एउटा दर्शकको आँखामा
त्यो बेलासम्म मैले फिल्म हेरेको थिइनँ। आठ कक्षा पढ्थेँ। स्कुलमा बिहानको पढाइ थियो। एघार बजे स्कुल छट्टी भएपछि हलुङ्गा खुट्टा लिएर घर फर्कंदै थिएँ। वैशाख महिनाको टन्टलापुर चितौने घाम जति चर्को लाग्नुपर्ने हो, त्यति लागेको थिएन।
पछाडिबाट तीखो आवाज आयो— अमर ! कसले बोलायो भनेर पछाडि फर्कंदा मेरो सिल्की, बाक्लो र लामो कपाल हावासँगसँगै लहराएछ। ऊ मेरो कपालका लागि हाँसी। मन पराएर हाँसेको आभासले मक्ख भएँ। त्यसपछि मेरो नजिकै आई र हामी सँगसँगै हिँड्न थाल्यौं। मुस्कानचोक आएपछि हामी छुट्टिने दोबाटो आउँथ्यो। चोक आउने बेलामा उसले जिस्किँदै भनी, ‘तिमी र म आज फिल्म हेर्न जाम् न अमर। जाँदा तिमी साइकल चलाऊ, म पछाडि बस्छु; फर्किंदा म साइकल चलाउँछु, तिमी पछाडि बसौला।’
आजसम्म एउटा पनि फिल्म नहेरेको किशोर। के कस्तो हुने हो ? जिस्किन नजानेर म छक्क परेर ऊतिर पुलुक्क हेरेर अन्तै हेरेर हिँड्न थालेँ। उसले फेरि हाँस्दै भनी, ‘कस्तो नपत्याएको ? जाम् न, गञ्जसिंहको श्रीकृष्ण चलचित्र मन्दिरमा, कन्यादान लागिराछ के।’
म अझै केही बोलिनँ। उसले चम्किला आँखा फारेर भनी, ‘एउटा कुरा भनम् ? ’
‘भन न।’
‘तिमी कन्यादानको हिरोजस्तै देखिन्छौ।’
उसले यसो भनेपछि म उत्सुक त भएँ तर ‘कन्यादान’ फिल्मको हिरोको अनुहार आँखामा नआएर म अलमलिएँ। उसले जस्तै मैले पनि थुप्रै फिल्म हेरेको छु भन्ने बुझाइ उसको भावमा थियो। अब केही बोलेँ भने मैले एउटा पनि फिल्म नहेरेको कुरा उसले थाहा पाउली भनेर मैले भनेँ, ‘मलाई त फिल्म हेर्न मनै लाग्दैन।’
मैले यति भन्दा हामी छुट्टिने दोबाटो आइसकेको थियो। ऊ उत्तरतिर लागी, म दक्षिणतिर।
घरनजिकै पुग्दा एक छिमेकी बाबुले फिल्म हेर्न जान लागेको छोरालाई कराउँदै रहेछन्, ‘एकचोटि हेरेसि भयो नि। फिलिम भन्नी कुरो यस्तै हुनी रच भन्नी जानेसी कति पटक हेर्न परेको हो तँलाई ? ’
घर पुग्दासम्म फिल्म हेर्ने रहरले मन भरिनै लागेको रहेछ। कस्तो हुन्छ होला फिल्म ?
