कालिञ्चोकमा हिउँको तन्ना

कालिञ्चोकमा हिउँको तन्ना

काठमाडौं सहर रत्तिभर पैदलयात्रु मैत्री छैन। यो सहरमा पैदलयात्रु हुनु भनेको सडक दुर्घटनाको जोखिम बोक्नु हो। श्वासप्रश्वास रोगलाई निम्त्याउनु हो। दुर्घटना र रोगको भारी मात्र हैन, मनोवैज्ञानिक भारी बोक्नु हो। मोटरसाइकल, गाडी किन्न नसक्ने लाछी उपाधिको। खासमा पैदलयात्रु प्रकृतिको साथी हो। तर, राज्यले प्रकृतिको साथीलाई धेरै हेपेको छ। राज्य प्रकृतिको साथी हुन नसकेपछि, दुश्मन हुने भयो। पैदलयात्रुलाई कतै सुविधा छैन। न भौतिक, न प्राविधिक, न मनोवैज्ञानिक।

सार्वजनिक यातायात यो सहरमा दिउँसै ओहोरदोहोर गर्ने दैत्य हो। उनान्सय प्रतिशत सार्वजनिक यातायातले हरेकपटक आफ्नै नागरिकको आत्मसम्मान खोस्छ। महिला, वृद्धवृद्धा र अपांगको निम्ति त नरक यात्रा नै बन्छ। सार्वजनिक यातायात चढ्दा नियाल्नुपर्छ। भेडाबाख्राजस्तो वा रूखको हांगामा तुर्लुंग झुन्डिएको चमेराजस्तो हुन बाध्य पार्छ। कन्डक्टरको व्यवहार हद नाघेर कर्कश र ठाडो। पेसेन्जर निहत्था छ। असहाय। विवशतामा कतै टोलाउँदै गरेको। समाजवाद उन्मुख नेपालको सामूहिक विम्ब— भावशून्य अनुहार बोकेको लाचार यात्रु।

केही समयअघि सेतोपाटीमा राजधानीको ऐतिहासिक सम्पदा नासिँदै गएकोमा चिन्ता जताइएको लेख पढेको थिएँ, शिक्षाविद् केदारभक्त माथेमाको। उनले बग्रेल्ती उम्रिएकाझैं लाग्ने दुईपांग्रे मोटरसाइकललाई साह्रै उपयुक्त संज्ञा दिएका छन्— साङ्ला। मोटरसाइकलमै आश्रित म गम खान्छु। साह्रै उपयुक्त विम्ब। त्योभन्दा सटिक नाम भेट्टाउँदिन। मोटरसाइकल चढ्दाको सम्झना गर्छु। निमेष बितेको हुँदैन; सडक, गल्ली, चोकबाट छक पार्ने गरी पचासौं बाइक ओइरिन्छ; जसरी भान्सामा बत्ती निभाउन पाएको हुँदैन, पचासौं साङ्ला चढाइ थाल्छन्। काठमाडौंको अस्तव्यस्त सडकमा मोटरसाइकल चालकसँग साङ्लाका यथेष्ठ कथाहरू हुनुपर्छ, विविध रंग र स्वादको। मस्तिष्कको पर्दामा हेलमेट लगाएका साङ्लाहरूको चित्र देखिनसाथ हाँसो उठ्छ। माथेमाले हाम्रो अल्छे प्रवृत्तिलाई इंगित गर्दै अभिव्यक्त गरेका विचार अझ कठोर छ, ‘नेपालीले पाए भान्सासम्मै मोटरसाइकल लग्छ।’ मोटरसाइकल र हेल्मेटमा मानिस यति अभ्यस्त भइसके कि, छोटो समयको किनमेल गर्दा चालक हेलमेट उतार्दैन। मानौं हेलमेट टोपीभन्दा बढी केही होइन। हेलमेट लगाएरै सहज भावमा घुमफिर गर्छन्, किनमेल सिध्याउँछन्। करोडौं वर्ष लिई उद्भव भएको सबभन्दा चेतनशील भनिएको होमोस्पापियन्स हेलमेटधारी साङ्लामा रुपान्तरण भएको देख्दा उदेक लाग्छ। म पनि अपवाद छैन। काठमाडौंमा साङ्लाको बढ्दो संख्यामा दिक्दार हुन्छु।

