जादुमयी कथावाचकको पछिपछि

जादुमयी कथावाचकको पछिपछि

गाडीको तीव्र गतिसँगै आँखामा झ्वाट्ट ठोक्किएर भाग्ने रंगीचंगी रूखहरूले मलाई लोभ्याइरहेका थिए। समरको अन्तिम साता मज्जाले लागेको घाम ताप्दै रूखहरूले आफ्ना हरिया पात राता, पहेँला, नीला, बैजनी र सुन्तला रङमा बदलिरहेका थिए र तिनलाई हेरेर म भित्रभित्रै दंगिइरहेको थिएँ। कृष्ण बजगाईं दाजुले हाँकेको कारको आरामदायी सिटमा बसिरहे पनि मेरो मन भने तिनै रूखका गाछीहरू मुन्तिर यता र उति कुदिरहेको थियो।

Bijaya-Sapkota-Photoजब मोटरवे छाडेर सानोे बाटोमा प्रवेश गरियो एकैछिनमा एउटा अग्लो स्थानबाट टाढाटाढासम्मको विस्तारित भूगोल देखियो। स-साना थुम्काहरू, फार्महरू, अनि सानासाना बस्तीहरू। र, तिनैमध्ये एक थियो चिल्टन हिलको आङमा रहेको ग्रेट मिसिन्डनको एउटा सानो सह जहाँ बालसाहित्यका 'अल टाइम फेबरेट' रोआल्ड ड्यालले आफ्नो जीवनको लामो समय बिताएका थिए।

आसपासको प्राकृतिक दृश्य खुलेको मौसममा यति चित्ताकर्षक देखिन्थ्यो कि वर्र्षौं यहाँको सुन्दर परिवेशलाई झेलेका ड्याल रोमान्टिक कवि नबनी किन कथावाचक मात्रै भए होलान् ? अझ उनी त यो गाउँमा पस्दा हलिउडकी सुन्दरी प्याट्रिसियालाई साथमै लिएर आएका थिए र आफैं पनि रोमान्टिक हिरोभन्दा कम थिएनन्। तर, पनि ड्यालले कविताका रोमान्टिक बिम्बलाई नखोजी बालकथाहरू बोकेर किन हिँडेका होलान्, बाटोभरि मलाई यही लागिरह्यो।

१४ औं शताब्दीतिरको लन्डनलाई मध्य इङ्ल्यान्डसित जोड्ने प्रमुख मार्ग ग्रेट मिसिन्डनको अहिले पनि भीडभाडमुक्त नै लाग्छ। झन् ड्यालको समयमा त यो पक्का गाउँ नै थियो होला। यहाँको शान्त र पूर्ण प्राकृतिक वातावरणमा ड्यालले अक्षर र केटाकेटीसित खेलेर जीवनका अन्तिम ३६ वर्ष बिताएका थिए। सन् १९५४ मा पहिलोपटक यहाँ प्रवेश गरेका उनले आफ्ना सबै महत्वपूर्ण सिर्जना यहीँ गरेका थिए। उनका कतिपय चरित्र र परिवेशसमेत यहीँको सेरोफेरोको झल्को दिन्छन्। यहीँका बाटा र जंगलतिरबाट उनले आफ्ना लागि आख्यानको कच्चा पदार्थ बटुलेको संकेत उनका आख्यानमा प्रशस्तै भेट्न सकिन्छ।

जस्तो कि, बाबुआमाले पढ्न नदिएकी 'मटिल्डा' आफ्नी आमा आल्सवरीतिर बिंगो खेल्न गएको मौका पारेर यहीँको पब्लिक पुस्तकालयमा सुटुक्क आउने गर्थी। घरनिरकै ७० नम्बरको क्राउन हाउसलाई 'द विफजी' मा उनले सुटुक्क घुसाइदिएका छन्। घरअघिल्तिरको ६४ नम्बरको घरमा रहेको 'रेड पम्प ग्यारेज' पेट्रोल पम्प 'डानी द च्याम्पिएन अफ द वल्र्ड' मा आएको छ। अलिकति परतिर स्थानीयहरूले बोक्सीको रूख भन्ने गरेको भीमकाय रूख थियो। त्यो रूख आसपासको परिवेश 'फ्यान्टास्टिक मिस्टर फक्स'मा उनले प्रयोग गरेका थिए। यी सबै परिवेशलाई हेरेर ६ फिट ६ इन्च अग्ला न अग्ला ड्याल कथा बुन्दै हिँडिरहेको काल्पनिक आकृतिको निर्माण गरिरहेको थिएँ म। भलै यो मेरो भावुकतामात्रै पनि हुनसक्छ।

