कवि मार्क्स, कमरेड मार्क्स

कवि मार्क्स, कमरेड मार्क्स

मार्क्सले जिन्दगीभरि पैरवी गरे, सर्वहारा– श्रमिक वर्गको मुक्तिका खातिर। किशोर वयको कवि–जीवनदेखि ११ जना मलामीको बिदाइ पाउनुअघिसम्म मार्क्सको जिन्दगी बित्यो— वर्गमुक्तिको सुन्दर सपनाका खातिर।

जेनी !

झिज्याउँदै तिमी केरकार गर्न सक्छ्यौ—

आफ्ना गीतहरूमा म किन जेनीलाई सम्बोधन गर्छु,

जब कि ढुकढुक गर्छ मुटु मेरो केवल तिम्रा लागि...

जब कि प्रत्येक अक्षरले बक्छन् तिम्रै नाम

जब कि हरेक सरगमलाई बनाउँछौ तिमी नै सुमधुर

(कार्ल मार्क्स, जेनीप्रति)

कार्ल मार्क्स फेरि चोक–चौतारामा आइरहेका छन्, दुई सय वर्षपछि। अखबारहरूमा र अद्यावधिक नवीन पुस्तकहरूमा, सिनेमा र डकुमेन्ट्रीहरूमा। असिनपसिन गरेर असजिलो जिन्दगी बाँचिरहेका मान्छेहरूका चेतनामा फेरि प्रवेश गर्दैछन्, मार्क्स। सपना देख्ने नयाँ युवाको भविष्यबोधमा उज्यालो बनिरहेका छन् फेरि मार्क्स। आइरहेका छन् उनी दुनियाँ फेर्न एकगठ भएका राजनीतिक अभियन्ताका एजेन्डाहरूमा। बौद्धिक कर्मलाई सामाजिक पैताला दिन पनि मार्क्स फेरि आइरहेका छन्। दार्शनिकहरू संसारका व्याख्याता मात्रै होइनन्, क्रान्तिकर्मी पनि हुन् भन्नलाई पनि मार्क्स साँच्चै फेरि आइरहेका छन्।

दुई सय वर्षअघि (सन् १८१८) जर्मनीमा जन्मेका यी दार्शनिकको २००औं ह्याप्पी बर्थ एन्निभर्सरी चलिरहेको छ, दुनियाँभरि। उनी र एंगेल्सद्वारा लेखिएको कम्युनिस्ट मेनिफेस्टोको १७० वर्षको एन्निभर्सरी पनि चलिरहेकै छ। दार्शनिकद्वयको संसारप्रसिद्ध ‘पुँजी’ पुस्तकले अघिल्लो वर्ष नै १५० औं वर्षगाँठ पार गरिसक्यो। यी सन्दर्भहरूलाई लिएर संसारभरिका प्रख्यात विद्वान्हरू मार्क्सको पुनरागमनबारे लेखिरहेका र बोलिरहेका छन्।

द्वीशताब्दीपछि मार्क्सवादको हाउगुजी !

कम्युनिस्ट मेनिफेस्टोको आप्तवाक्यमै आफ्ना संगातीसहित मार्क्सले लेखेका थिए— युरोपभरि साम्यवादको हाउगुजी घुमिरहेको छ। युरोपका सत्ताधारीहरू साम्यवाद अर्थात् कम्युनिज्म नामको त्यही हाउगुजीबाट त्रसित र सशंकित थिए। दुई शताब्दीपछिको संसारका पुँजीपतिहरूलाई चाहिँ यतिखेर मार्क्सवादको हाउगुजीले हैरान पारिरहेको छ। कम्युनिस्ट भनिएका पूर्वसोभियत संघ लगायतका मुलुकहरू भत्किसके, चीनले नाफा कमाउने बेग्लो बाटो लिइसक्यो, कहीँ पनि चुनौती दिनसक्ने शक्तिसहित कम्युनिस्ट सत्ता शासनमा छैन। तर, मार्क्सवादको हाउले धेरैको टाउको खाइरहेको छ।