९ कक्षा पढ्दा बल्ल एक दिन साइत जुर्यो। ०४८ साल फागुन महिनाको शनिबार। बिहानै उठेर बा, आमा, दिदी र म घरनजिकै बारीमा गहुँ काट्न गएका थियौं। सल्लाहअनुसार साढे सात बजेतिर नवीन साइकल चढेर आए र बाटोबाटै साइकलको घन्टी बजाए। त्यो घन्टीको आवाज सबैभन्दा पहिला मैले सुनेँ। किनभने मैले त्यो आवाज पर्खिरहेको थिएँ।
बाले फिल्म हेर्न पचास रुपियाँ दिनुभयो। आ–आफ्नो साइकलमा हामी खुसीको सास फेर्दै नारायणगढतिर हुइँकियौं। बीस किलोमिटरको दूरी बीस मिनेटमा पार गरेजस्तो लाग्यो। लाग्नचाहिँ सवा घन्टा जति लागेको हुँदो हो।
हलभित्र कस्तो हुन्छ ? फिल्म कसरी आउँछ ? कसरी कलाकारहरू कथा सँगसँगै बग्दै जान्छन् ? सुनेको भरमा अनेक कल्पना गरेको थिएँ। सुनेर गरेको कल्पना यथार्थमा कति मिल्छ–मिल्दैन भन्ने उत्सुकताले मन भरिएको थियो। पुगेर हामीले हतारहतार दुईदुई रुपियाँ तिरेर साइकल राख्यौं। नवीनले हतारहतार टिकट काटे। टिकट कति थरीका हुन्छन् भन्ने पनि थाहा थिएन मलाई। नवीनले त्यति बेलासम्म एक दर्जन फिल्म हेरिसकेका रहेछन्। उनले मलाई बाटोमा पनि फिल्मका बारेमा बुझाउँदै थिए।
पाँच गीत, पाँच फाइट, दुई बलात्कारको सिन... यस्तैयस्तै फर्मुलालाई जोडेर बनाएका फिल्म कति हेर्नु ? यो त हामीले फिल्महरूको नाम जोडेर बनाएको कथा जस्तै पो भयो त।
फिल्म भर्खर ९ बजेबाट सुरु भएको रहेछ। शनिबार भने ९–१२ को पनि सो चल्छ भनेका थिए नवीनले। ढोका लागिसकेको थियो। ढोकामा हामीलाई नै पर्खेर बसिरहेजस्तो लाइटम्यानले लाइट बाल्दै भित्र लग्यो। अँध्यारोमा बसेर मानिसहरू उज्यालोतिर हेरिरहेका थिए। लाग्यो, फिल्म भनेको अँध्यारोमा बसेर उज्यालो हेर्ने कुरा हो। लाइटम्यानको पछिपछि लाग्दा सिँढीहरू टेक्ने ठाउँ पहिल्याउन नसकेर सम्म छ होला भनेर टेक्दा तल्लो सिँढीमा दुईतीन पटकसम्म खच्याक्क–खच्याक्क भएछु। लाइटम्यानले लाइट बालेरै हाम्रो सिट देखाइदियो। गएर बस्नासाथ नवीनले भने, ‘हामी बसेको ठाउँ ड्रेससर्कल हो, बालकोनीभन्दा पनि माथि।’
एउटा चाटुकारजस्तो निर्दयी लाग्ने हर्के साहू भन्ने मानिसले गाउँकी एउटी महिलालाई मारेर झुन्ड्याएको दृश्य मेरो आँखामा पर्यो। मेरो आँखामा परेको फिल्मको पहिले दृश्य। कथा क्रमशः नदीझैं बग्दैबग्दै गयो। नवीनले बेलाबेलामा मलाई बुझाउँदै जान्थे– फिल्मका केही सूत्र र व्याकरण। ...हिरो बाहिर कुर्चीमा बसेरै कम्मल ओडेर निदाउनुअघि एउटा गीत बज्छ, ‘इशाराले बोलाउनुपर्दैन माया भए डराउनुपर्दैन...।’
