किताब बहसका ५० महिना
२०६४ सालमा अंग्रेजी साहित्यमा स्नातकोत्तर सकेपछि एकजना म्याडमले सोध्नुभएको थियो, ‘अब अगाडि के गर्ने ? ’ सबैजसो साथीले जवाफ दिए, ‘अब क्याम्पस पढाउने।’ मेरो भने फरक जवाफ थियो, ‘भएजत्तिका किताब पढ्ने।’ डिग्री त मलाई आत्मसन्तुष्टिका लागि चाहिएको थियो। लागेको थियो, कुनै कुनामा थन्काउनुभन्दा डिग्री सर्टिफिकेटको अरू भूमिका हुने छैन। सोचेकी थिइनँ, पढ्ने बानीले नै पढाउने पेसामा डोर्याउनेछ भनेर। अक्षरहरूसँग यसरी प्रगाढ प्रेम पर्दो रहेछ भन्ने पनि कहाँ लागेको थियो र ?
सन् २०११ मा मैले एलिजाबेथ गिल्बर्टको एक पुस्तक पढेकी थिएँ, ‘इट, प्रे, लभ’। त्यो किताब पढेपछि इटालीको भेनिस, फ्लोरेन्स र रोमको भ्रमण गरेकी थिएँ। किताबले यतिसम्मको मोह जन्माइदिँदो रहेछ। एउटा कुनामा बसेर किताबका पाना पल्टाउँदा संसार नै घुम्न सकिँदो रहेछ। किताबमा मानिसका जीवन देख्न, बुझ्न र महसुस गर्न पाइँदो रहेछ। विचारमाथि विचार गर्न सकिँदो रहेछ। समाज, राजनीति, संस्कृति, इतिहास, भूगोल के मात्र नभेटिँदो रहेछ र किताबमा ?
किताब पढ्ने बानी अनौठो हुँदो रहेछ। कुनै पनि किताब पढेर बहस-छलफल नहुँदा हिँड्दै छु पाइला मेट्दै छु जस्तो हुँदोरहेछ। केवल मनोरञ्जनका लागि पढ्नु बेग्लै होला। सायद साहित्यको विद्यार्थी भएर पनि होला। किताब अध्ययन मनोरञ्जनमा सीमित भएन। कुनै पनि किताबको विषयवस्तु, शैली, भाषाको महत्वबारे पनि जान्न र छलफल गर्न मन लाग्न थाल्यो।
सायद किताबको गुण नै यस्तै हुन्छ। पढेर मात्र नपुग्ने पढेको पुस्तकबारे सुनाउन मन लाग्ने। त्यही किताबबारे अरूका धारणा पनि जान्न मन लाग्ने। अरूले के पढ्दै छन् खसखस पनि हुने। किताबले किताब खोज्दो रहेछ। आफूजस्तै किताब मन पराउनेहरूसँग मित्रता बढाउँदो रहेछ। किताबी मित्रता बढाउन मलाई सामाजिक सञ्जालले पनि ठूलो सहयोग गर्यो, खासगरी फेसबुकले। फेसबुकले अनायास नै केही नयाँ साथीहरूसँग भेटाइदियो। रुचि एउटै थियो- साहित्य र किताब। साथीसंगाति बढेपछि सपनाहरू पनि बढ्दा रहेछन्। सन् २०११ मा एउटा सानो सपना देखें- बुकाहोलिक्स।
चकटी बहस चलाएर हामीले ठूलो सामाजिक परिवर्तन गर्यौं भन्ने हाम्रो दाबी होइन। तर यो समयको आँगनमा फुटिजाने पानीको फोका त पक्कै पनि होइन।
किताब पढ्न रुचि राख्ने १५ जना साथीहरू मिलेर खोलिएको फेसबुक ग्रुप ‘बुकाहोलिक्स’ मा अहिले १२ हजार जति सदस्य छन्। पढ्न र लेख्न रुचि राख्ने यति धेरै साथीहरूको मञ्च बन्न पुग्ला भनेर कल्पना पनि कहाँ थियो र ? बुकाहोलिक्सको भर्चुअल प्लेटफर्ममा हुने किताबमाथिका बहसले अहिले नयाँ पाठकलाई ज्ञानका नयाँ-नयाँ क्षितिज खोलिदिएको छ भने लेखिरहेका लेखकलाई पाठकको मनोभाव बुझ्ने गतिलो माध्यम जुराइदिएको छ। तर आजको प्रसंग चकटी बहसको हो।
