सेनाका सहायक रथी विष्ट पुर्पक्षका लागि थुनामा
काठमाडौं : नेपाली सेनाका सहायक रथी डा. रमेश विष्टलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। कृषि विकास बैंकमा भएको रकम हिनामिनामा मुछिएका डा. विष्टलाई पाटन उच्च अदालतले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो।
अदालतको आदेशबमोजिम विष्टलाई डिल्लीबजार सदरखोर पठाइएको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए।
के हो घटना ?
प्रहरीको प्रारम्भिक अनुसन्धानले कृषि विकास बैंक न्यूरोड शाखा कार्यालयको चार करोड ९१ लाख रुपैयाँ हिनामिनामा कर्मचारीको मिलेमतो देखिएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकका सहायक टेलर दिपिका रेग्मी, उनका सहयोगी रमेशकुमार थापा र दुर्गा ज्वेलर्स बालाजुका सञ्चालक प्रकाश घतानीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको बयानका आधारमा थप तीन जना अनुसन्धानको सिलसिलामा पक्राउ परे।
पक्राउ पर्नेमा थिए, तत्कालीन कामु मुख्य शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, इलेक्ट्रोनिक चेक क्लियरेन्स (ईसीसी) प्रमुख गोपाल गिरी र कर्जा प्रमुख महेश्वर मरहठ्ठा।
सीआइबीले पक्राउ परेकाहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन अन्तर्गत अनुसन्धान थाल्यो। यो समूहले इसीसीमार्फत् हितग्राहीको खातामा रकम जम्मा गरिदिएपछि सोही चेकलाई पुनः कोर बैंकिङ सिष्टम (सीबिएस) मार्फत् गैरकानुनी रुपमा रेग्मी र उनका आफन्तको खातामा जम्मा गरिदिएको पत्ता लगायो। रेग्मीको खातामा चेक जम्मा गर्दा ढुंगेल, गिरी र मरहठ्ठाको प्रत्यक्ष संलग्नता देखियो।
सीआईबीको अनुसन्धानबाट रेग्मीले ठगी गरेको केही रकम आफन्त पर्ने सेनाका रथी डा. रमेश विष्टको खातामा भेटिएको थियो। त्यसैका आधारमा विष्ट अनुसन्धानको दायरामा तानिएका थिए।
पढ्नुस्ः कृषि विकास बैंक पाँच करोड भ्रष्टाचार काण्ड : शाखाका प्रबन्धकसहित तीन पक्राउ