नीजिका प्रतिस्पर्धी सामुदायिक विद्यालय

नीजिका प्रतिस्पर्धी सामुदायिक विद्यालय

 

काठमाडौं : बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा दुई हजार एक सय विद्यार्थी अध्ययनरत छन्। यस विद्यालयमा हरेक वर्ष भर्ना हुन जम्मा भएका विद्यार्थीको भीडले कुनै नाम चलेका निजी विद्यालयको झल्को मेटाइदिन्छ। नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा दैनिक ४४ वटा कक्षामा पढाइ हुन्छ।

नर्सरीदेखि नै हरेक कक्षामा तीन वटासम्म सेक्सन छन्। ‘विद्यार्थी चाप थेगिनसक्नु छ, सीमित स्रोत र साधन भएका कारण चाहेर पनि हरेक वर्ष भर्ना हुन आउने सबै विद्यार्थीलाई पढाउन सकेका छैनौं’, विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जन भन्छन्, ‘सबै विद्यार्थीलाई राख्न नसकेर प्रवेश परीक्षा लिएर छान्ने गरेका छौं।’

महर्जनका अनुसार विद्यालयले निजीले गरेझैं विद्यार्थी भर्ना गर्छ। उनीहरूलाई कोठामा मायालु वातावरणमा पढाउने, कुनै कुरा नजाने हप्काउनेभन्दा पनि मिठो बोलीबाट सिकाउनेलगायत क्रियाकलापका कारण विद्यार्थी आकर्षण बढिरहेको छ। नर्सरीदेखि नै अंग्रेजी माध्यमबाट पढाइ हुने, कक्षा चारदेखि आठसम्म अनिवार्य कम्प्युटर पढाइ, विषयगत रूपमा दक्ष र मिहिनेती शिक्षक, पढाइमा सूचना प्रविधिको प्रयोग तथा हरेक वर्षको एसएलसीको आएको नतिजा इत्यादि यस विद्यालयका थप आकर्षक विशेषता हुन्।

शैक्षिक सत्र सुरुसँगै विद्यार्थी भर्नाका लागि भौंतारिने अभिभावकका लागि आदर्श गन्तव्य बन्न सक्छ। अब्बल सामुदायिक विद्यालयको पंक्तिमा त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक स्कुलको नाम पनि अग्रपंक्तिमा आउँछ। उत्कृष्ट शैक्षिक स्तरकै कारण शिक्षा क्षेत्रका उत्कृष्ट पुरस्कार मानिने राष्ट्रिय शिक्षा पुरस्कार २०७४ पनि विश्व निकेतनले हात पारिसकेको छ। २००३ सालमा स्थापना भएको यस विद्यालय सामूदायिक विद्यालयमध्ये विद्यार्थीको रोज्जा विद्यालयको रूपमा स्थापित भएको छ।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेल भन्छन्, ‘२०७३ को एसईई परीक्षामा यसै विद्यालयकी विद्यार्थी रोजिना अधिकारी सामुदायिक विद्यालयतर्फबाट उत्कृष्ट भएकी थिइन्। २०७२ मा आशीष सापकोटा र सक्षम वाग्ले पनि नेपाल उत्कृष्ट भएका थिए।’

थानकोटस्थित मंगलोदय माध्यमिक विद्यालय पनि अग्रभागमै पर्छ। यस विद्यालयमा अहिले कक्षा नौ मा एक सय ४० भन्दा धेरै विद्यार्थी अध्ययनरत छन्। ती विद्यार्थीका लागि स्कुलले तीन वटा सेक्सन बनाएर छुट्टाछुट्टै कक्षा र पढाइको व्यवस्था गरेको छ। अन्य कक्षामा पनि विद्यार्थी उपस्थिति मनग्य छन्।

सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कियो भन्ने आम अभिभावकको बुझाइविपरीत मंगलोदयले गरेको प्रगति सामुदायिक विद्यालय सुुधारका अभियानमा लागेकाहरूका लागि समेत प्रेरणादायी छ। सामुदायिक विद्यालय सुधारका लागि के कस्ता गतिविधि गर्न सकिन्छ भन्ने गतिलो उदाहरण यस विद्यालयले प्रस्तुत गरेको छ।

विद्यालयमा कक्षा एकदेखि १० सम्म मात्र एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन्। शैक्षिक संस्थाहरू खुुल्ने नियमित समय बिहान १० बजे भए पनि उक्त स्कुलमा हरेक दिन सवा नौ बजेदेखि नै पढाइ सुरु हुन्छ। धेरैजसो विद्यार्थीले कठिन मान्ने गरेको विज्ञान, गणितलगायत विषय सातामा आठ घण्टी पढाइ हुन्छ। हरेक शनिबार विद्यार्थीको परीक्षा लिइन्छ।

