रोहिंग्याको पहिलो टोली म्यान्मा फिर्ता
यांगुन : म्यान्माको रखाइन राज्यबाट विस्थापित भई बंगलादेश गएका शरणार्थीहरूमध्ये पहिलो परिवार स्वदेश फिर्ता भएको म्यान्मा सरकारले जनाएको छ।पहिलो पाँच सदस्यको परिवार रखाइन फिर्ती शिविरमा पुगेको सरकारको सूचना समितिले आफ्नो फेसबुक पेजमा जनाएको छ। ज्यान जोगाउन भन्दै गत वर्ष ठूलो संख्यामा उनीहरू बंगलादेश पुगेका थिए। अल्पसंख्यक रोहिंग्या समुदायमाथि सैनिक कारबाहीपछि उनीहरू त्यहाँबाट पलायन भएका थिए।
संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार करिब सात लाख जति रोहिंग्या शरणार्थी रहेका छन्। राष्ट्रसंघले भने सुरक्षाको स्थिति देखाउँदै अझै फर्किने अवस्था नभएको संकेत दिएको छ। म्यान्मा र बंगलादेशबीच भएको महिनौं लामो वार्तापछि दुवै मुलुकले रोहिंग्या शरणार्थीको फिर्ती दुई वर्षमा पूरा गर्ने सहमति भएको थियो।
रखाइन राज्यमा भएको सैन्य कारबाही राष्ट्रसंघले जातीय सफाया भएको दाबी गरेको छ। म्यान्माले चाहिँ त्यो कारबाही विद्रोहीविरुद्ध गरिएको कानुनसम्मत कदम रहेको बताउँदै आएको छ। गत अगस्तमा रोहिंग्या विद्रोहीको सशस्त्र समूहले सेनाका चौकीमाथि आक्रमण गरेपछि म्यान्माको सेनाले आक्रामक कारबाही शुरु गरेको थियो। अधिकांश रोहिंग्या शरणार्थी बंगलादेशको कोक्स बजार क्षेत्रमा बस्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस !