आफ्नै अतीतको पटकथा
सबैसित अतीत हुन्छ। मीठा नमीठा सम्झनाहरू हुन्छन्। मसित पनि छन्। मीठा उस्तै, नमीठा उस्तै। तर, जब आफ्नै अतीतसित वार्तालाप गर्न थालिन्छ, बितेर गएका सबै पल सुन्दर लाग्छन्। अर्थपूर्ण पनि लाग्छन्। अतीतको सम्झनाले हामीलाई फेरि पुराना समयसित जोड्छन्। त्यो समयको आर्थिक, सामाजिक र राजनीतिक स्थितिसित जोड्छन्। समाजको तत्कालीन मनोविज्ञानसित पनि जोड्छन् र त्यो समयमा आफ्नो भूमिका, मनोदशा, संघर्ष, सफलता, असफलतासँगै त्यसका कारक र कारणहरूसित पनि जोड्छन्। बेलाबेलामा त्यसैले अतीतलाई खोतलिरहनु राम्रो लाग्छ मलाई। यसपटक पनि त्यही गर्दैछु।
नेपाली सिनेमासित करिब अढाई दशकको संगत भयो। त्यस बखत संगत भयो, जब नेपाली सिनेमा सत्तरीको दशकका हिन्दी सिनेमाका ठिमाहा सन्तान भएर भटाभट उत्पादित थिए। देशमा गार्मेन्ट र गलैंचा उद्योगको हालीमुहाली थियो। सिनेमाका निर्माता निर्देशकका लक्षित समूह तिनै थिए। मूलधार भनिने सिनेमाबाट रचनात्मकता गायब थियो र सिर्जनासित त्यसको टाढाटाढाको साइनो थिएन। र, म त्यस्तो बेलामा नेपाली सिनेमासित जोडिएको थिएँ। सिनेमासितको उधुम आकर्षणले मलाई त्यसरी जोडिन विवश बनाएको थियो। आज सिनेमासित जोडिएको आफ्नो अतीतका केही दृश्य मेराअगाडि चलायमान भएर उपस्थित भएका छन्। त्यो अतीतलाई यसरी दृश्यहरूमा आफैंले अनुभूत गर्दा हाँसो पनि उठ्दो रहेछ। दिक्क पनि लाग्दो रहेछ। असाध्यै खुसी पनि हुँदोरहेछ र उधुम पश्चात्ताप पनि हुँदो रहेछ। तर, पीडा कहाँनेर हुन्छ भने सिनेमासित जोडिएको आफ्नै अतीतको पटकथामा मैले गर्व गर्न लायक एउटै पनि दृश्य फेला पार्न सक्दिनँ। त्यो अढाई दशकसितको मेरो गुनासो यही हो।
यो पटकथाको अर्को रोचक पक्ष भने छ। जब म सबै दृश्यलाई एक ठाममा राखेर हेर्छु, एउटा गजबको सिनेमाचाहिँ आँखाअगाडि तयार भइहाल्दो रहेछ। त्यो सिनेमामा देखिँदो रहेछ, त्यो अढाई दशकको नेपाली सिनेमा, त्यससित जोडिएका लेखक, निर्देशक र कलाकारहरूको रोचक झाँकी।
ल, हेर्नुस्, सुरु भयो त्यो सिनेमा।
दृश्य–१
२०४५ सालतिरको कुनै दिन। समय रातिको आठ–साढे आठ बजेको हाराहारी। जाडो या गर्मी दिन, त्यो भने मैले सम्झन सकिनँ। म शंकरदेवनिरको एउटा किराना पसलभित्र छु र २० इन्चीको रंगीन टेलिभिजनतिर बडो उत्सुकतापूर्वक हेरिरहेछु। आज मैले पटकथा र संवाद लेखेको पहिलो टेलिफिल्मको प्रसारण हुँदैछ। ‘त्याग’ शीर्षकको टेलिफिल्म। लगभग आधा घन्टाको। निर्देशक रमेश बुढाथोकी। यो टेलिफिल्म निर्माणबापत नेपाल टेलिभिजनबाट उनले ६ हजार पाउनेछन्। लेखक, निर्देशक, कलाकार, व्यवस्थापक र सुटिङ अवधिभरिको खाजालगायत सबै खर्च त्यही छ हजारबाट पुर्याउनु पर्छ। क्यामरा, एडिटिङ र प्राविधिकहरू भने नेपाल टेलिभिजनले नै उपलब्ध गराउँछ।
