बलियाका लुरे केदारनाथ
उसको नामसँग मेरो पहिलो जम्काभेट भारतीय सांस्कृतिक केन्द्रको बुक र्याकमा भो। खासमा मोहन राकेशको किताब खोज्दै थिएँ। २०४४÷४५ सालतिर मेरा साँझहरू भारतीय लाइब्रेरीतिर बित्ने गर्थे। एक दिन किताब खोज्दाखोज्दै 'अकाल मे सारस'मा नजर परेछ। भर्खर भारतको प्रतिष्ठित साहित्य अकादमी पुरस्कार पाएको त्यो किताब पढ्न थालेँ, लत बस्यो। अब 'मोहन लत' माथि 'केदार लत' थपियो। केदारनाथ सिंह कस्ता थिए कुन्नि, म भने उनको काव्य दुव्र्यसनबाट छुट्न सकिनँ।
महात्मा गान्धी विश्वविद्यालय कोलकातामा तिनै केदारनाथ बूढासँग अनायासै भेट भयो। 'आई एम फ्रम बलिया युपी, नियर फ्रम योर बोर्डर।' यसो भन्दै सानो काँठीका बूढा मुसुक्क हाँसिरहेका थिए। हुर्केको तर अलि नबढेको बच्चाजस्तो देखिने उचाइ। गोरा, हँसिला। जुँगा, दारीसँग नफरत राखेजस्तो सफाचट। मनमनै हाँसे, बलिया गाउँमा जन्मेर पनि लुरा परेछन् बूढा। त्यस दिन हामीसँग उनका कवि चेला पश्चिम बंगालका पुलिस आईजी मृत्युंजय कुमार सिंह पनि साथै थिए। हामीलाई सिला खोजेझैं भेला गर्ने सूत्रधार सोही विश्वविद्यालयका प्राचार्य डा. कृपाशंकर चौबे थिए। बहाना थियो, एक कथाकारको कथासंग्रहमाथि परिचर्चा गर्ने।
तुरुन्तै म बूढासँग झ्याम्मिएँ। केमेस्ट्री भन्ने तत्व जरुर हुन्छ क्यार !
-'नेपालका क्या नाम था... एक बहुत बडा कवि ? ' उनले सोधे।
-'कब की बात ? ' उत्तर थिएन मसँग। त्यसैले रक्षात्मक हुने प्रयासमा थिएँ। र, सोधी पठाएँ।
आदत मुताविक गम्दै बूढाले भने, 'कोइ पचास साठ साल पहले।'
-'देवकोटा ? '
-'हाँ हाँ। वही वही।'
अँध्यारोमा पड्काएको बन्दुक लागेछ। सोधेँ, 'कहाँ मिलेथे आप दोनो ? '
हेरेको त बूढा मख्ख परेका रहेछन्। विश्वकप फुटबलमा फाइनल खेल जिताउने १० नम्बर जर्सी लाउने खेलाडीजस्तो। क्षणभरमा बूढा टोलाए। लामो नास्टाल्जिक उडान भरेछन्, सुदूर विगततर्पm।
-'दिल्ली में अफ्रो-एसिया वाला लेखकों के सम्मेलन में देखा था उनको, जब मैं छोटा था।'
स्मृति बक्सबाट बूढाले देवकोटालाई उधिन्दै ल्याए। सन् ७ जुलाई १९३४ मा बलिया यूपीतिर जन्मेका ती बूढा ! सन् १९५६ डिसेम्बरमा दिल्लीमा भएको थियो, त्यो अफ्रो-एसियाली लेखकहरूको सम्मेलन। बूढा त्यो समयको बात गर्दै रहेछन्। त्यो बेला तकरिबन बाइस सालका लक्का जवान थिए होलान,् मेरासामु गफिरहेका बूढा। हाम्रो गफ घरि हिन्दी, घरि अंग्रेजी भाषामा भयो। वार्तामा सहजकर्ता बन्ने मुडमा म उनलाई सुर्राउन ब्लाक लेबल स्कच थप्न लगाउँदै थिएँ।
-'देन ह्वाट ह्याड ह्यापेन ? ' मैले अर्को घान हालेँ।
-'देअर वोज व रियुमर द्याट अ भेटेरान नेपाली पोएट अल्सो वोज इन द स्पिकर्स लिस्ट।'
-'रिअल्ली ? हाउ वोज योर इम्प्रेसन देन ? ' अलि ओभरटेक गरेर यो सोधेजस्तो लाग्यो आपंैmलाई।
