पर्दामा महिलाको प्रतिविम्ब

पर्दामा महिलाको प्रतिविम्ब

‘फिल्म निर्माणको इतिहास भन्नु नै पुरुषहरू खिच्ने र महिलाहरू खिचिनेबाहेक अरू के नै छ र ? ’ प्रसिद्ध फ्रान्सेली फिल्म निर्देशक तथा समीक्षक ज्याँ लुक गोर्डाडले भनेजस्तै फिल्म निर्माणमा पुरुषवादी सोच र कार्यशैली कतिसम्म हावी छ भन्ने यथार्थको उजागर यति सहज तरिकाले सायद अरू कसैले गरेको छ।

विश्व परिवेशमा निर्देशक गोर्डाडले गरेको फिल्मकर्ममा हावी भएको पुरुषवादी सोचको आलोचना नेपाली फिल्मको सन्दर्भमा समेत सान्दर्भिक छ। फिल्ममा कुनै पनि महिलाको प्रतिनिधित्वको सवालमा हेर्दा न्यारेटिभ (कथन), न्यारेटर (वाचक) र न्यारेसन (शिल्प)लाई सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक तथा मनोवैज्ञानिक पाटोले गहन रूपमा प्रभावित गरिरहेको हुन्छ। फिल्मको कथा तथा विषयवस्तु उठानको सवालमा एउटा न्यारेटर अर्थात् कथा भन्ने मानिसको फिल्मको न्यारेटिभप्रतिको वैचारिक, भावनात्मक अथवा लैंगिक संवेदनशीलताको रुझानले विषयवस्तुलाई हेर्ने र कथाको रूपमा उतार्ने प्रक्रियामा प्रभावित गरिसकेको हुन्छ। फिल्म निर्देशकको विषयवस्तुप्रतिको ज्ञान र सामाजिक संवेदनशीलतालाई मनन गर्नसक्ने खुबीले नै एउटा स्वस्थ अन्तरवस्तु ग्रहण गरेको फिल्म निर्माण हुन्छ।

पुरुष निर्देशक भए पनि लैंगिक रूपले संवेदनशील निर्देशकले न्यायोचित तरिकाले महिलाको मनोविज्ञान र यौनिकता प्रस्तुत गर्न सक्छ। फिल्म गुलावीमा निर्देशक राजेन्द्र महर्जनले महिलाको भावना तथा अन्तरमनको संवेदनालाई निकै सूक्ष्म तरिकाले प्रस्तुत गर्ने र पात्रलाई संघर्षशील बनाउने जमर्को गरेको देखिन्छ। यद्यपि, नेपाली फिल्महरूमा पितृसत्ताको धंगधंगी यतिविघ्न हावी छ कि महिला निर्देशकले निर्देशन गरेका फिल्महरूमा समेत पुरुषवादी अहमताहरू प्रबल ढंगले देखा परिरहेका छन्।

‘छक्कापञ्जा’ जस्तो व्यावसायिक रूपले सफल फिल्ममा महिला निर्देशक हुनुका बीच पनि परपुरुषसँग हुनसक्ने सम्भावित सम्बन्धलाई टार्न कलाकार बुद्धि तामाङ पात्र अघि सरेको छ। उसले गाउँभरिका पुरुषहरू जम्मा पारेर आफ्नी श्रीमतीलाई उनीहरूसँग भाइटीका लगाइदिएर महिलामाथि पितृसत्तात्मक सोच र संस्कारको चरम अवस्था लादिएको देखिन्छ। यस फिल्मको न्यारेटिभ तयार गर्दा महिला निर्देशक भए पनि महिलाको सवाललाई मनन गर्नसक्ने वैचारिक दृष्टिकोणमाथि नै पुरुषवादी सोच हावी भएको उजागर गर्छ। उक्त फिल्मका पटकथाकारहरूमा पुरुषहरू नै हावी भएकाले र महिलाको संवेदनशीलतालाई प्रभावित गर्ने किसिमको निर्देशकीय हस्तक्षेप न्यून भएको देखिन्छ। यसरी महिला निर्देशकका बीच ‘छक्कापञ्जा’लाई लैंगिक रूपले असंवेदनशील दृश्यहरूको खेती गरेको आरोप लगाउनु यथोचित देखिन्छ।

