घटेको छैन फुटबल क्रेज

घटेको छैन फुटबल क्रेज

विराटनगर : ऐतिहासिक सहर विराटनगरमा २०१८ सालदेखि ‘महेन्द्र गोल्डकप’ का नाममा ठूलो फुटबल प्रतियोगिता आयोजना हुन थाल्यो । तत्कालीन राजा महेन्द्रको नाममा आयोजित त्योबाहेक विभिन्न नाम दिएर अन्य फुटबल प्रतियोगिता पनि आयोजना हुन्थे । फुटबलमा त्यतिबेला दर्शकको क्रेज बढ्दो थियो । 

दर्शकको भीड थाम्न र सुरक्षा चाँजोपाँजो मिलाउन आयोजकलाई सकस पर्ने गरेको थियो । ‘त्यतिबेला विभिन्न सानाठूला फुटबल प्रतियोगिता हेर्न जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्लाबाट समेत दर्शक ओइरिने गर्थे’, विराट गोल्डकप ट्रस्टका अध्यक्ष शिवभक्त जोशीले भने, ‘त्यतिबेला अन्य सानातिना प्रतियोगितासहित महेन्द्र गोल्डकपले दर्शकको ध्यान केन्द्रित गर्ने गरेको थियो ।’

‘विराटनगरको इज्जत, प्रतिष्ठा, इतिहास र गौरवसँग जोडेर आयोजना हुने प्रतियोगिता हेर्न दर्शकको लाम नै लाग्थ्यो । प्रत्यक्ष फुटबल हेर्न मारामार नै हुन्थ्यो,’ जोशीले भने, ‘समय बित्दै जाँदा ठूला प्रतियोगिता पनि बेला मौकामा मात्रै आयोजना हुन थाले । निरन्तरता नपाउने समस्याले फुटबलप्रति दर्शकमा क्रेज घट्दै गएको भान हुन थाल्यो ।’ उनका अनुसार प्रतियोगिताले वर्षैपिच्छे निरन्तरता पाउन नसक्दा खिन्न मन बनाएका दर्शकको उपस्थिति पछिल्लो समय घट्दै गएको थियो । 

‘पहिले फुटबल भन्नेबित्तिकै फुटबलप्रेमी हुरुक्कै हुन्थे । चर्चित फुटबलरले पनि खेलमा सहभागिता जनाउने कुरा आउँदा प्रतियोगिताको व्यग्र प्रतीक्षामा हुन्थ्यो,’ पूर्वफुटबलर जोशी भन्छन्, ‘तर, प्रतियोगिताहरूले निरन्तरता पाउन नसकेपछि क्रमशः गोल्डकप हेर्ने दर्शक पनि घट्दै गए ।’ उनका अनुसार अहिलेसम्म महेन्द्र गोल्डकपको ५६औं संस्करण हुनुपर्ने हो तर, ३३औं संस्करण मात्रै सम्पन्न भएको छ ।

परिवर्तित राजनीतिक एवं सामाजिक घटनाक्रमसँगै २०६७ सालदेखि महेन्द्र गोल्डकपको नाम परिवर्तन गरेर विराट गोल्डकपको स्वरूपमा ल्याइयो । विराट गोल्डकपका नाममा हालैमात्र पाँचौं संस्करण सकिएको छ । २०६८, २०६९, २०७१, २०७२ र २०७४ सालमा यसको आयोजना गरियो । वरिष्ठ फुटबल प्रशिक्षकसमेत रहेका जोशीले भने, ‘विराटनगर फुटबल भनेपछि हुरुक्कै हुने समर्थकहरूको सहर हो ।