फेवा किनारमा सौन्दर्य

म पोखरा जाँदा प्रायः फेवाताल वरपर बस्छु। साँझ फेवाको किनारमा ढुंगा ओछ्याएको पैदलमार्गमा हिँड्छु। पहिले महेन्द्रपुलको होटलमा बस्थेँ। पछि थाहा भयो, महेन्द्रपुलभन्दा फेवाताल सस्तो। अफ सिजनमा त झनै। हल्लनचोकबाट सजिलै महेन्द्रपुलको सार्वजनिक यातायात पनि उपलब्ध हुने। र, सबभन्दा महŒवपूर्ण, साँझ फेवा किनारमा सौन्दर्यको फाइदा उठाउँदै हिँड्न पाइने। पत्र पत्र परेको डाँडाको फेदसम्मै तालका लहरहरू फैलिएको दृश्यपान गर्दै हिँड्नु कम्ता आल्हादकारी हुँदैन। बैंसका रूखलाई छोई बहने बतासले अनुहारमा स्पर्श गर्दाको आनन्द वर्णनातीत छ। सारङ्कोटबाट चियाउने माछापुच्छ्रेको दृश्यले फेवा किनारको हिँडाइलाई उसै अद्भुत बनाउँछ। न धुवाँ, न धुलो। न साङ्लाको सकसक। न गाडीको घ्यारघ्यार, न ठेलमठेल। शरीरमा मात्र होइन, मनमै एक खालको स्फूर्ति प्रदान गरेर जान्छ, हिँडाइले। स्ट्रोलले। म साँझपख नै रोज्छु। बिहान ढिलो उठ्ने भएकाले। करिब पैंतालीस मिनेट हिँड्न तीनपटक ओहोरदोहोर गर्नुपर्छ। साह्रै रमणीय भए पनि त्यो मार्गको लम्बाइ छोटो। कम्तीमा पनि एक घन्टासम्म एकसरो हिँड्न पाए, आनन्द कति थपिन्थ्यो।

म कल्पना गर्छु। हाम्रा सहरहरूमा आधा दर्जन पैदल हिँड्न मिल्ने खुला चौर वा पार्क भइदिए एकाध घन्टा आत्मालाप गर्दै हिँड्न सकिन्थ्यो। जहाँ बाबाआमाहरू आफ्ना बालबालिका लिएर केही समय घुमुन् र ढुक्क होऊन्। स्कुल जान आनाकानी गरेका विद्यार्थी एकछिन निश्चिन्त खेलून्। जागिरको खोजीमा भौंतारिएका युवाहरू केही समय सुस्ताउन र ऊर्जालाई पुनः सोहोरेर फेरि जीवनमार्गमा अगि बढून्। स्थान अभावले प्रेमभाव सम्बोधन गर्न नसकेका प्रेमीप्रेमिकाहरू साथै बसून् र व्यग्र जीवनको ठेलीमा सपनाका औंलाहरूले केही पृष्ठ कोरून्।

म थप कल्पना गर्छु। त्यस्ता खुला चौरमा बस्दा वा विचरण गर्दा क्लेशहरू बिस्तारै पखालिऊन्। हतार समय एकछिन रोकियून् र मान्छेले आफैंभित्र नियाल्ने समय भेटून्। हल्ला बाहिरै रोकियून्। मुसा दौडको फिनिस लाइन पनि। सूचनाप्रविधिले अचेट्दै लगेको तथ्यप्रति मानिस सजग होऊन् र प्रविधिसँग स्वस्थ दूरी निर्माण गरून्। यान्त्रिकता हटून् त्यस्ता खुला चौरले र बिर्सिंदै गएको प्रकृतिको शाश्वतताप्रति मानिसलाई पुनः सम्झाऊन्। खै त खुला मैदानहरू ? खै त पैदल यात्रु हिँड्ने मार्गहरू ? खै त रूखका पातलाई छुँदै बहने बतासहरू ? खै साङ्लाले आक्रान्त नपारेका सहरहरू ?

