दयाहाङ राईका ५ अवतार
दयाहाङ राई एकताका खुब गीत लेख्थे। सुरुमा आफ्नै लोककथा र गाउँबस्तीबारे गीत लेख्ने दयाहाङले पछि प्रेमिकाका लागि गीत लेखे। किनकि उनकी प्रेमिका थिइन्— गायिका। उनैका लागि दयाहाङले प्रेमका अव्यक्त भाव गीतमा लेखे। समयले एउटा घुम्ती पार ग¥यो। दयाहाङको प्रेम त सफल भयो तर उनी भए— असफल गीतकार।
‘प्रेम असफल भएको भए तपाईं सफल गीतकार बन्नुहुन्थ्यो कि ? ’ उनीसँग उत्तर छैन। अभिनेताको उचाइमा मस्त उनी असफल गीतकार ठहरिए। आज दयाहाङ एक सफल प्रेमी र एक असफल गीतकार भएका छन्। नेपाली सिनेक्षेत्रमा बेग्लै उचाइ चुम्दै गरेका दयाहाङसँग अब ‘गीतकार दयाहाङ’ बाँकी रहेन। गीतकार दयाहाङ भेट्न घडीको सुई उल्टो घुमाउनुपर्छ, जुन असम्भव छ।
गीतकार दयाहाङ
दयाहाङ वसन्त ऋतुको एक साँझ नक्सालको स्टेसन फाइभ क्याफेमा भेटिए। साथमा थिए कवि चन्द्रवीर तुम्बापो। ‘यात्रा लामो छैन। तर, घुम्ती धेरै छन्’, पुराना दिन सम्झन्छन् दयाहाङ। आफूभित्र हराउँदै गएको गीतकारलाई जगाउने कोसिसमा थिए उनी। सुस्तरी भने, ‘स्कुले जीवनमा गीत लेखिन्थ्यो। त्यो लेखन पछिसम्म पनि जारी रह्यो।’ दयाहाङले कयौं गीत लेखे। गाउँको चप्लेटी ढुंगामाथि बसेर लेखे। स्कुलबाट फर्किंदा शीतल छहारीमा बसेर लेखे। गोठालो जाँदा लेखे। केही संगीतबद्ध भए, केही हुन पाएनन्। कति गीत मीठो सम्झना बोकेर बाल्यकालसँगै उतै गाउँतिर छुट्यो। कति गीत डायरीमै कैदी बनिरह्यो। मुस्लिकले आधा दर्जन गीत रेकर्ड गराए।
दयाहाङले किरात लोककथामा आधारित भएर गीत लेखे। सुनाए एउटा किराती मिथ, ‘किरात समुदायमा ‘मुकुम्मुङ’ भन्ने लोककथा छ। आफ्नो मायालु परदेश जाँदा उनकै नाममा पधेँरोमाथि एउटा फूल रोपिन्छ। त्यो फुल्ने बेलासम्म परदेशी मायालु फर्की आउनेछन् भन्ने जनविश्वास छ।’ दयाहाङले त्यही कथालाई आधार बनाएर एउटा गीत लेखे—
आउन ठूले फर्की आऊ, जोबन त्यसै ढल्नै लाग्यो नि
तिमी बिना मारुनीमा मादलै रोइ सक्यो नि
मुर्चुंगा र बिनायोले तिम्रै गीत गाउँछन्
परदेशीले भुल्यो भन्दै वनपाखै रुन्छन
आउन ठूले फर्की आऊ ढुंगे फूल झरिसक्यो नि
चुल्ठो मेरो खाली नै छ गुराँसै फुलिसक्यो नि
यस गीतलाई उनकै प्रेमिका बेनुका राईले स्वर दिइन्। पारस मुकारुङको संगीत रहेको गीतमा उनी आफैं मोडल बने। सेतो पहिरन अनि लामो कपाल पालेर युवतीको सम्झनामा आइरहने एउटा प्रेमीको अवतारमा देखिएका छन् दयाहाङ।