यसो पछाडि फर्केर हेर्छु, साथीहरूसँग गफगाफमै सुरु गरेको बुकाहोलिक्स यति ठूलो भएछ। चकटी बहस पनि आज त ५० महिनाको लक्का जवान भइसकेको छ। चकटी बहस यही बुकाहोलिक्सकै गर्भबाट त जन्मिएको थियो।
बुकाहोलिक्समा अनेक साथी भेटिए। कतिले समर्थन गरे, कतिले साथ दिए। कतिपय हात विमतिका कारण छुटेर पनि गए। यिनै हातमध्ये एउटा हात थियो प्रभाकर गौतमको। सन् २०१४ मा उनले नयाँ प्रस्ताव लिएर आए। उनले मार्टिन चौतारीको दह्रो मञ्च लिएर आए, जहाँ बुकाहोलिक्सले केही गर्न सक्थ्यो। फेसबुकमार्फत पठन संस्कृति विकास गर्न खोजिरहेको हाम्रो प्रयत्नको दायरा फराकिलो हुन सक्थ्यो। यही प्लेटफर्मको प्राप्तिसँगै सुरु भयो भर्चुअल बहसलाई वास्तविक गराउने यात्रा। चकटी बहस त्यही प्रयत्न थियो।
चकटी बहस अर्थात् हरेक अंग्रेजी महिनाको पहिलो शनिबार मार्टिन चौतारीको हलमा हुने किताबमाथिको बहस। सामान्यतः बहसमा एक पुस्तक लिइन्छ, त्यसमाथि टिप्पणी गर्ने पण्डित हुन्छन् र भएसम्म पुस्तकका लेखक पनि हुन्छन्। पण्डितले पुस्तकमाथि टिप्पणी गरिसकेपछि पाठकले लेखक र पण्डितलाई खुलेआम प्रश्न गर्न पाउँछन्। आफ्ना विचार राख्न पाउँछन्। यो सिलसिलाले आजैबाट ५० वटा महिना पूरा गरेको छ।
आजको पचासौं शृंखलासम्म आइपुग्दा हाम्रो किताब बहस यात्राले अनेक आरोह, अवरोह पार गरिसकेको छ। चकटी बहसमा नेपाली साहित्यमा केन्द्रित भएर बहस गरिन्छ। कुनै अंकमा विशेष साहित्यको छलफल पनि भएको छ। प्रायः सहभागी उत्साही भएरै बहसमा भाग लिने गर्दछन्। सबैभन्दा रमाइलो त युवा अनुहारहरू देख्दा लाग्छ। शनिबारको दिन जीवनका अन्य प्राथमिकता छोडेर किताब बहसमा आउने ती अनुहारले मलाई सधैं ऊर्जा दिन्छ। कहिलेकाहीं तीता अनुभव नहुने पनि होइन। केही सहभागी साथीलाई आफूले चाहेजस्तो बहस भएन भन्ने लाग्दोरहेछ र तीतो पोख्ने गर्नुहुन्छ। तर निरन्तर बहसको यस्तो कार्यक्रम सञ्चालन गर्नुका आफ्नै अप्ठ्यारा हुँदा रहेछन्।
बहसमा उत्साहपूर्ण ढंगले भाग लिने सहभागी प्रशस्त भएको शृंखलाले उत्साह दिन्छ। तर मौन बस्ने र बोल्न नखोज्ने सहभागीहरूसँग गुनासो पनि गर्न नसकिँदो रहेछ। सुरुसुरुमा प्रकाशकहरूका आँखामा चकटी बहस पर्ने गरेको थिएन। जुन किताबबारे बहस भइरहेको छ, त्यसका प्रकाशकहरूको चासोसम्म पनि अपेक्षित हुँदोरहेछ। कहिलेकाहीं लेखकले नै समय नजुटाइँदा पनि नराम्रो लाग्दोरहेछ। त्यस्तो भने निकै कम मात्रामा भएको छ।
सकेसम्म सबै विधा र सबै प्रकाशन गृहका पुस्तकबारे छलफल गर्ने-गराउने हाम्रो प्रयास हुन्छ। कुनैकुनै प्रकाशन संस्थाले फरक-फरक विधाका किताब प्रशस्त प्रकाशन गरेका हुन्छन्। त्यस्तोमा एकै प्रकाशन संस्थाको दोहोरिन पनि पुग्दोरहेछ। त्यसैलाई लिएर कहिलेकाहीं केही प्रकाशन गृहहरूले नमीठो तीतो पनि ओकलेका छन्। ‘तपाईंहरूले छलफल नगरे के त, हाम्रा किताब बिकेकै छन्’ भन्ने वचन सुन्नपर्दा नमीठो त लागिहाल्छ। फेरि सोच्छु, कम्तीमा हामीले सञ्चालन गरेको बहसमा आफूले प्रकाशन गरेका किताब पनि परून् भन्ने त उहाँलाई पनि लाग्दोरहेछ। प्रतिस्पर्धात्मक पुस्तक प्रकाशन र व्यापारको युगमा भर्खर छिर्दै गरेको नेपाली पुस्तक बजारमा यस्तो तीतोमीठो त चलिहाल्छ पनि। त्यसैले झीनामसिना विवादमा नअल्झिनु नै उचित लाग्छ।