त्यो गीत र त्यो गीतमा नाचेका हिरोहिरोइन; हिरोहिरोइन नाचेको फूलबारी– आजसम्म त्यति राम्रो मनोरम दृश्य देखेको थिइनँ। नवीनले बुझाए, ‘यो सब हिरोले सोचेको हो।’ हिरोले सोच्दैमा कसरी यति राम्रो दृश्य र गीतमा त्यति राम्री हिरोइनसँग ऊ नाच्न पायो ? छक्क परेँ। लाग्यो, सबैभन्दा सजिलो नै यही हुने रहेछ, सोचिदिने रोल। सोच्यो कि यति राम्री हिरोइनसँग यति राम्रो फूलबारीमा गाउँदै नाच्न मिल्ने रहेछ। मलाई पनि त्यसरी नै सोचेर त्यस्तै फूलबारीमा नाच्न र गाउन मन लाग्यो। त्यो हिरोको ठाउँमा आफूलाई राखेर फिल्मको खुब मज्जा लिएँ। फिल्म सकिएर हलबाट बाहिर निस्किँदा एक्कासि नयाँ संसारमा आएजस्तो लाग्यो। त्यो फिल्म थियो— तुलसी घिमिरेद्वारा निर्देशित ‘अन्याय’।
त्यसपछि मलाई फिल्म हेर्ने लत नै बस्यो। लगत्तै ‘लाहुरे’ हेरेँ। हेर्दाहेर्दै ठाउँठाउँमा हिक्का छोडेरै रोएँ। फिल्म हेर्दै रुन मलाई फेरिफेरि मन लाग्न थाल्यो। दोहोर्याएर हेरेँ; आठ कक्षामा पवनीले जाऊँ भनेको गञ्जसिंहको श्रीकृष्ण चलचित्र मन्दिरमा।
नारायणगढमा र शारदानगरमा फिल्म फेरिएको थाहा पाएपछि मलाई कतिखेर हेर्न जाऊँ हुन्थ्यो। पाए साथीसँग नभए एक्लै भए पनि जान्थेँ। नेपाली फिल्म त एउटा पनि छोड्थिनँ। एसएलसीको रिजल्ट भएको दिन गोरखापत्र हेर्न नारायणगढ जाँदा हामी तीनजना साथी तारा दाइ, नवीन र म थियौं। गोरखापत्र हेर्ने ठाउँमा अलि भीड भएकाले पहिले फिल्म हेर्यौँ त्यसपछि मात्र गोरखापत्र। आइरन गेटको रिजल्टको दिन पनि मलाई रिजल्टभन्दा फिल्म महŒवपूर्ण थियो। त्यो बेला हामीले हेरेको हिन्दी फिल्म थियो— जिगर।
त्यो बेला फिल्महलमा अलि पढेलेखेका, प्राज्ञिक र सभ्रान्त मानिस प्रायः देखिँदैनथे। त्यसैले अलि पछि गएर एक्लै हलमा जाँदा कसैले देखेर ‘तिमी फिल्म हेर्न आएको ? ’ भनेर खिसी गरिदिने हो कि भन्ने डर र लाजसमेत लाग्थ्यो। कहिलेकाहीँ बजार गएर पनि पैसा नभएकाले पोस्टर मात्र हेरेर भए पनि फर्कन्थेँ। पोस्टर मात्र हेर्दा पनि केही सन्तुष्टि मिल्थ्यो।
त्यो बेला नेपाली फिल्म महिनामा एउटा–दुइटा मात्र बन्थे होलान्। त्यसैले ती कहिल्यै छुटेनन्। तर, तिनले डोज पुर्याउन नसकेको अवस्थामा हिन्दी फिल्म पनि हेर्थे। पछिपछि हिन्दी अझ धेरै हेर्ने भएँ। फिल्मसँग यति धेरै लगाव बढेको थियो कि हामी साथीहरू फिल्मका नामहरू जोडेर लेख्दै कथा बनाउँथ्यौं। यसरी एउटै कथामा लगभग सबै नेपाली फिल्म अटाउँथे। तल दिइएका शब्दहरू प्रयोग गरेर वाक्य बनाऊ भनेर भनेर शिक्षकले कक्षामा सिकाउँथे। सिकेको कुरा राम्रैसँग प्रयोगमा ल्याएको ठूलो पौरख यही थियो। अझ अगाडि बढेर हामीले त कथा नै बनाइदिन्थ्यौं। फिल्मका नामहरू जोडेर बनाएको कथा पालैपालो पढ्थ्यौं र अझ जान्नेले भन्यौं— योचाहिँ फिल्म छुटेछ। फेरि अर्को वाक्य थपिन्थ्यो।