रमाइलो कुरा के छ भने यतिखेर निर्देशक पनि मसँगै त्यही किराना पसलको २० इन्चीको टेलिभिजन अगाडि बसेका छन्। अरू केही कलाकार पनि उत्सुकतापूर्वक टेलिफिल्मको प्रसारणको प्रतीक्षामा छन्। टेलिफिल्म सुरु हुन्छ। मैले लेखेका कतिपय संवादहरू फेरिएका छन्। कतिपय इन्डोर दृश्यहरू सुटिङको सुविधाका लागि आउटडोर बनाइएका छन्। इन्डोर दृश्यहरूमा लाइटहरू बाल्नुपर्छ। समय लाग्छ। तर, आउटडोर दृश्यहरूमा सामान्य रिफ्लेक्टर मात्र प्रयोग गरे पुग्छ। समयको बचत हुन्छ। किनभने नेपाल टेलिभिजनले आधा घन्टाको टेलिफिल्मको छायांकनका लागि तीनचार दिनभन्दा बढ्ता क्यामरा उपलब्ध गराउँदैन। क्यामराम्यान लगायतका प्राविधिकहरू सबै जागिरे छन्। त्यसैले उनीहरू दस बजे अफिस आउँछन्। हाजिर गर्छन्। स्टोरबाट क्यामरा, नागरा र बुम लगायतका उपकरण बुझ्दाबुझ्दै एघार–बाह्र बजिसक्छ। स्पटमा आउँदा बाह्र–एक बजिसक्छ र पाँच बजेपछि उनीहरूको ड्युटी सकिन्छ। त्यसपछि उनीहरू फर्किन्छन्। क्यामराम्यानले दृश्य खिच्नुलाई सिर्जनात्मक काम ठानेको छैन। बस्, जागिरे कर्म ठानिरहेछ। जागिर खाइरहेछ।
टेलिफिल्मको बीचतिर एउटा दृश्य थियो। खासमा त्यो दृश्य एउटा कोठाको थियो, जहाँ एकजना प्रौढ पात्र स्टुलमा चढेर बल्ब फेर्दैछन्। तर, त्यो दृश्य अब आउटडोर भएको छ र संवादहरू पनि फेरिएका छन्। अब ती प्रौढ कोठाको बल्ब फेरिरहेका छैनन्, आफ्नो घरअगाडिको सानो बगैंचामा गोडमेल गरिरहेका छन्। पानी हाल्दैछन्। अर्को पात्रको प्रवेश हुन्छ दृश्यमा। प्रौढ पात्र संवाद बोल्छन्, ‘रातभरि परेको पानीले सबै फूलहरू मुर्झाएछन्।’
ओइलाएछन् या झरेछन् होइन, मुर्झाएछन्। म दिक्क भएँ। पहिलो गाँसमै ढुंगा लागेको अनुभव भयो मलाई। मैले निर्देशकसित भनेँ, ‘मुर्झाएछन् भन्ने शब्द ठीक भएन। हिन्दी भयो।’
उनले भने, ‘चल्छ।’
त्यसपछि अढाई दशकभरि मैले शब्द र भाषाको यस्तो अपहत्ते नेपाली सिनेमामा चलिरहेकै देखेँ।
दृश्य–२