बजारमा नाम चलेका साहित्यकार र प्रकाशन गृहका किताबबारे मात्र छलफल गर्नु हाम्रो रुचिको विषय होइन। महिलाले नेतृत्व गरेको मञ्च भएकाले महिला लेखकका किताबबारे मात्रै छलफल गर्नु पनि हाम्रो प्राथमिकतामा पर्दैन। हामी हरेक शृंखलामा बहस हुने किताबको छनोट छलफलपछि मात्र गर्छौं। हाम्रो सानो टिम छ। त्यसैमा कुन किताबमाथि छलफल गर्ने र कसलाई वक्ता बनाउँदा प्रभावकारी हुन्छ भनेर छलफल गर्ने गर्छौं। सबै विधा र सबै खालका लेखकलाई समेट्ने एउटै मात्र हाम्रो लक्ष्य हो। यति हुँदाहुँदै पनि कमीकमजोरी त हुन्छ नै। आखिर हिँड्ने मानिसलाई न हो ठेस लाग्ने।
साथीभाइ, शुभचिन्तकबाट सधैं सल्लाह र सुझाव अपेक्षित रहन्छ। चकटी बहस अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर सधैं सल्लाह माग्छौं पनि। काठमाडौंमा मात्र सीमित नहोस् भनेर चितवन र हेटौंडासम्म त्यहाँका पाठक साथीहरूको अग्रसरतामा चकटी बहसलाई लगेका पनि छौं।
किताब पढ्नु र बहस गर्नु मात्र सार्थक हुँदैन, परेको बेला केही गर्नु पनि पर्छ भन्ने लागेर आफ्नै खल्तीबाट धेरथोर पैसा जम्मा गरेर र कतिपय पुस्तक संकलन गरेर जर्सिङपौवा र बनेपाका स्कुलहरूमा पुस्तकालय बनायौं। त्यस्तै लेखकत्रय नयनराज पाण्डे, विपुल सिजापति र विद्या सापकोटासँग त्यहाँका विद्यार्थीहरूसँग अन्तरक्रिया पनि गरायौं। कथावाचन कार्यक्रम पनि चलायौं।
चकटी बहस चलाएर हामीले ठूलो सामाजिक परिवर्तन गर्यौं भन्ने हाम्रो दाबी होइन। तर यो समयको आँगनमा फुटिजाने पानीका फोका त पक्कै पनि होइन। युवापुस्ताका माझमा किताब र लेखकलाई राखेर गरिएका बहसले नेपाली समाजमा अध्ययन, चिन्तन र छलफलको संस्कार बढाउन कुनै न कुनै भूमिका त पक्कै पनि खेल्छ नै। फेरि सबैले आआफ्नो स्थानबाट सकेको गर्ने न हो।
जे होस् चकटी बहसको पचासौं शृंखलालाई उत्सवसरह मनाइरहँदा केही त गरिएछ भन्ने लागेको छ। कहिलेकाहीं तीतो टिप्पणी गर्ने साथीहरूको वचनले मन अँध्यारो हुन्छ। तर साथ दिने हातहरूले उज्यालाका धर्साहरू छरिदिन्छन्। अक्षर क्रियसनकी अर्चना थापा, बुक हिलका भूपेन्द्र खड्का र सांग्रिला बुक्सका मणि शर्माले बेलाबेलामा वक्तालाई किताब दिएर गुन लगाउनुभएको छ। मञ्च दिने मार्टिन चौतारीप्रति सबैभन्दा बढी आभारी छौं।
किताब बहसका ५० महिनामा हामीले धेरै लेखक उभ्याइसकेका छौं। बहसको मझेरीमा उभिने पालो अब तपाईंको हो। पाठकका रूपमा वा लेखकका रूपमा, तपाईंको रुचि।
प्रतिक्रिया दिनुहोस !