संरक्षण भएनन् पुराना दरबार

संरक्षण भएनन् पुराना दरबार

दिपायल : डोटीको जोरायल गाउँपालिकास्थित निरौलीमा रहेको ऐतिहासिक निरौली दरबार र दिपायल सिलगढी नगरपालिकास्थित दिपायलमा रहेको कोटभैरव राजदरबारका अहिले भग्नावशेष मात्रै बाँकी छन् । समयमै पुनर्निर्माण हुन नसक्दा ती दरबार भग्नावशेषमा परिणत भएका हुन् । तिनको संरक्षणका लागि अहिलेसम्म सरकारी निकायबाट पहल हुन सकेको छैन । सरकारी बेवास्ताकै कारण दरबार वरिपरि वनझार उम्रिएको छ । बाँकी भग्नावशेष पनि क्रमशः पुरिँदै, छोपिँदै गएका छन् ।

मध्यकालमा बाइसे राज्यहरूमा सबैभन्दा शक्तिशाली डोटी राज्य थियो । यहाँका राजा भूपति शाहको शासनकाल १६१५ देखि १६४७ साल सम्म हालको दिपायल सिलगढी नगरपालिका डोटीस्थित दिपायल बजारको बायाँतिर पर्ने गौडा डाँडामा कोट अर्थात् राजदरबार निर्माण गरिएको थियो । सोही ठाउँबाट राज्य व्यवस्था सञ्चालन भएको थायो । उक्त दरबार संरक्षण गर्न नसकेर अहिले भग्नावशेषका रूपमा परिणत छ ।

सोही ठाउँमा भैरवको मन्दिरसमेत स्थापना भएको थियो । उक्त मन्दिरमा १८९० सालसम्म सरकारले पूजा खर्च बेहोर्दै आएको थियो । दरबारको संरक्षण तथा मन्दिरको सामान्य जीर्णोद्धार सोही क्षेत्रमा रहेको क्षेत्रीय प्रहरी तालिम केन्द्र तथा नगरपालिकाले गर्नुपर्ने भनिए पनि संरक्षण हुन सकेको छैन ।

सरोकारवाला निकायले संरक्षणका लागि चासो नदिँदा दरबारको अस्तित्व संकटमा परेको छ ।

पटकपटक दरबारको संरक्षणका लागि आवाज उठाए पनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीय प्रेमबहादुर शाहले बताए । ‘हामी दरबारको पुनर्निर्माण गर्दै संरक्षण गर्नेछौं’, दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले भनिन्, ‘संरक्षण गरी उक्त क्षेत्रमा संग्रहालय स्थापना गर्नेछौं ।’ उक्त क्षेत्रलाई ऐतिहासिक एवं पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने आफूहरूको योजना रहेको उनको भनाइ छ ।

त्यसैगरी निरौलीका तत्कालीन राजा निरैपाल मल्लले करिब दुई हजार वर्षअघि दरबार बनाएका थिए । दरबार क्षेत्रमा विक्रमको शुरुवातकालका शिलालेख भेटिएको स्थानीय बताउँछन् ।

मल्ल राजाको शासनकालमा भण्डारीहरू राजाका बाहुन भएर निरौली आएको र भण्डारी शक्तिशाली भएपछि मल्लहरू निरौलीबाट पलायन भएको स्थानीय धनबहादुर मल्लले बताए । समुद्री सतहबाट करिब एक हजार पाँच सय मिटरको उचाइमा रहेको निरौली दरबार पर्यटकीय दृष्टिले महŒवपूर्ण मानिन्छ । दरबार संरक्षणका लागि सरोकारवाला निकायले चासो नदिएको स्थानीयको गुनासो छ । दरबारको रहस्यमय शक्तिका कारण अहिलेसम्म कुनै पनि व्यक्ति त्यहाँ जान नसकेको स्थानीयको भनाइ छ ।

दरबारमा जान खोज्दा अचानक सर्प निस्कने र मार्न खोजे त्यो सर्प रहस्यमय किसिमले हराउने गरेको स्थानीय धर्मराज भण्डारीले बताए । त्यसैले दरबारमा अलौकिक शक्ति रहेको उनको भनाइ छ । दरबारमा जान खोज्नेलाई सर्पले छेक्ने गरेकाले अहिलेसम्म कोही पनि मानिस भित्र पस्न नसकेको उनले बताए ।

सरोकारवाला निकायले संरक्षणका लागि चासो नदिँदा दरबारको अस्तित्व संकटमा परेको स्थानीय समाजसेवी पदमराज जोशीले बताए । निरौली दरबार क्षेत्रको पर्यटकीय सम्भावना भएकाले सरकारले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ध्यान पु¥याउनुपर्ने उनको भनाइ छ ।

०००

१) दिपायलस्थित कोटभैरव राजदरबारका भग्नावशेष । खगेन्द्रबहादुर सिंह

२) निरौलीस्थित जीर्ण निरौली दरबार । खगेन्द्रबहादुर सिंह


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.