नेपालमा छयालीस सालको जनआन्दोलनको सफलतापछि बहुदलीय प्रजातन्त्र स्थापना भयो। त्यसकै हाराहारीको कुनै दिन। मैले नेपाल टेलिभिजनको एउटा टेलिफिल्म निर्माण र निर्देशन गर्ने मौका पाएँ। त्यसबापत टेलिभिजनले नौ हजार दिने भयो। तिनताक केही समय कथायात्राअन्तर्गत नेपाली साहित्यका राम्रा कथाहरूमा टेलिफिल्म बनाउने लहर चलेको थियो। धेरै निर्देशकले काम पाएका थिए। मैले पनि पाएँ। मैले मनु ब्राजाकीको ‘अर्थमुक्त’ भन्ने कथा रोजेँ। पटकथा लेखेँ। टेलिफिल्मको नाम भने ‘शब्दकोश’ राखेँ। त्यसमा सानो भूमिकामा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले पनि अभिनय गर्नुभएको छ। मुख्य भूमिकामा रुद्रराज पाण्डेले अभिनय गर्नुभएको थियो। टेलिफिल्म प्रसारण भयो। केही दिनपछि मनु ब्राजाकी मेरो मैतीदेवीस्थित डेरामा आउनुभयो। गुनासो गर्नुभयो, ‘तपाईंले मेरो कथाको नाम पनि चेन्ज गर्नुभएछ। नयाँ दृश्यहरू पनि थप्नुभएछ। कथामा भएका सबै दृश्य राख्नुभएन। हुबहु बनाउनुपथ्र्यो।’
म त्यस्तो बेलामा नेपाली सिनेमासित जोडिएको थिएँ। सिनेमासितको उधुम आकर्षणले मलाई त्यसरी जोडिन विवश बनाएको थियो। आज सिनेमासित जोडिएको आफ्नो अतीतका केही दृश्य मेराअगाडि चलायमान भएर उपस्थित भएका छन्।
सिनेमा फरक माध्यम हो र दृश्य माध्यममा आउँदा पठनका लागि लेखिएका कथाहरूमा कतिपय दृश्यहरू थप्नु या हटाउनु पनि पर्ने हुन्छ भन्ने समझ त्यति बेला साहित्यकारहरूमा थिएन। जबजब कुनै साहित्यिक कृतिमा नेपाली सिनेमा बने, लेखकहरूलगायत कथा पढिसकेका पाठकहरूको प्रायः एउटै गुनासो रह्यो, धेरै थपथाप भएछ। चेन्ज भएछ। उपन्यास पढेजस्तो मजा सिनेमामा आएन।
सिनेमा र साहित्यमा सादृश्य खोज्ने त्यो परिपाटी हालसम्म पनि हटेजस्तो लागेको छैन।
दृश्य–३
‘शब्दकोश’ बनाउँदाकै हाराहारीको समय हो। परशु प्रधानको चर्चित कथा ‘डल्ले खोला’मा टेलिफिल्म बनाएको छु। भर्खरभर्खर प्रजातन्त्र आएको छ देशमा। अभिव्यक्तिको स्वतन्त्रताको सार्थक उपभोग गर्न पाइन्छ भन्ने विश्वास छ ममा।
कथामा गाउँका नेताहरूले कसरी पुल लगायतको निर्माणमा भ्रष्टाचार गर्छन् र विकास भन्ने कुरा कागजमा सीमित हुन्छ भन्ने देखाइएको छ।
तर, नेपाल टेलिभिजनले ‘डल्ले खोला’को प्रसारण रोक्छ। आरोप लाग्छ मलाई, ‘तपाईंले राजनीतिक विषयवस्तु उठाउनुभयो। नेताहरूमाथि व्यंग्य गर्नुभयो।’
मानौं, मैले ठूलै बर्जित काम गरेको थिएँ। पञ्चायती चिन्तनमा हुर्किएका त्यति बेलाका नेपाल टेलिभिजनका अधिकृतहरू दिनभरि प्रजातन्त्रलाई गाली गर्थे। तर, आफ्नो पदोन्नतिका लागि भने साँझबिहान खुसुक्क नेताहरूको चाकडी पनि गर्थे।
