घट्यो एसईईको राैनक

घट्यो एसईईको राैनक

काठमाडौं : नाम परिवर्तन र लेटर ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक भएसँगै माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) को रौनक पनि घटेको छ।

तीन वर्षअघि कार्यान्वयनमा आएको लेटर ग्रेडिङ प्रणालीबारे विद्यार्थी, अभिभावक र शिक्षकसमेत राम्रोसँग परिचित हुन नपाउँदै गत वर्षदेखि परीक्षाको नाम नै एसईई बनाइएपछि आकर्षण घटेको सरोकारवालाको अनुभव छ। तोकिएको अंक ल्याउने विद्यार्थी उत्तीर्ण हुने र तोकिएभन्दा एक नम्बर मात्र कम अंक ल्याउने विद्यार्थी अनुत्तीर्ण हुने प्रणाली अव्यावहारिक भएको गुनासो आएपछि परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको प्राप्तांकको आधारमा नौ तहमा वर्गीकरण गरेर नतिजा सार्वजनिक गर्ने प्रणाली सुरु गरेको थियो।

शिक्षा ऐन संशोधन भएर उच्चमाध्यमिक तह मानिएको कक्षा ११ र १२ लाई पनि विद्यालय शिक्षामा समावेश गरेपछि कक्षा १० को अन्त्यमा लिइने एसएलसी परीक्षालाई गत वर्षदेखि एसईई नामकरण गरिएको हो। ‘एकैपटक दुईथरी परिवर्तन भएपछि त्यसको प्रभाव अभिभावक र शिक्षकमा परेको देखियो। जसले समग्र परीक्षाको आकर्षण पनि घटायो’, परीक्षा नियन्त्रक अम्बिका रेग्मीले भने, ‘ कुनै पनि विषयको मूल्य निर्धारण गर्ने काम नतिजाले गर्छ तर लेटर ग्रेडिङमा नतिजा प्रकाशन हुन थालेपछि कोही पनि फेल नहुने भन्ने सन्देश विद्यार्थीमा गयो। यसको प्रभाव परीक्षामा पनि परेको जस्तो देखिएको छ।’

लेटर ग्रेडिङ प्रणालीबारे विद्यार्थी, अभिभावक र शिक्षकसमेत राम्रोसँग परिचित हुन नपाउँदै नाम नै फेरिएएपछि आकर्षण घटेको दाबी।

शिक्षाविद् विद्यानाथ कोइरालाले विद्यार्थी र अभिभावकमा परीक्षासम्बन्धी कौतुहलता नभएका कारण एसईईको रौनक घटेको बताए। ‘तपाईं कुनै काम गर्नका लागि लाइनमा बस्नुभएको छ भने कामका लागि कोठाभित्र नछिर्दासम्म कौतुहलता भइरहन्छ। तर कोठाभित्र छिरेपछि लाइनको कुनै मतलव हुँदैन’, कोइरालाले भने, ‘परीक्षा भनेको विद्यार्थीका लागि उत्तीर्ण र अनुत्तीर्ण भनेर छुट्ट्याउने विधि हो। एसईईमा उत्तीर्ण र अनुत्तीर्ण भन्ने नै नभएपछि रौनक नहुनु स्वाभाविक हो।’

कुलेश्वरका अभिभावक शंकर श्रेष्ठले बजारमा चर्चा भएजस्तो महत्व एसईईलाई विद्यालय र विद्यार्थीले नदिएको बताए। पछिल्ला वर्ष एसईईप्रति अभिभावक र परीक्षार्थीको चासोसमेत घटेको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए। ‘विगतमा परीक्षा आउनुअघि अभिभावक र विद्यार्थीको समेत निकै चासो हुन्थ्यो तर अहिले अभिभावकको त चासो घटेको छ नै, परीक्षार्थीले चिट चोर्नसमेत छोडेको मैले पाएँ’, उनले भने।

राजधानीको उत्कृष्टमध्येमा पर्ने यो सामुदायिक स्कुलबाट यस वर्ष एक सय ४९ विद्यार्थी एसईईमा सहभागी भएका छन्। आठ सय पूर्णांकको एसईईमा अनिवार्य ६ वटामध्ये गणितबाहेक सबै विषयमा ‘प्राक्टिकल’ छ। ऐच्छिक रहेको दुई विषयमा पनि प्रायः सबैमा प्राक्टिकल हुन्छ। यसले पनि परीक्षार्थीलाई परीक्षाको महत्व घटाएको कँडेलको अनुभव छ।

कालीमाटीको जनप्रभात माध्यमिक विद्यालयबाट परीक्षा दिएकी काठमाडौं बोनसाइ एकेडेमीकी छात्रा सुनिता महर्जनले भनिन्, ‘एसईई र कक्षा नौको परीक्षामा खासै भिन्नता पाइनँ। एसईईलाई पहिला जुन महत्व दिइन्थ्यो, अहिले त्यस्तो पनि छैन।’

बिहीबारदेखि सुरु भएको एसईईअन्तर्गत पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा थियो। परीक्षामा चार लाख ८७ हजार परीक्षार्थी सहभागी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.