फिल्मी हेर्ने क्रम यति धेरै बढ्न थाल्यो कि एकै दिनमा एउटा हलमा १२–३ को सो हेरेर अर्को हलमा ३–६ को सो हेर्थें र घर फर्कन्थें। यो हेर्ने क्रम उत्कर्षमा पुग्यो। सन्तुष्टि पनि उत्कर्षमा पुग्यो।
...त्यसपछि बिस्तारै सन्तुष्टि सन्तोषजनक हुन छोड्यो। ओर्लन थालेपछि फेरि उक्लनै सकेन। अबको फिल्ममा त उक्लन्छ कि सन्तुष्टि भनेर फेरि हेर्यो, झन् ओर्लन्थ्यो। उस्तैउस्तै कथावस्तु, घटनाक्रम, संवाद र मसला भएका फिल्म हेर्दाहेर्दा अर्थशास्त्रमा पढेको सीमान्त उपयोगिताको ह्रास नियम मेरो जीवनमा भने फिल्म हेर्ने मामलामा पो लागू भयो।
प्रायःका कच्चापदार्थ, मसला र फर्मुला उस्तैउस्तै। हलबाट निस्किँदा फिल्म हेरेर होइन, सानोतिनो विश्वयुद्ध हेरेर निस्किएजस्तो लाग्ने। महसुस गरेँ— मेरा आँखाले नयाँ स्वाद खोजिरहेछन्।
खुबै स्टाइलिस लामोलामो कपाल भएका, अग्लो सर्लक्क परेका, जिम गरेको सुगठित शरीर बनाएका, सहरिया बोली र हाउभाउ भएका राजेश हमाल सुदूर गाउँको अनपढ गाउँलेको भूमिकामा जब देखिन्छन् अनि फिल्म होइन उनलाई मात्र हेरेर हलबाट फर्कन मन लाग्ने भयो। अलि पछि त त्यही पनि के हेर्नुभयो। उनी त एक प्रतिनिधि पात्र मात्र भए। धेरैजसो मूल कलाकारको प्रस्तुतिमा यस्तै समस्या। पाँच गीत, पाँच फाइट, दुई बलात्कारको सिन... यस्तैयस्तै फर्मुलालाई जोडेर बनाएका फिल्म कति हेर्नु ? यो त हामीले फिल्महरूको नाम जोडेर बनाएको कथाजस्तै पो भयो त।
प्रायः कुनै फिल्म पनि नछोडी तीन वर्ष लगातार फिल्म हेरेपछि एक दिन सायद ‘गोठालो’ भन्ने फिल्म हुनपर्छ— एक्लै गएर हेर्दै थिएँ। हेर्दाहेर्दै दिक्क लागेर बीचमै उठेर बाहिरिएँ। लाग्यो, यस्ता फिल्महरू मेरा लागि बनेका होइनन्।
कलाकारिताका लागि भन्दा पनि मानिसका साधारण मानसिकतालाई रिझाउन र बजारमा चलाउनका लागि केही तिगडम गरेर फिल्म बनाइन्छ भन्ने पर्यो मलाई। अनि सोचेँ, यस्तो नभएको फिल्म भए मात्र मैले हेर्नेछु।
पोस्टर मात्र देख्दा पनि चम्किला हुने आँखा क्रमशः पोस्टर देखेपछि बेवास्ता गर्ने भए। त्यसपछि फिल्मी मोह पूरै टुट्यो। हिन्दी फिल्म पनि हेर्न छोडिदिएँ।