भर्खर आएको प्रजातन्त्र त्यस्तै व्यक्तिहरूको चाकडी र चाटुकारितामा फसेको थियो।
म लाचार हुन्छु र सोच्छु, ‘प्रजातन्त्र कसलाई आयो ? ’
दृश्य–४
५४–५५ सालको गर्मी दिन।
संयोग या दुर्घटना। जे भने पनि हुने। एउटा ठूलो पर्दाको सिनेमाको निर्देशन गर्नुपर्ने जिम्मा आइलागेको छ मलाई। सपना देखेँ र आफैंसित संवाद गरेँ, ‘यो फिल्ममार्फत प्रविधिको राम्रो ज्ञान हासिल गर्छु र पछि त्यो अनुभव सार्थक सिनेमाको निर्देशनमा प्रयोग गर्छु।’
मलाई मेरै सपनाले दुःख देला भन्ने के थाहा ! तर दियो, मज्जाले दियो। र, आज सुन्दरीजलको एउटा झरना स्थलमा त्यही दुःख भोग्दैछु। पटकथामा आवश्यक छैन। तर, निर्माता मलाई नायिका जल शाहलाई पातलो सेतो साडी लगाइदिएर अंगप्रत्यंग देखिने गरी दृश्य खिच्न दबाब दिँदैछन्। म यस्तो दृश्यको औचित्य छैन भनेर सम्झाउँदैछु उनलाई। तर, उनी मानिरहेका छैनन्। भन्दैछन्, ‘हिरोइनलाई अलिकति भए पनि एक्सपोज गर्नुपर्छ। बजारले यस्तै खोज्छ। दर्शकहरू ओइरिन्छन्।’
यसरी बजारमा ‘सिर्जना’ मजाक पो बनिरह्यो। र, मैले आफ्नै पहिलो सिनेमाको प्रिमियरमा पनि जाने हिम्मत गर्न सकिनँ। गइनँ।
दृश्य–५
वाह ! प्रकाश थापासित बसेर स्क्रिप्ट लेख्न पाइने भयो। आज म कति खुसी छु कति ! ‘कान्छी’, ‘कन्यादान’, ‘मायाप्रीति’जस्ता व्यावसायिक रूपमा सफल भएका सिनेमाका निर्माता भगवानदास श्रेष्ठले यो अवसर जुराइदिएका छन्। किशोरावस्थादेखि नै सुनेको र सम्मान गरेको नाम— प्रकाश थापा। जीवनको कुनै मोडमा तिनैसित सँगै बसेर पटकथा लेख्न पाइएला भन्ने कल्पना पनि गरेको थिइनँ। तर, आज त्यो अवसर जुर्यो। लागेको छ, पटकथाका धेरै भित्री कुराहरू सिक्न पाउनेछु। दिउसो दुई तीन बजेतिर नक्साल आसपासको भगवानदास श्रेष्ठको अफिसमा बसेर पटकथा लेखनको सुरुआत गर्ने सल्लाहबमोजिम म यहाँ आएको छु। एकैछिनमा अग्ला, गोरा र प्रभावशाली व्यक्तित्वका धनी प्रकाश थापा आइपुगे। चरण स्पर्श गरूँझैं लाग्यो। तर, निहुरिएर नमस्कार गरेँ। खासमा यो फिल्म प्रकाश थापाका पुत्र विजय थापाले निर्देशन गर्नुहुनेछ। छोराको पहिलो फिल्म भएकाले पिता प्रकाश थापाले मलाई पटकथा लेखनमा अभिभावकत्व प्रदान गर्ने भएका छन्।
सामान्य कुराकानीपछि भगवानदास श्रेष्ठले खुसुक्क भने मसित, ‘भरे घर जाँदा बालिका बधु भन्ने हिन्दी सिनेमाको भीएचएस क्यासेट लिएर जानु ल ? ’
