लेकसाइडका जागरुक महिला
पोखरा लेकसाइडकी तारा कुँवर ३१ वर्ष त्यहाँको फिसटेल लजमा काम गरेर केही समय पहिले रिटायर भइन्। हाउसकिपिङबाट काम शुरु गरेकी तारा सुपरभाइजरसम्म भएर आफू मातहतका ५५ जनाभन्दा बढीलाई काम अहर्याउँथिन्।
उमेरले झन्डै पाँच दसक कटिसकेकी तारा अविवाहित हुन्। पढाई, विवाहलगायतका विषयलाई पन्छ्याएर काम र परिवारमै समर्पित ताराको जीवन संघर्षशील मात्रै होइन, प्रेरणादायी पनि छ। तारा सानै छँदा उनका बुबाले आमालाई छुट्याएर राखिदिएका थिए। आमाले दुख गरेर भएनि उनका तिनै दाजु बहिनीलाई पढ्न पठाएकी थिइन्।
तर एक दिन पढ्न गएका बेला, आमाले सुकाएका धान गाइभैंसीले खाइदिएपछि त्यही सम्झेर आमा रातभरि रोइन्। यो देखेपछि ‘आमालाई रुवाएर म अब स्कुल जान्न’ भनि उनले पढ्नै छाडिदिइन्। पछि १२, १३ वर्षको भएपछि एकपटक फेरि ताराले स्कुल जाने रहर गरेकी थिइन्। तर स्कुलमा केटामान्छेले अनुहारमा हेरेपछि ह्वा ह्वा रुन थालिहाल्ने ताराले त्यसपछि कहिले स्कुल जाने आँट गरिनन्।
२४, २५ वर्षको उमेरमा आमाले उनलाई विवाहको लागि कर नगरेकी होइनन्। तर विवाह नगर्ने र आफ्नो खुट्टामा आफै उभिने ताराको जिदको अगाडि आमाको केही लागेन। एक दिन दाउरा काट्न बन गएका बेला उनको भेट सरस्वती पहारीसँग भयो। उनले नै तारालाई फिसटेल लजमा मान्छे मागेको कुरा बताइन्।
आफूले त त्यहाँ काम गर्न सक्दिन होला भन्ने लागेपनि उनी रुँदै रुँदै हिँडीन्। तर फेरि अर्को मनले जानुपर्छ भनेपछि फेवातालमा मुख धोएर अन्र्तवार्ता दिनका लागि होटेलमा पुगिन्। त्यतिबेला उनलाई भारतिय म्यानेजरले भर्खरकी केटीलाई बाबुआमाले यहाँ काममा पठाउलान् र भन्ने जिज्ञासा राखेका थिए। ताराले मैले पढेलेखेको छैन, तर पनि जस्तोसुकै काम गर्न सक्छु भनेपछि ‘यी नानी त दुखले हुर्केकी रहेछ, हुन्छ गर’ भन्दै आफूलाई काम दिएको उनले सम्झिइन्।
त्यतिबेला तत्कालिन हेलेन सरकार र जयन्ती सरकारले आफूलाई हाउसकिपिङको काम सिकाएको उनले बताइन्। काम गर्दा केटाहरू आउलान् भन्ने डरले कोठाको चुकुल भित्रबाटै लगाएर उनी सफा गर्थिन्। एउटा कोठाबाट अर्कोमा जाँदा बाहिर कोही छ की भनेर ढोकाबाट चियाएपछि खुरुर दौडिँदै अर्कोमा जान्थिन् र फेरि चुकुल लगाएर काम शुरु गर्थिन्। दिनमा १२ वटा कोठाको सफाई उनको भागमा पथ्र्यो।
तत्कालिन जयन्ती सरकार, हेलेन सरकार र बसुन्धरा सरकारसँग नजिक भएर उनले काम गर्ने मौका पाइन्। मेरो खोपी तिमीले नै सफा गर्नुपर्छ है भन्थे तारालाई तत्कालिन राज परिवारका सदस्यहरू। उनीहरूसँगको संगतले ताराले राणाजीका जस्ता बोली मात्रै सिकिनन् , त्यतिबेलाका जमानामा कहिले पाँच हजार त कहिले दस हजारसम्म टिप्स पाउने गर्थिन्। पूर्व राजा ज्ञानेन्द्र शाह आएर फिसटेलमा १० दिन बस्दा उनले दस हजार रुपैंया टिप्स पाएकी थिइन्।