तर ड्यालको व्यक्तिगत स्वभावलाई हेर्दा आफ्नो कल्पना त्यति अस्वाभाविक पनि लाग्दैन। 'जिप्सी हाउस' भनिने ग्रेट मिसिन्डन हाइ स्ट्रिटको ८१ नम्बरको यस घरमा ड्यालले अलिअलि उपद्रो पनि गरे। उनले केटाकेटीलाई आफ्ना आख्यानका चरित्रको 'रोल प्ले' गराए। घरको बगैंचामा एउटा आकासश नीलो रङको जिप्सी क्याराभान राखिएको थियो, जसमा बसेर केटाकेटीहरू उनको एउटा पात्र डानीले जस्तै एडभन्चर गर्थे। 'द बिफजी' को अनुकरणस्वरूप राति केटाकेटी सुतिसकेपछि कहिलेकाहीँ उनी घरको पर्खालमा भर्‍याङबाट उक्लिएर झ्यालबाट बाँसको घोचोले उनीहरूलाई कोट्याउने गर्थे। आफ्नी छुच्ची र निर्दयी हजुरआमालाई चामत्कारिक औषधि बनाएर खुवाउने आफ्नोे एउटा पात्र जर्जले जस्तै उनी पनि उनी आरुका चानालाई पिसेर त्यसमा रंगीबिरंगी फुड कलर हालेर विशेष पेयपदार्थ बनाएर केटाकेटीलाई पिलाउँथे।

28721482_1808849342466607_1519335715_nड्यालका यस्ता क्रियाकलाप सायद मनोरञ्जनमात्रै थिएनन्, एउटा लेखकले आफ्ना चरित्र र घटनाहरूलाई जीवन्तता दिने प्रयास पनि थियो। यहाँ आएपछि मैले यही रूपमा बुझेँ। बिहान १२ बजेदेखि साँझ ६ बजेसम्म बगैंचामा बनाइएको सानो छाप्रोमा बसेर उनी यसरी लेख्थे कि बीचमा कसैले बिथोल्यो भने उनी राक्षसको स्वरूप नै देखाउँदथे। त्यसदेखिको बाँकी समय चाहिँ उनी नजिकैको हुलाकमा हरेक हप्ता औसत तीनदेखि चार हजारसम्मको संख्यामा संसारभरका प्रशंसकबाट आउने पत्रहरू पढ्ने, तिनका उत्तर दिने अनि आफ्ना आइडियाहरूलाई प्रयोग गर्नमा पनि खर्च गर्ने गर्थे, जुन उनका आख्यानका बलिया 'इन्डिग्रेट' बन्ने गर्थे।

'जिप्सी हाउस' भनिने ग्रेट मिसिन्डन हाई स्ट्रिटको ८१ नम्बरको यस घरमा ड्यालले अलिअलि उपद्रो गरे। उनले केटाकेटीलाई आफ्ना आख्यानका चरित्रको 'रोल प्ले' गराए।

घोडा दौडमा बाजी लगाउनु उनको लत थियो। त्यस्तै कहिलेकाहीँ नजिकैैको ह्वाइटफिल्ड लेनको पातलो जंगलमा केटाकेटीलाई लिएर जान्थे र नयाँनयाँ कथाहरू हाल्थे। त्यसरी सिर्जेका कथाहरू उनको अन्तिम किताब 'द मिनपिन्स' मा संगृहीत छन् जुन उनको मृत्युको एक वर्षपछि सन् १९९१ मा छापिएको थियो। ड्याल आफ्ना चरित्रहरूसित कति मजाले बाँचेका छन् भने नजिकैको सेन्ट पिटर एन्ड चर्चमा केहीवेरबाट उनको चर्चित पात्र विफजीका जस्ता ठूला पाइतालाले उनको चिहानसम्म डोहोर्‍याउँछन्।