अनि मलाई थाहा भयो, जुन फिल्मको पटकथा, संवाद लेख्नका लागि मलाई बोलाइएको छ, त्यो ‘बालिका बधु’कै अघोषित रिमेक हो। नक्कल हो। म लाचार भएँ। पैसाको कुरा थियो, नक्कल गर्न बाध्य भएँ। मलाई बोध भयो, प्रकाश थापाहरूलाई पटकथा लेखक चाहिएकै होइन, नेपाली भाषा राम्रो जान्ने कारिन्दा चाहिएको हो। मेरो नियति, मैले कारिन्दा बन्न अस्वीकार गर्न सकिनँ।
अब प्रकाश थापा र भगवानदासहरू मेरोअगाडि मैनझैं पग्लिए र विलीन भए।
पचासको दशकको अन्ततिरको कुनै दिन यस्तै एउटा दृश्य दोहोरियो। एकजना निर्माता हिन्दी फिल्म ‘अनाडी’को क्यासेट ल्याएर दिए मलाई र भने, ‘एक दुई दिनभन्दा बढी लाग्दैन। यो फिल्म पूरै अनुवाद गरिदिनुस्। निर्देशकचाहिँ भारतबाट आएका राजकुमार शर्मा हुन्।’
पैसाको लोभ। मैले अनुवाद गरेँ। तर, सर्त राखेँ, ‘पटकथा लेखकमा मेरो नाम प्रयोग गर्न पाइन्नँ।’
पटकथा लेखकको नाम देखेर सिनेमाको स्तर र हैसियत छुट्टिने बेला थिएन। निर्माताले सहर्ष मेरो सर्त स्वीकार गरे। मैले एक रातमै पूरै सिनेमा अनुवाद गरेँ। नाम राखेँ, ‘चोर’।
यस्ता अनेक अनेक चोरीले तिनताक नेपाली सिनेमाको मौलिक छवि बन्नै दिएन।
दृश्य–६
पारिजातको प्रख्यात उपन्यास ‘शिरीषको फूल’को पटकथा लेख्ने जिम्मा पाएको छु। सायद २०५४–५५ सालको कुनै दिन हो यो। एकजना नयाँ निर्देशकले त्यो सिनेमा बनाउने भएका छन्। एक दिन मैले लेख्दै गरेको स्क्रिप्टबारे छलफल गर्न उनी मेरो बत्तीसपुतलीस्थित डेरामा आएका छन्। नयाँ टेलिफिल्मको पटकथा– संवाद लेखाउन त्यति बेलाका चर्चित निर्देशक रमेश बुढाथोकी पनि यही बेला मेरो कोठामा आइपुगेका छन्। ‘शिरीषको फूल’को निर्देशन गर्न तम्सिएका शाह थरका ती निर्देशकले सुरुमै मलाई भने, ‘शिरीषको फूलको पहिलो सिनमै कुनै दमदार कमेडी सिन राख्नुपर्छ है सर !’
उनको कुरा सुनेर म स्तब्ध भएको छु। ‘शिरीषको फूल’मा कमेडी सिन ? अर्को निर्देशकको अगाडि शाहजीले त्यस्तो कुरा गरेपछि मैले अपमानित अनुभव गरेँ। छिटो रिसाउने बानी मेरो। तात्तिइहाल्छु र भन्छु, ‘यस्तो सोचले तपाईं शिरीषको फूलको निर्देशन गर्न सक्नुहुन्न। सिनेमा चौपट हुन्छ। तपाईंले निर्देशन गर्ने हो भने म यो फिल्म लेख्दिनँ। गेटआउट।’