साथै, नायिका रेखा थापाको मुख्य भूमिका रहेको ‘काली’, ‘हिम्मत’, ‘हिम्मतवाली’जस्ता फिल्ममा नायिकामा पुरुष चरित्रको नै नक्कल गरिएको छ। यसले महिला हुनुको विशिष्टतामा गर्व गर्नेभन्दा पनि विकृत पुरुषवादी मनोविज्ञानले सिर्जना गरिएको वलिष्ठ पुरुष (म्याको फिगर) जस्तै हिंस्रक रूपमा चित्रित भएको देखाइएको छ। यसरी लैंगिक रूपमा महिला तथा चरित्रगत रूपमा पुरुषजस्तो देखिने पात्रहरूको सिर्जना भइरहेको देखिन्छ। यस किसिमका चरित्रहरूमार्फत महिलाहरूलाई सशक्तीकरण गर्नेभन्दा पनि पुरुष जस्तो हाउभाउ वा द्वन्द्वका दृश्यहरूमा प्रस्तुत भएर निर्माण तथा निर्देशकीय पक्षको लैंगिक लघुताभाष प्रस्फुटन भइरहेको देखिन्छ।

फिल्मको मुख्य वैचारिक तथा सिर्जनात्मक पक्षमा नियन्त्रण गर्ने व्यक्तिको लैंगिक संवेदनशीलताको प्रतिफलमा आत्मनिर्भर, प्रगतिशील वा सामाजिक रुपान्तरणमा अग्रणी भूमिका खेल्ने महिला चरित्रको सिर्जना हुन्छ। ‘शत्रु गते’ जस्ता फिल्महरू दुई थरी जात, वर्ग र क्षेत्रको प्रतिनिधित्व गर्ने पुरुष पात्रहरूको साँढे जुधाइमा नायिका आँचल शर्माको चरित्र परनिर्भर खेलौनाको रूपमा मात्र प्रस्तुत गरिएको देखिन्छ। काठमाडौंको कलेजमा अध्ययन गरेकी एक युवती, जो आफ्नो घरअगाडि रक्सीको मातमा आफ्नो युवक साथीलाई चुम्बन गर्ने हिम्मत गर्छिन्।

कथाको विकास सँगसँगै उनको चरित्रलाई पितृसत्तात्मक सोचको जाँतोमा पिँधेर निर्मम तरिकाले खुम्च्याउँदै लगिन्छ। नायिकाको चरित्रलाई यस फिल्ममा पटकपटक अपहरणमा पर्दासमेत आफ्नो तर्फबाट केही कोसिससमेत गर्न नसक्ने एक निरीह पात्रका रूपमा चित्रित गरिएको छ। नायिकाहरूको यस्तो निरीहता अरू नेपाली फिल्ममा पनि देखिन्छ। साथै यसै फिल्ममा अर्को एक दृश्यमा एउटा परपुरुषले आएर उचाल्दैमा एउटी महिला दायाँबायाँ केही नसोची पारिवारिक विद्रोहमा सरिक हुन्छे र जँड्याहा पुरुषले झैं मातेर आफ्नो श्रीमान्विरुद्ध विद्रोहको आवाज उठाउँछे। यो दृश्यले महिलाहरू अर्को व्यक्तिले महसुस नगराएसम्म पितृसत्तात्मक शोषणको चक्र बुझ्न सक्दैनन्। पुरुषले गरिरहेको श्रमशोषण न्यायोचित नै सम्झन्छन् र अर्काको लहलहैमा सजिलै लाग्छन् भन्ने सन्देश दिएको छ।