हामी 'रोआल्ड ड्याल म्युजियम एन्ड स्टोरी सेन्टर' नामको त्यो सानो घरमा पस्दा त्यो खासै व्यस्त लाग्दैनथ्योे। छेउको टिकट घरसहितको सानो पसलमा कर्मचारी केटी अर्की अधबैंसे कर्मचारीसित गफिइरहेकी थिई। हाम्रो अघिअघि एक हुल स्कुले केटाकेटी लिएर उनीहरूकी शिक्षिका पसेकी थिइन्। त्यो सानो म्युजियममा दुईवटा कक्ष मात्रै थिए। अर्कोपट्टिको भाग चाहिँ 'स्टोरी सेन्टर' लाई छुट्याइएको रहेछ। पहिलो कोठामा ड्यालको बाल्यकालका केही 'स्मृतिहरू' सँगालेर राखिएका थिए, जहाँ पस्नलाग्दा ढोकामा आँखा परे- 'ओहो, ढोकाको डिजाइन त चकलेट बारको जसरी गरिएको थियो।'

उनको लोकप्रिय चरित्र विली वान्काको 'वान्का' नाम कुँदिएको हेर्नलाई त्यो विशेष त थिएन तर 'चार्ली एन्ड चकलेट फ्याक्ट्री'जस्तो लोकप्रिय जादुयी आख्यानका यी सर्जकको चकलेट प्रेमलाई थाहा पाउनेका निम्ति चाहिँ यसले पनि विशेष अर्थ राख्छ। व्यक्तिगत जीवनमा पनि चकलेटको आदत यस्तो थियो रे कि हरेक दिनको खाना सकेपछि सपरिवारले नै एउटा एउटा चकलेट बार खानुपर्ने नियमजस्तै बनिसकेको थियो।

ग्यालरीको एकछेउमा उनको स्कुलेजीवनका केही सामग्रीहरू पनि राखिएका थिए। स्कुले जीवनका कमजोर विद्यार्थी ड्याल लेखाइमा त झन् यति लद्दु मानिन्थे कि अंग्रेजी पढाउने शिक्षकले त उनको रिपोर्ट कार्डमै लेखेका थिए रे - 'मैले अहिलेसम्म यस्तो कसैलाई भेटेको छैन जो शब्दहरूको थुप्रो त लगाउँछ तर लेख्नुपर्नेभन्दा पूर्णतः विपरीत लेख्छ।' तिनै ड्याल अंग्रेजी बाल साहित्यका अल टाइम फेबरेट लेखकमध्येका एक बने। 'यो ती शिक्षकको जीवनको विडम्बना थियो अथवा ड्यालको ? ' त्यहाँ सोकेसमा राखिएका विभिन्न सामग्रीहरू हेर्दै गर्दा म गम्छु। त्यहाँ भित्तामा केही तस्बिरहरू सजाइएका थिए, जसमा उनका अमेरिकी मित्र चर्चित उपन्यासकार अर्नेस्ट हेमिङवको साथमा उनले खिचाएको तस्बिर पनि महत्वका साथ सजाइएको थियो।

ती खिच्रिङमिच्रिङ आँखाले हेरे दिमागले चाहिँ बिर्सिइसकिएको थियो। कोठाको अर्को कुनामा ड्यालको सैनिक जीवनलाई प्रतिनिधित्व गर्ने सामग्री राखिएका थिए। ड्यालले आफ्नो युवावय बेलायती हवाइसेनामा बिताएका थिए र पछि हवाई दुर्घटनामा परेपछि सैनिक सेवाबाट अवकाश लिएका थिए। तर ती सामग्रीहरू मेरा निम्ति खासै रुचिकर थिएनन। मेरा आँखाले भने अरू नै कुराको खोजी गरिरहेका थिए। आफूले कुनैबेला असाध्यै रुचिका साथ पढेका ड्यालको लेखन जीवनसँग सम्बन्धित विशेष सामग्रीहरू केही होलान् कि भन्नेमा मेरो ध्यान बढी केन्द्रित थियो।

