मोफसल मुभी

मोफसल मुभी

नेपालमा बर्सेनि निर्माण हुने चलचित्रको संख्या सय नाघ्न थालेको छ। यो चलचित्र विकास बोर्डमा दर्ता भएर बन्ने चलचित्रको संख्या हो। तर, एउटा रमाइलो तथ्यांक के पनि छ भने मोफसलमा लगभग यही संख्याको हाराहारीमा चलचित्र विकास बोर्डमा दर्ता नगरी चलचित्र निर्माण हुने गरेको छ। ऐनले चलचित्र निर्माण तथा प्रदर्शन गर्न चलचित्र विकास बोर्डबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। तर, मोफसलमा चलचित्र निर्माण गर्नेहरू कतिपयलाई त अनुमति लिनुपर्छ भन्ने जानकारी पनि छैन। न बोर्डसँग यस्ता चलचित्र बनिरहेको सूचना छ न त आवश्यक अनुगमन नै गर्छ, न चासो नै राख्ने गरेको छ।

त्यसो त मोफसलले निर्माण गरेको चलचित्रले राष्ट्रिय स्तरमै प्रभाव छोडेको मात्र होइन, मार्गदर्शनसमेत गरेको छ। यसका थुप्रै उदाहरण पनि छन्। आजका प्रभावशाली निर्देशक नवीन सुब्बाले मोफसलबाटै चलचित्र सुरु गरेका थिए। धरानको अनाम नाट्य जमातको संयोजनमा बनेको लिम्बू भाषाको चलचित्र ‘तरेबा’ उनको पहिलो चलचित्र थियो। उनको बहुचर्चित चलचित्र ‘नुमाफुङ’ र शेर्पा भाषाको ‘खांगरी’लाई पनि मोफसलकै चलचित्र भन्न सकिन्छ। आजको दिनसम्म नेपालका उत्कृष्ट चलचित्रमा नुमाफुङकै नाम लिइने गरिन्छ भने तरेबाको निर्माणपछि नेपालमा विभिन्न भाषिक एवं जातीय चलचित्रको लहर नै चलेको भन्न सकिन्छ। तरेबा निर्माणअघि नेपाल भाषामा चलचित्र निर्माण भएको पाइएको छ। तर, त्यसले देशमा प्रभाव छाड्न सकेको थिएन। तर, लिम्बू भाषामा तरेबाको निर्माण भएपछि भने राई, गुरुङ, थारू, शेर्पा आदि भाषामा चलचित्र निर्माण सुरु भएको पाइन्छ। यीमध्ये आज पनि गुरुङ तथा लिम्बूहरू निरन्तर चलचित्र निर्माणमा सक्रिय छन्।

चलचित्रको मूलधारलाई नै धक्का दिन सफल भए पनि यी चलचित्रहरू केन्द्रमा मूलप्रवाहीकरण भने हुन सकेका छैनन्। जातीय तथा भाषिक चलचित्रहरूप्रति राज्यको प्रस्ट धारणा नभएकाले सामान्य अनुदानमूलक सहयोगबाहेक अरू कुनै प्रकारका सहयोग उपलब्ध छैन। चलचित्र विकास बोर्डले जातीय समुदायको चलचित्रलाई सम्बोधन गर्न उपसमिति नै गठन गरेको भए पनि त्यसमा समुचित प्रतिनिधित्व नभएकाले त्यो समितिले पनि सरकारी स्रोतसाधनको सदुपयोग गर्न सकेको छैन। वर्षमा एकाध बैठक र जातीय चलचित्रहरूको उत्थानको नाममा सम्मान कार्यक्रमजस्तो कर्मकाण्डी काम र केही टाठाबाठालाई बाहेक समग्र चलचित्रको विकासका लागि केही गर्न सकेको छैन।

त्यसमाथि मोफसलकै चलचित्रका लागि त कहीँ कतै केही गरिएको पाइँदैन। तर, मूलधारले बेवास्ता गरे पनि मोफसलबाट राम्राराम्रा काम भएका छन्, जसको समुचित संरक्षण र उत्प्रेरणा प्रदान गर्न सकेको भए मोफसलले मौलिक नेपाली चलचित्र दिनसक्ने प्रचुर सम्भावना छ।