लामो अन्तरालपछि ‘शिरीषको फूल’ एकजना जापानी निर्देशकले बनाए। उनीसित मेरो कहिल्यै देखभेट भएन। तर, पटकथामा मेरो नामसँगै आफ्नो नाम पनि थपेका छन्। सिनेमाको प्रिमियरमा निम्ता आएको थियो। मलाई जानै मन लागेन। चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र महोत्सवको निर्णायक बनाएपछि मैले त्यो फिल्म हेरेँ। मलाई लाग्यो, पारिजात बाँचेको भए निर्देशक र पारिजातबीच काटाकाट हुन्थ्यो र म त्यो हिंसात्मक दृश्यको लाचार साक्षी हुन्थेँ। सिनेमामा ‘शिरीषको फूल’को पूरै हत्या भएको छ। निर्देशकले कथा, त्यसको मर्म, त्यसको चिन्तन कसैलाई पनि समात्न सकेका छैनन्। रोचक के छ भने, सिनेमाको अन्तिम दृश्यमा सकम्बरी मन्दिरको शरण पर्छे। सिनेमा निर्देशकको माध्यम भएकाले उसलाई कतिपय कुराहरू थपघट गर्ने छुट होला। तर, त्यसरी थपघट गर्ने तमिज भएन भने बिजोग हुँदो रहेछ।
दृश्य–७
आदरणीय कवि द्वारिका श्रेष्ठको आतिथ्यमा लेखकहरूको ठूलो समूहसित म पनि चितवनको सौराहामा पुगेको छु। उहाँले हरेक वर्ष यसरी नै साहित्यकारहरूलाई सौराहास्थित आफ्नो रिसोर्टको भ्रमणमा लैजाने गर्नुहुन्छ। सम्भवतः २०५९ सालतिरको कुरा हुनुपर्छ यो। यहीँ भेट भएको छ मेरो आख्यानकार लीलबहादुर क्षेत्रीसित। मैले परिचय दिएँ र भनेँ, ‘तपाईंको उपन्यास बसाइँमा मैले पटकथा लेखेको हुँ।’
नेपाली सिनेमासितको आफ्नो सम्बन्धमाथि पुनर्विचार गर्नुपर्ने अनुभूति जन्मिएको छ मभित्र। सोच्छु, मेरा सन्तानले अलिकति पनि गर्व गर्न नसक्ने यो काममा के म अझै लागिरहनु उचित हुन्छ ? मैले त्यसै दिन मनमनै निश्चय गरेँ, अबदेखि सिनेमा लेख्दिनँ।
त्यसपछि लीलबहादुर दाइले दुखेसो पोखिहाल्नुभयो, ‘मलाई त निर्माता, निर्देशकले अहिलेसम्म सिनेमा पनि देखाएका छैनन्। बसाइँलाई सिनेमा बनाएबापत कुनै रकम पनि दिएका छैनन्।’
मलाई लाग्यो, नेपाली सिनेमाले स्रष्टालाई प्रयोग गर्न त अलिअलि जान्यो तर सम्मान गर्न जानेन।
दृश्य–८
बत्तीसपुतलीस्थित डेराको बैठककोठामा बसेर एउटा सिनेमा लेख्दैछु। निर्मातासित एउटा दृश्यबारे फोनमा सरसल्लाह भइरहेको छ। नजिकै होमवर्क गरिरहेको मेरो कान्छो छोरा नीलाभका कान ठाडा हुन्छन्। उसको ध्यान हाम्रो फोनवार्तातिर एकोहोरिन्छ। उसले निर्माता र मबीच भइरहेका दृश्यको छलफलबाटै कुरो बुझ्छ र मैले फोन राखेपछि प्वाक्क बोल्छ, ‘त्यो त बबी देओलको फिल्मको सिन हो नि।’
म चकित हुन्छु। ग्लानिले भरिन्छु। पहिलोपल्ट नेपाली सिनेमासितको आफ्नो सम्बन्धमाथि पुनर्विचार गर्नुपर्ने अनुभूति जन्मिएको छ मभित्र। सोच्छु, मेरा सन्तानले अलिकति पनि गर्व गर्न नसक्ने यो काममा के म अझै लागिरहनु उचित हुन्छ ?