तर म निराश भएँ। लेखकको नामको म्युजियम, तर ड्यालका पाण्डुलिपिहरू केही हेर्न पाइएन। ड्यालको 'आइडिया बुक' हेर्नुथियो मलाई। आफ्ना आख्यान जन्माउनुभन्दा अघि ड्याल तिनलाई परिपक्व हुन समय दिन्थे। त्यसैले आफ्ना अनुभूति र प्लटहरूलाई उनी मोटो कापीमा टिपेर राख्ने गर्ने। पछि तीनलाई परिमार्जितरूपमा कथाको रूपमा बुन्ने गर्थे। यो ड्यालको 'आइडिया बुक' नामले चर्चित पनि छ। यसको नामकरण ड्याल आफैंले गरेका थिए कि अरू कसैले त्यो चाहिँ थाहा भएन। तर त्यहाँ 'आइडिया बुक' देखिएन। खालि त्यसका दुई पेजको नमुनामात्रै सोकेसभित्र देख्न पाइयो। रङ उडिसकेका नबुझिने ती अक्षरहरूका आसपास कोरिएका किरिङमिरिङ रेखाचित्र देख्दा यस्तो लाग्यो कि ड्याल आफ्नो लेखनकर्ममा पूर्णतः डुब्दा रहेछन्।

पहिलो ग्यालरीबाट दोस्रोमा छिर्ने बेलामा एउटा सानो कोठा थियो। त्यहाँ सीसाको बारभित्र राखिएको थियो ड्यालको चर्चित 'राइटिङ हट'को भित्री नमुना। ड्याल बगैंचामा बनाइएको सेतो रङको एउटा छाप्रोमा बसेर लेख्ने गर्थे। उनकी छोरी अभिनेत्री टेसा ड्यालले भनेकी छिन्- 'उनी आफ्नो छाप्रोदेखि अन्त कतै लेख्न सक्दैनथे।' उनले राख्ने गरेका प्रायः सामग्रीहरू यहीँ सीसाको बारभित्र राखिएको रहेछ। ड्याल लेख्न बस्ने कुर्सी, त्यहाँ राखिएको थियो। उनी लेख्न टेबुल प्रयोग नगरी सानो प्लाइउडलाई सिरानी बनाउँदा रहेछन्।

प्लाइउडमाथि चस्मा, सानो डायरी, उनको प्रिय पहेँलो एचबी पेन्सिल र एउटा डस्टर राखिएको थियो। लेख्न बस्दा चिसोबाट बच्न उनी स्लिपिङ ब्यागभित्र खुट्टा घुसार्दा रहेछन्। सानो सुटकेसमाथि स्लिपिङ ब्याग र त्योमाथि मण्डी राखिएको थियो। कुर्सीको देब्रेपट्टि खनिजमि िश्रत चट्टानका टुक्रा, झिल्ली कागजका डल्लाहरू, पहेँला पेन्सिलहरू, हरिकन (युद्ध विमान) को सानो मोडल, उनको जाँघको हड्डी कैंची र अरू कति मैले खुट्याउन नसकेका चीजबीजहरू राखिएका थिए। यी सबै हेर्दा केही लेखिसकेर ड्याल भर्खरै बाहिरिएका छन् जस्तो लाग्ने ! यी चिजबिजले लेखक ड्यालको जीवनका महत्वपूर्ण घडीलाई प्रतिनिधित्व गर्छन्।

यी निर्जीव वस्तुमा उनी चलायमान संसार भेट्थे जसले उनको लेखन प्रवाहमा जीवन्तता पैदा गथ्र्यो होला जस्तोचाहिँ मनमा लागिरह्यो। 'राइटिङ हट' को सग्लो स्वरूप आँखाले देख्न नपाए पनि ती चिजबिजले मेरो मस्तिष्कमा त्यसको स्वरूप निर्माण गरिदिइसकेका थिए। तर पनि म्युजियम भनिसकेपछि यस्ता मुख्य कुरा नहटाइदिएको भए हुन्थ्यो भन्ने गुनासो त्यहीँकै कर्मचारीलाई पोख्दा उनको 'अफिसियल' जवाफ थियो- 'समयअनुसार त परिमार्जन हुनैपर्‍यो नि।'

म्युजियमको अर्को भाग चाहिँ स्टोरी सेन्टर थियो। यहाँ १२÷१३ वर्षसम्मका केटाकेटीहरूका निम्ति कथालेखन, चित्रांकन र कथाप्रस्तुति एवम् वाचनसम्बन्धी विभिन्न तालिम र कार्यशाला चलाइँदो रहेछ। त्यहाँ एक हुल स्कुले केटाकेटी व्यस्त देखिन्थे। हामी त्यहाँ पसेनौं। तर, पाठ्यपुस्तकको रटानभन्दा परतिर सिकाइको औचित्य नदेख्ने चिन्तन भएको समाजमा हुर्ने बढेको म विचलित हुनु अस्वाभाविक पक्कै थिएन। हामीकहाँ पनि यस्ता क्रियाकलापलाई व्यवस्थित गर्ने संस्था भइदिए, केटाकेटीको कल्पनशीलता, अभिव्यक्तिशैली र सिर्जनशीलतामा महत्वपूर्ण योगदान पुग्नेथियो भन्ने चाहिँ लागिरह्यो।