मूलधारको नेपाली चलचित्र उद्योगले नेपाली चलचित्र बनाउन नसकेको आरोप लाग्दै आएको छ। यस्तोमा मोफसलबाट चुपचाप जानी–नजानी चलचित्र बनिरहेका छन्। दाङका नाट्यकर्मी अजित लामिछानेलाई त्यहीँको जनजीवनमाथि चलचित्र बनाउने हुटहुटी लाग्यो। त्यसपछि उनले दाङकै स्थानीय थारूको कथालाई लिएर ‘बुह्रान’ भन्ने चलचित्र बनाए। चलचित्र बनिसक्दा पनि उनलाई थाहा थिएन उनले कस्तो सिनेमा बनाए। तर, जब बुह्रान प्रदर्शनमा आयो सबैले प्रशंसा गरे, चलचित्र महोत्सवमा पुरस्कृत भए अनि बल्ल उनले बुझे, उनले त राम्रै चलचित्र बनाएका रहेछन्।

पोखराका माओत्से गुरुङले त्यहीँबाट ‘कृपा’ बनाए। कृपालाई आज पनि एउटा सुन्दर चलचित्रको नामले चिनिन्छ। पोखरेली चलचित्रले नै उनलाई काठमाडौंसम्म स्थापित गरिदिएको छ। तर, माओत्सेलाई काठमाडौंको आकर्षण भन्दा पोखरामै रमाउँछन्।

मोफसलका चलचित्रको सबैभन्दा सुन्दर पक्ष भनेको ती चलचित्रको कथा–आधार त्यहीँ हुन्छ। त्यहीँ वरिपरिकै कथालाई बुनिएको हुन्छ। आफ्नैअगाडि देखिएका र भोगिएका विषयवस्तुलाई नै चलचित्रमा उतारिएका हुन्छन्। चाहे त्यो नवीन सुब्बाको नुमाफुङमा होस् वा तरेबामा, अथवा माओत्सेको कृपा, अजितको बुह्रान, आदि सबैको कथाको आधार त्यहीँको जनजीवन नै हो, दैनिक कार्यव्यापार नै हो। यो सँगसँगै अर्को महŒवपूर्ण सुन्दर पक्ष भनेको यसको आफ्नै छुट्टै बजार पनि छ। आफ्नैअगाडि घटेका र हुने गरेका विषयवस्तु नै चलचित्रमा देख्न पाउँदा दर्शकले अपनत्व महसुस गरेका छन्। त्यसैले त उनीहरू एउटै चलचित्र दोहो¥याई तेहे¥याई हेर्छन्। किनकि त्यो कथामा उनीहरूले आपूmलाई पाउँछन् र चलचित्रको चरित्रमा आफूलाई जिउँछन्। मैले नुमाफुङ १७ पटक दोहो¥याएर हेरेको पनि भेटेको छु। त्यसैले त यी चलचित्रलाई काठमाडौंको आवश्यकता पर्दैन। त्यहीँ बनाउने, त्यहीँ देखाउने। कथा पनि त्यहीँ छ, बजार पनि त्यहीँ।

मौलिकता खडेरी परेको नेपाली चलचित्र उद्योगलाई मोफसलमा बनिरहेका यस्ता चलचित्रले इज्जत जोगाइदिइरहेका छन्। मौलिक चलचित्रका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा र यहीँ पनि परिचय दिनुपर्दा यी चलचित्र अग्रपंक्तिमा छन्। यी चलचित्रहरूको अत्यन्तै सकारात्मक प्रभाव पनि छ। चलचित्र हलसम्म नआइपुग्ने दर्शकलाई हलसम्म आउन बाध्य बनाएको छ, यी चलचित्रले। यसले समग्र नेपाली चलचित्रकै लागि भिन्न बजार सिर्जना गर्न मद्दत गरेको छ। यी चलचित्रले मौलिक चलचित्र मात्र होइन, मौलिक दर्शक र मौलिक बजार पनि निर्माण गरेको छ जुन तारिफयोग्य छ। र, यो निर्माण देशभित्र मात्र होइन देशबाहिर पनि भइरहेको छ।