-'आई माइसेल्फ वोज भेरी योंग देन... अ बडिंग राइटर।'
बूढा एक राउन्ड मस्किए। ब्लाक लेबलले गोरा वर्णका बूढाको चाउरिएका गालामा तन्किएको सजिलै देखेँ। र, पनि आवाज रुवा खसेभैंm खस्दै थियो। फुसफुस गर्दै। आवाज औसत भारतीय मापदण्डभन्दा निकै मधुरो रहेछ। अघिपछि आवाजका बारेमा जोकै छ— १० जापानिज बराबर एक भारतीय। त्यो भारतीय इज्जत बूढाले नजोगाउने रहेछन्।
बूढाका कुरा सुन्दै गर्दा डकुमेन्ट्रीजस्तो लाग्न सुरु भो मलाई। अफ्रो-एसियाली लेखकहरूको सम्मेलन दौरान दिल्लीको कुनै सभाकक्ष छ। जहाँ तरुनो यिनै कवि आँखा तानेर बसेका थिए। मञ्चमा बसेका थिए देवकोटा। यी बूढा भने दर्शकदीर्घाको भीडमा लुप्त थिए। देवकोटाको बोल्ने पालो आयो। बूढाले कमेन्ट्री गर्दै सुनाए,
-'ही स्पोक भेरी वेल... मच बेटर देन अद्र्स।'
-'ह्वाट वाज अल एबाउट ? ' मबाट बेकारको एउटा प्रश्न उछिट्टियो।
-'आई डोन्ट रिमेम्बर नाउ द टोटल कन्टेन्ट। हाउएभर वाज एबाउट कन्टेम्पोररी राइटिङ... एन्ड ही थ्रिल्ड अल अफ अस।'
त्यो सुनेर म रोमाञ्चित भएँ। नेपालको देवकोटाको करेन्ट त्यो बेलाका यी भारतीय युवा कविलाई पनि लागेको रहेछ। जसरी यी बूढाको करेन्ट अहिलेको हाम्रो नेपाली पुस्तालाई लागिरहेछ। कविताको सिमाना भत्किएको देखेँ।
मलाई खुदो भो जब सुनेँ, यी रमाइला बूढा वर्षको कम्तीमा एक चोटि दिल्लीबाट कोलकाता झर्थे। काठमाडौंका मान्छे जाडो छल्न तराईतिर झरेजस्तो। यसबीच कोलकातामा आमा बितेको केही वर्ष भइसकेछ। आमाले कहिल्यै दिल्ली सहज मानिनछिन्। बरु कोलकातामा सहज मानिछिन्। कोलकाता सहरको हुगली नदीपारि किनारमै बूढाको दिदीको घर रहेछ। आमाले आफ्नी छोरीसँग त्यहीँ आफ्ना दिन गुजारिन्। त्यसैले आमालाई भेट्न बूढा कोलकाता धाउन थाले। तबसम्म धाई राखे, जबसम्म आमा बितिनन्। आमा बितीकन पनि बूढा कोलकाता धाइरहन्छन्। भन्थे, 'आमाको नियास्रो मेट्न आको।' अचेल आमाको साटो बूढी भएकी दिदी भेटेर आमाको न्यास्रो मेट्छु भन्थे बूढा।
मसँग हिमचिम बढीकन कोलकातामा बूढाका लागि एक घर थपियो। जबजब बूढा कोलकाता झर्थे, 'एक शाम, आप के साथ' भन्थे। बूढाका आफैंले रोजेका चारपाँच महारथीहरू अघिपछि हुन्थे। ती सबै कोलकातावासी बौद्धिक जगत्का डनहरू थिए। कोलकाताबाट निस्कने पूर्वी भारतको सबैभन्दा ठूलो हिन्दी दैनिक 'सन्मार्ग'का प्रधान सम्पादक हरेराम पाण्डे कहिल्यै छुटेनन्। महात्मा गान्धी हिन्दी विश्वविद्यालयका पूर्वी भारत कोलकाताका प्रभारी चिफ डा. कृपाशंकर चौबे पनि कहिल्यै छुटेनन्। चौबे समालोचक र प्राज्ञिक थिए। भारतीय पुलिस सेवा (आईपीएस) अन्तर्गत पश्चिम बंगालमा आईजी तहमा कार्यरत कवि तथा लोकगायक मृत्युञ्जय सिंह पनि हत्तपत्त छुट्दैनथे। ती बूढाका अगाडि परेपछि वरिष्ठ पुलिस अफिसरभन्दा पनि भर्खर बोली फुटेको बच्चाभैmं ननस्टप बोलिरहन्थे।