सानो म्युजियम आँखा नचाउनकै लागि त कतिबेर पनि नलाग्ने। ड्यालका पाठक र प्रशंसकहरू अनि त्यसमा पनि यस घरमा ड्यालले बाँचेको जीवनका बारेमा सामान्य ज्ञान हुनेहरूका लागि यात्रा पक्कै मीठो नै हुन्छ। आँखाहरूले साकार रूपको अवलोकन गरिरहेका भए पनि मेरो दिमागले चाहिँ ड्यालको जीवनका कतिपय पक्ष र पात्रहरूलाई स्मरण गरिरहेको थियो। यसले मेरो यात्रालाई खासै पट्याइलाग्दो लाग्न दिएन।

कुनै स्थान विशेषको यात्रा गर्नु त्यो स्थान र त्यससम्बन्धी घटनाहरूका बारेमा आफ्ना धारणाहरू निर्माण गर्नु पनि रहेछ। सामान्यतयाः मानिसले सबै विषयहरूलाई उत्तिकै गम्भीरतापूर्वक विचारिरहेको हुँदैन। त्यस्ता कुराहरू यस्ता यात्रामा चाहिँ खुब मथेलिँदा रहेछन्। ड्यालका लगभग सबैजसो बालसाहित्य पढेँ, तर युवा भइसकेपछि। अझ बढीजसो त छोराको बाउ भइसकेपछि। बाल्यकालमा कुनै फेन्टासी पढ्दा जति आनन्द दिन्थे, त्यति नै रूपमा मलाई आल्हादित बनाए पनि। उनका आख्यानहरू केटाकेटीका मानसिकतामा रहस्य, रोमाञ्च, व्यंग्य र हाँसो पैदा गर्न सक्षम छन्। तिनले बच्चाहरूमा साहस भर्ने सामथ्र्य राख्छन्।

आफ्नो सामथ्र्य पहिचान र प्रयोग गर्न उक्साउँछन्। व्यक्तिको बाह्य आवरणभन्दा अर्थपूर्ण र महान् उसको व्यवहार र विचार हुन्छ भन्ने कुरा उनका लगभग सबैजसो बालसाहित्यमा आएको छ। यद्यपि यसलाई बालबालिकाले कतिको सहजतापूर्वक ग्रहण गर्न सक्दछन् भन्ने कुरा चाहिँ म जान्दिनँ। तर उनी आफ्ना कतिपय चरित्रमार्फत आकर्षक, हास्यपरक एवम् वक्रोक्तिपूर्ण शैलीमा आफ्ना धारणा प्रस्तुत गर्ने गर्छन्।

त्यसो त ड्यालको लेखन प्रवृत्तिमाथि कडा आलोचनाहरू भएका छन्। ड्याल आफ्ना आख्यानमा बिद्रुप चरित्रहरू उभ्याउन मन पराउँछन् र तिनले गर्ने क्रियाकलाप अमानवीय हुन्छन्। तिनले प्रयोग गर्ने संवाद र व्यवहार यति रूखा र कठोर हुन्छन् कि तिनले केटाकेटीमा सही प्रभाव छाड्दैनन् भन्नेहरू पनि छन्। बालबालिकाका लागि लेखे पनि लेखनमा चाहिँ उनी अरु जति संवेदनशील र कोमल नदेखिई निर्दयी देखिन्छन्। यो कुराचाहिँ कता कता बिझाएछ।

यसलाई लिएर धेरैले सानो उमेर दुःखदायी अवस्थाबाट गुजारेका ड्यालले बच्चाबेलाको आफ्नो कुण्ठा बदलास्वरूपः आफ्ना चरित्रमाथि खन्याउँछन् भन्ने आरोप पनि लगाएका छन्। ड्यालको सफल लेखनको यो अँध्यारो पाटोलाई छाड्ने हो भने उनी धेरै महान् लेखक हुन्। कतिले ड्यालको लेखन केटाकेटीको समझबाहिर छन् भने पनि उनीचाहिँ अहिलेसम्म केटाकेटीका प्रिय लेखक बनिरहेका छन्।

