दशरथ चन्द क्रिकेट मैदान निर्माण अलपत्र

दशरथ चन्द क्रिकेट मैदान निर्माण अलपत्र

बैतडी : जिल्ला सदरमुकाम नजिकैको दशरथ चन्द क्रिकेट मैदान सुन्दरखालीमा चार वर्ष अघिसम्म क्रिकेट प्रतियोगिता सञ्चालन हुने गथ्र्यो। त्यही मैदानमा खेलाडीले अभ्याससमेत गर्न पाउँथे। जिल्ला स्तरदेखि क्षेत्रीयस्तरका प्रतियोगिता हेर्ने पाउँदा स्थानीयवासी पनि खुसी थिए। तर, अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएपछि न प्र्रतियोगिता हुन पाएका छन् न त खेलमैदान नै बनेको छ।

दशरथ चन्द क्रिकेट मैदान निर्माण कार्य अधुरो भएपछि खेल सञ्चालन हुन नसकेको धेरै समय बितिसकेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को लापरबाहीले निर्माण कार्य अलपत्र परेको र खेल्न लायक मैदान झनै बिग्रिएको आरोप स्थानीय खेलाडीले लगाएका छन्। बनेको मैदानलाई स्तरीय बनाउने भनेर भत्काइएको सो मैदानमा यति बेला प्रतियोगिता शून्य छ। सोही कारणले जिल्लामा क्रिकेटका गतिविधिसमेत सुस्ताएको छ।

तीन वर्षमा करिब ११ करोड ५० लाख रुपैयाँ लागत अनुमानसहित खेल मैदान निर्माण गर्ने लक्ष्य लिइएको थियो। तर, खेल मैदान निर्माणको कार्य सुरु भएको चार वर्ष बितिसक्दा पनि पहिलो चरणको काम नै सकिएको छैन्। मैदान सम्याउन करिब एक करोड १९ लाख रुपैयाँमा ठेक्का दिइए पनि पूरै रकम निकासा नहुँदा मैदान सम्याउने कामसमेत अधुरै छ।

निर्माण कार्य अनिश्चित भएसँगै स्थानीय खेलाडीका लागि खेलमैदानको अभाव खट्किएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दले बताए। उनले भने, ‘निर्माण कम्पनी राखेपले काम नगरेको आरोप लगाउँदै आएको छ, यसले क्रिकेट मैदान निर्माण कार्य अलपत्र परेको छ।’ दुई दशकअघि बैतडीमा क्रिकेट भित्रिएसँगै सुन्दखालीमा क्रिकेट मैदान निर्माण गएिको थियो। यही मैदानमा अभ्यास गरेर राष्ट्रिय क्रिकेटमा महत्वपर्ण योगदान पुर्‍याएका यहाँका खेलाडीका लागि मैदानको नै अभाव हुनु चिन्ताको विषय भएको अध्यक्ष चन्दको भनाइ छ।

‘बैतडी क्रिकेटको उर्वर भूमि हो तर क्रिकेट मैदान निर्माण कार्य नै अलपत्र पर्दा निकै चिन्ता लागेको छ। खेलाडीहरू पनि पलायन हुने अवस्था छ। नयाँ खेलाडी उत्पादनमा समेत समस्या देखिएको छ’, बैतडी जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष विनोदबहादुर चन्द भन्छन्, ‘अलपत्र क्रिकेट मैदान निर्माणमा राष्ट्रिय खेलकुद परिषद्ले तत्काल ध्यान दिनु आवश्यक छ।’

सुन्दरखाली क्रिकेट मैदान निर्माण कार्य अलपत्र हुँदा अहिले खेलाडीलाई अभ्यास गर्नसमेत समस्या भएको छ। ‘क्रिकेट मैदान निर्माण कार्य अघि नबढ्दा खेलाडीहरू समस्यामा परेका छन्। यसले नयाँ खेलाडी उत्पादनमा समस्या भएको छ’, महिला क्रिकेटकी राष्ट्रिय खेलाडी रीतु कनौजियाले भनिन्, ‘क्रिकेट मैदान निर्माण कार्य यथाशीघ्र अघि बढोस् भन्ने हाम्रो चाहना हो।’

बैतडीमा क्रिकेटका लागि गतिलो मैदान नहुँदा राम्रो प्रदर्शन गर्न नसकिएको खेलाडी रोशन बोहराले बताए। उनले भने, ‘यहाँ अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने चर्चा थियो तर त्यसको उल्टो भएकै क्रिकेट मैदान पनि बिग्रिएको छ। हामीले सडकमा अभ्यास गर्नुपर्ने बाध्यता छ। क्रिकेट मैदान नहुँदा बाहिर राम्रो प्रदर्शन गर्न पनि सकिँदैन।’ दशरथचन्द क्रिकेट मैदान निर्माण कार्य अलपत्र परेपछि जिल्लास्तरीय प्रतियोगिताका लागि देहीमाडौं र रातामाटा जानुपर्ने बाध्यता छ। ती ठाउँमा समेत फराकिलो मैदान नभएको खेलाडीको गुनासो छ।

राखेपले क्रिकेट मैदान निर्माणमा चासो नदेखाएका कारण क्रिकेट मैदान निर्माण कार्य अलपत्र परेको नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचित समितिका अध्यक्ष चतुरबहादुर चन्दले बताए। उनले भने, ‘हिजोका दिनमा मैदान नहुँदासमेत स्थानीयस्तरबाट स्रोत जुटाएर समान्य मैदानमा क्रिकेटको अभ्यास गथ्र्यौं। त्यति बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी पनि उत्पादन भए। जब दशरथ चन्द क्रिकेट मैदान बनाउने भनेर राखेपले हात हाल्यो, न क्रिकेट मैदान बनेको छ न त खेलाडीका लागि वैकल्पिक व्यवस्था नै गरिएको छ।’

‘पहिलापहिला क्रिकेट मैदान नहुँदा बैतडीमा कसैले छक्का हानेमा आउट हुने स्थिति थियो। अहिले क्रिकेट मैदान निर्माण कार्य अलपत्र हुँदा खेलाडीले सोही अवस्था भोग्नु परेको छ। ‘मैदान नभएकाले छक्का हान्दा बल हराउँथ्यो, त्यसैले छक्का हान्ने खेलाडीलाई आउट गर्ने नियम बनाइएको थियो’, बैतडी जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष विनोदबहादुर चन्दले भने, ‘अहिले पनि खेलाडीका लागि उपयुक्त मैदान छैन। सडकमा वा सानो ग्राउन्डमा खेल्नुपर्ने स्थिति छ। ठेकेदार र राखेपबीचको विवादले खेलाडी र खेल क्षेत्र मारमा परेको छ।’


निर्माण कार्य रोकिएको दशरथ चन्द क्रिकेट मैदान सुन्दरखाली।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.