सिरियामा क्षेप्यास्त्र प्रहारको चेतावनी
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा क्षेप्यास्त्र प्रहार गर्न सकिने चेतावनी दिएका छन्। उनले आफ्नो ट्विटर अकाउन्टमार्फत यस्तो चेतावनी दिएका हुन्।
सिरियामा रासायनिक आक्रमण भएका खबर आएपछि ट्रम्प सिरिया सरकारप्रति निकै आक्रमक बनेका छन्। उनले सिरियाका राष्ट्रपति बसर अल असद जनावर भएको बताउँदै कुनै पनि बेला उनीविरुद्ध क्षेप्यास्त्र आक्रमण गर्ने चेतावनी दिएका हुन्। ट्विट गर्दै ट्रम्पले भने, ‘मैले सिरियामा आक्रमण कहिले हुन्छ भन्न सक्दिनँ तर यो निश्चित रूपमा ढिलो चाँडो हुन्छ, हुन्छ।’ आफ्नो शासनकालमा अमेरिकाले सिरियालाई इस्लामिक स्टेट (आइएस)बाट मुक्त गराएको पनि उनले दाबी गरे। त्यबापत सिरियाले अमेरिकालाई धन्यवाद पनि नदिएको भन्दै आलोचना पनि गरे। एक महिनाअघि ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने जानकारी दिएका थिए। रासायनिक आक्रमणपछि उनी त्यो निर्णय स्थगित गर्ने पक्षमा देखिन्छन्। अब उनले क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिन थालेका छन्।
गत साता सिरियामा भएका केही आक्रमणमा पनि रासायनिक हतियारको प्रयोग गरेको भन्दै अमेरिकालाई यस्तो क्रियाकलाप मान्य नहुने राष्ट्रपति ट्रम्पले बताएका थिए। उनले त्यसका लागि तयार रहन मंगलबार रूसलाई पनि धम्की दिएका थिए। यसलाई रूसले पनि अमेरिकाको धम्कीका रूपमा लिएको छ। उसले कुनै जाँच परीक्षणविना अमेरिकाले एकोहोरो रूपमा आरोप लगाएको बताएका छन्।
पछिल्लो समयमा रूस र अमेरिकाबीच पनि असमझदारी बढ्दै गएको छ। सिरियामा रासायनिक आक्रमण भएको र उक्त आक्रमणमा रूसले सघाएको अमेरिकी आरोप छ। उक्त आक्रमणमा सिरियाको डौमा शहरमा ७० व्यक्तिको मृत्यु भएको थियो। अमेरिकी पक्षधर संस्थाले भने १ सय ५० भन्दा बढी मारिएको बताएका छन्। त्यहाँका मानिसलाई श्वास फेर्न पनि कठिनाइ भएको पश्चिमा मानवाधिकारवादी र गैरसरकारी संस्थाले दाबी गर्दै आएका छन्।
सिरियाली राष्ट्रपति बसर अल असदको सरकारले भने यस्ता कुनै रासायनिक हमलाको प्रयोग सिरियाली सैनिकले नगरेको दाबी गर्दै आएको छ। सिरियामा काम गरिरहेका अमेरिकी मेडिकल अधिकारीसहित सिरियालीमा पनि रासायनिक पदार्थका कारणले देखापर्ने लक्षण देखिएको बताएका छन्। यसैगरी विश्व स्वास्थ्य संगठनले पनि यसरी सरकारी सैन्यले गरिरहेको भनिएको रासायनिक हतियार हमलाबाट ज्यान गएको स्थानमा बिना कुनै अवरोध स्वास्थ्य अधिकारीलाई जाने पहुँच दिनुपर्ने माग गरेको छ। सिरियाबारे अमेरिका–टर्की वार्ता
एजेन्सी इस्तानबुल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच सिरियामा चलिरहेको हिंसा अन्त्यका विषयमा बुधबार राति टेलिफोन वार्ता भएको छ। उनीहरूबीच सिरियामा जारी हिंसा अन्त्यका लागि के कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको बताइएको छ। टर्कीका राष्ट्रपतिको कार्यालयले पनि टेलिफोन वार्ता भएको जानकारी दिएको छ।
सिरियामा जारी पछिल्लो प्रगतिका बारेमा उनीहरूबीच फोनमा कुराकानी भएको बताइए पनि यसको पूर्ण जानकारी भने दिइएको छैन। कुराकानीको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि पुष्टि गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले रूसलाई सिरियाली राष्ट्रपतिलाई सहयोग गरेको भन्दै धम्की दिएको एक दिनपछि यो फोनवार्ता भएको हो। उता टर्कीका प्रधानमन्त्री बिनाली यिल्दिरिमले पछिल्लो समयमा सिरियाको विषयलाई लिएर अमेरिका र रूसबीच वाक्युद्ध शुरु भएको भन्दै यस्तो द्वन्द्व रोकेर आवश्यक शान्तिपूर्ण कारबाहीका लागि आग्रह गरेका छन्। अमेरिका र टर्की नजिकका नेटो सैन्य सहयोगी गठबन्धनका सदस्य राष्ट्र हुन्। पछिल्ला केही समयमा भने यी दुई राष्ट्रबीच केही आन्तरिक मुद्दाका कारण असमझदारी विकास बढेको छ।
प्रतिक्रिया दिनुहोस !