हकिङसँग असहमति

हकिङसँग असहमति

विद्यालयका औसत छात्र स्टेफन हकिङले भौतिकशास्त्रीका रूपमा सफल भइसकेपछि कुनै अन्तर्वार्तामा भनेका रहेछन्– मोटोर न्युरोन रोग लाग्नुपूर्व जीवनप्रति मलाई उति उत्साह थिएन। आम मान्छे आफ्नो स्वास्थ्य र ठीकठाक जिन्दगीप्रति गुनासो गरिरहन्छन् तर जब संकट आइपर्छ, हिजोका सहज दिन सम्झेर ती संकटपछिको जिन्दगीलाई अवसर मान्न थाल्छन्।

रोग लागेपछि नै बेलायती युवा स्टेफेन विलियम हकिङ पनि दुनियाँले आज चिनेका वैज्ञानिक हकिङ बन्न पुगे। के थाहा, डाक्टरले ‘अब ३ वर्षभन्दा बढी तिमी बाँच्दैनौ’ भनेपछि तीन वर्षमै जीवनमा सबैथोक गरिसक्छु भन्ने सोच्दै हकिङले आम मान्छेले बाँच्ने समयभन्दा बढी भारको जिम्मेवारी आफूले बोके कि ? एउटा असाध्य रोगका कारण विश्वले एउटा कुशल विज्ञान–व्याख्याता पो पायो कि ?

आम मान्छेलाई जिजीविषाको चिन्ता हुन्छ। सहज भरपेट भोजन, आरामदायी बिछ्यौना, सुकिला र सहज पहिरन, प्रेमालाप, यौन, भेटघाट, संस्कार–चाडपर्व आम मान्छेका चाहना हुन्। तिनलाई आकाशभन्दा पर के छ, ब्रह्माण्ड कसरी बन्यो, जगत्को भविष्य के होला भन्ने उति चिन्ता हुन्न। दुनियाँले हजारौं वर्षदेखि गाएको देउता र ईश्वरका गीत तिनलाई देववाणी हुन्छ। पहिलो त, अलौकिक शक्ति या भगवान्बारे प्रश्न गर्ने तिनलाई फुर्सद हुँदैन। दोस्रो, तिनको चेतनाले त्यति परसम्म सोच्न भ्याउँदैन। भोलि के हुन्छ र यसो गर्दा वा नगर्दा अरूले के भन्लान् भन्ने तिनको चिन्ता हुन्छ। रुँदै जन्मने अनि चिन्ता गर्दै चितासम्म पुग्ने नियति भोग्ने संसारका आम मान्छेले गम्भीर रोग लाग्दासमेत त्यत्रो आत्मविश्वास र हास्यचेतसहित विज्ञानमा महान् योगदान दिने हकिङसँग जीवन जिउने कला सिक्नुपर्छ।

हकिङ आम मान्छे या राजनीतिज्ञहरूजस्तो जड र रूढ थिएनन्। आफ्ना गल्ती सच्याउँथे। सन् १९७४ मा ‘ब्ल्याक होलमा एकचोटि पसेको चिज या ग्रह–ताराको अस्तित्व त्यहीँभित्रै हराउँछ’ भन्ने हकिङले सन् २०१४ मा त्यसलाई सच्च्याएर भने ‘मैले गल्ती गरेँ, ब्ल्याक होलमा पसेको केही कुरा त्यहीँ नहराउन पनि सक्छ।’ शारीरिक रूपमा उति अशक्त भइकन पनि विज्ञानबारे गहन प्रवचन दिने उनी शारीरिक रूपमा अशक्तहरूका प्रेरणा हुँदै हुन्। क्याम्ब्रिज विश्वविद्यालयमा प्राध्यापनरत रहँदा विश्वविद्यालय परिसरलाई ह्विलचेयरमैत्री बनाइनुपर्छ भन्दै धर्ना बसेर उनले आफूलाई एक्टिभिस्टका रूपमा समेत उतारे। ईश्वरीय शक्तिमाथि प्रश्न गर्ने हकिङ साँच्चै हक्की थिए। मान्छेलाई उनी कुनै ‘बाह्यशक्ति’को दास होइन, स्वतन्त्र मान्छे बन्न सिकाउँथे। तर, हकिङले राखेको एउटा प्रस्ताव उरन्ठेउलो लाग्छ। विज्ञानबारे उति गम्भीर ज्ञान नभएको, दूरग्रामको एक आम मनुष्यले यस्तो संशय राख्नुलाई दुस्साहस ठानिएला। तर, कुतूहल, संशय र तर्कमा आधारित विज्ञानकै एक अध्येताको अभिव्यक्तिबारे प्रश्न गर्नुलाई भौतिकवादीहरूले अनुचित नमानुन्।

पृथ्वीको भविष्य छैन ?

विशाल ब्रह्माण्डमा पृथ्वीजस्तो मनुष्य, प्राणी र लाखौं जीव, वनस्पति बस्न र बाँच्न मिल्ने ग्रह अहिलेसम्म पत्ता लागेको छैन। तर, भोकमारी, रोग र अभावग्रस्त दुनियाँको गाँस काटेर केही शक्तिसम्पन्न देशले आफ्नो अभिमान, धाक र साम्राज्य प्रदर्शनका लागि खर्बौं डलर खर्चेर अन्तरिक्ष यात्रा र रकेट प्रक्षेपण गर्ने गरेका छन्। त्यसबीच हकिङको तर्क थियो– अब मान्छेले पृथ्वीको विकल्प खोज्नुपर्छ।

अन्य ग्रहमा हामीभन्दा जागरुक जीव हुन सक्ने हकिङको अनुमान थियो र त्यस्ता परग्रहीबाट पृथ्वीमा आक्रमण मात्रै होइन, यहाँका स्रोतहरूको लुट हुन सक्ने उनको अनुमान थियो। आर्टिफिसियल इन्टेलिजेन्स, जेनिटिकल्ली इन्जिनियर्ड भाइरस र पारमाणिक होडका कारण विश्वमा आइपर्ने खतराबारे उनले दुनियाँलाई सचेत गराउनु जायज थियो। आज देखिँदै गरेका प्रकोप र वातावरणीय समस्या नियाल्ने हो भने उनले भनेजस्तो केही हजार वर्षमा होइन, केही सय वर्षमै पृथ्वीमा जीव संकट निम्तनेछ। यस अर्थमा उनी सही थिए।

आफूलाई आशावादी मान्ने हकिङ मान्छेको अस्तित्वबारे भने केही बढी नै निराश थिए। हुँदाखाँदाको सहज पृथ्वीको विकल्प छाडेर नभेटिएको कुनै ग्रहतिर डेरा सर्न हाम्रो तन–मन–धन लगाउनेतर्फ उनले दिएको सुझाव सही थिएन। मातृपृथ्वी छाडेर अन्यत्र घरबार गर्ने उनको सुझाव जायज मान्नै सकिन्न। उनी भन्ने गर्थे, ‘मान्छेको दीर्घकालीन भविष्य अन्तरिक्षमै हो।’

‘पृथ्वीको भविष्य छैन, हामीले अर्को ग्रह नखोजे मानव जातिकै भविष्य संकटमा पर्छ’ भनेर हकिङले दिएको चेतावनी प्राणी जाति र पृथ्वीप्रतिकै मजाक हो।

सन् १९६३ को एउटै घटना, क्युबन मिसाइल क्राइसिस (अमेरिका–सोभियत द्वन्द्व) लाई जोडेर उनी मानवजातिको भविष्य संकटपूर्ण देख्थे। अमेरिकी वैज्ञानिकहरूले जुटाएको तथ्यलाई आधार मान्ने हो भने संसारभर अहिले २२ हजार ६ सयको संख्यामा पारमाणिक हतियार छरिएका छन्। तीमध्ये ७७ सय ७० सञ्चालनमा छन्। पारमाणिक शक्तिसम्पन्न देशले पारमाणिक हतियार अप्रसार सन्धिमा सम्झौता नगरेका कारण यस्तो अवस्था निम्तिएको हो। न्युक्लियर सर्वनासको त्रास अहिले पनि छ। उसो त हकिङले भनेजस्तै सुपरनोभा, एस्टेरोइड वा द्रुत र दर्दरहित ब्ल्याक होलले हाम्रो ग्रहलाई जतिखेरै निल्न पनि सक्छ। यसो भनेर नै हकिङले हामीलाई पृथ्वीको विकल्प खोज्नुपर्छ भन्दै तर्साएका थिए।

