'गरिब' कर्णाली प्रदेश यसरी बन्छ समृद्ध

'गरिब' कर्णाली प्रदेश यसरी बन्छ समृद्ध

काठमाडौं: कर्णाली प्रदेशले रारा अवलोकनका लागि २०७५ मा ५ लाख पर्यटक भित्रयाउने योजना बनाएको छ । कर्णाली प्रदेशले रारा कर्णाली पर्यटन वर्ष २०७५ मनाउँदै एक वर्षमा ५ लाख पर्यटक भित्रयाउने योजना बनाएको हो ।

अहिले रारामा प्रत्येक वर्ष ५० हजार पर्यटक जाँदै आएका छन् । पर्यटकिय क्षेत्रमा फड्को मार्ने उद्देश्यले कर्णाली प्रदेशमा नयाँ कामको थालनी गर्न रारा कर्णाली पर्यटन वर्ष मनाउन लागेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।

वैशाख १ मा रारामै क्याबिनेट

उनले पर्यटन वर्षमा आन्तरिक र बाह्य पर्यटक बढी भन्दा बढी भित्रयाउने बताए । वैशाख १ गते उदघाटन हुने रारा कर्णाली पर्यटन वर्षको लागि कर्णाली प्रदेशले सबै तयारी गरेको जनाएको छ ।

'वैशाख १ गते केन्द्र र प्रदेशको पुरै क्याविनेट रारामा उतार्छौ, प्रधानमन्त्रीबाट त्यसको उदघाटन हुनेछ’, उनले भने, ‘हामीले प्रधानमन्त्रीलाई समेत यसबारे राजी गराइसकेका छौँ । बै तयारी पुरा भयो भने उहाँलाई रारामा र्‍याफटिङ पनि गराउँछौं ।’

र्‍याफ्टिङदेखि प्याराग्लाइडिङ

शाहीले कर्णाली प्रदेशले कर्णाली नदीमा र्‍याफटिङदेखि सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा प्याराग्लाइडिङ्ग जस्ता पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम संचालन गर्ने बताए । रारा र कर्णाली नदीमा र्‍याफटिङ सञ्चालन गर्ने व्यवसायीलाई कर छुट दिने समेत उनले घोषणा गरेका छन् ।

उनले कर्णाली आर्गनिक प्रदेश बनाउने र रारा कर्णाली पर्यटन वर्ष मनाउने दुइटा घोषणा पहिलो बैठकले गरेको जानकारी गराए । उनले सुरक्षित गन्तव्यको लागि विशेष व्यवस्था गरिने समेत बताए ।

सडक र बिजुली सँगसँगै

शाहीले प्रदेशले विकास र समृद्धिका लागि सडक र विजुलीलाई पहिलो प्राथमिकता राखेको बताए । उनले कर्णालीको भाषा, संस्कृति, सभ्यतालाई चिनाउन समेत पर्यटन वर्ष मनाउन लागिएको बताए ।

उनले भने, ‘खस भाषाको उद्गम नै कर्णालीमा भएको हो ।’ कर्णाली पर्यटनको ठूलो गन्तव्य हो । हिन्दुहरु पवित्र तीर्थस्थल कैलाशमानसरोवर जाने सबैभन्दा छोटो रुट नै नेपालगन्ज-सुर्खेत-सिमकोट-हिल्सा हो ।

मुख्यमन्त्री शाहीका अनुसार कर्णालीमा राराका साथै डोल्पाको से-फोक्सुन्डो, जुम्लाको चन्दननाथ मन्दिर, तातोपानी, दैलेखको पञ्चकोशी ज्वाला र सुर्खेतको कांक्रेबिहार जस्ता धेरै सुन्दर पर्यटकीयस्थलहरु छन् ।

यसकारण पर्यटन वर्ष

कर्णालीको सौन्दर्यलाई विश्वभर चिनाएर नेपालको ठूलो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटन वर्ष मनाउन लागिएको उनले बताए । उनले कर्णालीको प्राकृतिक आनन्द समेत पर्यटन वर्षमा दिलाउने बताए ।

उनले पर्यटन वर्षमा पर्यटकहरुलाई ओढार र जंगलमा सुताएर नयाँ अनुभुति दिलाउने बताए । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश प्राकृतिक प्रदेश भएको बताउँदै भने, ओढार र जंगलमा सुताएर पर्यटन वर्षमा पर्यटकलाई छुटै अनुभुति दिलाउँछौ, सेउलाको ओछ्यान बनाउँछौ, ठूला होटलमा बस्न त किन कर्णाली जानुपर्छ र ?’

