उत्तर-दक्षिण कोरियाबीच शिखर बैठक तयारी
सोल : उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेताबीच शिखर बैठकको लागि व्यापक तयारी भइरहेको छ। यी दुई देशबीच विरलै हुन गरेको एउटा उच्चस्तरीय भ्रमण हालै सम्पन्न भएको थियो। उक्त बैठकमा दुई देशका मन्त्रीस्तरीय अधिकारी सहभागी थिए। उत्तर कोरियाली नेता किम जोङ उनले सुरक्षाको सुनिश्चितता हुन्छ भने परमाणुअस्त्र निर्माणको कार्यमा पनि पुनर्विचार गरिने बताएपछि बैठकको तयारी थालिएको हो।
नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनका विशेषदूतसहितको प्रतिनिधिमण्डलबीच गत महिना विभिन्न चरणमा बैठक भएका छन्। उत्तर र दक्षिण कोरियाबीच पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पुर्याउने प्रयासस्वरूप दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूतले उत्तर कोरिया र अमेरिकी वरिष्ठ अधिकारीसँग पनि भेटवार्ता गरेका थिए।
उत्तर र दक्षिण कोरियाबीच जतिसक्दो चाँडो वार्ताको वातावरण तयार गर्न विशेषदूत त्यहाँ पुगेका दक्षिण कोरियाले बताएको छ। त्यस्तै उत्तर कोरियाले पनि उक्त भेटवार्तालाई महत्वपूर्ण भनेको छ।
गत फेब्रुअरी महिनामा दक्षिण कोरियामा सम्पन्न ओलम्पिक खेलकुदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको छ। खेलकुद आयोजनापछि यी दुई देशका बीचमा विगत चार वर्षपछि पहिलोपटक उच्चस्तरीय प्रतिनिधिमण्डलबीच यस किसिमको भेटवार्ता शुरु भएको छ। यी दुई देशका उच्चअधिकारी सम्मिलित शिखर बैठक यही अप्रिल महिनाको अन्त्यतिर गर्ने भनिएको थियो।
त्यसैगरी अमेरिका र उत्तर कोरियाली नेताबीच पनि पहिलोपटक यसरी औपचारिक रूपमा भेटवार्ता हुने पनि बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच मे महिनामा यस्तो भेटवार्ता हुने बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त उत्तर कोरियाका नेतासँग हुन गइरहेको वार्ता अभूतपूर्व रूपमा सफल हुने भविष्यवाणी यसअघि नै गरेका छन्।
प्रतिक्रिया दिनुहोस !