जिउँदै छ आशा
धनकुटा : इतिहासविद्हरूका भनाइअनुसार नेपाल एकीकरण हुनुअघि धनकुटा पल्लोकिरात राज्यअन्तर्गत पथ्र्यो। काठमाडौंमा मल्ल राजाहरूको शासनकालको समयमा अथवा नेपालमा बाइसे चौबीसे राज्य हुँदा धनकुटा भेगमा 'हाङ' को दर्जाबाट लिम्बूहरू राज्य गर्थे।
एकीकरण अभियानका क्रममा पल्लो किरातका १७ थुमहरू गोर्खाली सेनाले आफ्नो अधीनमा लिएपछि इसं १०७४ देखि पृथ्वीनारायण शाहको नेतृत्वमा प्रशासित हुन थालेको उल्लेख भएको पाइन्छ।
जिल्ला समन्वय समितिको कार्यालय धनकुटाले प्रकाशन गरेको पुस्तकमा 'श्री ५ राजेन्द्रविक्रम शाह र प्रधानमन्त्री भीमसेन थापाको शासनकालमा प्रशासनिक दृष्टिकोणले विसं १८७३ पश्चात् देश १० जिल्लामा विभाजित भयो। विभाजनअनुसार दूधकोसीपूर्व माझकिराँत तथा पल्लोकिराँत मेची सिमानासम्मको भूभाग चैनपुर धनकुटा जिल्लाअन्तर्गत पथ्र्यो।'
विसं १९४२ तिर वीरसमशेर प्रधानमन्त्री भएका थिए। यिनैको कार्यकालमा शाहकालीन नेपालको १० जिल्लाहरूलाई ३२ जिल्लामा विभाजन गरिएको थियो।'यसै समयदेखि जिल्लाको स्वरूपमा एकरूपता आएको र सामान्य परिवर्तनबाहेक राणाकालको अन्त्यसम्म जिल्लाहरूको त्यही स्वरूप रहेको देखिन्छ। पहाडी २० जिल्लाहरूमा साधारणतया एक जना वडाहाकिम रहने व्यवस्था लागू गरियो। तर, ती २० जिल्लामध्ये पाल्पा, धनकुटा र डोटी जिल्लाहरूलाई विशेष स्थान प्राप्त भयो।
पश्चिममा पाल्पा र डोटी, पूर्वमा धनकुटा जिल्लालाई गौडा बनाइयो। धनकुटा गौडा बडाहाकिमको अधीनमा पूर्व १ नं, २ नं, ३ नं, ४ नं, इलाम र धनकुटा गरी ६ जिल्ला पर्थे। त्यस समयम धनकुटा जिल्लाको क्षेत्रफल पनि ठूलो थियो। हालको संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर र धनकुटा गरी ५ जिल्लाको भूभाग त्यसबखत धनकुटा १ जिल्लाका रूपमा थियो। धनकुटा गौडा बनाइएका कारण पूर्व क्षेत्रको धनकुटा जिल्ला शाहकाल जस्तै ठूलो प्रशासनिक केन्द्र भयो' भन्ने उल्लेख छ।
काेशी करिडाेरकाे सडक निमार्ण कार्य तीव्र गतिमा भइरहेकाे छ। त्यस्तै साे बाटाे निर्माण भइसकेपछि त्यस भेगका जनतालाई काठमाडौ पुग्न छिटाे हुनेछ। यसैगरी धनकुटाको मूलघाटकाे मूलघाटदेखि चीनकाे ओलाङचुङगाेलसम्म साेही करिडाेरले सडक सञ्जाल जाेड्नेछ।
२०१८ सालमा नेपाल अधिराज्यलाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन गरिएपछि छथर पश्चिम, धनकुटा, खाल्सा, मिक्लुङपहाड, चौबीसे र झलहरा गरी ६ थुमहरू गाभेर धनकुटा जिल्ला बनाइएको थियो। १४ अञ्चल ७५ जिल्ला विभाजन हुँदा साविकमा धनकुटा जिल्लाले ओगटेको भूभाग पाँच जिल्लामा बाँडिएपछि हालको धनकुटा जिल्ला ६ वटा थुमहरू मिलेर बनेको सानो भूभागमा सीमित रह्यो।