साँझपख नारायणचौरमा

पछिल्लो सार्क सम्मेलनको पूर्वसन्ध्यामा नक्साल छेउ नारायणचौरलाई पार्कको रूपमा विकसित गरेपछि मेरो जीवनमा सुन्दरताको केही पृष्ठ थपिएको छ। म हरेक साँझ नारायणचौरमा चारपाँच चक्कर लगाउँछु। ढुंगाले छापेको बाटोको वरिपरि वृक्षहरू लगाइएको छ। भित्र दूबोको चौर छ, जहाँ मानिसहरू आनन्दले वि श्राम गरिरहेका देखिन्छन्। ल्यान्डस्केपिङले सडकमा देखिने भीडभाडको दृश्य थोरै छेक्छ। यद्यपि सडकमा गुड्ने वाहनको आवाज त्यसले रोक्न सक्दैन। तर पनि त्यो सुन्दर छ। दक्षिण कुनामा बालबालिका खेल्ने कर्नर छ। सुरक्षा प्रहरीको व्यवस्था गरिएकाले त्यो स्थान सुरक्षित छ। साँझको एकाध घन्टाको हिँडाइले निकै आनन्दित बन्छु।

नियमित भेटिने केही अनुहार सम्झन्छु। दुईजना छोरीसँग हिँड्ने थसुल्ली आमा। फटाफट हिँड्ने तीनचारजना युवक। रोगबाट भर्खर तंग्रिएझैं लाग्ने एकजना प्रौढ, जसलाई उनकी छोरीले सहयोग गरिरहेकी हुन्छिन्। एक्लै देखिने पातलो काँठीको मान्छे। चौरमा बस्ने, बेन्चमा बसेर प्रेमिल वार्तालापमा मग्न दर्जनौं युवकयुवती। सबै सम्झन कहाँ सम्भव छ र ? चारपाँच फेरो लगाएर घर आउँदा करिब पैंतालीस मिनेट मज्जाले बित्छ। मन र आत्मालाई सिँच्ने समय हो त्यो। नारायणचौरको सानो पार्क मेरो जीवनमा यति उपयोगी हुन्छ भन्ने कल्पना पनि गरेको थिइनँ। खुला चौरले सोचेभन्दा बढी आनन्द दिने रहेछ।

अनुसन्धानकर्मी मित्र राम पण्डितले एकपटक नेपाल वन प्राविधिक संघमा विदेशमा अध्ययन गरिएको खुला स्थानको आर्थिक मूल्यांकनबारे निचोड प्रस्तुत गरेका थिए, अस्ट्रेलियाको। प्रत्येक तीन सय मिटरको दूरीमा खुला पार्क बनाउँदा रहेछन्, सरकारले। यसलाई नेबरउड पार्कभन्दा रहेछन्। सहरी योजनामा नेबरउड पार्क अनिवार्य हँदा रहेछन्। त्यो सुन्दा मलाई अस्ट्रेलियनहरू भाग्यमानी रहेछन् भन्ने लागेको थियो। भाग्यलाई मान्दिनँ तर विदेशको नागरिक भएकैले त्यो सुविधा उपभोग गर्न पाएकोले भाग्यमानीजस्तो लाग्ने। तर, काठमाडौंवासीलाई त्यस्तो पहँच कहाँ छ र ? हाम्रा पुर्खाले पनि चौताराहरू बनाएका थिए। त्यस्ता चौतारा, खुला चौर र फाल्चाहरू कति नै बचेका होलान् ?      