फिल्म हेर्न छोडेपछि किताब पढ्ने बानी अझ बढ्न थाल्यो। आख्यान पढेर फिल्मको क्षतिपूर्ति गर्न थालेँ। आख्यान पढ्दै जाँदा मनोलोकमा फिल्म बन्थ्यो र लाग्थ्यो, मेरो मनोलोकको जस्तै फिल्म बनिदिए फेरि पहिलेझैं हेर्ने थिएँ। केही किताबमा बनेका फिल्म पनि हेरेको थिएँ तर किताब पढ्दा मनोलोकमा बनेको फिल्म भन्दा कता हो कता झुर लाग्यो। मेरो टिनएजको उत्तराद्र्धले समेत सोच्न थाल्यो— यस्तो फिल्म होस्, जहाँ सहज र स्वाभावविक कथा होस्। व्यक्तिगत मनोविज्ञान र समाज मनोविज्ञानका पत्रहरू होऊन्। धेरै अमिलो, पिरो, चिल्लो, तारेको, भुटेको मसलेदार नहोस्। नायक भनेपछि अग्लो, सुगठित शरीर र सुन्दर अनुहार भएको, हिरोइन बोक्न र फाइट गर्नसक्ने आदि मान्यता नभएको अनि नायिका भनेपछि अग्ली, जिरो फिगर भएकी, स्लिम र सुन्दरी, शरीरका केही पहाडी भूभाग र खोल्साखोल्सी देखाउने क्षमता भएकी, नायकको वरिवरि नाच्न जान्ने आदि मान्यता नभएको फिल्म हेर्न मन लाग्यो। प्रत्येक मानिस आफ्नो जीवनको नायक हो। जस्तो पात्रको कथामा फिल्म बनाइन्छ, त्यो चरित्रसँग फिल्मको पात्रको स्वरूप र स्वभाव मिल्नुपर्छ भन्ने लाग्यो।
फिल्म आफैंले कसैलाई यो नायक हो र यो खलनायक हो नभनोस्। नायक र खलनायक छुट्याउने जिम्मा दर्शकलाई नै दिइयोस्। किनभने प्रत्येक मानिस आफैंमा नायक पनि हो, खलनायक पनि। मात्रा मात्र फरक हुन्छ। तर, सामान्यतया फिल्ममा खलनायक देखाउँदा कि पछाडिबाट डरलाग्दो गरी देखाइँदै लगिन्छ, कि जुत्ताबाट। मुटुमै कम्पन दिने गरी र कानमै खसखस हुनगरी डरलाग्दो डुङ डुङ... धुन दिइन्छ र दर्शकलाई भनिन्छ— यसलाई खलनायकको रूपमा हेर्नू।
त्यस्तै नायिकालाई देखाउँदा पनि प्रायः रुरु... को धुन सँगसँगै हाई हिलबाट खाली पिडौंला हुँदै तिघ्राबाट क्यामेरा उकालो लागेर अनुहारमा पुगेपछि वि श्राम लिन्छ। उस्तै प्रेमकथा, प्रेमका लागि बाबुआमा, समाज त्यागेको, नायकले कयौं खलपात्रलाई मारेको, रगत बगेको, रगतका माझबाट उनीहरूको प्रेम हाँसेर फिल्म टुंगिएको।
यहाँ कलाभन्दा धेरै ग्ल्यामर बिक्दो छ। बजारले निर्धारण गरेको शारीरिक सौन्दर्य र मसलाले मात्र फिल्म चल्ने भयो। खासमा बजार र बजारले बनाइदिएको मान्यता अनि हामी दर्शकहरूको साधारण मानसिकतामा पनि पुनर्विचार गर्नुपर्ने देखिन्छ।