देश संघीयतामा जानुअघि धनकुटा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम थियो। राणाकालमा प्रशासनिक गौडा थियो। हरियाली तथा प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण छ, धनकुटा। 'धान्यकुट' संस्कृत भाषामा 'धान्य–धान' र ' कुट –पर्वत' वा शिखर या राशि भन्ने हुन्छ। धान्यकुटको शाब्दिक अर्थ धानको राशि जस्तै देखिने कुनै पर्वत हुने र त्यस्तो पर्वत भएको स्थल नै धान्यकुट हुने हुँदा यस जिल्ला आसपास धेरै पहाडी खण्ड रहेका कारण यस जिल्लालाई धान्यकुट, धानकुट, धानकुटा, हुँदै धनकुटा भएको भन्ने विश्वास गरिन्छ।
धनकुटा जिल्ला पहाडै पहाडले भरिएको भए पनि केही स्थानमा महाभारत, बेंसी फाँट, भूभाग ओगटेको यस जिल्लाको क्षेत्रफल ८ सय ८७.७ वर्गकिलोमिटर छ। धनकुटा क्षेत्रफलको हिसाबले नेपालको ७० औं स्थानमा पर्छ।पूर्वमा तेह्रथुम, पाँचथर, पश्चिममा भोजपुर, उदयपुर, उत्तरमा संखुवासभा, दक्षिणमा मोरङ र सुनसरी जिल्लाको केही भागसँग सीमा जोडिएको धनकुटा ७ जिल्लाले घेरिएको छ।
धनकुटा जिल्ला समुन्द्री सतहबाट १२०० मिटरदेखि २७०२ मिटरसम्मको उचाइमा अवस्थित छ। बहुजाति, भाषा, धर्म, संस्कृति एवं मिश्रित समाजको विशेषता बोकेको धनकुटा सांस्कृतिक रूपमा समेत सम्पन्न छ।धनकुटा जिल्लामा मात्रै बसोबास रहेको आठपहरियासहित राई, लिम्बू, क्षत्री, ब्राह्मण, तामाङ, शेर्पा, नेवार, गुरुङ, सार्की, विश्वकर्मा, परियारलगायत जातिको बसोबास रहेको यहाँको समाज 'अनेकतामा एकता'को प्रतीकको रूपमा छ।
धनकुटा २ सय ४० वर्ष अघिदेखिको प्रशासनिक केन्द्र हो। विसं १८४० देखि पूर्वक्षेत्रको प्रशासनिक केन्द्रको रूपमा स्थापित धनकुटा राणाकालीन समयमा बडाहाकिम कार्यालय हुँदै पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहिरहेको अवस्था थियो।पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम भएको हिसाबले धनकुटावासीले प्रदेश १ को राजधानी तोकिनुपर्ने माग राख्दै गरेको आन्दोलन तर्कसंगत र स्वाभाविक थियो।
किनभने देश संघीय संरचनामा जानुअघि धनकुटा १६ जिल्लाको मुकाम थियो। सोही आधारमा प्रादेशिक राजधानी धनकुटा हुनुपर्ने धनकुटावासीको माग थियो।देउवा सरकारले अस्थायी राजधानी विराटनगरलाई तोकेपछि राजधानीको माग राख्दै धनकुटामा जारी आन्दोलन मत्थर भयो। अहिले स्थायी राजधानी धनकुटा बनाउन आफूहरूले कूटनीतिक पहल गरिरहेको धनकुटाका जनप्रतिनिधिहरू बताउँछन्।
प्रचुर सम्भावना