फिल्म ‘घामपानी’मा नायिका केकी अधिकारीको चरित्र काठमाडौंमा कलेज पढेर गाउँ गएकी एउटी शिक्षित युवतीको छ। उनको अन्तरजातीय प्रेम सम्बन्धमा परिवारको आपत्ति हुन्छ। परिवारसँग आफ्नो भावना राख्न असमर्थ भई अन्ततोगत्वा प्र्रेमीसँग घर छोडेर जाने पात्रको सिर्जना गरिएको छ। परिवार, समाजको अगाडि आफ्नो वैध प्रेमको स्वाभिमानबारे निर्धक्कसाथ संघर्ष गर्नसक्ने भन्दा पनि प्रेमीको पछि लागेर बाबुआमालाई छोडेर हिँड्ने एउटी निरीह नारीको रूपमा प्रस्तुत गरिएको छ। फिल्मको वैचारिक उठानको सवालमा लंैगिक दृष्टिले फिल्मको न्यारेटर संवेदनशील हुन नसक्दा महिलालाई मात्र परनिर्भर, कमजोर पात्रका रूपमा चित्रण गरिएका कयौं उदाहरण नेपाली फिल्ममा भेटिन्छन्।

महिलालाई एकै तरिकाले पात्रको रूपमा चित्रण गर्ने स्टेरियोटाइपिङ गरिएका चरित्रहरू नेपाली फिल्मको एउटा दीर्घरोग नै हो। थुप्रै फिल्मले महिलालाई आदर्शवादी श्रीमान्को कचकचे श्रीमती वा संघर्षरत पुरुष प्रेमीहरूको भौतिक विलासमात्र खोज्ने प्रेमिकाको चरित्रको रूपमा उभ्याएका छन्। ‘लुट’, ‘सेतो सूर्य’ लगायतका फिल्ममा नायिकाहरू सिर्जना सुब्बा र आशा मगरातीले निर्वाह गरेका चरित्रहरूबाट यो प्रवृत्तिको उजागर भएको छ।

महिलाहरूलाई लजालु प्रेमिका, भावुक हृदय भएकी वा रुन्चे मायालु वा कचकचे देखाउने सोचले फिल्ममार्फत महिलाको व्यक्तित्वको मानक सिर्जना गरिरहेको हुन्छ। जब लामो समयसम्म महिलालाई एउटै भूमिका र प्रवृत्तिमा प्रस्तुत गरिन्छ, त्यस्ता फिल्महरूले यथास्थितिकै पुनरुत्पादन गरेर महिलामाथि भइरहेको परम्परागत शोषणको चक्रलाई नै स्थापित मान्यताका रूपमा प्रस्तुत गर्न बल पुर्‍याइरहेकोहुन्छ। फिल्मले सामाजिक यथार्थको उजागर मात्र गर्ने नभएर समाजमा मानकहरू सिर्जना गर्न पनि उत्तिकै महत्वपूर्ण भूमिका खेल्ने हुनाले यसका विषयवस्तुप्रति फिल्मकर्मीहरू संवेदनशील हुनु जरुरी देखिन्छ।

‘कालो पोथी’ फिल्ममा नायिका वेनिशा हमालको उपस्थिति केवल एक चुम्बनकै लागि गराइएको आभास हुन्छ। ‘लुट’, ‘कबड्डी’जस्ता व्यावसायिक फिल्महरूमा समेत फिल्मको मुख्य कथासँग असम्बन्धित महिला पात्रहरूलाई आइटम गीतमा प्रस्तुत गराउने चलनले नेपाली फिल्मका एक किसिमको टे«न्ड नै विकास गरेको छ। यथार्थमा डान्सबारहरूमा पुरुषहरू पनि नाच्नेगाउने कार्यमा सरिक भए पनि सिर्जनात्मक प्रतिवादका रूपमा महिला निर्देशकहरूको फिल्ममा आइटम ब्वायका रूपमा कुनै पुरुष कलाकारको उदयसमेत हुन सकेको छैन। यसका अलावा अधिकांश नेपाली फिल्ममा खलनायकले एउटी महिलामाथि गर्नसक्ने अधिकतम अत्याचारको रूपमा बलात्कारका घटनाहरू अत्यधिक मात्रामा प्रयोग गरिएको देखिन्छ। ‘फस्ट लभ’मा नायिका ऋचा शर्मालाई विनय श्रेष्ठ (अभिनीत पात्र)ले अपेक्षित प्रेम नपाएपछि त्यसको बदला लिन बलात्कार गरिएको दृश्य देखाइएको छ।