मैले त्यसै दिन मनमनै निश्चय गरेँ, अबदेखि सिनेमा लेख्दिनँ।
टेलिफिल्म र टेलिशृंखलाहरूसितको साइनो भने कायम राख्ने निश्चय गरेँ। सोचेँ— कथा या पटकथामा नवीन कुरा केही लेख्न नसके पनि संवाद लेखन भने टेलिशृंखलाहरूमा मज्जा हुन्छ। त्यस्तै बेलामा आफूले लेखेको टेलिशृंखलाको एउटा संवाद सम्झन्छु। एउटा नेता पात्र अर्कोसित भनिरहेछ, ‘राजनीतिमा आफ्नो उत्थानको लागि जति प्रयत्न गर्नुपर्छ, कैलेकाहीँ त्योभन्दा बढ्ता प्रयत्न अर्कोको पतनको लागि गर्नुपर्छ।’
कथा या पटकथाले सिर्जनात्मक सुुख नदिए पनि यस्ता संवादहरू लेख्दा आनन्द भने आउँछ।
दृश्य–९
सिनेमा लेख्न छाडेपछि अचेल टेलिशृंखलाहरूको लेखनमा निकै व्यस्त भएको छु। लगभग हरेक दिनजसो नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनबाट मैले लेखेका टेलिशृंखलाहरू प्रसारित भइरहेका छन्। भ्याइनभ्याइ छ मलाई। सिर्जनात्मक सन्तुष्टिलाई मारो गोली, पैसा भने ठीकठाक कमाइरहेछु।
साठीको दशकको मध्यतिरको कुनै दिन हो यो। ‘नुमाफुङ’ बनाएर नेपाली सिनेमालाई गरिमापूर्ण बनाउनुभएका निर्देशक नवीन सुब्बासित भेट्ने सल्लाह भएको छ। त्यसैले म कमलादीनिरको एउटा रेस्टुरेन्टमा आएको छु। नवीन सुब्बासित हार्दिक कुराकानी भइरहेको छ। उहाँले भन्नुभयो, ‘नयनजी, कुनै राम्रो कन्सेप्टमा काम गरौं। समय लगाएर लेख्नुस्। सँगै काम गरौं।’
हार्दिक कुराकानीपछि घर फर्किंदैछु। नवीनजीको प्रस्तावले खुसी भएको छु। पटकथाको महत्व बुझेकासित काम गर्न पाउनु सौभाग्यकै कुरा हो। तर, घर पुगुुन्जेलसम्म मथिंगलमा धेरै कुरा सल्बलाउन थालिसके। काठमाडौंको बसाइ मेरो। लेखनलाई नै पेसा बनाएको छु। गतिलो पटकथा लेख्नै सकेको छैन। तर, थोरै मेहेनत गरेर छोटो समयमै लेखिसक्ने पटकथाबापत ठीकठाक पारि श्रमिक पाइरहेछु। वैकल्पिक धारको सिनेमा लेखनमा के दुईतीन वर्ष खर्चिन सक्छु ? त्यति धैर्य छ ममा ? अनि त्यति धैर्य गरेबापत के मैले दुई वर्ष मेरो खर्च धान्ने पारि श्रमिक पाउँछु ? दुई वर्षमा दस–बाह्रवटा सिनेमा लेखेर वा टेलिशृंखलाका पाँच सात सय एपिसोड लेखेबापत पाउने पारि श्रमिक के म त्यस्तो एउटै फिल्म लेखेर पाउन सक्छु ? पाउने भए म तत्काल नवीनजीजस्ता निर्देशकसित ढुक्कले उत्साहसाथ सहकार्य गर्न तम्सने थिएँ।
मेरो मनले सकारात्मक जवाफ दिएन। सिर्जनाको मेरो भोकलाई, पैसाको आवश्यकताले जित्यो। नवीनजीसित त्यसपछि लामो समयसम्म भेट गर्न सकिनँ।
सिनेमा र श्रव्यदृश्यसितको साइनोले मेरो जीवनयापन केही सजिलो बन्यो। त्यति सजिलो नभएको भए सायद म उत्साहसाथ साहित्यसित जोडिइरहन सक्ने पनि थिइनँ।
खराब सिनेमाहरूले मलाई असल साहित्यसित जोडिने सौभाग्य दिइरहे।
मेरो उपलब्धि यही हो।