सात सय रुपैंया तलबबाट शुरु गरेकी ताराको रिटायर हुँदा तलब ३२ हजार पुगेको थियो। दुई पटकसम्म उत्कृष्ट कर्मचारी घोषित ताराले जागिर छाड्दा राम्रै उपदान समेत पाएकी थिइन्। आजपनि होटेलमा ताराको जस्तो अनुसासन सिकौं र राम्रो गरौं भनेर आफ्नै उदाहरण लिने गरिएको उनले बताइन्। ‘म एक अक्षर नपढेकीलाई ३१ वर्ष पालेकोले फिसटेल मेरो लागी भगवान र परमात्मा नै हो’ जीवनमा पढ्न नपाएकोमा पछुताउने ताराले आफ्नो गुनासो यसरी पोखिन्।
ताराले आफ्नो जीवनको ठूलो धोको पुरा गर्ने गन्तब्यको रुपमा मितेरी नारी समूहलाई पाइन्। समूहकी संस्थापक सदस्य समेत रहेकी ताराले आफ्नै संस्थाले संचालन गरेको पौढ शिक्षामा केही सिक्ने अवसर पाइन्। आजपनि मैले पढ्न पाइन भनेर ताराले गुनासो गर्दा उनकै समूहका अन्य साथीहरूले सम्झाउँदै भन्ने गर्छन्, ‘तारा पढ्ने भए पढन त, अहिले पनि केही बिग्रेको छैन।’
नेपालकै उत्कृष्ट पर्यटकिय नगरीका रुपमा पोखरा विश्वमा चर्चित छ। पोखरा आउने पर्यटक लेकसाइड नपुगेका कमै होलान्। यस्ता ठाउँका महिला पढ्न जान्दैनन् भन्दा लाजै हुने देखेर समूहले १२ वर्ष पहिले नै पौढ कक्षा चलाएको संस्थाकी पूर्व अध्यक्ष कल्पना पहारीले बताइन्।
पहिले ब्युटिसियन र हाल पर्यटन ब्यवसायमा सम्लग्न पहारीले भनिन्,‘ पहिले लेकसाइडका गृहिणीलाई घर बाहिर निकालेर पढ्न सिकायौं, पछि अरुलाई।’ संस्थापक अध्यक्ष सुशिला अधिकारीका अनुसार श्रृंगारपटार गर्ने र अरुको कुरा काटेर दिन बिताउनुभन्दा पढेलेखेका महिलालाई समूहमा आवद्ध गराएर अन्यलाई पनि शिक्षा र सिपमार्फत शशक्त बनाउँनु समूहको उदेश्य रहेको छ।
लेकसाइड क्षेत्रमा मात्रै १६ वटा आमा समूह छन्। ती सबैभन्दा बढी सक्रिय रहेको मितेरी नारी समूहले महिला शशक्तिकरणका लागि विभिन्न तालिम संचालन गर्नुका साथै सरसफाई अभियानमा पनि अग्रस्थानमै छ। ब्यक्तिको धान खाने खेतलाई अधिकरण गरेर पार्क बनाउने भनिए तापनि पछि गएर मनकामना केबलबारलाई दिन लागिएको हल्ला चल्यो।
जुन प्रयोजनका लागि जग्गा अधिकरण गरिएको हो त्यही काम गर्नुपर्छ भनेर समूहका सदस्यहरूले रोक लगाए र त्यसको जिम्मा आफूले लिए। नगर विकासबाट स्विकृति लिएर समूहले हाल करिव सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको बसुन्धरा पार्कको नियमित सरसफाई र संरक्षण गरिरहेको छ। समूहले महिनाको ६ हजार तलब दिएर एउटा ब्यक्तिलाई त्यसको सरसफाईको लागि खटाएको छ।