लाटोकोसेरो महोत्सव

पछिल्लो चारपाँच महिना लाटोकोसेरोको बारेमा धेरै नै रोचक जानकारी प्राप्त भयो। प्रकृतिको साथी संस्थाले केही वर्षदेखि देशका विभिन्न स्थानमा लाटोकोसेरो महोत्सव गर्छ। गत फेब्रुअरीमा उक्त संस्थाको प्रमुख चराविद् राजु आचार्यको आमन्त्रणमा जिरी पुगेँ। मानिसझैं आँखा घुमाउन नसक्दा लाटोकोसेरोले टाउको नै घुमाउँदा रहेछन्। २७० डिग्रीसम्म टाउको घुमाउने भएकाले मानिसले यसलाई भयावह पक्षीको रूपमा हेर्दा रहेछन्। मानिसको पूर्वाग्रह, आफ्नो आनीबानीभन्दा फरक हुनसाथ अलच्छिन, अशुभ ठहर गर्दिहाल्ने। त्यसैमा हुहुहु आवाज निकालेपछि त सक्किगो। भूतप्रेतकै वाहन ठान्दियो।

वास्तवमा लाटोकोसेरो किसानका साथी रहेछन्। हजारौं मुसा मारेर कृषकलाई सघाउने। महोत्सवका दुई पक्ष भने सर्वाधिक महत्वको लाग्यो। पहिलो, सखारैको चरा अवलोकन। सखारै नजिकको जंगलमा चरा अवलोकनमा सहभागी भएँ। प्रख्यात चराविद् हटन चौधरीले नेतृत्व सम्हालेका थिए। केही थान दूरबिनहरू। दर्जनौं युवा। सिकारु मलाई भने चरा देख्नै हम्मे पथ्र्यो। मानौं, चराले म सिकारु भन्ने थाहा पाएको छ। चौधरीजीबाट चरा देखेको खबर पाएर पनि चरा भएको स्थान ठम्याउन एकाध मिनेट लाग्थ्यो मलाई।

नांगो आँखाले ठाउँ ठम्याएपछि दूरबिन लगाउदा अर्कै स्थानमा पर्न गई दूरबिन फेरि आँखाबाट हटाउनु पथ्र्यो। चराहरू हाँगा सरिरहँदा देख्नै कठिन। एउटा कुराचाहिँ बोध भयो। चरा अवलोकन गर्न विशेष धैर्य चाहिने रहेछ। दुई घन्टाको अवधिमा करिब आधा दर्जन चरा देखेपछि, चराविद्बाट त्यसको नाम र विशेषता सुनेपछि, आनन्दित हुँदै बासस्थान फर्किएँ। दोस्रो, दर्जनौं युवा, प्रायः ग्राजुयटहरूको संरक्षण पुस्ता नै निर्माण भइरहेको अनुभव भयो।

हावा मादक गन्ध बोकेर बहेको थियो। मिनी ठमेलजस्तो। स्वर्गको एक टुक्रा कतैबाट खसेजस्तो। दुर्गम स्थानमा यति सुविधासम्पन्न ठाउँ होला भन्ने कल्पनामा पनि थिएन।

अत्याधुनिक क्यामेरा, स्पटिङ क्यामरा भिरेका, चराको पुस्तक बोकेका, छतरी ह्याट लगाएका दर्जनौं संरक्षणविद्सँग कुराकानीको अवसर पनि मिल्यो। कसैले सालक, कसैले गिद्ध, कसैले पुतली, कसैले हुँडार, कसैले स्तनपायीहरूको बासस्थानमा अध्ययन अनुसन्धान गरिरहेका। विविध दक्षता र अनुसन्धानको अनुभव लिँदै गरेका संरक्षणकर्मीहरूको लघु कुम्भ मेला नै थियो। प्राणीविद् करणबहादुर साहको सुझाव र राजु आचार्यको नेतृत्वमा लाटोकोसेरो महोत्सवले एउटा इतिहासकै निर्माण गरिरहेको अनुभव भयो। उत्तिकै प्रेरणादायी पनि लाग्यो महोत्सव।