नेपालकै सन्दर्भमा पनि नाम कहलिएका कतिपय लेखकलाई मार्क्सवाद वा मार्क्सवादी दर्शन खपिनसक्नुको हाउगुजी भएको छ। नाम किटेरै मार्क्स वा मार्क्सवादमाथि जुध्न वा प्रहार गर्ने ल्याकत नभएपछि एकथरी मान्छे ‘प्रगतिशील’ विशेषण उचालेर हावामा कुचो हानिरहेका भेटिन्छन्, बेसुरमा हुरहुर गरिरहेका सुनिन्छन्। पपुलिज्म बिमारबाट ग्रस्त भएकाहरू र सत्ताशक्तिमा पुग्न चाहँदाचाहँदै नपाएर भड्किएका ‘अतृप्त आत्माहरू’ झाँक्री पारामा बेलाबेला चिच्याएको पनि सुनिन्छ।

दुई सय वर्षपछि पनि सार्थक र सान्दर्भिक भइरहेका मार्क्स आफ्नो जीवनकालका अलोकप्रिय लेखक र असफल क्रान्तिकारी भन्न मिल्ने व्यक्ति हुन्। कम्युनिस्ट मेनिफेस्टो, जुन किताब आज संसारप्रसिद्ध छ, त्यतिबेला त्यो कुनै बेस्टसेलर पुस्तक होइन। पहिलोपटक छापिएका प्रतिहरू ‘आउट अफ प्रिन्ट’ हुन २४ वर्ष लागेको थियो। पहिलो भाग आउन्जेल ‘पुँजी’ पनि चौतर्फी बेवास्ता गरिएको ग्रन्थ हो। चार वर्षसम्म बल्लतल्ल त्यस किताबको एक हजार प्रति बिक्री भएको थियो। अनि अंग्रेजी भाषामा अनुवाद हुन त्यस किताबले दुई दशक लामो कालान्तर कुर्न परेको थियो। कसैको सफलता र असफलतालाई मृत्युका मलामी संख्यामा मापन गर्ने चलन हाम्रो समाजमा व्याप्त छ। सायद बहुमतीय लोकतन्त्रको सौन्दर्यजस्तै होला, यो संख्याधारित मलामी गणना पनि। तर उन्नाइसौं शताब्दीको उत्तरार्ध, सम्पूर्ण बीसौं शताब्दी र एक्काइसौं शताब्दीसम्म सदाबहार प्रख्यातिमा रहेका यी दार्शनिकका मृत्युमा थिए, जम्मा १३ जना मलामी।

खास्सा कुरा त बदल्नु पो हो !

अहिलेको राजनीतिक देशकाल कस्तो छ भने मार्क्सका नाममा खोलिएका पार्टीका बोसहरूले नै स्वयं मार्क्सलाई ठगिरहेका छन्। ब्रान्ड बेच्ने व्यापारिक युगमा कम्युनिज्मलाई र मार्क्सवादलाई नै एकथरी राजनीतिक बनियाँहरू चुनावमा ब्रान्डिङ गरिरहेका छन् अनि चुनावपछि त्यसैको मुनाफा खाइरहेका छन्।

मार्क्सले भनेका थिए, ‘दार्शनिकहरूले तरहतरहले यो संसारको बयान गरेका छन् तर खास्सा कुरा त यसलाई बदल्नु पो हो त !’

संसार बदल्छु भनेर हिँडेकाहरू, अघि लागेकाहरू यतिखेर आफैं फेरिएका छन्, आभासको गीतको भाँतीमा— संसारलाई फेर्छु भन्थ्यो, आफैं फेरिएछ। हिजो जसजसले सपना देखेका थिए, आज उनैले सपना देख्नुलाई निरर्थक प्रयत्नका रूपमा आरोपित गरिरहेको छ। भनिन्छ— जसको दृष्टिचेतमा भविष्यको चित्र छैन, उसले कुनै सुन्दर सपना नै देख्दैन। आज नाममा मार्क्सकै खेती गरिरहेका शक्तिहरू वर्तमानमा अल्झिरहेका छन्।

हो, मार्क्सवादका व्यवहारिक प्रयोगहरू कति असफल भए, कतिले घुम्ती मारे। कतिले आफै घुँडा टेके। तर यसको अर्थ मार्क्सको विचारको सान्दर्भिकता औचित्यहीन भएको होइन। क्रान्तिको पराजयबाट विचारधाराको मृत्यु हुने होइन, बरु विचारधारा अनुभवसम्पन्न हुने हो। र, फेरि पनि यथास्थिति बदल्न प्रयत्न गर्नु नै दर्शनशास्त्रको खास्सा कुरा हो !

