हावाहुरीले भारतमा १५ को मृत्यु
नयाँदिल्ली : भारतको उत्तर प्रदेश राज्यमा वर्षासहितको उच्च गतिको हावाका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेश राज्यको राजधानी लखनउमा पनि वर्षासहित तीव्र हावाहुरी आएको अधिकारीले जानकारी दिएका छन् । ‘अहिलेसम्म प्राप्त विवरणअनुसार आग्रामा आठजनाको मृत्यु भएको छ भने मथुरामा चारजनाको र फिरोजावादमा दुईजनाको मृत्यु भएको छ’, एक अधिकारीले भने । विनाशकारी हावाहुरीले ताजमहलमा समेत क्षति पु¥याएको छ । ताजमहलको शाही पोलहरू र दक्षिणी प्रदेशद्वारमा क्षति पुगेको अधिकारीले बताएका छन् ।
ताजमहल भारतको ऐतिहासिक प्राचीन सम्पदा हो । योे विश्वकै सात आश्चर्यमध्येको एक सम्पदाको रूपमा चिनिन्छ । यो विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा पनि हो ।
‘गत मध्यरातमा आएको हावाहुरी र पानीले गर्दा प्रदेशद्वारसँगै रहेको १२ फिट अग्लो धातुको पोलमा नोक्सानी भएको छ । त्यसैगरी अर्को ठाउँमा रहेको अर्को पोलमा पनि क्षति पुगेको छ’, ती अधिकारीले भने । भुइँतलामा रहेको पुष्पपात्र र पर्खालमा पनि सामान्य क्षति भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
भारतीय सञ्चारमाध्यमले विनाशकारी हावाहुरी र वर्षाका कारण राजस्थानमा कम्तीमा १२ जनाको मृत्यु भएको बताएका छन् ।