राम्रो अभिनय भएकी नायिका जवानी छइन्जेल मात्र हिट हुन्छन्। फिल्महरूले प्रमुख भूमिका दिन्छन्। पत्रपत्रिकामा ठूलाठूला फोटो छापिन्छन्। घामले झैं क्यामेराहरूले पछ्याइरहन्छन्। उनको अध्ययन र अनुभव बढ्दै जान्छ। अभिनय अझ माझिँदै र उमेरको परिपक्वता अझ बढ्दै जान्छ। यस्तो बेला उनी अझ हिट हुनुपर्नेमा उनले खेलेका फिल्महरू उनको जवानी घट्दै गएका कारण फ्लाप हुँदै जान्छन्। त्यसपछि उनललाई अफर आउनै छोड्छ। अब उनले कि सानासाना भूमिकामा सीमित हुनुपर्यो कि फिल्म खेल्नै छोड्नुपर्यो। साँच्चै यहाँ कलाभन्दा धेरै ग्ल्यामर बिक्दो छ। बजारले निर्धारण गरेको शारीरिक सौन्दर्य र मसलाले मात्र फिल्म चल्ने भयो। खासमा बजार र बजारले बनाइदिएको मान्यता अनि हामी दर्शकहरूको साधारण मानसिकतामा पनि पुनर्विचार गर्नुपर्ने देखिन्छ।
खासमा यो दक्षिण एसियाकै समस्या रहेछ। विशेषगरी भारतमा खानेकुरा पनि गरमागरम अनि अमिलो, पिरो, तारेको, भुटेको, साँधेको, मरमसलाले पूर्ण भएको खाना खान्छन्। बोल्दाखेरी पनि चर्कोचर्को, जस्तो कि बसमा पछाडिको सिटमा बसेको मानिस र अगाडिको सिटको मानिस कुरा गर्छन्। कुरा गरेको हो कि झगडा गरेको छुट्याउन गाह्रो पर्छ। सुर्ती माडेर पड्काउँदासमेत रूखमा बसेका चराहरू तर्सेर उड्छन्। त्यही स्वभावलाई रिझाउन र बजार बनाउन बलिउडमा लाउडी फिल्म बने। त्यसको प्रभाव नेपालमा पनि पर्यो।
०००
०५७ सालतिरको कुरा। भरतपुर गएको थिएँ। एकजना साथीले एउटा सीडी पसलमा लग्यो। हेर्दै जाने क्रममा एउटा सीडीमा मेरा आँखा पुगे। लेखिएको थियो— र्यानकोट। मैले सोधेँ, ‘यो केको सीडी हो ? ’
सीडी पसलेले भने, ‘फिल्म हो।’
यस्तो पनि फिल्मको नाम हुन्छ ? पटकपटक मनमनै भनिरहेँ— र्यानकोट। मलाई नाम नै मन पर्यो। फेरि फिल्मका कलाकार भने चर्चित नै रहेछन्— ऐश्वर्या र अजय। बेलुका साथी बालकृष्णको कोठामा गएर उनलाई भनेँ, ‘आज फिल्म हेर्नुपर्छ।’
छिमेकी साथीकहाँबाट उनले सीडी प्लेयर मागेर ल्याए। हामीले सँगै फिल्म हेर्यौं। छक्क परेँ। यस्तो पनि फिल्म हुँदो रहेछ। म हुस्सुलाई आर्ट फिल्म पनि हुन्छ भन्ने थाहै रहेनछ। मन पर्ने कथाकार ओ. हेनरीको कथामा आधारित भएर बनाइएको त्यो फिल्मले मलाई यति धेरै छोयो कि त्यसपछि धेरैपटक सीडी पसलमा गएर साधेको छु, ‘र्यानकोट जस्तै फिल्म छ ? ’
पछिपछि गएर जब मैले अफ द बिटका हिन्दी, बंगाली, इरानी, अंग्रेजी, फ्रेन्स... फिल्म हेर्न थालेँ; त्यसपछि त के चाहियो र ! म फेरि फिल्मको लती भइगएँ। यो संसारमा जसले जे खोज्यो त्यही छ जस्तो लाग्यो। आजसम्म त्यसको मजा लिइरहेछु।