गलत तर्क

हकिङले मानवजातिको ‘स्वार्थी र आक्रामक इच्छा’बारे कुरा गरे पनि जैविक रूपमा अर्को ग्रहमा जाने कुरो अत्यन्तै असहजमात्रै होइन, असम्भव छ। एउटा तर्क गरौं। पृथ्वीबाट सबैभन्दा नजिकै रहेको तारा हो प्रोक्सिमा सेन्टुरी। र, त्यहाँसम्म पुग्नकै लागि पनि मान्छेलाई ४.२ प्रकाश वर्ष लाग्छ। यसको अर्थ हो, प्रकाशकै गतिमा हामी त्यसतर्फ निरन्तर बत्तिने हो भने पनि त्यहाँ पुग्न पृथ्वीबाट ४.२ वर्ष लाग्छ। दुर्भाग्यको कुरो, आजका दिनमा हामी प्रकाश वर्षको केवल १० हजार गुणा कम दरमा मात्रै यात्रा गर्न सक्छौं। त्यसको मतलब ‘एपोलो मिसन’मा प्रयोग भएको केमिकल फ्युल रकेटकै प्रयोग गर्ने हो भने पनि सेन्टुरीमा पुग्न ५० हजार वर्ष लाग्छ जबकि सक्रिय मानव आयु जम्माजम्मी ७०–८० छ। विज्ञान–फिक्सनमा जस्तो ‘क्रायोजेनिक फ्रिजिङ प्रविधि’ प्रयोग गर्ने अथवा ‘वोप ड्राइभ’ प्रयोग नगर्ने हो भने कुनै पनि मान्छे यस्तो यात्रामा बाँच्ने सम्भावना नै हुन्न। लौ भइगयो, त्यति तीव्र गतिमा जान सक्ने यन्त्र नै बन्यो भने पनि यात्रामा भेटिने अनेक प्रकार रेडिएसन (विकिरण) ले यात्रुलाई बाँच्न दिँदैन।

सबै खालका विकिरणलाई पनि थेग्न सकियो रे, हामी प्रकाशभन्दा पनि छिटो अन्तरिक्षका अनेक ग्रहमा जानसक्ने भयौं भने त्यसको लागत कति पर्ला ? पृथ्वीको वरपरमात्रै चक्कर लगाउन (स्पेस भ्रमण) का लागि त आजका दिनमा एक व्यक्तिले अर्बौं डलर खर्च गर्नुपर्ने अवस्था छ भन्ने संसारका सबै मानिस अर्को ग्रहमा बसाइँ सर्ने कुरा कति व्यवहारिक र आवश्यक होला ? फेरि, विज्ञानकै मतलाई मान्ने हो भने पनि अर्बौं वर्षको परिवर्तनपछि हाम्रो ग्रह बसोबासयोग्य भएको हो र ठ्याक्कै यस्तै वातावरणको अर्को ठाउँ खोज्ने या अर्को ग्रहमा पुगेर त्यसलाई पृथ्वीजस्तै बनाउने कुरा उडन्ते कथा हो। यति धेरै जैविक विविधतायुक्त ग्रहमा समेत प्राणी, वनस्पति र मान्छेले कतिपय असहज परिस्थितिको सामना गर्नुपरेको छ। यतिधेरै उर्वर र लाखौं औषधि भएको भूमिमा समेत भोकमरी, खडेरी, आगलागी, असाध्य रोगले प्राणी र वनस्पतिपीडित छन् भने भोलि हामीले वर्षौं लगाएर बसाइँ सर्ने ग्रहमा यी सबै पूर्वाधार हुन्छन् भन्ने के सुनिश्चितता छ ? हामीलाई त्यस्तो आवश्यकता नै किन ?