केदारनाथ यो युगका सबैभन्दा सशक्त प्रगतिवादी कवि थिए, तथापि कुनै झन्डा उठाउँदैनथे। राजनीति र सौन्दर्यवाद बीचको सेतुबन्धन बनेर रहे। राजनीतिक कविता आक्रोशबिना पनि लेख्न सकिन्छ भन्ने सौन्दर्य चेतना दिएर गए।
मृत्युञ्जय सिंह बंगाल वा भारततिर 'एमके सिंह' उपनामले बढी चिनिन्छन्। पुलिसमा छिरेपछि यिनको पहिलो पोस्टिङ दार्जिलिङमा भएको रहेछ। त्यस बेला गोर्खाल्यान्ड आन्दोलन अलि मत्थर भएको थियो रे। त्यहाँ पठ्ठो एसपीका रूपमा ती खटिएछन्। फास्ट रहेछन्, त्यहीँ रहँदाबस्दा नेपाली भाषा टिप्न भ्याएछन् यिनले। मलाई कोलकातामा जहाँ देखे पनि परैबाट 'दाजु नमस्कार, सन्चै हुनुहुन्छ ? ' भन्थे। सकुन्जेल कन्दै नेपालीमा बोल्थे, नसकेपछि अंग्रेजीको बाटो समाउँथे। 'भुलेको नेपाली सम्झनु छ, दाजु' भन्दै त्यो एमके ब्रान्डको मीठो मुस्कान खर्च गर्थे।
बूढा कोलकाता रहुन्जेल ती गणहरूको दैनिकी फेरिन्थ्यो। बूढाको सुविधाअनुसार। जहिले जहाँ भन्यो, हाजिर रहन्थे। बूढालाई 'एमके' विशेष प्रिय थिए। बूढा पूर्वी यूपीतिरको गाँवको खलिहानवाला गीतका भोका रहेछन्। एमके राम्रा गायक परेछन्। बूढाको अफरमा जुन भन्यो, त्यही भोजपुरी लोकगीत एमकेले गाइदिन्थे। त्यसपछि के चाहियो, बूढा यूपीको बलियातिर पुग्थे। गंगाको किनारतिर बरालिन्थे। बलियाको छकिया गाउँ जहाँ उनी जन्मे र फेरि कहिल्यै नपाउने बाल्यकाल बिताए, त्यता पुग्थे। यस्तो बेला बूढा बच्चाजस्तो रम्थे। वयस्कहरूमध्ये सम्भवतः सुखी र ज्ञानी त्यो हो, जो बेला-बेलामा बच्चा बन्न सक्छ।
अर्को एक दिनको बसाइमा बूढा अरू बच्चा बनेका थिए, खुलेका थिए। स्कच जो पिइरहेका थिए। बूढाको भिडियो मैले लिन मोबाइल अन गरेँ। त्यो देखेर सनमार्ग दैनिकका प्रधान सम्पादक पाण्डेजी र महात्मा गान्धी हिन्दी विश्वविद्यालयका डा. चौबेले पनि मोबाइल अन गरेर तेस्र्याउन थाले। बूढाको प्रोटोकल बिग्रेको महसुस गरेछन्। टक्क रोकिए र बोले—
-'तुम लोग मुझे बर्बाद करने तुले हो क्या ? ओ, डिम्लोमेट है। केवल उन को अनुमति मिलेगा।'
बिचरा उनीहरूको मोबाइल बूढाले सिज गरे। मलाई नेपालका पूर्वप्रधानमन्त्री किसुनजीको याद आयो। बूढाको यो हस्तक्षेप देख्दा।
कहिलेकाहीँ पागलजस्तो सोच्थेँ, भारतीय लाइब्रेरीमा मैले बौलाउने गरी पढेका बूढा यिनै हुन् त ? मन पनि कस्तो उल्लु-उल्लु कुरा सोच्ने ? आपैmंलाई मनमनै हप्काउँथे। बूढाले मलाई पनि ठाउँकुठाउँ सघाएका छन् लेखनमा। 'बाघ' सिरिजको कविता पढ्दापढ्दै मलाई 'देहात टाइम्स' सिरिजमा कविता लेख्ने माचिस सल्कियो। देहाती जनजीवन र घटनाक्रमलाई मानवीयकरण गरेर मैले ती कविताहरू लेखेँ। जुन मेरो 'काठको बाकस' कवितासंग्रहमा पछि समेटिएर आए।