गीत धेरै लेखे पनि उनलाई स्थापित गीतकार नै हुन्छु भन्नेचाहिँ कहिल्यै लागेन। गीतमार्फत आफ्ना भावना पोखिरहे मात्रै। गाउँमा गीत लेख्न घच्घच्याउने माध्यम थियो— रेडियो नेपाल। गोठालो जाँदा साथमा टुट्दैनथ्यो रेडियो। कमर्सियल गीत लेखेनन्। मिथिकल स्टोरीमा आधारित गीत लेखे। पढाइमा ध्यानै गएन उनको। रेडियो भिरेर खोलाखोला मिलेको ढुंगा बटुल्दै हिँडे। चौतारामा भेला भएका बूढापाकाको कुरा ध्यान दिएर सुन्थे। लोककथाहरू उनको बालमस्तिष्कमा गढेर बस्थ्यो। त्यही लोकथालाई गीतमा उन्दै उनले अर्को लेखे, ‘उँधै बग्छ रावातावा...।’
दयाहाङका लागि स्कुलका अन्य दिन फिका हुन्थे। तर, शुक्रबार विशेष दिन हुन्थ्यो किनकि शुक्रबार गीत र कविता सुनाउन पाइन्थ्यो। स्कुलका कैयौं प्रतियोगितामा गीत र कविता सुनाए। तर, पुरस्कृत भने कहिल्यै भएनन्। उनी सुनाउँछन्, ‘जति लेखे पनि पुरस्कार नजित्ने। अलि पछि त लाग्न थाल्यो, कविता र गीत लेखन मेरो बाटो होइन रहेछ।’ उनी त्यस बेला रंगमञ्चमा आउन आफूभित्रको कला छट्पटाएको बताउँछन्। दयाहाङले गाउँठाउँका कथालाई नाटक बनाउन नखोजेको कहाँ हो र ! भन्छन्, ‘नाटक लेख्न खोज्थेँ, तर भिज्युअल नै पुग्दैन थियो।’ बालसखासँग चोर पुलिस खेल्दा सधैं चोरको नाइके बने।
सहर पसेपछि अनेकसँग संगत बढ्यो। गीतकार हुँदाताकाका उनका दौंतरी हुन्— राजेश चाम्लिङ, भोगेन्द्र लिङ्देल, चन्द्रवीर तुम्बापो, स्वप्नील स्मृति र बुद्धिसागरहरू। गीत लेख्नुको भेद उनी हाँस्दै सुनाउँछन्, ‘मैले मन पराएको मान्छे गीत गाउँथिन्। त्यसले मलाई इनर्जी दिन्थ्यो।’ उनका प्रायः गीतमा पारस मुकारुङको संगीत हुन्थ्यो।
पेन्टर दयाहाङ
गीतकार दयाहाङ बन्नुअघि उनी पेन्टर दयाहाङ थिए। त्यो लेकाली माटोले दयाहाङलाई उति बेलै चिनेको थियो। उनीभित्रको कलाकार कहिले माटोका खेलौना बनेर बाहिरिन्थ्यो, कहिले कापीका पानामा अक्षर बनेर निस्कन्थ्यो। छटपटाइरहेको थियो दयाहाङभित्रको कलाकार। कलाकार बन्ने सपना देख्थे तर होचो कद, नेप्टो नाक र चिम्सो आँखाको पुरानो सौन्दर्यको मानकले दयाहाङभित्रको अभिनेतालाई कोसौं टाढा लखेटिदिन्थ्यो।
उनका लागि क्यानभास बन्यो कापीको सादा पाना। सप्तरंगी रंगहरू थिए— लेकाली माटो र हरियो स्याउला। मिसमास पारेर कैयन् चित्र बनाए। मनका भावना सानो क्यानभासमा उतारे। जंगली झार माडेर हिमाल–खोलानालाको चित्रदेखि सपनाहरू कुदिरहने एब्स्ट्र्याक विम्बहरू कोरे, जसलाई अथ्र्याउन उनी स्वयं असमर्थ थिए। कल्पना र सपनाका विम्ब पहाडी झरनाजस्तै पोखिएका थिए। भन्छन्, ‘हरियो झारमा माटो मिसाएर रंगहरू निकाल्थेँ। कापीको पानामा कत्ति हिमाल बनाएँ।’
