मधुवालाको कथा

मधुवालाको कथा

नाटक त सिरियाको युद्धको थिममा चल्नुपर्ने हो। यति बेला ययातिभन्दा सिरिया जम्ने थियो होला। कलाकारहरूले अरू नै सोचे। हिंसा त छँदैछ, दैनिक जीवनमा। हत्या, हिंसा र अमानवीय युद्धका विरुद्ध हुन्छन् सब नाटक। युद्ध भनेको कोमा हो। अपरिहार्यताको राजनीति कोमा हो भने शाश्वत विचार राजनीतिको सम्मोहन हो। जेसुकै होस्, सहरमा नाटक चलिरहेको छ। राजा ययातिको नाटक। जुग बितिसक्यो, महाभारतका कथाहरूको प्रभाव उत्तिकै बाक्लो छ। कलियुगमा द्वापरयुगका कथाहरूको प्रभाव यथावत् रहनु भनेको महत्वपूर्ण हो। संसारमा दुई युगलाई एकसाथ भोग्ने भाग्य हामी पृथ्वीको यो भागमा बस्नेहरूको बाहेक अरू कसको होला र ?

देवयानी थिइन्, शुक्राचार्यकी एकमात्र छोरी। चञ्चल र चुलबुल। देवयानीसँगको ससानो झगडामा राजपुत्री शर्मिष्ठाले रिसाएर देवयानीलाई कुटपिट गर्दै लछारपछार गरेर खाडलमा मिल्काइदिएपछि त्यही बाटो हिँडिरहेका ययातिको आँखामा परिन् देवयानी। ययातिले देवयानीको उद्धार गर्न हात मागे। उनले दाहिने हात दिइन्। त्यो हात समातेर उनले देवयानीलाई खाल्डोबाट निकाले। ययाति ती अनिद्य सुन्दरीको सौन्दर्यबाट आकर्षित भए भने देवयानीलाई वृद्ध अवस्था लाग्दा पनि आकर्षक र उत्तेजक देखिने उनको पौरुष व्यक्तित्वबाट। देवयानीले, त्यसपछि राजा ययातिलाई भनिन्, ‘तपाईंले मलाई खाल्डोबाट निकाल्दा मेरो दाहिने हात समात्नुभएको छ। त्यसको अर्थ हो, अब तपाईंले जीवनभरका लागि मेरो दुवै हात समात्नुपर्छ।’

अन्ततः उनीहरूको बिहे भयो। गुरु शुक्राचार्यले नाइँनुइ केही गरेनन्। उनी राक्षसहरूका गुरु थिए, आफैं राक्षस थिएनन्। शुक्राचार्य त्रिकालदर्शी थिए। उनलाई ययातिको भावी जीवनको जानकारी थियो। उनलाई थाहा थियो, ययातिसँग देवयानीको बिहे हुनु स्वाभाविक थियो।

राजा ययाति जीवनको सुखभोगमा विश्वास गर्थे। उनी सेन्सुअल थिए। अब यो सेन्सुअल शब्दको ठ्याक्कै नेपाली शब्द के हुन्छ, अहिले सम्झनामा आएन। ययातिको शरीर बूढो थियो। उनी देवयानीलाई नयाँ यौवनसहितको शरीर सुम्पिन चाहन्थे। उनले आफ्ना पाँचजना छोरालाई लाइनमा राखेर उनीहरूको यौवनको केही हिस्सा सापटी मागे। तर, पाँचमध्ये चारजना छोरा निस्किए नालायक। आफ्नो कान्छो छोरा पुरुसँग यौवन सापटी लिए। बाबुको माया गरेर कान्छा छोरा पुरुले दिएको जवानीको भोगमा देवयानीसँग लिप्त भए ययाति। यो भोग कहिले सकियो वा सकिन्छ थाहा छैन।