यसरी ५ लाख पर्यटक

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री तथा प्रचार संयोजक दल रावलले पर्यटन वर्ष भरी ५ लाख पर्यटक कर्णाली प्रदेशमा उतार्ने लक्ष्य लिइएको बताए । पाँच लाख पर्यटकका लागि यात्रा र बसोबासको ब्यवस्था मिलाउन प्रदेश सरकारले ठोस कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्री रावलले बताए ।

रैथाने उत्पादनको प्रवर्द्धन

उद्घाटनका क्रममा रारामा रैथाने बाली, बीउबीजन तथा अर्ग्यानिक उत्पादनका प्रर्दशनी गरिनेछ । रारा पुगेका पर्यटकहरुलाई स्थानीय उत्पादन पस्किने योजना आयोजकको छ । मन्त्री रावलले रारामा नै प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रिपरिषदको बैठक गर्ने तयारी समेत गरिएको बताए ।

मुख्यमन्त्री शाहीले आगामी १५ वर्षमा कर्णाली प्रदेशलाई नमुना प्रदेश बनाउने मार्गचित्र तयार गरिरहको जानकारी दिए । ‘अबको १५ वर्षसम्ममा कर्णालीलाई कस्तो बनाउने भनेर मार्गचित्र तयार गरेका छौं', शाहीले भने, 'त्यो केही दिनमा सार्वजनिक गर्छौँ ।’

उनले टुरीजम, हाइड्रो र जडिबुटीको हब रहेको कर्णालीमा थुप्रै सम्भावना रहेका ब्याख्या गरे । 'कर्णाली नदीबाट मात्रै ३२ हजार मेगावाट विद्युत उत्पादन हुने सम्भवना छ', जलविद्युत्को सम्भावनाबारे उनले व्याख्या गरे ।

शाहीले सुर्खेतदेखि रारा हुदैँ मानसरोवर जाने केवलकारसम्म योजना बनाउने योजना पनि सुनाए । पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बुढाले पर्यटन वर्षको प्रचारप्रसार व्यापकरुपमा भइरहेको बताए ।

सफ्ट्वयर गतिलो भएन

‘सफ्टवयर नराम्रो भयो, फाइल सबै हराए । हार्डवयर त राम्रो छ, तर सफ्टवयर नराम्रो भयो, ल्यापटपमा राखेका सबै फाइल हराए,’ नेपाललाई तुलना गर्दै मुख्यमन्त्री शाही भन्छन्,‘सफ्टवयर नै ब्रेन हो, त्यसलाई राम्रो बनाउनुपर्छ ।’

मुख्यमन्त्री शाहीले कम्प्युटरसँग नेपाललाई तुलना गर्दै सबै मिलेर नेपालको सफ्टवयर बनाउनु पर्ने बताए । उनले नेपालीको नेगेटिभ एप्रोच धैरे भएकोले समेत विकासमा पछि परेको समेत बताए ।

भारतीय फूलको माला लाउन मानिन

मुख्यमन्त्री शाहीले कर्णाली अत्यन्त परनिर्भर भएको बताउँदै स्वागतलाई भारतको फुलबाट बनाएको माला आफुले नलगाएको बताए । ‘कर्णालीमा फूलको माला समेत पाइन्न, मलाई स्वागत गर्न इन्डियाबाट फूलको माला ल्याएको रहेछ, मैले त्यो मलाई लगाइनँ,’ उनले भने,‘हामी त्यनि परनिर्भर भएका छौँ ।’

तरकारी र खाद्यन्य समेत ठूलो परिणाममा बाहिरबाटै आउने गरेको दृष्टान्त उनले सुनाए । अब कर्णालीको विकासका लागि सर्वप्रथम सरकारले स्वेतपत्र जारी गर्ने शाहीले बताए ।

अन्नको हब कर्णाली

'कर्णालीमा वार्षिक ५ लाख क्वीन्टल खाद्यन्न बाहिरबाट आउने गरेको छ', शाहीले सुनाए, 'तरकारी र खाद्यन्नमा मात्र आत्मानिर्भर हुनसकेमा कर्णालीले मुहार फेरिन्छ ।'

आलु, फापर, स्याउ र सुन्तलाको हब बनाएर उत्पादन गर्ने लक्ष्य कर्णाली सरकारले बनाइसकेको शाहीले स्पष्टिकरण दिए । 'कर्णालीलाई अर्ग्यानिक प्रदेशका रुपमा विकास गर्ने घोषणा नै सरकारले गरिसकेको छु', उनले सुनाए, 'कर्णालीमा रासायनिक मल भित्रन दिँदैनौँ । प्रांगारिक मलको उद्योग खोल्न उद्योगपतिहरुसँग कुराकानी भइरहेको छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.