त्यसैगरी महिनाको दुई पटक कार्यसमितिका सदस्यहरू नै मिलेर पार्कको सफाई गर्ने गरेका समूहकी अध्यक्ष मिरा पौडेलले बताइन्। मिराको पनि लेकसाइडमा पर्यटकलाई आवश्यकपर्ने सामानहरूको पसल छ। तर पसलमा प्रायः उनका पति धनीराम र छोराहरूले नै भ्याउने हुनाले उनी इजरायली भाषा प्रशिक्षण गर्छिन् र बाँकी समय समूहकै क्रियाकलापमा खर्चन्छिन्।
समूहमा दुई सयभन्दा बढी सदस्यहरू छन्। आजीवन सदस्यताका लागि दुई हजार रुपैंया शुल्क तोकिएको छ। यसरी बचत भएको रकममार्फत समूहले शान्ति पाटन बचत तथा ऋण विकास पनि स्थापना गरेको छ। सोमार्फत समूहमा आवद्ध महिलाले नयाँ ब्यवसाय संचालन गर्न बिना धितो तीन लाख रुपैंयासम्म ऋण लिन पाउने ब्यवस्था गरिएको छ।
आमा समूहको नाममा सँधै नाचगान गरेर मात्रै दिन बिताउने प्रवृतिबाट आफूहरू अलि फरक भएर समाजमा के गर्दा परिवर्तन आउँछ भन्ने सोचले समूहका कार्यक्रमलाई अगाडि बढाइएको निर्वतमान अध्यक्ष कमला पहारीले बताइन्। रेष्टुरेन्ट ब्यवसायी कमलाका अनुसार समूहले स्वास्थ्यसम्बन्धि धेरै कार्यक्रम चलाइसकेको छ। त्यसैगरि आफ्नो वडालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियान संचालन गरि यसको विकल्प स्वरुप महिलालाई झोला बनाउने तालिम पनि दिएको छ। बसुन्धारा पार्क संरक्षण गर्ने क्रममा समूहको बचतबाट आएको ब्याजले फेवातालले कटान गरेको पार्क क्षेत्रमा ढुंगा र तारको बाँध बाध्ने काम समेत गरिएको छ।
समूहमा आवद्ध महिला कुनै न कुनै पेशा वा ब्यवसायमा सम्लग्न रहेका छन्। यसले उनीहरूलाई ब्यक्तिगत रुपमा शशक्त त बनाउँदै लाग्छ नै। साथै समूहका कार्यक्रममा आउँदा साथीभाइ र छिमेकी मात्रै नभई एउटै घरका देउरानी जेठानी, सासु बुहारीदेखि दिदी बहिनीलगायतका सम्बन्धि पनि आउँछन्। यसले परिवार र समाजमा एकता ल्याउने समूहकी सल्लाहकार सिता पाण्डेको भनाई छ। सिता माछापुच्छे मेटल एण्ड मेसिनरी वक्र्स प्रालिकी निर्देशक हुन्। उनको कम्पनी हालसम्म नेपालका ३५भन्दा बढी जलबिद्धुत आयोजनाको निर्माण कार्यमा सम्लग्न भइसकेको छ। लायन्स क्लब अफ पोखरा गण्डकीकी पूर्व अध्यक्ष समेत रहेकी सिता पोखराका महिला उद्यमीले संचालन गरेको र महिला मात्र कार्यरत रेडियो जननी एफएमकी संचालकमध्यकी एक हुन्।
शहरमा बसेका महिलाले आफ्ना छिमेकीलाई समेत चिन्दैनन्। तर मितेरी नारी समूहले समाजमा फैलाएको सद्भावका कारण त्यहाँका महिला जहाँ भेटेपनि एक अर्कालाई सन्चो बिसन्चो सोध्न बिर्संदैनन्। यति मात्रै होइन, समूहमा आवद्धमध्ये जसका घरमा विवाह, ब्रतबन्ध, पूजालगायतका कार्यक्रम परेपनि सबै मिलेरै सघाउँछन्। यसले पोखराको मध्य शहर लेकसाइडमा पनि गाउँको झझल्को दिने गर्छ। शहरमै गाउँ बसाएर जमेका यी पोखरेली महिलाले आफ्नो समूहमार्फत सरकारले आँट्न नसक्ने काम आफै गर्ने मात्रै होइन, एकआपसमा मितेरी लाउँदै समाजमा एकताको सन्देश पनि फैलाएका छन्।