साली–भिनाजू सिस्नुपानी छ्यापाछ्याप गर्ने विसु पर्व

साली–भिनाजू सिस्नुपानी छ्यापाछ्याप गर्ने विसु पर्व

अछाम : नयाँ वर्षको अवसरमा  सुदूरपश्चिममा विसु पर्व धुमधामसँग मनाइरहिएको छ । नयाँ वर्षको पहिलो दिन बैशाख १ गते  यहाँ विसु पर्वका रूपमा मनाउने चलन रहँदै आएको छ  ।

विसु पर्व विशेषगरी सुदूरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइन्छ । अछाम, डोटी, डडेल्धुरा, बझाग, बाजुरा र बैतडीमा  मनाइने विसु पर्वमा देवर–भाउजु, नन्द –भाउजु र साली–भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापा छ्याप  गरेर यो  पर्व मनाउने गर्छन्।

देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले  विसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ। हरेक वर्ष विसु पर्वमा मिठामिठा खानाका परीकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ ।

 विसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । ‘ विसुको दिनमा विशेषगरी देवर भाउजु र साली भिनाजुबीच सिस्नोले हानाहान गरेर जुहारी नै चल्छ’ मंगलसेनकी विश्ना विकले भनिन् ।

उनले पछिल्लो समय भने विसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको  बताइन् ।  उनले भनिन्,‘पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ ।’ सुदुरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको विसु पर्व आउनु पूर्व नै जिल्लामा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्ने (स्थानीय भाषामा घर छिप्ने) गरिन्छ ।

विशेष गरी घर छिप्ने कार्यमा महिलाहरू सक्रिय हुन्छन्  । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्ष भरी नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । बैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घर परिवारका सदस्यसँगै बसेर विसु मनाउने चलन रहेको जानकारहरु बताउछन् ।

बढी जसो कामका लागि भारत गएकाहरू विसु पर्व मनाउन घर फर्किन थालेपछि गाउँघरमा चहलपहल बढेको छ । नयाँ वर्ष अर्थात विसु पर्व मनाउनकै लागि नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमेली एक साता अघिदेखि नै घर फर्किने तथा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन छ ।

विसु तिहारकै दिन कूलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) पकाई खाने चलन छ । हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयाली स्वरुप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको अर्को किंवदन्ती छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.