दे अम्नीबस दुबितान्दम् !

मार्क्सले भनेको छन्, आँखा चिम्लेर कसैलाई पनि विश्वास नगर। प्रश्न गर, सन्देह गर, सोधनी गर। मार्क्सलाई सबैभन्दा मन पर्ने जर्मन सूत्र हो— दे अम्तिबस दुबितान्दम् ! अर्थात् हरेक कुरामा सन्देह गर।

अहिले मार्क्सको दर्शनलाई आफ्नो बाटो देखाउने सिद्धान्त भन्ने नेताहरू यो देशका सबैभन्दा शक्तिशाली शासक छन्। तर, उनीहरू मार्क्सवाद वा कम्युनिज्मलाई आफैं खुल्लमखुला अस्वीकार गरिरहेका छन्। अनि आफूलाई प्रश्न वा सन्देहको घेराभन्दा माथि राख्न खोजिरहेका छन् अनि आफूलाई पक्का मार्क्सवादी दाबी गर्न छाडेका पनि छैनन्।

जनतासँग जाँदा उनीहरू त्यसको सपना देखाइरहेका छन्, तर त्यो केवल ब्रान्ड मात्रै भएको छ उनीहरूका लागि। त्यो केवल कमोडिटी बनेको छ। आफूलाई जनताद्वारा चुनिएका दाबी तिनीहरूले गरेका छन्, तर आफूलाई पनि कमोडिटीमा फेरेका छन् र मतदातालाई सस्तो भाउका कमोडिटीको व्यवहार गरेका छन्। सन् १८४४ को पाण्डुलिपिमा मार्क्सले लेखेका थिए, ‘पुँजीवादमा श्रमजीवीहरू आफैंले सिर्जना गरेका थुप्रै कमोडिटीको भाउभन्दा कमसल भाउमा परिणत हुन्छ।’ आज नेपाली लोकतन्त्रका नागरिकहरूको हालत आज ठीक त्यस्तै भएको छ, उनीहरूले चुनेका नेता मालामाल शासकमा फेरिएका छन् र नागरिकहरू कमसल भाउका माल मात्रै !

मार्क्सले जिन्दगीभरि पैरवी गरे, सर्वहारा– श्रमिक वर्गको मुक्तिका खातिर। किशोर वयको कवि–जीवनदेखि ११ जना मलामीको बिदाइ पाउनुअघिसम्म मार्क्सको जिन्दगी बित्यो— वर्गमुक्तिको सुन्दर सपनाका खातिर। आज एक्काइसौं शताब्दीमा पनि उनी त्यसैका लागि सम्झिएका र आत्मसात् गरिएका छन्। तर नेपाली प्रसंगमा विडम्बनाको कुरा के छ भने आफूलाई मार्क्सका अनुयायी बताइरहेकाहरू नै वर्गरहित समाजवाद र वर्गरहित समृद्धिको राजनीतिको स्पिकर घन्काइरहेका छन्। यस्तै स्पिकर घन्काउनेहरूप्रति इंगित गर्दै (कार्ल मार्क्सकै सम्झनामा लेखिएको एक लेखमा) लेनिनले भनेका छन्, ‘युरोप र एसियाको अनुभवपछि जसले वर्गरहित राजनीति र वर्गरहित समाजवादको कुरा गर्छ, उसलाई पिँजडामा बन्द गरेर अस्ट्रेलियाको कंगारु वा त्यस्तै अरू जनावरसँगै प्रदर्शनीमा राखिदिनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.