मेरो घरको सिमेन्टको टोड्कामा करिब पँच, छ वर्षदेखि लाटोकोसेरोले गुँड लगाएको छ। प्रारम्भको दुई वर्ष बचेराले कराएर सुत्नै सास्ती। लाटोकोसेरो कुन प्रजातिको हो ? प्राध्यापक साहलाई सोधेँ। गोठे लाटोकोसेरो रहेछ। लाटोकोसेरोको महŒव थाहा पाएपछि भने माया पलायो। एकपटक बचेरा उड्न नसकी बरन्डामा खस्यो। समात्दा मसिनो प्वाँखको कोमल स्पर्श हत्केलामा अनुभव भइरह्यो। बचेरा डरले थरथर काँपिरहेको थियो। जीउको मासु र हड्डी नै छोइएको अनुभव हुन्थ्यो। मानिसको भाषा बुझ्दैन भन्ने थाहा हुँदाहँदै पनि मैले बचेरालाई सुनाउँदै भनेथेँ, ‘नआत्तिऊ, तिमी सेफ छौ।’ बचेरालाई समाती छतबाट निहुरिँदै निकै कठिनाइसँग गुँडमा हुलेँ। दोस्रोपटक गमलापछाडि डरले खुम्चिएको देखेँ। त्यसलाई पनि उद्धार गरेँ, बाक्लो कागजको बाकसमा सेल्टर दिएँ, बेलुकीपख ती आफैँ उडे। छोरी र पत्नीले पनि बचेरालाई मन पराए।

हाल अनुसन्धानकर्मी सबिता गुरुङ लाटोकोसेरोमाथि अध्ययन गर्दैछिन्। समयसमयमा घर आउँछिन्। लाटोकोसेरोको फोटो खिच्छिन्। मुसा, चराका हाडखोर पचाउन नसकेका अवशेषहरू मुखैबाट ओकल्दा रहेछन्, लाटोकोसेरोले। यत्रो वर्षसम्म त्यो अवशेषलाई मैले कुकुरको गुहु मानिरहेँ। त्यो ओकलेको वस्तु, जसलाई पेलेट भनिन्छ, पत्नीले बिहानै संकलन गर्छिन्। ल्याब टेस्टबाट लाटोकोसेरोको आहारबारे विस्तृत जानकारी पाइने सबिता बताउँछिन्।

चराको बासस्थान लोप भइरहेको स्थितिमा लाटोकोसेरोको एउटा परिवार वर्षौंदेखि मेरो घरमा आ श्रय लिइरहेको छ। यो स्थिति मलाई प्रीतिकर लाग्छ। लाटोकोसेरोलाई पनि कंक्रिटैकंक्रिटको भवनले गँड बनाउने स्थानको अभाव भएको छ। त्यसैले विस्थापित भई जंगलतिर सर्न थालेका छन्। अगि पो खरको, काठको घर हुन्थ्यो। मेरो घर लाटोकोसेरोको निम्ति नारायणचौर वा फेवाकिनार बन्छ भने मलाई सन्तोष नै हुन्छ। बच्चा कोरल्ने सिजनमा छरछिमेकले तपाईंको घरको लाटोकोसेरोले धेरै डिस्टर्ब ग¥यो भन्दा, म सधैं रेडिमेड जवाफ फर्काउछु, ‘लाटोकोसेरो बसेको घर, टोल शुभ हुन्छ नि।’ उक्त जवाफले सधैं काम गर्छ। धर्मभिरु छिमेकलाई योभन्दा प्रभावकारी जवाफ अरू छैन।

