राजामामा कुसुण्डाको शवमा १० वर्षीया छोरी सिमान्तले दिइन् दागबत्ती
दमौली : लोपोन्मुख जातिका ६५ वर्षीय राजामामा कुसुण्डाको बुधबार बिहान निधन भएपछि उनको पार्थिव शरीरमा १० वर्षीय छोरी सिमान्तले दागबत्ती दिएकी छन्।
पवित्र मादी र सेती घाटमा पुर्याइएको बाबुका पार्थिव शरीरमा छोरी सिमान्तले दागबत्ती दिएकी हुन्। घाटमा लाने बेला उनको शवमा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले समेत काँध थापेका थिए।
उनको पार्थिव शरीरमा नेपाल आदिवासी जनजाति समन्वय परिषद्का सल्लाहकार यामबहादुर आले र जिल्ला अध्यक्ष वसुन्धरा घर्तीले जनजातिको झण्डा ओढाए।
राजामामाकी पत्नी इन्द्रमाया श्रीमानको क्रिया बस्ने बताइएको छ। मंगलबार बिहान व्यास–१० स्थित आफ्नै घरको आँगनमा एक्कासी ढलेका राजामामाको केही बेरपछि निधन भएको थियो।
उनी लामो समयदेखि प्रेसरको बिरामी थिए। राजामामाको निधनपछि कुसुण्डा भाषाको संरक्षण कस्ले गर्ने भन्ने चिन्ता बढेको छ। कुसुण्डा भाषा बोल्ने उनी मात्र एक थिए। रासस