हिन्दी साहित्यका जीवित धरहरा यी बूढाका अगाडि मैले पनि आज्ञाकारी हुने प्रयास नगरेको होइन। र, पनि दुई थोकमा नराम्रोसँग म चिप्लिएँ। म डिफल्टर भएको पहिलो प्रसँग मेरो कविताको हिन्दी अनुवादको प्रसंग थियो। त्यसको विमोचनका लागि दिल्लीबाट कोलकाता आउँछु भन्थे सधैं बूढा। म मुर्दार भने मेरो दोस्रो संग्रह 'काठको बाकस' पहिला निक्लियोस् भन्दै कुर्दै गएँ। कुर्दाकुर्दै आखिरमा मेरो कोलकाता बसाइ नै टुंगियो। जनवरी २०१६ मा काठमाडौं फर्किएँ। मेरो हिन्दी अनुवादित संग्रहका लागि बूढाले प्रकाशक पनि खोजिदिएका थिए। प्रकाशकले धेरै चोटि पाण्डुलिपि मागे, जुन मैले नै दिन सकिनँ। म तोरपे नै ठहरिएँ होला, बूढाको दूरबिनबाट हेर्दा।
म चिप्लिएको दोस्रो प्रसंग थियो, मेरो कोलकातामा गर्ने भनेको एकल काव्य चर्चा। त्यो आयोजना गर्नु के भनेका थिएँ, महात्मा गान्धी हिन्दी विश्वविद्यालयका प्रभारी डा. चौबेले तत्क्षण 'ओ हम करेगेँ' भनेका थिए। बिचरा बूढाले म दिल्लीबाट आउनेछु सेसन चेयर गर्न भनेका थिए। अनुवादित हिन्दी पहिले निकालूँला भन्दै दिन गन्दै जाँदा त्यो अवसर पनि उम्काएँ। धन्नका बूढा ! मलाई बेवकुफ भन्दै गालीको कुनै रोलर कोस्टर चलाएनन्।
एकबाजी म दिल्ली पुगेको थिएँ। म दिल्लीमा आइपुगेको जानकारी दिएको थिएँ। बूढा खोज्दैखोज्दै बाराखम्बास्थित नेपाली राजदूतावास आइपुगे। म बूढाको स्नेहले पानीपानी भएँ। कहिल्यै नसुक्ने गरी। धेरै बेर भलाकुसारी गर्यौं। त्यसपछि बूढालाई बाराखम्बानजिकै रहेको भारतीय ललित कला अकादमी जानु रहेछ।
भारतमा खटिएका नेपाली कूटनीतिज्ञको प्रसंग चल्दा बूढा मेरा अतिरिक्त अर्का एक नेपाली कूटनीतिज्ञलाई पनि खुबै सम्झिन्थे। पत्ता लगाएँ, को परेछन् ती। रहेछन्, तुलसी दिवस दाइ। निकै अघि तुलसी दाइ दिल्लीमा सांस्कृतिक सहचारी रहँदा बूढालाई राम्रो इम्प्रेसन परेको रहेछ। थप्थे, 'उस के बाद हम आप को जानते हैँ भारत में।'
सम्झेर ल्याउँछु, बूढाका कैयन् समकालिकहरू उहिल्यै गुन्टा कसेर धर्तीबाटै हिँडिसके। दुई वर्षले कान्छा धूमिल होस् वा २३ वर्षले जेठा शमशेर बहादुर सिंह। भन्ठान्थेँ, बलियामा कुन हकिमको दबाई खाएर हुर्केका रैछन्, यी बूढा अभैm चंगा छन्। विचारले। शरीरले। दिल्ली र कोलकाताबीच ओहोरदोहोर गरिरहने युवा जोश जाँगरले।
अहिले त रिटायर भए बूढा। भन्थे, जतिसुकै प्रतिष्ठा कमाए पनि मलाई बचाउने जेएनयू विश्वविद्यालयको पेन्सन नै हो। जेएनयूका हिन्दी साहित्यका प्रोफेसर यी बूढा कुनै बेला विभागीय प्रमुखसम्म भएको हेक्का छ, धेरैलाई। तथापि केही वर्षपूर्व श्रीमती गुमाएपछि विदुर जीवन बाँचिरहेका थिए।
आखिर के हो
के हो कविता ?