बजारमा उपलब्ध यौनकर्मीलाई उसको इच्छाविपरीत जस्तो व्यवहार पनि गर्न मिल्छ भन्ने पुरुषवादी सोचको पराकाष्ठा नायक श्रेष्ठले निभाएको पात्रमा देखिन्छ। बलात्कारपछि नायिका पात्र संक्रमित भएको थाहा हुन्छ। आफू पनि संक्रमित भएपछि बाध्यात्मक परिस्थितिमा एकअर्काको प्रेम स्वीकारिन्छ। यसरी फिल्ममा बदला लिने हतियारका रूपमा देखाइने बलात्कारका दृश्यले यसलाई नारी अस्मिताविरुद्ध प्रयोग हुनसक्ने एउटा कथित शक्तिशाली हतियारका रूपमा स्थापित गरिरहन्छ। फलस्वरूप, समाजमा बलात्कारको घटना बढ्नुमा फिल्मको भूमिका पनि उत्तिकै देखिन्छ।

फिल्म मनोरञ्जनको साधनमात्र नभई एउटा यस्तो शक्तिशाली माध्यम हो, जो विचारको प्रवाह गर्न, मानवीय भावनाको उजागर गर्न र ठूलो जनसंख्यालाई एकैपटक सुसूचित गराउनसक्ने सामथ्र्य राख्छ। नेपाली फिल्महरूमा पुरुष पात्रहरूको छायाँमा महिलालाई केवल एक सजावटका रूपमा मात्र प्रस्तुत हुन बाध्य भएका उदाहरण पनि बग्रेल्ती भेटिन्छन्। यस सन्दर्भमा फिल्मको वैचारिक पाटोमा नियन्त्रण गर्ने व्यक्तिको सुन्दरतालाई हेर्ने दृष्टिकोण, निश्चित जात, क्षेत्र अथवा वर्गका महिलाहरूको सवालमा उक्त व्यक्ति वा निर्माण समूहले पालेको धारणा नै फिल्मको पटकथामार्फत पर्दामा प्रतिविम्बित हुन पुग्छ।

महिलाका संवेदनशील अंग बिना कुनै कारण क्लोजअप सट्मा देखाउने वा घरिघरि देखाउने, कथाको मागविपरीत छोटा पोसाक तथा भद्दा शृंगार गर्न लगाउनेजस्ता कार्यले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले पुरुषहरूको यौन मनोकांक्षा पूरा गर्ने कार्यमा भूमिका खेलिरहेको हुन्छ। फिल्म सशक्त भइदिँदा यसले समाजलाई दिशानिर्देश गर्छ भने फिल्मले बोकेको गलत सन्देशले समाजमा अफवाहहरूको खेती गर्ने कार्यमा नै थप बल पुर्‍याइरहेकोहुन्छ।

फिल्ममा अन्तरनिहित सन्देशले आमदर्शकलाई उक्त चरित्र वा चरित्रले प्रतिनिधित्व गर्ने विषयवस्तुवारे धारणा बनाउन मद्दत गर्छ। फिल्ममा महिला कलाकारले लगाउने पोसाक, शृंगार वा गरगहनाको प्रयोगले उनीहरूलाई भौतिक तथा सौन्दर्य प्रसाधनको पर्यायवाचीका रूपमा प्रस्तुत गर्न मलजल पुर्‍याइरहेको हुन्छ। फलस्वरूप फिल्ममा महिलाको अस्तित्वको वस्तुकरण यति तीव्र रूपले गरिन्छ कि उपभोक्तावादी संस्कृतिको पक्षपोषण गर्ने सबैभन्दा प्रभावकारी सद्भावना दूतका रूपमा महिलालाई नै चित्रण गरिन्छ। यस कार्यमा फिल्म मात्र नभई टेलिभिजनजस्ता आमसञ्चारका माध्यामहरूको पनि महिलालाई उपभोक्तावादी संस्कारको पक्षमा वस्तुकरण गर्न सशक्त भूमिका रहेको हुन्छ।