 यहाँ फुटबलप्रति धेरै दर्शकको अपार माया र सद्भाव छ ।’ विभिन्न कारण देखाउँदै एक वर्ष आयोजना हुने र अर्को वर्ष आयोजना नहुने फुटबल परिपाटीले केही समय दर्शकको साथ समेत नपाएको जोशीको भनाइ छ । ‘निरन्तरता पाइरहँदा दर्शकले पनि राम्ररी साथ दिन्छन्,’ उनले भने, ‘निरन्तरता पाउन नसक्दा दर्शकले पनि वास्ता गर्दैनन् ।’

एक समय फुटबलले दर्शक नै नपाउने हो कि जस्तो अवस्था बनेको धारणा व्यक्त गर्ने जोशी हालैमात्र सम्पन्न विराट गोल्डकपले भने अझै पनि विराटनगरमा फुटबलप्रेमीको क्रेज नघटेको पुष्टि गरेको बताउँछन् । उनले पछिल्लो गोल्डकपले ओरालो लाग्दै गएको फुटबल खेलमा नयाँ आशा जगाउने काम पनि गरेको बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष सन्तोष बानियाँ पछिल्लो समयको व्यवस्थित र उत्साहजनक आयोजनाले पनि खस्कँदै गएको फुटबलप्रति अहिले दर्शकको क्रेज बढेर गएको बताउँछन् । उनका अनुसार गोल्डकपले निरन्तरता पाउन नसक्नु, समयसमयमा गोल्डकप सुस्ताउनु, नेपाली फुटबल क्षेत्रले विभिन्न आरोहअवरोह झेल्नु, दर्शकको मन जित्न नसक्नुजस्ता कारणले पनि पछिल्लो समय फुटबलको क्रेज घट्दो थियो । बानियाँका अनुसार पछिल्लो विराट गोल्डकपले भने दर्शकको मन जित्दै फुटबलप्रतिको क्रेजलाई ब्यूँझाइदिएको छ ।

मोफसलमै पहिलो पटक आयोजना गरिएको दिवा÷रात्रि (डे-नाइट) विराट गोल्डकप प्रतियोगितामा भने दर्शक उपस्थितिले फुटबलप्रतिको क्रेज फर्किएको पुष्टि गरेको उनको भनाइ छ । विगतमा जस्तो दर्शकको खडेरी यस पटक गोल्डकप आयोजकले भोग्न परेन । फ्लडलाइट जडान गर्दै रात्रिकालीन समयमा प्रतियोगिताको आयोजना गरिएपछि दर्शकले आयोजनास्थल सहिद रंगशालाको प्यारापिट दैनिक रूपमा भरिभराउ हुँदा आयोजकलाई हौसिएको छ । 

गत सोमबार सम्पन्न थ्रीस्टार र त्रिभुवन आर्मी क्लबबीचको फाइनलमा प्यारापिटसम्म दर्शकको माग थेग्न सकेन । खेल हेर्न टिकट काटेका चार हजारभन्दा बढी दर्शकले प्यारापिट प्रवेश गर्न नपाएको आयोजक समितिका सल्लाहकार प्रकाश मुन्दडाले बताए । मुन्दडाका अनुसार नौ हजार क्षमताको प्यारापिटमा सोमबार १२ हजारभन्दा बढी दर्शक प्रवेश गरेका थिए । बस्ने ठाउँको अभावमा करिब २० प्रतिशत दर्शकले उभिएरै फाइनल हेर्नु परेको थियो ।

गोल्डकप आयोजक समितिका अध्यक्ष नवीन रिजाल मोफसलमै पहिलो पटक फ्लडलाइट म्याच खेलाउँदा दर्शकबाट गतिलो साथ पाइएको बताए । उनका अनुसार चैत १७ गतेदेखि आयोजना गरिएको प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ खर्च गरेर ४५ हजार वाटको फ्लडलाइट जडान गरिएको थियो । 

आगामी वर्ष थप नयाँ योजनाका साथमा व्यवस्थित रूपमा गोल्डकप आयोजना गरिने रिजालले बताए । खेलको सुरुमा आयोजकले एक सय ५० देखि दुई सय रुपैयाँ दैनिक टिकटको व्यवस्था गरेको थियो । तर, फाइनलसम्म पुग्दा टिकटको मूल्य बढाएर तीन सयदेखि चार सय रुपैयाँसम्म पुर्‍याइएको थियो ।