मैले जब जब सोचेँ
मलाई रामचन्द्र शुक्लको जुँगाको याद आयो
जुँगामा लुकेको मन्द मुस्कान
मुस्कानको आडमा कविताको राज
कविताको रहस्यमाथि
हाँसिरहेको जुँगा।
('कविता के हो ? ' कविताबाट)
कोलकातामा मेरो चारवर्षे कार्यकाल बित्न लागेको थियो। डेराडन्डा कोलकाताबाट काठमाडौं सार्नु थियो। तारतम्य मिलाउन काठमाडौं आएको थिएँ। एक दिन दिउँसोतिर गीतकार रमण घिमिरे दाइको फोन टिनीऽऽऽऽ बज्यो मेरो मोबाइलमा। एकजना भद्र तपाईंसँग कुरा गर्न कस्सिनुभएको छ यहाँ, 'लौ सुन्नोस् त' भन्दै मोबाइल दिए। तीनै बूढा पो बोल्न थाले। तीनछक्क हैन, म तीसछक्क परेँ। किन मलाई नै सम्पर्क गराउनु भो भनेर सोधेँ। रमण दाइले बताए, बूढाले 'चन्द्र घिमिरे कता छन्, लौन कन्ट्याक्ट गराइदेऊ न' भनेछन्। यो कुरा सन् २०१५ को नोभेम्बरतिरको हो। उद्यमी कवि वसन्त चौधरीको निम्तोमा आएका रहेछन्, एउटा साहित्यिक कार्यक्रमका खातिर। मेरो जानकारीमा सम्भवत यो नै उनको अन्तिम नेपाल भ्रमण रह्यो।
अफिसियल बैठकको सिलसिलामा मलाई भर्खरै फेब्रुअरी ७÷८ तारिख २०१८ मा कोलकाता नपुगी भएन। बूढासँग कुरा नगरेको लामो भएथ्यो। मोबाइल बजाएँ। उठेन। हरेराम पाण्डेजी र डा.कृपाशंकर चौबेजीबाट थाहा पाएँ, बूढा बिरामी परेको। बिरामी भएर यो पालि चाँडै दिल्ली फिरेको। मलाई कोलकातापछि उडिसा र आन्ध्रप्रदेशको भिसाखापट्टनम पनि जानु थियो। नेपाल फर्किने क्रममा एकदिने दिल्ली बसाइ थियो। बूढाको नम्बरमा छोरा सुनिल सिंहसँग भने सम्पर्क भयो।
सुनिल सिंहले बूढालाई मेरो नाम सुनाएछन्। तुरुन्तै बोलाऊ भनेछन्। म बसेको लक्ष्मीनगरबाट दौडँदै एम्स अस्पतालको नयाँ प्राइभेट वार्ड रुम नं. २०१० पुगेँ। दिल्ली विश्वविद्यालयमा हिन्दी पढाउने प्रोफेसर रहिछिन् छोरी। बुवाको पढाउने बिँडो थामेकी रहिछन्। तिनै छोरी बुवाको छातीलाई न्यानो बनाउन मसाज गरिरहेकी थिइन्। सुनिल र ज्वाइँ मलाई कुरिरहेका थिए। पुग्नासाथ बूढा बोल्न थाले। खोक्न थाले। मलाई असजिलो लाग्यो। बूढाले टेरेनन्। मैले बूढालाई रोक्न खोजेँ। छोरा सुनिलले बरु कुरा गरिदिनोस्। बुबालाई खुसी मिल्छ भन्न थाले। दिल्लीमै अध्ययनरत मेरी श्रद्धासँग पनि गफ गरे बूढाले। निमोनियाले बीचबीचमा खोकी पनि रहे। मैले अघिपछि देख्ने गरेको बूढाको तम्तमाएको गाला खोजेँ। तर भेटिनँ।
म हिँड्छु भनेपछि 'ह्वेन आर यु कमिङ ब्याक ? ' अचेल ढुक्कै काठमाडौंमा रहेको सुनाएँ। 'वी आर मिसिङ यु हेयर इन इन्डिया' लरबराउँदै भने। जवाफमा मैले बताएँ, म मार्च १९ मा दिल्ली आउँदैछु। तपाईंको वाणिज्य मन्त्री सुरेश प्रभुले एउटा मिटिङका लागि हामीलाई निम्तो गर्नुभएको सुनाएँ। विस्मृतिको समस्या भएजस्तो लाग्यो। फेरि कहिले आउँछौ भन्दै पटकपटक सोधिराखे बूढाले। मैले आश्वस्त बनाउन खोजेँ। हिंड्ने बेलामा हात उठाएर बिदा गर्दै भने, 'म मार्च १९ सम्म पूरै ठीक भइसक्छु।' छोरा सुनिल र प्रोफेसर छोरीले पनि 'हो बुवा हो' भने।
अति व्यस्तताका कारण म दिल्लीको बैठकमा अस्ति १९ मार्चका दिन जान सकिनँ। २० मार्चको दिन, मेरो मोबाइल बज्यो। दीपक सापकोटा भाइको रहेछ। उठाएँ, दाइ केदारनाथ त हिजो बितेछन् भनेको सुनेँ। म मिटिङमा व्यस्त थिएँ। त्यो सुनेर फेरि अर्को जहाज दुर्घटना भएजस्तो अनुभव गरेँ।
फोन राखेपछि आपूmले जघन्य अपराध गरेको महसुस गरेँ। वादा गरेअनुसार न म १९ मार्चमा म दिल्ली उडेँ, न मैले बूढालाई कुनै खबर पठाएँ। बरु बूढा आपैंm सोही दिन यो संसारबाट उडेछन्। यो कस्तो विडम्बना ?
'उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक' भन्ने हाम्रा महाकवि देवकोटा थिए। जुन दिन देवकोटा बिते ठीक त्यही दिन लुना रकेट चन्द्रमामा ओर्लियो भनेर जंगव चौहानले एउटा अंग्रेजी जर्नलमा कतै लेखेको पंखा मेरो दिमागमा अभैm फनफनी घुमिरहेछ। मेरो भित्री योजना बूढासँग केही समय अरू गुजारेर किताबै लेख्ने प्लट थियो। जुन अब 'बिग ब्यांग थ्योरी'ले भनेभैmं चकनाचुर भएको म देखिरहेछु।
यसैबीच 'द इन्डियन एक्सप्रेस'ले उनी बितेको तेस्रो दिन २१ मार्चमा एउटा समाचार दिएको छ। बूढाको नयाँ किताब 'मतदान केन्द्र पे झप्की' बजारमा आउने तर्खरमा छ। एउटा नागरिक एकक्षण निदाए के हुन्छ ? सम्भवत यही भन्न खोजेका छन् उनले। आखिर नागरिकको अन्तिम हतियार नै त्यही हो।
उनी यो युगका सबैभन्दा सशक्त प्रगतिवादी कवि थिए, तथापि कुनै झन्डा उठाउँदैनथे। राजनीति र सौन्दर्यवाद बीचको सेतुबन्धन बनेर रहे। राजनीतिक कविता आक्रोशबिना पनि लेख्न सकिन्छ भन्ने सौन्दर्य चेतना दिएर गए। कडाभन्दा सुकोमल शब्दहरूको आवाजमा बढी दम हुन्छ भन्ने सिकाएर गए। आखिर पढाउँदाका दिनहरूमा विद्यार्थीहरूबीच उनी ज्यादै लोकप्रिय गुरु पनि थिए। सहरमा दिन गुजारेर गाउँबारे लेखिरहे। अचम्म, अन्तिम दिनसम्म लेखिरहन सक्नेमा उनी पनि दरिए। सरलता उनको शक्ति थियो। त्यसैले कतिपयले उनलाई यस उत्तर-आधुनिककालको हिन्दी साहित्यका 'गालिब' पनि भन्न भ्याएका छन्।
आऊ !
जब-जब समय मिल्छ
जब-जब समय मिल्दैन
तब पनि आऊ।...
दिनहरूलाई
चिर्दै च्यात्दै
र वादाहरूको धज्जी उडाउँदै
आऊ !
('आऊ' कविताबाट)
बूढाका यी कविता यतिखेर पुनः पढ्दा मलाई भन्न मन लागिरहेछ 'आऊ, बूढा आऊ !'
एउटा रातो पूmलमुन्तिर
मेट्रोको एउटा नीलो-नीलो टिकट पनि थियो
उस्तै ताजा
मेरो गाइडले हाँस्दै भन्यो—
फर्किने टिकट हो
कुनै पुरानो साथीले छोडी गएको हुनुपर्छ
निद्राबाट उठ्यो भने
आउनु है भन्दै।
('सात्रको चिहानमा' कविताबाट)
केदार साब ! मैले पनि काठमाडौंबाट तपाईंलाई टिकट पठाएको छु। चिरनिद्राबाट उठ्नुभयो भने प्लिज आउनु है। यसपाला बलिया हैन, कोलकाता हैन, सीधै काठमाडौं नै आउनु है !