हिउँको तन्ना

जिरीको लाटोकोसेरो महोत्सवलगत्तै कालिञ्चोक जाने अवसर जुर्‍यो। स्थानीय व्यवसायी लीला खड्काको पहलमा केही लेखक पत्रकार दोलखाको पर्यटन प्रवद्र्धन भ्रमणमा रहेछन्। पत्रकार मित्र रमन पौडेल पनि थिए टोलीमा। पौडेलमार्फत उहाँसँग परिचय भयो। खड्काजीले कालिञ्चोक जाऊँ न सँगै भनेपछि तयार भएँ। इच्छा थियो कालिञ्चोक पुग्ने। आयोजकसँग सल्लाह गरी कालिञ्चोक हान्निएँ। लीलाजी, चन्द्र काफ्ले, कवि हेमन्त विवश, दीपेन्द्रसिंह क्षेत्री र रमन पौडेलको समूहमा म पनि थपिए।

कालिञ्चोक पुग्दा बेलुकै भयो। अन्तिम थुम्को कटेपछि अत्यन्त मनोरम दृश्य देखियो। सानो उपत्यकामा बसेको दुई लाइनको पर्यटकीय स्थल मेलाका स्टलझै सजाइएको थियो, झिलिमिली। गिटार, टेपरेकर्डरको मधुरो आवाज हावामा फिँजारिएको थियो। गाडीबाट निस्कनासाथ सिरेटोको चिसो अनुभव हुन्छ। होटल, लज, गेस्टहाउस क्याम्प फायरको उज्यालोमा नुहाएको छ। त्यसवरपर युवकयुवतीहरू नाचगानको रमाइलोमा मस्त छन्। भिरालो छत भएका भवनहरू आकर्षक देखिन्थ्यो। कुरी रहेछ, बस्तीको नाम। काठले बनेको भवनको डिजाइन साह्रै सुन्दर। दर्जनौं गाडी, सयौं मोटरसाइकल। हावा मादक गन्ध बोकेर बहेको थियो। मिनी ठमेलजस्तो। स्वर्गको एक टुक्रा कतैबाट खसेजस्तो।

घना जंगल, पहाडी कच्ची बाटोको यात्रापछि दुर्गम स्थानमा यति आकर्षक र सुविधासम्पन्न ठाउँ होला भन्ने कल्पनामा पनि थिएन। नघुमेपछि चकित खानु स्वाभाविक रहेछ। घरमै सीमित रहँदा यसरी नै अनभिज्ञताको पृष्ठ थपिँदो रहेछ। कुरीको मादकता हाम्रो मस्तिष्कमा कतै चढिसकेको थियो। सिउसिउ जाडो। जसोतसो कोठाको बन्दोबस्त भयो। कोठामा झोला बिसाइवरि मैले साथीहरूलाई भनेँ, ‘मेरो विचारमा तापक्रम शून्य डिग्री हुनुपर्छ। बढीमा एक।’ आ–आफ्नो अड्कलबाजी भए। चन्द्रजीले एप्स हेरेर सुनाए, ‘माइनस तीन।’ हामी थप अचम्भित। जाडो भगाउने योजना बन्यो। तोम्बा आइपुग्यो। अग्र्यानिक तोम्बा भन्दै थियो साहुजी। कसैले सुनेजस्तो लागेन। अग्र्यानिक होस् वा विषादी मिस्सिएको। सबैलाई हतारो थियो। कवि दीपेन्द्रसिंह मित्रमण्डलीको दबाबमा परिहाल्यो। जिन्दगीमै तोम्बा पिएको छैन भन्दैथ्यो। जिन्दगीको जिम्मा हामी लिन्छौं भन्दैथ्यो मित्रमण्डली। जोर नचलेपछि कविजीले त्यसो भए सेयर गरौं भन्दा हाँसो फैलिएको थियो। त्यसपछि मुडमा आइहाल्यो मित्रमण्डली।

