनन्।
इर्शा, अराश, मसौद आदिले कुनै पनि विश्वास अथवा सम्प्रदायसँग नजोडिएको स्वअवलोकनबाट आफ्नो सत्यको खोजी गर्ने साधना विधि विपश्यनाबारे उनीहरूको देशमा केही गतिविधि गरे, त्यहाँ कस्तो प्रतिक्रिया उत्पन्न होला ?
उनीहरूलाई यसबारे केही थाहा छैन, तर पनि इस्लामिक परम्पराभन्दा फरक केही गर्न उनीहरूले अनुमति दिँदैनन्। यसरी हेर्दा जीवनको आफ्नो सत्य खोज्न निस्केका उनीहरू इरान सरकारको नजरमा इस्लाममा विचलन ल्याउन खोज्ने आतंककारी हुन्। अब यी स्वखोजमा निस्किएका आतंककारीहरूको योजना के छ त ?
सम्भव भयो भने केही समयको अझै नेपाल बसाइपछि मसौद भारत जानेछन्। अनि त्यसपछि श्रीलंका हुँदै कताकता उनलाई अहिल्यै थाहा छैन
। इर्शाको भने पश्चिम नेपालतिर केही समय बिताउने योजना छ।
अराश के गर्छन् नि ?
आफूसँग भएको जम्मा सत्तरी रुपैयाँ पनि कुनै माग्नेलाई जिम्मा लगाइसकेका उनी के गर्छन् ? उनलाई केही पत्तो छैन।
के उनी केही समय अझै नेपाल घुम्नेछन् ?
इन्साल्लाह !! (अल्लाहले चाहे भने।)