धनकुटा तरकारी उत्पादनका लागि नेपालमै नाम कहलिएको जिल्ला हो। त्यस्तै जिल्ला पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा पनि विकसित हुँदै छ। साना पुँजीमा सञ्चालित घरेलु उद्योगको औद्योगिक हब बन्ने क्रममा पनि यो जिल्ला अघि छ। प्रादेशिक राजधानी नबने पनि धनकुटालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ।
धनकुटालाई गुलजार बनाइराख्न प्रदेशस्तरका विभागीय कार्यालयहरू स्थापना गरिनुपर्ने नागरिक समाजका अगुवाइहरू बताउँछन्। नागरिक समाज धनकुटाका अध्यक्ष द्रोणप्रसाद गुरागाईं भन्छन्, 'जिल्लास्तरका प्रायः सरकारी कार्यालय स्थानीय तहमा गइसकेका छन्। सदरमुकाममा ठूला सरकारी भवन छन्। अब प्रदेश सरकारले प्रदेशस्तरका विभाग कार्यालय धनकुटामा स्थापना गर्नुपर्छ।' पहाडी क्षेत्रलाई सेवा दिने उद्देश्यले यातायातलगायत अन्य कार्यालय धनकुटामा स्थापना गर्नुपर्ने उनले बताए।
धनकुटालाई शैक्षिक, स्वास्थ्य, कृषिको हब बनाउन सकिने नेपाल पत्रकार महासंध धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको तर्क छ। पहिल्यैदेखि नै धनकुटा एउटा शैक्षिक हब हो।
धनकुटालाई शैक्षिक, स्वास्थ्य, कृषिको हब बनाउन सकिने नेपाल पत्रकार महासंध धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको तर्क छ। पहिल्यैदेखि नै धनकुटा एउटा शैक्षिक हब हो। किनभने विसं २०१२ मा स्थापना भएको धनकुटा बहुमुखी क्याम्पसमा अध्ययन गर्न पूर्वाञ्चलका १६ वटै जिल्लाबाट विद्यार्थीहरू पढ्न आउँथे। सरकारले स्वास्थ्य र कृषि विश्वविद्यालय धनकुटामा स्थापना गर्नुपर्ने अध्यक्ष श्रेष्ठ बताउँछन्।
धनकुटा नगरपालिकाभित्र सरकारले कार्यालयका लागि ३ सय ९१ वटा भवनहरू निर्माण गरेको छ। यस्तै शैक्षिक, स्वास्थ्य, पर्यटन, सुरक्षा, न्यायिक तथा प्रशासनिक केन्द्र स्थापनाका लागि हजारौं रोपनी जग्गा अधिग्रहण गरेको छ।जसअन्तर्गत सहरी विकासको २९९–९–०–३ रोपनी, नेपाल ट्रस्टको बजार क्षेत्र चुलीवनमा १९३–२–३ रोपनी, पर्यटन कार्यालयको १३३–२–३ रोपनी, विद्युत् प्राधिकरणको २ सय रोपनी छ। साथै सरकारको स्वामित्वमा ४८ हजार ६ सय ३५ रोपनी सार्वजनिक जग्गा छ।
सामुदायिक सभा भवन, व्यवस्थित खेलमैदान, पहाडी क्षेत्रकै उत्कृष्ट चौडा पक्की सडकलगायत पूर्वाधार पर्याप्त छन्। धनकुटा नगरपालिका वडा नं ९ बेलहारा डाँडामा हवाई मैदान निर्माणाधीन अवस्थामा छ।
हिमाल–तराइ जोड्ने सेतु
भौगोलिक बनावटले पनि तराई र हिमाली जिल्ला जोड्ने सेतुको रूपमा धनकुटा सदरमुकामलाई लिन सकिन्छ। कोसी पहाडी जिल्ला जोड्ने प्रवेशद्वार धनकुटा हो। धनकुटा हुँदै भोजपुर, संखुवासभा र तेह्रथुम पुगिन्छ। धनकुटावाट पूर्वी तराई सुनसरी, मोरङ जिल्लाका व्यापारिक केन्द्र सहज रूपमा पुग्न सकिन्छ।