१९६० को दशकबाट सुरु भएको महिला आन्दोलनले महिलाको फिल्म तथा अन्य पपुलर मिडियाहरूमा भइरहेको असन्तुलित तथा तर्कहीन उपस्थितिको सवालमा तिखो प्रहार गर्दै आइरहेको छ। उनीहरूलाई एउटै ढर्राबाट मात्र फिल्मको पर्दामा उतार्ने वा फिल्ममा भोकाएका पुरुष पात्रहरूलाई खाना खुवाउने भूमिकामा मात्र प्रस्तुत भइदिनुपर्ने प्रवृत्तिविरुद्ध महिलाहरूको आवाज एकजुट हुन आवश्यक देखिन्छ। पुरुष मानसिकताले सिर्जना गरेको अर्को एउटा भ्रामक संसारमा अर्थहीन प्रतिनिधित्व गरिदिनुपर्ने संस्कारबाट नै अधिकांश नेपाली फिल्ममा महिलाको प्रतिविम्ब देखा परिरहेको छ। नेपाली फिल्म निर्माणको इतिहास केलाउँदा कथित प्रगतिशीलताका हिमायती एमाओवादीको कार्यकालमा बनेका फिल्महरूमा समेत समाज रूपान्तरणको पक्षमा सशक्त आवाजको प्रतिनिधित्व गर्न कुनै प्रगतिशिल महिला पात्रको चरित्र चित्रण हुन सकेन। सन् १९९० पछि नेपालमा पहिचानको मुद्दा झनै पेचिलो रूपमा उठे पनि नेपालको धरातलीय यथार्थमा रहेको जातीय विविधताको यथार्थलाई फिल्ममा महिला प्रतिनिधित्वको सवालमा खासै प्रभाव पार्न सकेन।

‘कबड्डी’, ‘नीरफूल’जस्ता एकाध फिल्ममा जनजाति मूलकी नायिकाहरूको उपस्थिति भए पनि अन्ततोगत्वा खसआर्य मूलकी नायिकाहरूको नै लामो समयसम्म वर्चस्व रहँदै आएको छ। यसमा पनि अधिकांश गहँुगोरो वर्णको नै प्रभाव बढी देखिन्छ। नेपाली फिल्ममा वर्णात्मक रूपमा काली वा जातीय रूपमा मधेसी, दलित, थारू आदिवासी मूलका महिलाको मुख्य भूमिका भएका कथाहरू अत्यन्त कम वा लगभग शून्यप्रायः छन्। त्यस्तै नेपाली फिल्ममा दलित तथा अन्य पिछडा वर्गका महिलाको प्रतिनिधित्वको सवाल अझै ओझेलमै रहेको देखिन्छ।

लोकतन्त्रको उदय भएपछि राजनीतिक रूपमा समावेशी र बहुलताको वकालत जति नै गरिए पनि आममानिसको धारणा निर्माण गर्न प्रभावशाली साइनो जोडिएको फिल्म क्षेत्रमा भने यसको झिनो प्रभाव परेको यथार्थ हाम्रासामु छर्लंग देखिन्छ। तसर्थ, अधिकांश नेपाली फिल्मले लैंगिक दृष्टिले असंवेदनशील र महिला मुक्तिको सवालमा गौण तथा निराशावादी चित्र प्रस्तुत गरिरहेका छन्। फिल्ममा देखिएको यस किसिमको एकल जातीय वा एकल वर्णको दबदबाले हामीले अंगीकार गरेको लोकतान्त्रिक मूल्यमान्यता फेरि पनि समावेशिताको व्यावहारिक धरातलमा नराम्रोसँग चुकिरहेका छन्। यसको यथार्थ चित्रण काँचको पर्दामा देखिएका महिलाहरूको अनुहारबाट पनि अनुमान लगाउन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.