गीत र कवितामा कहिल्यै पुस्कृत नभएका दयाहाङ चित्रकलामा भने पुरस्कृत भइरहे। पेन्टिङ गर्ने ब्रस कहिल्यै नदेखेका दयाहाङ। माटोसँग खेल्दाखेल्दै ब्रस बनाउने जुक्ति निकाल्थे। बुटपलिस गर्ने ब्रसबाट केही रौं उप्काउँथे। त्यसलाई बाँसको टुक्रामा रबरले बाँध्थे र मनखुसी चित्र कोर्थे। उनका बालसखाहरू गुलेली घाँटीमा भिरेर जंगलजंगल चहार्दा उनी भने मनभरिको चित्र कोरेर एक्लै धुमधुम्ती बस्थे। भन्छन्, ‘बच्चामा म अलि क्रिएभिट थिएछु।’
खेलौना बनाउने दयाहाङ
दयाहाङले चित्रसँगै खेलौना पनि बनाए। गाडी देख्न सदरमुकाम धाउनुपर्ने दयाहाङलाई गाडी बनाउने जंग चढ्यो। हप्तौं लगाएर गाडी बनाए। फुच्चे काठको गाडीले फुच्चे दयाहाङलाई बोक्नसक्ने कुरै भएन। गाडी रहरका केही अंश बोकेर ढलपल ढलपल गर्दै पहाडी धुलोमा हिँड्थ्यो। दयाहाङ गाडीको थुतुनोमा धागोले बाँधेर तान्थे।
राज्यले सेना पुलिसमा भर्ती हुन मात्रै योग्य देख्ने जातिका दयाहाङ। पुर्खाले बन्दुक बोकेर मलाया र फोकल्यान्डको टापुमा कति रात भोकै बिताए। त्यति पुर्खाका कान्छो सन्तान उनलाई पनि बन्दुक बनाउने जोश चढ्यो। जम्मा गरे केही काठ अनि छाताको बीचको डन्डी। त्यसमा रबरले बाँधे। टिनको टुक्राले ट्रिगर बनाए। केही दिनको अथक् प्रयासपछि दुरुस्तै बन्दुक तयार भयो। देख्नेहरू छक्क परे। अन्ततः उनको कला उनीसँग रहेन। छिमेकीलाई पाँच सयमा बिक्री गरे।
टुकी बत्तीको मन्द उज्यालोमा दयाहाङका कति पुस्ता गाउँमै हुर्किए। उनलाई अब बिजुली निकाल्ने जंग चढ्यो। खोजेर ल्याए साइकलको डाइनोमा र बिजुली बत्ती। त्यसलाई धारामा लगेर फिट गरे। बल्बहरू निकै फुटाए तर सफल भएनन्। पानीले चल्ने घडी बनाए। काठ काटेर चेसको मन्त्री र राजाहरू बनाए। तास पनि आफँंले बनाए। ‘बच्चामा एकछिन पनि खाली बस्दिनँथेँ’, उनी भन्छन्।
दयाहाङ पढ्न भने अल्छी थिए। स्कुलको किताब स्कुलमा बाहेक घरमा छुँदैनथे। उनको ध्यान सधैं खेनौला बनाउन बित्थ्यो। बरु पाठ्यपुस्तकभन्दा बाहिरका किताब पढे। प्रकाश कोबिदको ११ वटा उपन्यास गाउँमै पढिसिध्याए। पढे नाटक र एकांकी पनि। कथा, कविता पढे, लेखे पनि। केही अप्रकाशित कथा अझै छन् उनीसँग। छपाउने हिम्मत छैन। समय बित्दै जाँदा झन्झन् झुर लाग्न थालेको छ आफ्नै कथा। भन्छन्, ‘नाटक खेल्न थालेपछि पो थाहा पाएँ, मैले लेखेका कथाभित्र विषयवस्तु रहेछ। चरित्र पनि रहेछ। तर, त्यसलाई बुन्न जानेको रहेनछु।’
पाठ्यपुस्तकमा सहरका कथा धेरै पढे। उनको बालमस्तिष्कमा छाप प¥यो, ‘कथा त सहरको मात्रै हुने रहेछ !’ गाउँका कथा पाठ्यपुस्तकमा नभेट्दा उनले काँचो निष्कर्ष निकाले, ‘नाटक लेख्न सहर नै जानुपर्छ।’ त्यसपछि लेखक र निर्देशक बन्ने सपना सजाएर २०५८ सालमा उनी नाइट बस चढी काठमाडौं पसे।