यो सिंगो नेपाली चलचित्र उद्योगकै उपलब्धि हो। त्यसका अलावा यी चलचित्रले स्थानीय परम्परा, रहनसहन, संस्कृति, आदिलाई अभिलेखीकरण पनि गरिरहेका छन्। यसले एकातिर मौलिकता हराउँदै गएको हाम्रो समाजका युवामा आफ्नो परम्परा, रीतिरिवाज, संस्कृति, भाषा, भेषभूषा आदिप्रतिको आकर्षण बढाएको छ भने अर्कातिर यसको संरक्षणका लागि उत्प्रेरणा जगाउने काम पनि गरेको छ। त्यतिमात्र होइन, यी चलचित्रले दूरदराजका दृश्य पनि चलचित्रमा उजागर गरेका छन्। देख्ने गरिएका नेपाली चलचित्रका उही दृश्य हेर्दाहेर्दा थकित दर्शकलाई ती नितान्त चोखो दृश्यले शीतलता मात्र प्रदान गर्दैन, नोस्टाल्जिक पनि बनाउँछ।

यी चलचित्रले मूलधारका चलचित्रलाई पनि मौलिकताको खोजी गर्ने दिशातर्फ उन्मुख हुन मार्गदर्शन गरिरहेको छ। पछिल्लो समय नेपाली चलचित्रमा खोज्न थालिएको मौलिकता यसैको प्रभाव हो भनेर दाबी गर्न सकिन्छ। आज विस्तारै हाम्रो चलचित्रको दायरा फराकिलो हुँदै गइरहेको छ। आज हिमालका चलचित्र बन्न थालेका छन्। पहाडका, मधेसका चलचित्र बन्न थालेका छन्। विभिन्न सवाल चलचित्रले उठाउन थालेका छन्। विगतजस्तो सीमित सोचको सीमारेखा पार गर्दैछ नेपाली चलचित्र। यो आउने दिनको सुन्दरताको संकेत पक्कै हो।

मोफसलका चलचित्रले मूलधारको चलचित्र उद्योगलाई कलाकार, निर्माता, निर्देशक, प्राविधिक पनि उपलब्ध गराउँदै आएको छ। माथि भनिएका नामसँगै अरू धेरै नाम त्यसमा सामेल हुनसक्छ। धरानमा ब्राह्मण र लिम्बू समुदायबीचको सम्बन्धको सवाललाई लिएर ‘छिमेकी’ बनाएका निर्माता मनोज शाक्य नै आज नेपाली चलचित्र क्षेत्रकै सर्वाधिक बजेटको चलचित्र ‘नालापानी’का निर्माता हुन्। आजका सुरज सुब्बा नाल्बोले कुनै बेला मोफसलबाटै चलचित्र निर्देशन थालेका थिए। यस्ता धेरै उदाहरण छन्।

धेरै राम्रा काम, प्रभाव र उपलब्धि भए पनि यसका केही नकारात्मक प्रभाव पनि छन्। केही वर्षअघि झापाको दमक पुग्दा त्यहाँको स्थानीय साइबर क्याफेमा एउटा चलचित्रको स्टिकरमा आँखा पुग्यो। चलचित्रको नाम थियो, ‘दलन २’। त्यो बेला नेपाल टेलिभिजनमा नवीन सुब्बाको टेलिशृंखला ‘दलन’को प्रसारण भर्खरै सकिएको थियो। उक्त दलन २ को बारेमा झापाबाहेक अरूतिर कसैलाई पनि थाहा थिएन। नेपाल टेलिभिजन, नवीन सुब्बा वा निर्माता दातृसंस्थाहरू कसैलाई केही थाहा थिएन।

कतिपय चलचित्रहरू त्यहीँ बन्छन्, त्यहीँ हेरिन्छन् अनि त्यहीँ सकिन्छन्। जसको कुनै चर्चा पनि हुँदैन, अर्थ पनि हुँदैन। एक थरी चुपचाप गम्भीर चलचित्र निर्माण गरिरहेका छन् अर्का थरी स्थानीय स्रोतको दुरुपयोग गरिरहेका छन्। एक थरी राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा पुगिरहेका छन्, अर्का थरी त्यहीँ सीमित छन्। राम्रा चलचित्र बनिरहेको पृष्ठभूमिमा अर्का थरी केही निर्माता–निर्देशकको पनि बिगबिगी बढेको छ मोफसलमा। यसले नवनिर्माताको शोषण भइरहेको छ, कलाकारहरू विभिन्न खाले शोषणमा पर्ने गरेका छन्। त्यसका अलावा दर्शक पनि शोषणमा परिरहेका छन्।