झिसमिसेमै उकालो चढ्यौ। बाटैमा छपक्कै आन्तरिक पर्यटकहरू भेटिन्थे। अँध्यारोले गर्दा आकृति मात्र देखिन्थ्यो। उकालो चढ्दै जाँदा पूर्वी क्षितिजको लालिमा ढाडमा चढ्न थाल्यो। उक्लँदै गरेका मान्छे, वरपरको डाँडा र फेदीमा कुरी प्रस्ट खुल्दै गयो। बाफ रे, चारैतिर हिउँ नै हिउँ रहेछ। मानौं, कालिञ्चोकले हिउँको तन्ना ओछ्याएर हामीलाई स्वागत गरेको छ। र हामी त्यही हिउँको तन्ना टेक्दै सानोतिनो आरोही भएका छौं। त्यही हिउँलाई छँदै चलेको रहेछ बेलुकीको सिरेटो। चढाइले स्याँस्याँ गरिरहेको छु।

घामको प्रथम प्रहर पूर्वमा कतै खसेको चाल पाउँछु। घामको किरणमा आकाशको गाढा नीलो देख्छु, डुबिएलाजस्तो। घाम नहँदा नीलो पनि कालै देखिने। उक्लँदै जाँदा कुरीका होटलहरू थोप्लाजस्ता देखिन्छन्। हरिया डाँडाका थुम्काहरू माछाबजारमा माछाका चुच्चाहरू एकआपसमा मिलाएर राखिएजस्ता देखिन्छन्। चारैदिशा देखिने डाँडाहरूका परतहरू। एकले अर्कालाई थामेका। बिछट्टैको स्काईलाइन बनाएका। समानान्तर आकाशभित्र कतै फैलिँदै गएको अनुभव गर्छु। डाँडाहरूको उचाइ प्रस्ट देख्न उकालै चढ्नुपर्ने रहेछ। खोँचमा बसेर उचाइको भेउ नपाइने रहेछ।

मलाई दशकौं अगाडिको पुन हिल चढ्दाको स्मरण भयो। लगभग एकैनाशको उचाइ, उस्तै वनस्पति र लोकेसन। मात्र घोरेपानीमा लालीगुराँसको घना जंगल छ, कालिञ्चोकमा बुट्यान। एकडेढ घन्टा हिँडेपछि कालिञ्चोकको थुम्को आइपुग्छ। घाम ढाडबाट थाप्लोमा उक्लन्छ। निधारको रातो टीका सायद घामको उज्यालोमा टल्कन्छ। थुम्कोबाट हिमचुलीहरू लस्करै उभिएको देख्दा उत्पन्न हुने प्रभाव वर्णन पर छ। थुम्कोमै म पौडेलजीको फोटो खिच्छु। पौडेलजी मेरो। निस्सिम आकाशको पृष्ठभूमिमा देखिने हिमशृंखलाको दृश्यभित्र समाहित गर्न दीर्घ निश्वास लिन्छु।

अकस्मात् मस्तिष्कमा खेल्दै गरेका विचारहरू विलुप्त हुन्छ। समय रोकिन्छ, झस्कन्छु। आवाजहरू सुनिन छाड्छ। चराहरू क्षणभरलाई उड्दाउड्दै फ्रिज हुन्छ। मानौं, ब्रह्माण्ड निमेषभरलाई टक्क रोकिएको छ। फेरि हल्लाहरू सुनिन्छ। पर्यटकहरू चल्मलाएको देखिन्छन्। मन्दिरको घन्ट सुनिन्छ। चियाको दुकानमा भीड छ। बेन्चको कुना समातेर पारिलो घाममा चिया पिउँछौं। मनस्थिति ल्याङफ्याङ बन्छ। मानौं, अब हामीसँग फुर्सदैफुर्सद छ। मान्छेको जात, चढाइ सकिएपछि यात्रा नै सक्किएको ठान्ने। दम्भी। मानौं, थप चिया पिउँदासम्म वा दुईचार सेल्फी खिच्दासम्म कुरी झरिसक्छौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.