विद्यार्थी तान्न  अफर

विद्यार्थी तान्न  अफर

दमौली : विद्यार्थी थोरै भएर बन्द हुन लागेको बन्दीपुर गाउँपालिका ६ खहरेको सेतीगंगा प्राविले अंग्रेजी माध्यममा पढाइ थालेको छ । निजी विद्यालयमा जस्तै विद्यार्थीलाई टाई, पेटी र पोसाक अनिवार्य गरेको छ । विद्यार्थी तान्न सेतीगंगाले यो उपाय अपनाएको हो । स्थानीय सामाजिक कार्यकर्ता सिद्धान्त थापाले अभिभावकको आकर्षण निजी विद्यालय भएकाले सोहीअनुरूप सुधार सामुदायिक विद्यालयमा पनि गर्न लागिएको बताए । ‘यो वर्ष भर्ना बढाउने र शिक्षामा पनि सुधार ल्याउने उद्देश्य लिएका छौं’, उनले भने ।

गाउँमा विद्यार्थी नभएका भने होइनन् । तर, स्थानीय बालबालिकाको ठूलो हिस्सा नजिकैको भादगाउँका निजी विद्यालयमा जाने गरेका छन् । यस कारण विद्यालयमा सुधार र बाध्यकारी व्यवस्था गर्ने निष्कर्षमा स्थानीय पुगेका हुन् । ‘गाउँको विद्यालय बन्द हुने अनि बालबालिका निजीमा जाने यस्तो अवस्था राम्रो होइन’, थापा भन्छन्, ‘बरु हामीले जेजस्तो सुधार गर्नुपर्ने हो तयार छौं ।’

समुदायले विद्यालयमै गुणस्तरीय पढाइ हुने आश्वस्त पार्दै बालबालिकालाई बाहिर नपठाउन यसअघि नै आग्रह गरेको थियो । उनीहरूले गाउँको विद्यालयमा भर्ना नभए मासिक ५ हजार जरिवाना र सरकारी सुविधाबाट वञ्चित गर्ने घोषणासम्म गरेका थिए । व्यास नगरपालिका वडा नं ९ को बसाहस्थान माविले सुधार ल्याउन लागेको प्रधानाध्यापक कृष्णभक्त तिवारीले जानकारी दिए । ‘निजी लगानीका विद्यालयमा हुने खालका कुनै पनि सुविधाबाट हामी वञ्चित गर्ने छैनौं’, उनले भने, ‘अभिभावकको आकर्षण सामुदायिकमा नघटोस् भनेर सचेत बनेका हौं ।’

गाउँकै सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगराए जरिवाना र सरकारी सुविधाबाट वञ्चित गरिने ।

विद्यालय आसपासका समुदायले टाढाको निजी विद्यालयमा विद्यार्थी भर्ना गर्न थालेका थिए । अहिले १ सय ६० विद्यार्थी भएको विद्यालयमा गत शैक्षिक सत्रमा १ सय ८० विद्यार्थी थिए । यसले पनि विद्यालयलाई झस्काएको हो । ‘विद्यालयमा गर्न सक्ने सबै कुरा गरेर विद्यार्थी अन्त जान दिन्नौं’, व्यवस्थापन समितिका अध्यक्ष प्रतापसिंह गुरुङले भने । विद्यालयले हालै निर्णय गर्दै विद्यालय पोसाकसँगै टाई र बेल्ट निःशुल्क दिने घोषणा गरेको छ । त्यसैगरी शैक्षिक क्यालेन्डर, होमवर्क डायरीसमेत व्यवस्था गरेको विद्यालयले अंग्रेजी माध्यमलाई प्राथमिकता दिएको छ । ‘विद्यार्थी जोगाउन आवश्यक सहयोग गर्न समुदाय तयार भएपछि दाता खोजेरै भए पनि नयाँ व्यवस्था गर्न लागेका हौं’, प्रअ तिवारीले भने । नमुना विद्यालयका रूपमा सरकारी अनुदान पाउन थालेको व्यास १ को निर्मल माध्यमिक विद्यालयले सञ्चारमाध्यममा सार्वजनिक सूचना जारी गरी विद्यार्थी भर्ना अभियान चलाएको छ । ठूलो क्षेत्रफलमा फैलिएको र स्विमिङ पुल तथा खेल पूर्वाधार थप्न लागेको विद्यालयले जनाएको छ । ‘विद्यार्थी भर्ना अझै बढी होस् भनी घरदैलो गरिरहेका छौं’, प्रअ गणेशचन्द्र बस्नेतले भने ।

दमौलीकै बालमन्दिर प्राविले पनि निजी विद्यालयको दबदबा रहेको बजारमा अंग्रेजी माध्यमसँगै प्रोजेक्टर र आधुनिक प्रविधिको पठनपाठनलाई जोड दिँदै रेडियोमार्फत भर्नाको सूचना जारी गरेको छ । ‘विद्यार्थी र अभिभावकलाई थपिएका शैक्षिक विशेषताको जानकारी गराउन सक्दो प्रयास गरेका छौं’, प्रअ लक्ष्मी मल्लले भनिन् । टाई र बेल्ट अनि अंग्रेजी माध्यमका साथै कतिपय विद्यालयले स्कुल बससमेत थपेका छन् ।

दुलेगौंडाको पञ्चमुनिदेव तथा जामुनेको राधा माविले स्कुल बस किनेर विद्यार्थीलाई आवतजावत प्रबन्ध मिलाएर निजी विद्यालयसँग प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका समन्वय अधिकारी रुद्रहरि भण्डारी निजीसँगको प्रतिपस्पर्धाका आधारमा विद्यालयले नीति परिमार्जन गर्नुलाई सकारात्मक मान्छन् । ‘सामुदायिकको समस्या अभिभावकको मन जित्न नसक्नु हो’, उनले भने, ‘अभिभावकको चाहनाअनुसार निजीकै जस्तो पठनपाठन थालेमा उनीहरूको मन जित्न सकिन्छ । यसले विद्यालयलाई फाइदै गर्छ ।’ कुनै पनि विद्यालयको स्थायित्वका लागि अभिभावकको सहयोग जरुरी भएको भन्दै उनले भने, ‘अभिभावकको चासो निरन्तर सम्बोधन गर्न सकिए सामुदायिक विद्यालयले मन जित्न सक्छ ।’

०००

भर्ना अभियानमा घरदैलोमा निस्किएको शिव पाञ्चायन मन्दिर प्रावि दमौलीको समूहमा सहभागी जिसस उपप्रमुख पवित्रा पौडेललगायत । अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.