‘प्रदेश १ कै चर्चित र ऐतिहासिक गोल्ड कप नयाँ सन्देश दिँदै विराटनगरमा सकिएको छ,’ पूर्वफुटबलर देवनारायण चौधरीले भने । उनका अनुसार कार्यक्रममा सहभागी उच्च अधिकारीदेखि सामान्य दर्शकसम्मले यस पटकको गोल्डकपको खुलेर प्रशंसा गरे । ‘लामो र ऐतिहासिक शृंखला पार गर्दै आएको यस गोल्डकपले खेलप्रेमीलाई नयाँ स्वाद चखाएको छ,’ चौधरी भन्छन्, ‘रातको समयमा खेल आयोजनालाई व्यवस्थित गर्नु र सफलतापूर्वक सम्पन्न गर्नु निकै चुनौतीपूर्ण थियो ।’

 यसैगरी विराटनगर महानगरपालिका मेयर भीम पराजुली, प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, मुख्यमन्त्री शेरधन राई, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारलगायतले पनि प्रतियोगिताको खुलेर प्रशंसा गरे । उनीहरूले फ्लडलाइटलाई स्थायी बनाउन सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । मुख्य मन्त्री राईले खेल क्षेत्रको विकासमा प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताए । खेलकुदमन्त्री सुनारले मोफसलमै पहिलो पटक आयोजित डे-नाइट प्रतियोगिताले नेपाली फुटबल क्षेत्रमा नयाँ सन्देश प्रवाह गरेको बताए ।

हालसम्मका विजेता (महेन्द्र र विराट गोल्डकपसमेत )

१. इलेभन जेवल्स भारत-२०१८

२. मोरङ- ११- २०१९

३. भ्रातृ संघ भारत-२०२०

४. माल्दा टाउन भारत-२०२१

५. माल्दा टाउन भारत-२०२२

६. विद्याचन्द क्लब भारत-२०२३

७. मैत्री सम्मेलिनी भारत-२०२४

८. सान्ता फोसिया क्लब भारत-२०२५

९. साना विएससी क्लब भारत-२०२६

१०. एषा टेलिहस्र्ट भारत-२०२७

११. कोक ओभर भारत-२०२८

१२. जर्ज टेलिग्राफ भारत-२०२९

१३. टाउन क्लब भारत-२०३०

१४. थिम्पु-११ भुटान-२०३१

१५. सेन्ट्रल एक्साइस कस्टम भारत-२०३२

१६. एसियन नर्थ क्लब भारत-२०३३

१७. महेन्द्र पुलिस क्लब काठमाडौं-२०३४

१८. लार टाउन क्लब भारत-२०३५

१९. महिन्द्रा एन्ड महिन्द्रा भारत-२०३६

२०. ब्वाइज युनियन क्लब काठमाडौं-२०३८

२१. जनकपुर चुरोट कारखाना-२०४४

२२. मनाङ-मस्र्याङ्दी क्लब काठमाडौं-२०४५

२३. जनकपुर चुरोट कारखाना-२०४८

२४. इस्टर्न रेल्वे भारत-२०५१

२५. एनआरटी क्लब काठमाडौं-२०५४

२६. रानीपोखरी क्लब काठमाडौं-२०५६

२७. महेन्द्र पुलिस क्लब काठमाडौं-२०५९

२८. महेन्द्र पुलिस क्लब काठमाडौं-२०६०

२९. हिमालयन शेर्पा काठमाडौं-२०६८

३०. संकटा क्लब काठमाडौं-२०६९

३१. झापा-११-२०७१

३२. नेपाल पुलिस -२०७२

३३. थ्रीस्टार क्लब -२०७४


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.