निकुञ्जमा वन्यजन्तुका लागि कृत्रिम पोखरी
कोहलपुर : बाँके राष्ट्रिय निकुञ्जमा पानीका स्रोत सुकेपछि निकुञ्ज प्रशासनले कृत्रिम पोखरी निर्माण सुरु गरेको छ । बढ्दो गर्मीसँगै निकुञ्जमा रहेका साना–ठूला गरी २० वटा जलाशयमा पानीको सतह घटेपछि निकुञ्जले यो वर्ष निकुञ्जमा ५ वटा कृत्रिम पोखरीमध्ये ३ वटा पोखरी निर्माण भइसकेको र २ वटा स्थान छनोट गरी तत्काल निर्माण गर्ने योजना रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले बताए । निकुञ्जभित्र पानीको समस्या देखिन थालेपछि कृत्रिम पोखरी बनाई वन्यजन्तुलाई पानी व्यवस्थापन गरिएको चौधरीले जानकारी दिए ।
कतिपय जलाशय त सुख्खा भइसकेका छन् । निकुञ्ज क्षेत्रमा स्थायी पानीको स्रोत तथा मुहान पर्याप्त नहुँदा गर्मी समयमा निकुञ्ज क्षेत्रमा पानी अभाव हुन थालेको छ । पाटेबाघलगायत निकुञ्जमा पाइने वन्यजन्तु चित्तल, जरायो, नीलगाई, चौका, लगुना, चितुवा र हात्तीसहितका अन्य वन्यजन्तु पानीको खोजीमा राप्ती नदीसम्म पुग्ने गरेको छ । खड्कवार, गन्धेली र कुसुम क्षेत्रमा कृत्रिम पानी पोखरी निर्माण भइसकेका छन् ।
सोलार प्रविधिबाट पानी तान्ने मोटर र स्वचालित प्रविधि गरी कृत्रिम पोखरी निर्माण गरिएको छ । चुरे क्षेत्रको फेदतर्फ सुख्खा जमिन भएकाले स्थापना गरिएका कृत्रिम पानी पोखरीमा राखिने पानी माटोले सोस्ने भएकाले कुसुम पूर्वीनाकामा कृत्रिम पोखरीको सतहमा प्लास्टिक बिछ्याएर पानी टिकाउने प्रयास निकुञ्जले गरेको छ ।
अग्निरेखा प्रभावकारी
डढेलो नियन्त्रण गर्न निकुञ्जले पूर्वसावधानी अपनाउँदै निकुञ्ज क्षेत्रमध्ये बढी डढेलो प्रभावित क्षेत्रमा अग्निरेखा निर्माण गरेपछि डढेलो रोकिएको हो । एक सय ३० किलोमिटर बढीको अग्निरेखा निर्माणपछि डढेलो नियन्त्रणमा अग्निरेखा प्रभावकारी देखिएको हो । ‘निकुञ्ज क्षेत्रभित्र पर्ने डढेलो जोखिमयुक्त क्षेत्र महादेवा, कोहलपुर, चिसापानी, मुगुवा, खैरी खोला र चुरे क्षेत्रमा अग्निरेखा निर्माणपछि डढेलोको जोखिम कम भएको छ’, सहायक संरक्षण अधिकृत चौधरीले भने ।
निकुञ्जले डढेलो नियन्त्रण कार्यलाई प्राथमिकता दिँदै विशेष तालिमप्राप्त सेना र कर्मचारी रहने गरी ¥यापिड फायर टिम (आरआरटी) लाई २४ सै घण्टा तयारी अवस्थामा राखेको छ । निकुञ्ज क्षेत्रभित्र कुनै पनि स्थानमा डढेलो लागेको सूचना प्राप्त हुनेबित्तिकै आरआरटी टिम तत्काल पुगेर अग्नि नियन्त्रणमा जुट्ने गर्छ । सहायक संरक्षण अधिकृत चौधरीका अनुसार मुगुवा खोला र देउराली क्षेत्रमा फैलिन लागेको डढेलो आरआटीले नियन्त्रणमा लिन सफल भएको छ ।
विशेष गरी बाँके राष्ट्रिय निकुञ्जभित्र नदी तटीय क्षेत्र नपर्ने र यहाँ झाँडी र बुट्यानसहित सुख्खा क्षेत्र भएकाले डढेलोको उच्च जोखिममा पर्छ । अघिल्ला वर्षको तथ्यांक हेर्दा डढेलो निकुञ्ज क्षेत्रभित्रको ५० प्रतिशत वन क्षेत्रमा फैलिने गरेको सहायक संरक्षण अधिकृत चौधरीले बताए । संरक्षित जीव अजिंगर संरक्षण गर्न डढेलो चुनौती बनेको निकुञ्जको भनाइ छ । निकुञ्जका सहायक संरक्षण अधिकृत चौधरी भन्छन्, ‘ठूलो आकारको जीव अजिंगर विस्तारै हिँड्ने भएकाले अजिंगरका अन्डा र बच्चा मर्ने सम्भावना बढी हुन्छ ।’
डढेलोबाट निकुञ्जमा यसअघि बाघको आहारा प्रजातिमा पनि नोक्सानी पुगेको निकुञ्जले जनाएको छ । बाघको आहारा प्रजातिअन्तर्गत पर्ने मृग, हरिण, चित्तल, जरायोजस्ता वन्यजन्तुका बच्चा डढेलोमा धेरै मर्ने भएकाले बाघको आहारा अभाव हुने गर्छ । ‘आहारा अभावले पाटेबाघ संरक्षण गर्न स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा रहेका बाघ हप्तौंसम्म भोकै बस्ने गरेका छन्’, सहायक संरक्षण अधिकृत चौधरीले भने ।