समाजमा नवधनाढ्यहरू बढिरहेका छन्। मोफसलमा उनीहरू पनि हुन्छन् निर्माता। केही निर्माता शोषणमा परिरहेका छन् भने केही निर्माताको नाममा शोषण गरिरहेका छन्। केही निर्देशक आफैं शोषणमा परिरहेका छन्, केहीले भने शोषण गरिरहेका छन्। यसले गम्भीर काम गरिरहेका निर्माता, निर्देशक र कलाकार स्वयं मारमा परेका छन्। रसरंग र रामरमाइलोका लागि चलचित्र निर्माण गर्ने समूह पनि सक्रिय छन् जो सर्वाधिक खतरनाक छन् नेपाली चलचित्र उद्योगका लागि।

चलचित्र अत्यन्तै संवेदनशील क्षेत्र हो। यसको प्रभाव क्षेत्र ठूलो हुन्छ अनि अत्यन्तै प्रभावशाली पनि। अधिकारवादी आन्दोलनमा पनि यसको उपयोग गरिन थालेको छ। तर, यसको गलत उपयोगले गम्भीर परिणाम पनि ल्याउन सक्छ। मोफसलमा यस्तै सामाजिक र राजनीतिक विवादका विषयवस्तुले पनि चलचित्रमा स्थान पाएका छन्। विषय गम्भीर छन्, समाधान गर्नैपर्ने सवालहरू छन् जसलाई गम्भीर तथा जिम्मेवारीपूर्वक उठान गरिएन भने त्यसको दूरगामी दुष्परिणाम आउनसक्ने खतरा पनि रहन्छ। यसबारे नीतिनिर्मातादेखि चलचित्र निर्माण पक्ष पनि जिम्मेवार हुन जरुरी छ।

गम्भीर अनुगमनको अभावमा अत्यन्तै सम्भावना भएको मोफसलको क्रियाशीलताको अवसान हुनसक्ने खतरा पनि उत्तिकै छ। त्यसैले यसलाई नियमन गर्नसके नेपाली चलचित्र क्षेत्रकै लागि सकारात्मक प्रभाव परिरहने थियो। जहिले पनि मौलिकताको अभावको कुरा गरिरहने यो क्षेत्रलाई वास्तवमा मौलिकता दिने काम मोफसलले गर्नसक्छ। चलचित्र विकास बोर्डले मोफसल लक्षित तालिम, प्रशिक्षण, कार्यशालालगायत अन्य प्रवद्र्धनात्मक कार्यक्रमका अलावा त्यहाँ बनिरहेका चलचित्रलाई निरन्तर प्रोत्साहन गरिरहे गाउँगाउँमै राम्रा र हाम्रा भनिनसक्ने नेपाली चलचित्र बन्नसक्ने कुरामा द्विविधा छैन।

मोफसल र काठमाडौंका चलचित्रबीच जुन खाडल छ, जातीय चलचित्रको जुन विभेद छ, त्यसलाई अन्त्य गर्नुपर्छ। आज जुन चलचित्रलाई गुरुङ, लिम्बू वा थारू चलचित्र भनिन्छ, ती सबैलाई नेपाली चलचित्र भन्ने मान्यता स्थापित गर्नुपर्ने चुनौती विद्यमान छ। त्यसलाई जातीय चलचित्र होइन, जातीय भाषा तथा संस्कृतिमा निर्मित नेपाली चलचित्र भन्ने पहिचान स्थापित गर्नुपर्छ। अनि बल्ल राष्ट्रिय संस्कृति निर्माण हुनसक्छ। त्यति मात्र होइन, यसले राष्ट्रिय एकतालाई पनि मजबुत बनाउन सक्छ, जसलाई क्षेत्रीय चलचित्र भनिने संकुचित आँखाबाट मात्र हेरिने गरेको छ, त्यसको सुन्दरतालाई बोर्डले प्रोत्साहन र संरक्षण गर्न जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.