सदरमुकाम धनकुटा बजारदेखि करिब डेढदेखि दुई घण्टाको दूरीमा सुनसरीको धरान बजार पुग्न सकिन्छ। त्यस्तै पहाडी तथा हिमाली जिल्लाहरू भोजपुर, तेह्रथुम र संखुवासभा तीनदेखि पाँच घण्टाको दूरीमा छन्। धरान–धनकुटाको ५२ किलोमिटर कालोपत्रे सडक नेपालकै नमुना सडकमध्ये एक हो। सो कालोपत्र सडक दुई लेनको छ।
मध्यपहाडी लोकमार्ग धनकुटा हुँदै गएको छ। त्यस्तै ताप्लेजुङ र पाँचथरका स्थानीयलाई पूर्वी तराईका धरान र विराटनगर बजारसम्म छोटो दूरीको रूपमा जोड्ने उद्देश्यसहित कोसी करिडोर (तमोर करिडोर) को सडक निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।त्यस्तै सो बाटो निर्माण भइसकेपछि त्यस भेगका जनतालाई काठमाडौं पुग्न छिटो हुनेछ।यसैगरी धनकुटाको मूलघाटदेखि चीनको ओलाङचुङ्गोलासम्म सोही करिडोरले सडक सञ्जाल जोड्नेछ।
व्यावसायिक कृषि
पछिल्लो केही दशकयता धनकुटामा निर्वाहमुखी खाद्यबाली (धान, मकैं, गहुँ, कोदो) को खेती विस्तारै घट्न थालेको छ। खाद्यबालीको सट्टा किसान व्यावसायिक तरकारी खेतीतर्फ आर्कषित हुन थालेका छन्। कृषि विकास कार्यालय धनकुटाको पछिल्लो तथ्यांकअनुसार धनकुटामा ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको तरकारी (बन्दाकोभी, मुला, आलु, गोलभेंडा, अकबरे खुर्सानी) उत्पादन भएको थियो।
उक्त तथ्यांक अघिल्लो वर्षको भन्दा २९ करोडले बढी हो। अघिल्लो आर्थिक वर्ष जिल्लामा ४ अर्ब ६ करोड रुपैयाँ बराबरको तरकारी उत्पादन भएको थियो। जिल्लामा व्यावसायिक तरकारी खेती गर्ने किसान र क्षेत्र बढेको सो कार्यालयका प्रमुख भरतप्रसाद विडारीले बताए। जिल्लामा उत्पादन हुने तरकारी छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ, विहारसम्म निकासी हुनेगर्छ। त्यस्तै नेपालको पूर्वीतराईका बजार बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर हुँदै भरतपुर, काठमाडौंसम्म पुग्ने गरेको कार्यलय प्रमुख विडारीले बताए। उनले भने, 'पछिल्लो समय तरकारी उत्पादनमा धनकुटा मुलुकमै राजधानीको रूपमा चिनिन थालेको छ।'
जिल्लाको ग्रामीण क्षेत्रमा ४२ वटा तरकारी संकलन केन्द्र रहेका छन्। कृषि पेसामा विशेष गरी जागिरबाट अवकाशप्राप्त व्यक्ति, वेदैशिक रोजगारीबाट फर्केका युवाका साथै उच्च शिक्षा हासिल गरेका युवा पनि संलग्न हुन थालेका छन्। जिल्लाको कुल जनसंख्यामध्ये ७९.०५ प्रतिशत जनसंख्या कृषि पेसामा आबद्ध छन्। ३१ हजार ३ सय ८२ घर परिवार कृषि पेसामा आबद्ध रहेको तथ्यांक कार्यालय धनकुटाले प्रकाशन गरेको पुस्तकमा उल्लेख छ। ८ हजार ८ सय ७७ वर्ग किलोमिटर क्षेत्रफल रहेको धनकुटामा ४० हजार ८ सय २३ हेक्टर अर्थात् ४५ प्रतिशत जमिन खेतीयोग्य छ।