अहिले लाग्छ, आफ्नो देशमा पनि त्यस्तै फिल्म बनिदिए हुन्थ्यो भन्ने। झन्डै एक दशकदेखि नेपाली फिल्ममा पनि चासो बढ्न थालेको छ। सकेसम्म हलमै गएर हेर्छु। ‘क्याराभान’, ‘सेतो सूर्य’, ‘साँघुरो’, ‘झोला’, ‘पशुपतिप्रसाद’, ‘जात्रा’जस्ता फिल्मले आशावादी बनाएको छ।
अचेल युट्युबको जमाना छ। एक दिन कोठामा एकलजी, सबिना भान्जी र म भएर ‘माइतीघर’ हेर्यौं। त्यसपछि ‘माइतीघर’ मन पर्ने नेपाली फिल्मको लिस्टमा पर्यो। उहिल्यै नेपाल टेलिभिजनमा ‘वासुदेव’ हेरेको थिएँ। त्यसले पनि यस्तै सन्तुष्टि दिएको थियो। तर, यी फिल्म पनि पाँच गीत र केही फाइटवाला मसलाबाट भने मुक्त लागेनन्।
एक दशकअगाडि जब ‘सोले’ हेरेको थिएँ, त्यसपछि मेरो मनोलोकका केही बन्द छिद्रहरू आफैं खुलेका थिए। ‘सोले’ हिट भएका कारण त्यसपछि बनेको हिन्दी होऊन् या नेपाली अधिकांश फिल्महरू त्यही मसलामा बनेका रहेछन्। अहिले आएर हिन्दी फिल्मको मसला पनि फेरिएको छ र नेपाली फिल्मको पनि।
‘लुट’ आएपछि ‘लुट’का मसला हालेर धेरै फिल्म आए। त्यस्तै रफ संवाद र हाउभाउ। ‘छक्का पञ्जा’ आएपछि ‘छक्का पञ्जा’का मसला हालेर फिल्म बन्ने क्रम जारी छ। अझ कतिपयले उस्तै फिल्म बनाउनुभन्दा त्यही नाममा नम्बर थप्दै गएको पनि देखिन्छ। जस्तो ‘नाइँ नभन्नु ल’ भन्ने फिल्म त पाँचसम्म पुग्यो क्यारे। पहिलेपहिले हास्यकलाकार भनेपछि नायकको अघिपछि लाग्ने र केही सुहाउने–नसुहाउने थेगो भन्ने छुस्के विदूषक पात्रको रूपमा मात्र चित्रण गरिन्थ्यो। तिनले आफ्नो प्रतिभा टेलिफिल्म बनाएर देखाउनु पथ्र्यो। अहिले हास्यकलाकारहरू हिरो भएका छन्। यी फिल्महरूमा हिन्दी फिल्मको खासै प्रभाव छैन। यो सुखद कुरा हो।
जोखिम मोलेर ठूलो लगानीमा बनाइएका केही नेपाली अर्गानिक फिल्महरू बजारमा नचल्दा त्यस्ता फिल्महरू बनाउनेहरू प्रेरित हुन सकेका छैनन्। त्यसैले प्रतिभावान् निर्देशक र कलाकारहरूले बाध्य भएर राम्रो र फरक बनाऊँ भन्दा पनि चल्ने बनाऊँ ताकि लगानी नडुबोस् भनेर सोच्नुपर्ने बाध्यता छ। चलेका कलाकार र विभिन्न उमेर तथा वर्गका मानिसलाई एउटै फिल्मबाट रिझिऊन् भनेर फिल्म बनाउनुपर्ने अवस्था छ, जसले आर्गानिक र भनेजस्तो कला–फिल्म बन्न सकेका छैनन्। त्यसका लागि दर्शकहरूको स्तर पनि बढ्नुपर्ने देखिन्छ।
माग र पूर्तिका आधारमा कुनै पनि वस्तुको मूल्य निर्धारण भएजस्तै बजारको माग र पूर्तिका आधारमा फिल्मको मूल्य निर्धारण भइरहेछ। नेपाली फिल्मको स्तर बढ्दै जाँदा दर्शकहरूको स्तर पनि बढ्दै जान्छ; दर्शकहरूको स्तर बढ्दै जाँदा नेपाली फिल्मको स्तर पनि बढ्दै जान्छ। नेपाली फिल्म त्यतै यात्रारत छ।