अब्बल सामुदायिक विद्यालयमध्येकै बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयले पनि पनि विद्यार्थी र अभिभावकको विश्वास जित्ने कामलाई योजनाबद्ध रूपमा अघि सारेको छ। विद्यार्थी, शिक्षक, अभिभावकको सम्बन्ध नजिक बनाउन बाक्लो भेटघाट, अभिभावकको हातमा मात्र नतिजा जिम्मा लगाउने प्रचलनले पनि आफ्ना बालबालिकाप्रति परिवार नै बढी उत्तरदायी बन्ने गरेका यहाँका शिक्षकहरूको भनाइ छ। अनुशासनसँगै निजी विद्यालयजस्तै टाई बेल्टसहित अनिवार्य पोसाकको व्यवस्था गरिएको छ। कम्तीमा स्नातकोत्तर गरेका तालिमप्राप्त शिक्षकलाई प्राथमिकता दिएर विद्यालयको नतिजा र व्यवस्थापनलाई सुधार गरेको प्रधानध्यापक गीता खरेलले बताइन्।

राज्यबाट प्राप्त स्रोतसाधनले अपुग भएपछि बृहत् अभिभावक भेला गरेर स्रोतको व्यवस्थापन गरेको विद्यालयको भनाइ छ। कक्षा ३ सम्म एक हजार दुई सय र माध्यमिक तहलाई दुई हजार सात सय वार्षिक शुल्क लिएर खर्चको व्यवस्थापन गर्दै आएको विद्यालयको भनाइ छ।

आधारभूतसम्म अनिवार्य र माध्यमिकस्तरसम्म निःशुल्क शिक्षा मात्र नभएर व्यवस्थित, गुणात्मक नजितासहितको शिक्षा दिन सुरु गरेपछि नतिजामा सुधार आएको प्रअ खरेलले बताइन्। माछा मारेर दिने नभई माछा मार्ने सीप सिकाउने शिक्षा दिँदै आएकाले उत्कृष्ट नतिजा ल्याउन सकेको विद्यालयहरूको दाबी छ। घोकन्ते शिक्षाभन्दा पनि प्रयोगात्मक शिक्षालाई अभ्यास गर्दा नतिजा सुधार भएको विद्यालयको भनाइ छ।

हरेक वर्ष विद्यार्थी चापका कारण भर्नाका लागि प्रवेश परीक्षा लिनुपर्ने र प्रवेश परीक्षामा विद्यार्थी उत्तीर्ण गराइदिन अनुरोध गर्दै सरकारी कर्मचारीको समेत दबाब खेप्नु यस विद्यालयका लागि सामान्यजस्तै बनिसकेको छ अहिले। विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेका सामुदायिक विद्यालयहरूका संख्या दिनप्रतिदिन बढिरहँदा भक्तपुरको वागेश्वरी, ललितपुरकै श्रमिक शान्ति, बालाजुको तरुण, पद्मोदय, पद्मकन्यालगायत दर्जन बढी सामुदायिक विद्यालय अहिले विद्यार्थी र अभिभावकका लागि समेत रोज्जा विद्यालय बनिरहेका छन्। यस्ता विद्यालय अन्य सामुदायिक विद्यालयका लागि समेत उदाहरणीय बनिरहेका छन्।

रत्नराज्य माविकी प्रअ डा. खरेल प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सबैले व्यक्तिगत स्वार्थभन्दा माथि रहेर जिम्मेवारी बहन गर्न सके विद्यालय सुधार्न कठिन नहुने बताउँछिन्। ‘शिक्षकले जागिरे मानसिकता त्यागेर अवसरको रूपमा लिनुपर्छ। आफू आबद्ध स्कुललाइ कसरी सुधार्न सकिन्छ भन्ने भावना सबैमा हुनुपर्छ’, खरेल भन्छिन्, ‘यति गर्न सकियो भने समुदायले पनि पत्याउँछ, विद्यालयलाई आवश्यक स्रोत जुटाउन पनि कठिन हुँदैन।’ कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा दुई हजार एक सय विद्यार्थी अध्ययनरत छन्।

शिक्षकले छोराछोरीलाई आफैंले पढाएको स्कुलमा पढाएका छन्। सांसद तथा राजनीतिक दलका नेताले पनि यही स्कुलमा छोराछोरी पढाएका छन्।

‘अन्य स्कुलमा विद्यार्थी बोलाउन घरदैलो अभियान चलाउनुपर्छ। हामीकहाँ भने अहिले नै अभिभावकले भर्ना फाराम लिएर जान थालिसक्नुभएको छ। अभियान चलाउने हो भने त हामीलाई थेग्नै नसक्ने विद्यार्थी आउँछन्’, खरेल भन्छिन्, ‘तैपनि राज्यले राम्रो गर्ने र नराम्रो गर्ने सबै विद्यालयलाई एकै व्यवहार गरेको छ। राम्रो गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो गर्नेलाई दण्डित गर्ने परिपाटी बसाल्न सके अझ सुधार गर्न सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.