हाम्रो सापेक्षतामा सोच्छु। हामीकहाँ बालसाहित्यका बारेमा सरोकारवालाहरू गम्भीर छैनन्। अझ केही जिम्मेवार लेखकलाई छाडेर बाँकी बालसाहित्य लेखकहरू यसप्रति पटक्कै गम्भीर देखिँदैनन्। धेरैले बालसाहित्यलाई नैतिकताको आचारसंहिता जस्तो बनाउन खोजेको देखिन्छ। धेरैलाई लाग्छ, बालसाहित्य लेख्न दुःख गर्नै पर्दैन।

एउटा खराब र अर्को असल पात्र बनाइदेऊ अनि बैगुनको बदला गुनले तिरेर खराब असलमा परिणत भएको देखाइदेऊ, एकताबद्ध भएर शत्रु परास्त गरेका, असफल भएर निराश हुनेलाई केही कुराले प्रभावित पारेर निरन्तर प्रयास गरी सफल बनेको, नराम्रा आदत र व्यवहारहरूबाट छुटकारा पाएको यस्तै करिब एक दर्जन फ्रेम छन् नेपाली बालसाहित्यको आख्यानमा। बस्, मानवीय अथवा मानवेतर चरित्रलाई ट्याकट्याकी त्यहाँ राखिदिएपछि अधिकांश लेखकको बाल आख्यान तयार हुन्छ। तिनमा बालबालिकाको मनोविज्ञान पक्ष त बिरलै आउँछ।

28879493_1809363219081886_546475417_o

उनीहरूका जीवनका उल्लास, रहस्यप्रतिको रोमाञ्चकता र जिज्ञासा, अनि आनन्द पक्षसित जोडिएका कुराहरू बालसाहित्यमा अनिवार्य हुन्छन् भन्ने कुरा चाहिँ धेरैलाई मतलब नै हुँदैन। हाम्रो बालसाहित्यमा 'ह्युमर' पक्ष विरलै हुन्छ, त्यो भए पनि हाम्रा नेपाली हास्य टेलिशृंखलाजस्तो सरल रेखीय हुन्छ जसको केटाकेटीको तहको मानसिक पक्षलाई कुनै सहयोग पुर्‍याउँदैन। किन हाम्रा बालसाहित्यका अभिव्यक्ति र प्रस्तुतिशैली एउटै सीधा रेखामा आयोजित हुने गर्दछ ? केटाकेटीहरूको बालसाहित्यमा पनि अलिकति नटखट, अलिकति एडभेन्चर, अलिकति रोचकता थपेर उनीहरूको दिमागलाई स्कुल, परिवार र समाजले निर्देश गरेको संसारभन्दा परतिर अर्को फराकिलो संसार छ, तिमी त्यसको खोजी गर भन्ने उत्प्रेरणा किन सिर्जना नगर्ने ? घर, स्कुल र समाजले त्यही विषय र शैलीमा दिएका कुराहरूले वाक्क भएका बच्चाहरूलाई फेरि उही कुरा पढाउनलाई बालसाहित्य लेखिरहनुको कुनै औचित्य छ र ?

निरपेक्ष किसिमको सत्य प्रक्षेपण गर्ने र समाजले निर्धारण गरेको मूल्य, मान्यता र नैतिकताको पाठमात्रै पढाइरहने पद्धतिका कारण हाम्रो बालसाहित्यले 'मोरल लिटरेचर'को भन्दा माथिल्लो भूमिका खेल्न सकेको छैन। यसलाई बदल्ने किसिमको बालसाहित्य हामीकहाँ किन नलेखिएको ? अंग्रेजीभाषी मुलुकमा धेरै पुस्ता ड्यालका चार्ली, मटिल्डा, सोफी, डानी, जेम्सजस्ता चरित्रसित हुर्किंदै आएको उदाहरणलार्ई हाम्रो सन्दर्भमा हेर्ने हो भने उदास हुनुपर्ने अवस्था छ। किन जन्माउन सकेनौं हामीले पनि आइकन बालसाहित्यकार र लोकप्रिय चरित्रहरू ? रोआल्ड ड्यालको घरबाट मैले यस्ता थुप्रै प्रश्नहरू बोकेर आएको छु।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.