शवको सकस
४६ वर्षीय रामकृष्ण थापाको आँखाको डिल सुन्निएझैं देखिन्थ्यो। हातमा फर्मजस्तो कागजात बोकेर त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक विभागभित्र पसेका उनले आँखाबाट बरर्र आँसु खसाले। ‘साथी’झैं व्यवहार गर्ने दाजु डा. बालकृष्ण थापाको हुलियासहितको विवरण पोस्टमार्टम (शव जाँच) गर्ने डा. हरिहर वस्तीलाई बुझाए। आमालाई गुमाएको पाँच वर्ष नपुग्दै उनले दाजुलाई गुमाए। फर्केर सिमेन्टको चिसो भुइँमा बसे। केही क्षण ओभानो भएका उनका आँखामा फेरि आँसु छचल्किए।
सोमबार काठमाडौं त्रिभुवन विमानस्थलमा यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा ७१ जनामध्ये ५१ जनाको मृत्यु भयो। डा. थापा तीमध्ये एक थिए।
०००
‘बाबा म आउँदैछु है।’ टेलिफोनबाट खुसी हुँदै भनेकी थिइन्, पूर्णिमा लोहनीले। तर उनी आउने दिन पर्खेर बसेका आफन्तका आँखा भोलिपल्ट शवको खोजीमा थिए। बंगलादेशमा एमबीबीएस अध्ययनरत लमजुङकी लोहनी घरकी जेठी छोरी थिइन्। दसैंपछि बंगलादेश उडेकी उनी पाँच महिनापछि घर फर्किने क्रममा यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा परिन्। उनको शव बुझ्न आएकी हजुरआमा निर्मला अन्य शोकाकुल आफन्तसँगै शिक्षण अस्पताल परिसरमा टोलाइरहिन्।
०००
बंगलादेशमा एमबीबीएस सक्दै गरेकी छोरी एल्जिना बरालको दुर्घटनामा परेको खबरले आत्तिएकी गंगा बराल सोमबार साँझ हुर्रिंदै काठमाडौं मेडिकल कलेज सिनामंगलमा पुगिन्। कान्छी छोरी संसारमा नरहेको पत्ता लागेपछि रातभर रोइरहिन्। रुँदारुँदा आँखा सुन्निएकी उनी शवको पोस्टमार्टम गरी छिटो पाउन पाए हुन्थ्यो भन्दै मंगलबार डा. हरिहर वस्तीसमक्ष अनुनय गर्दै थिइन्। ग्रामीण विकासमा स्नातकोत्तर गर्दाकी मेरी सहपाठी गंगाको वेदनाले मलाई स्तब्ध तुल्याइरहेको थियो। उनीजस्तै आफन्तको शव पाउन आशामा रहेका शोकाकुल परिवारलाई डा. वस्ती भन्दै थिए, ‘फर्म बुझाउनु भएका सबैजना घरतर्फ जानु भए हुन्छ। मिडियाका साथीहरू चाहिँ ५ बजे आउनु होला। प्रेस रिलिज हुनेछ।’
०००
आफन्तसमक्ष शव बुझाउन नपाउँदाको सकस डा.वस्तीमा पनि देखिन्थ्यो। सोमबार मध्यरातमा उनले तीन जनाको शवको पोस्टमार्टम गरे। उनले हामीसँग भने, ‘तारा एयरको दुर्घटनामा परी मृत्यु भएका एक जना पुरुषको शव हामीसँगै छ। जुन सधैंको लागि बेवारिसे भएर सुतिरहेको छ। आफन्तहरू कोही पनि लिन आएका छैनन्।’ १२ फागुन २०७२ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज म्याग्दीमा दुर्घटनाग्रस्त हुँदा चालक दलका तीन सदस्यसहित सबै २३ यात्रुले ज्यान गुमाएका थिए। जसमध्ये एकजना अझैं बेवारिसे छन्। आफन्तलाई शव बुझाउन नपाउँदा वस्तीलाई सकस छ।
०००
मंगलबार साँझ पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका विभागीय प्रमुख डा.प्रमोद श्रेष्ठले मिडियाका साथीहरूलाई केही भन्नु छ भन्दै बोले, ‘जनतालाई सूचना दिने तपार्इंहरूको कर्तव्य हो। तर गलत सूचना नदिनुस्। आज एउटा मिडियामा बिहान ८ बजेको न्युजमा सनाखत भइसकेको शवहरू आज ह्यान्डओभर गर्ने भन्ने आयो। एउटा पनि भएको छैन। अझै समय लाग्छ।’