प्रकृति विनास

यसर्थ, हकिङका अन्य वैज्ञानिक तर्क र सुत्रलाई चुनौती दिन आवश्यक नभए पनि ‘पृथ्वीको भविष्य छैन, हामीले अर्को ग्रह नखोजे मानवजातिकै भविष्य संकटमा पर्छ’ भनेर उनले दिएको चेतावनी प्राणी जाति र पृथ्वीप्रतिकै मजाक हो। मानवजातिले विगतका सय वर्षमा पृथ्वीको अत्यधिक साधनस्रोत सखाप पारेको छ। छाला, मासु र दूधको उपभोगका लागि उसले रूख–घाँस–जंगल विनाश गरेको छ। जमिनको मनलाग्दी उत्खनन गरेर पानीका मूल सुकाएको छ, भूक्षय निम्त्याएको छ। आफ्नो पैसा र पेटको भोक मेट्न महासागर, खोला र तालहरूमा मेसिनहरूको प्रयोग गरेर जलचरहरू सकाउँदै छ। महासागरबाट तेल उत्खनन गरेर मान्छे भविष्यमा संसारलाई तेलरहित बनाउँदै छ। पृथ्वीमाथि हाम्रो अत्याचारको फलस्वरूप ओजन तह पातलिँदै छ र त्यसले संसारमा महामारी ल्याउने खतरा छँदै छ। पानीका स्रोत प्रदूषित भएका कारण हजारौं जल र स्थलचरको जीवन संकटमा छ।

उपाय छ

पृथ्वीलाई जोगाउने उपाय छ। मान्छेको लोभ र स्वार्थमात्रै त्यसमा बाधा बनेको छ। अमेरिकी प्रकृतिवादी हेनरी डेभिड थोरोले सुझाएजस्तो सरल र सहज जीवन मान्छेले बाँच्ने हो हाम्रो पृथ्वी अरू अर्बौं वर्ष बाँच्ने छ। हाम्रा सन्तति अर्को अर्बौं वर्ष यस धर्तीमा जन्मिरहनेछन्। ‘मिनिमलिज्म’ अर्थात् न्यूनवाद (हरेक वस्तुको कम परिमाणमा प्रयोग गर्ने, प्रकृतिको अति दोहन नगर्ने, उपभोक्तावादको सिकार नबन्ने, रिसाइकल गरिएका सामान प्रयोग गर्ने, विद्युतीय सवारी प्रयोग गर्ने, पर्याप्त पौष्टिक खाद्य खाने तर शाकाहारी बन्ने, सरल जीवन जिउने) अपनाउने हो भने पृथ्वीमाथिको अति दोहन कम हुनेछ। पृथ्वी अर्बौं वर्ष बाँच्नेछ।

संसारका विभिन्न भागमा करोडौं निमुखाजन भोक, रोग र शोकले लडिरहँदा बहुराष्ट्रिय कम्पनीका मालिक, तिनका एजेन्ट र ती पोषित सरकार सञ्चालकहरू नानाभाँती परिकल्पनामा डुबिरहेका हुन्छन्। हालसालै प्रकाशित एक तथ्यांकअनुसार संसारको ८० प्रतिशतभन्दा बढी सम्पत्ति सिंगो जनसंख्याका अति न्यून जनसंख्याको मुठ्ठीमा कैद छ। पृथ्वीका सबै सुखभोग गरिसकेका ती महाजन पृथ्वी बाँचोस्भन्दा पनि अर्को लोकमा रकेट चढेर घुम्नेमात्रै होइन, बसाइँ सर्ने पनि रहर गर्लान्। ती रहरले समग्र विश्वको प्रतिनिधित्व गर्दैन। ती चाहनाले पृथ्वीको भविष्यको चिन्ता गर्दैन। समग्र पृथ्वी रक्षाको जिम्मेवारी त आजका आममान्छेकै हो।

हकिङले चिन्ता गरेको प्राकृतिक विनाशको कारण नाफामुखी बजार अर्थतन्त्र हो। नाफाको लागि विकास गरिएको उपभोक्तावादी संस्कृतिकै कारण पृथ्वीको अत्यधिक दोहन भइरहेको छ। त्यसैले यो आसन्न विपत्तिको एउटै मात्र समाधान जीवनशैलीमा क्रान्ति हुन सक्छ। जीवनशैली नसुधार्ने तर पृथ्वीबाट भाग्ने हकिङको चिन्तन स्वीकार्य हुन सक्दैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.