सहरमा यो नाटक चल्नुका पनि केही कारण छन्। पहिलो त, यहाँ धेरैजसो दर्शकहरू नाटक हेर्नभन्दा वढी आफ्नो प्रतिष्ठाको प्रदर्शन गर्न आउँछन्। ‘ओहो, नाटक हेर्ने क्लासको मान्छे’, व्यवस्थापनमा लागेको कलाकर्ताले लगेर बसाउँछ भीआईपी सेक्सनमा। भीआईपी होस् वा नन् भीआईपी, खासै केही फरक छैन। एक लहरको फरक होला। अनि नाटकवालाहरू उदार हुन्छन्। उनीहरूलाई पैसा होइन, दर्शक चाहिन्छ। यही कारण हो, भीआईपी ‘रो’को अगाडि थ्याच्च भुइँमा बसेर एक दर्जनभन्दा बढी नै जवानहरू नाटक हेर्दैछन्।

आखिर यो नाटकघर पनि २ नम्बर प्रदेशका सडकका चौराहामा खोलिएका ट्रकका ब्याट्री–डिजललगायत मेसिनरी सामानको मर्मत कारखानाभन्दा किञ्चित ठूलो छैन। जत्रोसुकै ठूलो भीआईपी होस्, ऊ यहाँ आएपछि उसले नचाहेर पनि सामान्य मानिसको स्पर्श र पसिनाको गन्ध सहनैपर्छ। नाटकघरसम्म आइसकेपछि नाटक नै नहेरी त्यत्तिकै फर्किनु पनि भएन। अझ अहिले त देवयानीहरू पनि आमाबाबुसँग नाटक हेर्न जान्छन् र रमाउँछन्। मेरो अनुमानमा उनीहरू नाटकले आमाबाबुको मानसिकतामा केही परिवर्तन आइहाल्छ कि भन्ने आशा गर्छन् होला। समाजशास्त्रीहरू भन्छन्, हिजोआज मानिसको दिमागमा परिवर्तन आएको छ। यसलाई परिवर्तन भन्ने हो भने कतिपय घरमा उनीहरूले छोरीहरूको अनावश्यक चियोचर्चो गर्न छाडेका हुँदैनन्।

मधुवालाले निद्रामै रगतको व्यवस्था गरी। बिहान हातिमले ब्रेकफास्ट खाइसकेपछि मधुवाला उसलाई रगतको ट्रो बोकेर सिरियाको कथा सुनाउँदै थिई कि उसको निद्रा खुलिहाल्यो। मधुवाला थकथकाउन लागी।

ययातिको फेसन कस्तो थियो होला ? उनलाई जिन्स सुहाउँथ्यो होला सायद। तस्बिरमा उनको जस्तो शरीर देखिएको छ, त्यसको आधारमा भन्न सकिन्छ— उनलाई सुट पनि सुहाउँछ। अस्ति कुन नाटकमा हो, एउटा पात्रको अर्धनग्न शरीर देखेर देवकीकी आमा झस्किइछन् र पछुताइछन् नाटक हेरेर। उनकी नातिनी मधुवाला, देवकीकी छोरी, चौपट्ट फेसन गर्दिरहिछ। उसको आदतमा सुधार ल्याउन उनले पढ्न दिएकी थिइन् एक दर्जन पुस्तक— हातिमताइदेखि सुखसागरसम्म। मधुवाला बाठी थिई। हजुरआमाको अगाडि उसले ती पुस्तकहरू बडो जतनसाथ सम्हालेर राखी। हजुरआमाको घरबाट फर्किएपछि उसले ती किताबलाई सर्सर्ती हेरी। उसलाई सबै किताब रमाइला होलान् जस्तो लाग्यो। मधुवालाका आमा र हजुरआमाहरू यिनै किताब पढेर हुर्किएका थिए। ययातिसँग समागमको सुखद इच्छा राखेकी थिई उसले। तर, हातिमको कथा उसका लागि यादगार बन्यो।

