एमाले सांसद तामाङलाई मोटरसाइकलले हान्यो, खुट्टामा गम्भीर चोट
महेन्द्रनगरः नेकपा एमाले प्रदेश नम्बर ७ का संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङ्ग मोटरसाइकलको ठक्करबाट घाइते भएका छन् । सोमबार अपरान्ह धनगढी उपमहानगरपालिका–१ नजिकै से५प५०३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सांसद तामाङ घाइते भएका हुन् ।
सडक किनारमा हिँडिरहेको समयमा तीब्र गतिमा आएको मोटरसाइकलले उनलाई सिँचाइ कार्यालय नजिकै ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी वीरबहादुर मगरका अनुसार उनको बायाँ खुट्टामा चोट लागेको छ ।
घाइते भएलगत्तै उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको थियो । त्यहाँबाट उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । सोमबार बेलुकीको बुद्व एयरबाट उनलाई काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले सांसद तामाङलाई ठक्कर दिने मोटरसाइकल र चालक शैलेन्द्र कुवँरलाई नियन्त्रणमा लिएको छ । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष समेत रहेका तामाङ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सभा १ मा निर्वाचित भएका हुन्