पश्चिम भोजपुरको खावामा २०३७ सालमा जन्मिएका उनी आमालाई ढाँटेर काठमाडौं आए। सुनाउँछन्, ‘घरमा आमाबालाई विदेश जान्छु भनेर ढाँटे तर मनमा थियो लेखक र निर्देशक भन्ने सपना।’ काठमाडौंमा सुरु गरे डेरा जीवन। अनि थाले थिएयर धाउन। बेलाबेला पुग्थे स्टुडियो पनि। स्टुडियो धाउँदा धाउँदा त्यहीँ भेटे गायिका बेनुका राईसँग, जो संगीतमा भविष्य खोज्दै थिइन्। त्यसपछि सपनामात्रै देखिरहने दयाहाङको आँखामा थपियो— अर्को दृश्य।
प्रेमी दयाहाङ
काठमाडौं आएपछि दयाहाङ चर्को प्रेममा परे। बेनुका सुरुमा साथी मात्रै थिइन्। पछि दयाहाङको मनले बेनुकालाई अलग्गै व्यवहार गर्न थाल्यो। नचाहेरै बेनुकासँग नजिकिने बहाना खोज्न थाले। उनैका लागि गीत लेख्न थाले। मन पर्ने मान्छे गायिका भएपछि गाउँमै अधकल्चो छाडेको गीतकार दयाहाङ फेरि जाग्न थाल्यो। दयाहाङले लेखेको गीत बेनुकाले गाउन थालिन्।
प्रत्येक दिन थिएटर धाउनु, स्टुडियोमा बेनुकालाई भेट्न पुग्नु, अनि हर साँझ बेनुकालाई बसपार्कसम्म पु¥याएर बिदा गर्नु उनको दैनिकी हुन थाल्यो। बसले मिलन मात्रै गराउँदैनथ्यो, बिछोड पनि गराउँथ्यो। आँखाभरि सजाउनुपर्ने मान्छेलाई बसले प्रत्येक दिन छुटाएर लैजान्थ्यो। उनलाई बसपार्क डिभोर्स गराउने अदालतजस्तो लाग्थ्यो। सुस्तरी भन्छन्, ‘बसपार्क बडो ट्राजिटी पोइन्ट लाग्थ्यो।’
एक दिन त्यसैगरी छुट्ने बेला दयाहाङले बेनुकालाई भने, ‘म तिमीलाई धोका दिँदैछु।’ बेनुका आश्चर्यमा परिन्। कुराको मेलो पाइनन्। दयाहाङले अक्मकाउँदै बेनुकालाई भने, ‘हिजोसम्म हामी साथी मात्रै थियौं। अब म तिमीलाई साथीबाट अलग्लै राख्न चाहन्छु। त्यसैले धोका दिँदैछु भनेको। किनकि म तिमीलाई मन पराउँछु।’ ‘सोचेर भनूँला’ भन्दै बेनुका बिदा भएको पल दयाहाङको स्मृतिमा ताजा छ। त्योभन्दा ताजा स्वीकारोक्ति वा अस्वीरोक्ति के आउला उत्तर भन्दै एक झमक ननिदाएको क्षण कहाँ बिर्सन सक्छन् र दयाहाङ।
पछिल्लो भेटमा बेनुकाले ग्रिन सिग्नल दिइन्। अब दयाहाङको संघर्षका पाइला हलुका हुन थाले। चुनौतीका पहाड होचो लाग्न थाल्यो। गीत लेखनलाई जारी राखे। एउटा गीत रेडियो नेपालको प्रतियोगितासम्म पुग्यो। पुरस्कृत नै नभए पनि आफ्नो गीत रेडियो नेपालसम्म पुग्नुलाई उनी सफलता मान्छन्। गीतकार दयाहाङको पाइला रेडियो नेपालको आधा सिँडीसम्म पुगेर रोकियो। त्यसपछि सुरु भयो— अभिनेता दयाहाङको अध्याय।
अभिनेता दयाहाङ
थिएटरमा नाटक सिक्दासिक्दै दयाहाङ राष्ट्रिय नाचघरमा अभिनयको कार्यशालामा भाग लिन पुगे। त्यहाँ पुग्नुलाई सौभाग्य ठान्छन्। उनले त्यहीँ गरेको अभिनय धेरैको मनमा बस्यो। सिनेमाको बारेमा बुझ्दै जान थाले। रंगकर्मी तथा अभिनेता अनुप बरालसँग उनले धेरै कुरा सिके। अभिनेताको जात, धर्म, लिंग केही पनि हुन्न भन्ने थाहा पाए। अभिनेताको आवरणभन्दा क्षमताले काम गर्ने उनले थाहा पाए। त्यसपछि दयाहाङभित्र एउटा हिम्मत पलायो।
थिएटरमा काम गर्दागर्दै छिटफुट सिनेमाको पर्दामा देखिए। तर, त्यसले उनको कलाकारिता जीवनमा खास प्रभाव परेन। जब ‘लुट’ फिल्म बजारमा आयो, त्यसपछि दयाहाङको सिनेयात्रा सुरु भयो।
राजेश हमालको दबदबा मेटिएको थिएन। आर्यन सिग्देलको फेस भ्यालु मार्केटमा चर्को थियो। ‘हिरो नै हुन्छु र !’ भन्ने उनलाई बारम्बार लागिरह्यो। पछि बिस्तारै अब्बल अभिनयले आफूलाई साबित गरेर देखाए। चरित्रबारे बुझ्न थाले। काठमाडौंको घेराबाहिर सिनेमामा जाँदा आफू पनि समेटिने रहेछ भन्ने बुझे। हिम्मत जुटाए। भन्छन्, ‘म सक्छु भन्ने लाग्न थाल्यो। मेरो लागि स्पेस रहेछ। आजसम्म नबनाएको मात्रै पो रहेछ।’
उनी आफूभित्र एक्टर बन्ने सपना रहेको र त्यो सपना सुन्दरतासम्बन्धी पुरानो मान्यताले छेकिरहेको बताउँछन्। जब उनी अब्बल अभिनयसहित ठूलो पर्दामा उदाए, छेकबार भत्कियो। हिरोसम्बन्धी पुरानो मानक भत्कियो। एउटा होचो कद र नेप्टो नाक भएको मामुली मान्छे हजारौं, लाखौं, करोडौं मानिसको स्मृतिमा एकाएक बस्न थाल्यो।
नेपाली फिल्मको सर्वाधिक लोकप्रिय खलनायक— सुनिल थापा। राते काइँलाको उपमा पाएका उनी हरेक फिल्ममा नकारात्मक भूमिकामा देखिए। रंगले कालो वर्ण, मंगोलियन वा मधेसी मूलका कलाकारलाई सधैं खलपात्रका रूपमा उभ्यायो काठमाडौं केन्द्रित सिनेजगत्ले। आफू पनि त्यस्तै भूमिकामा सीमित हुनुपर्ने पो हो कि ? बारम्बार झस्किन्थे। भन्छन्, ‘मलाई डर लागिरह्यो। तर, के लाग्थ्यो भने चरित्रको कहिल्यै निगेटिभ पाटो मात्रै हुँदैन। त्यसको पोजेटिभ पाटोलाई निगेटिभले छोपेको हुन्छ। त्यसलाई मैले ल्याउनुपर्छ।’
दयाहाङमाथि धेरैको अपेक्षा छ। निर्देशक नीर शाहले शताब्दीमै विरलै जन्मिने कलाकार भनेका छन् दयाहाङलाई। निर्देशक नवीन सुब्बा लगायतले उनीमाथि भरोसा र शंका दुवै गरिरहेका छन्। पछिल्लो समय केही फिल्ममा दयाहाङले पुरानै फिल्मी धारको झल्को दिने गरी बगैंचामा कम्मर मर्काएको देखियो। बजारको मध्य भागमा उभिएका दयाहाङले सम्झौता गरिरहेका छन् कि आफूलाई टिकाउन संघर्ष ? सम्झौता र चुनौती कुन उनको रोजाइमा पर्छ ? बजारको बेइमान शास्त्रले भन्छ— सक्छौ अरूलाई किन, सक्दैनौ आफूलाई बेच। तेस्रो विकल्प के छ दयाहाङसँग ? असली दयाहाङ कहाँनिर छ ? प्रश्नले घेरिएका छन्— दयाहाङ। गम्भीर हुँदै भन्छन्, ‘सम्झिल्याउँदा म त सम्झौतामै पो अड्किएको रहेछु यार। तर मलाई चुनौती मन पर्छ। जति गर्नुपर्ने हो त्यति गर्न सकिएको छैन।’
उनी बाँच्नका लागि केही सम्झौता गर्नु परेको स्वीकार्छन्। आफू पुरानै राजमार्गमा हिँडिरहेकोप्रति उनलाई हेक्का छ। भन्छन्, ‘मेरो काम एउटै किसिमको भइरहेको छ। थाहा पाउँदापाउँदै बाँच्नका लागि केही काम गरेँ। मजस्तो मान्छे नाचेको सुहाउँदैन भन्नेलाई देखाउन पनि थियो होला सायद।’
राम्रा सिनेमा वर्षैपिच्छे बनेका छैनन्। दर्शकले राम्रा सिनेमा पाउन दशक नै कुर्नुपर्छ। दयाहाङ भन्छन्, ‘धेरैअघि दासढुंगा खेलेँ। त्यसपछि निकै लामो समयपछि सेतो सूर्यमा काम गरेँ। चाहेजस्तो सिनेमा पाउन एक दशक नै कुर्नु परेको छ। बीचमा मैले अरू सिनेमामा काम नगरेको भए म त विस्थापित नै भइसक्थेँ कि ? ’ त्यहीबीच टिक्नका लागि सम्झौता गर्नु परेको उनी स्वीकार्छन्। भन्छन्, ‘यो बीचमा मैले यति काम नगरेको भए मेरो अस्तित्व नरहन पनि त सक्थ्यो !’
बाध्यता, विवशता र सम्झौताको मध्यमार्गी राजमार्गमा हिँड्दाहिँड्दै नेपाली सिनेमाको मौलिक गोरेटो खन्ने अभियानमा दयाहाङ कहाँनिर हुनेछन् ? गैंती बेल्चासहित अग्रभागमा हुनेछन् या हराउनेछन् बजारको भीडमा ? शंकालु नजरले हेरिरहेका छन्— उनलाई माया गर्नेहरू। भन्छन्, ‘यति बेला जीवनको पहिलो प्रश्न बनेको बाँच्नु। तर, मलाई बाध्यताले लैजान सक्दैन।’
भोजपुरे ठिटो सहरमा दुःखले सेलिब्रेटी बने। फिल्मको चाङ छ अगाडि। लोकप्रियता मुठीमा छ। पपुलारिटीको सिँडीबाट जोकोहीलाई ओर्लन मन लाग्दैन। तर, समीक्षकहरू भन्छन्, ‘खतरनाक छ बजारको लोकप्रियता।’ दयाहाङ भन्छन्, ‘मानिस जहिल्यै खतरालाई साथमा लिएर हिँडेको हुन्छ। म आफूलाई पपुलर मान्छे ठान्दिनँ। त्यो अहं मसँग छैन। पपुलारिटीको पछि कुध्दिनँ पनि। बजारमा के बिक्छ भन्नेमा मलाई विश्वास छैन। म राम्रो कामको लोभी मान्छे हुँ।’
०००
स्टेसन फाइभमा झमक्क साँझ प¥यो। छेउछाउका रंगीन बत्ती झलमल्ल बल्न थाले। लामो कपाल हल्लाउँदै चन्द्रवीर दयाहाङलाई अन्तिम प्रश्न तेस्र्याउँछन्, ‘विषय प्रसंगमा जाऊँ— तपार्इं आफूलाई सफल गीतकार मान्नुहुन्छ कि असफल गीतकार ? ’ दयाहाङ मुसुक्क हाँसिदिन्छन्। केही सम्झेजस्तो गरी भन्छन्, ‘जति लेखेँ, त्यसमा त सफल भएँ कि ? ’