मधुवाला पढ्न थाली। हातिम अघिअघि, ऊ पछिपछि। जब यमनका राजपुत्र हातिम चम्पकवदनी, मृगलोचनी, शशीमुखी र यौवनवती कन्यालाई देखेर पनि अभिभूत भएन; प्रेमको एउटा सानो टुसो पनि टुसाएन उसको मनमा। किन हो, हातिमले ती कन्यासँग बिहे गर्न मानेन। तर, मानिस जब अप्ठेरोमा पर्छ, त्यसले आफ्नो सुरक्षाका लागि जे पनि गर्छ। हातिम आफ्नो खोजीको गन्तव्यमा पुग्न व्यग्र थियो, अत्यन्त व्यग्र। संयोग ऊ माछाकी एउटी सुन्दर महारानीको फेला पर्‍यो। उसले भनी, ‘हे पथिक, नदी नाउको संयोग हो, तिमी मसित सम्भोग गर। मैले भनेको मान्यौ भने म तिमीलाई तीन दिनपछि सजिलैसँग त्यही तलाउको किनारामा पुर्‍याइदिन्छु।’

हातिमको कथा पढ्दापढ्दै मधुवाला आत्मविभोर भई। त्यसपछि ऊ निदाई। निद्रामा उसको भेट भयो सुन्दर व्यक्तित्वको मालिक हातिमसँग। देख्नेबित्तिकै ऊ उठी। दौडेर हातिमसँग लुटपुटिँदै भन्न थाली, ‘हजुरले मसँग माया नगरेको भए म कहिल्यै पनि हजुरलाई आफ्नो धर्म सुम्पिने थिइनँ। म खुसी पनि हुने थिइनँ। मेरो उदरबाट हजुरको सन्तान उत्पन्न भए स्थायी रूपले म यहीँ बस्ने थिएँ।’

तर, हातिमको कुनै ठेगाना थिएन, अहिले पनि छैन। सभ्यताको विस्तारसँगै हातिमको चर्चा हराउन थालिसकेको छ। ऊ हिजोआज चटपटे पार्टीहरूमा देखिन्छ, विदूषकको रूपमा। त्यत्रो यमनको राजाको छोरालाई सिरियामा के भइरहेको छ, थाहा छैन। छरछिमेकका कुरामा चासो नै नराख्ने हातिम पक्कै पनि परोपकारी हो। मधुवालाले निद्रामा नै रगतको व्यवस्था गरी। बिहान हातिमले ब्रेकफास्ट खाइसकेपछि मधुवाला उसलाई रगतको ट्रो बोकेर सिरियाको कथा सुनाउँदै थिई कि उसको निद्रा खुलिहाल्यो। मधुवाला थकथकाउन लागी।

सपनाको लिंक जोड्न आउँदैन मधुवालालाई। मधुवाला सोच्दै थिई, ‘साक्षात् जिन्दगीसँग सपनाको लिंक जोड्न सकिने भए कति मजा आउँथ्यो होला ? मानिसलाई मजा लिनबाट वञ्चित गर्ने कुन मूर्ख हो, जो सेन्सरसिप टाउकामा बोकेर बसेको छ।’ हातिमले भनेको थियो, मूर्खले मात्र मानिसको आवाज र आँखाको ज्योतिलाई नष्ट गर्छ।

हजुरआमाले मधुवालालाई दिएको किताबको लिस्टमा लालहीराको कथा, सुनकेस्रा, वीरसिक्का र तोता–मैनाको कथा पनि थियो। यी किताबहरूको उपयोगिताका बारेमा मधुवालाको मनमा रहेका आशंकाहरू मेटिइसकेका थिए। उसका लागि समय रमाइलो थियो र पनि डरलाग्दो थियो। मधुवालाले आफ्नो सिरानमा राखेकी थिई, अंग्रेजी पत्रिका न्यु रिपब्लिक। ‘स्टोर्म’ हेडलाइनमा चिच्याहट थियो। त्यसमध्ये एउटा हेडलाइनमा लेखिएको थियो, ‘युरोपभरि उग्र–दक्षिणपन्थीहरू आप्रवासीविरुद्ध आक्रमण गर्दैछन्, मस्जिदहरूमा खानतलासी गर्दैछन् र चुनाव जित्दैछन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.