क्षेत्रीय अस्पतालमै औषधि छैन

क्षेत्रीय अस्पतालमै औषधि छैन

 पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा पति बाबुराम विकको उपचार गराउन आएकी पोखरा ३१ बेगनासकी सावित्री विकले उपचारपछि अस्पतालको फार्मेसीमा औषधि लिन जाँदा रित्तै हात फर्कनुपर्‍यो । स्वास्थ्य बिमासमेत गराएकी विकले पतिको मिर्गाैलामा समस्या आएपछि हप्ताको २ पटक डायलासिस गराउन अस्पताल धाउँदै आएकी छन् । गत महिनादेखि अस्पतालको फार्मेसीमा औषधि नपाउँदा महँगोमा बाहिरबाट किन्नुपरेको उनले सुनाइन् । मिर्गाैला डायलासिसको औषधि महँगो हुने भएकाले समस्या परेको उनको गुनासो छ ।

सिरहा घर भई पोखराको नयाँ बजारमा बस्दै आएका हरिश चौधरीले उपचारपछि अस्पतालको फर्मेसीमा औषधिका लागि लाइनमा बसे पनि ज्वरोको औषधि ‘सिलास’समेत पाएनन् । स्वास्थ्य बिमा गरेका र गरिब तथा विपन्न परिवारलाई अस्पतालमा औषधि नहुँदा प्रत्यक्ष असर परेको छ । ‘हुने खानेले त बाहिरको फार्मेसीबाट किनेर पनि उपचार गर्न सक्छन्, हामीलाई मर्का पर्‍यो’, चौधरीले दुखेसो पोखे ।

अस्पतालमा १३ सय प्रकारका औषधि पाइनुपर्ने हो । स्वास्थ्य बिमाका मात्र अस्पतालमा ११ सय १८ प्रकारका औषधि हुनुपर्ने भए पनि अधिकांश औषधि चैतदेखि सकिएको अस्पतालका कर्मचारी बताउँछन् । अस्पतालको फार्मेसीमा औषधि सकिएकाले स्वास्थ्य बिमा गराएका र विपन्न परिवारका बिरामीको २ महिनादेखि दैनिक दुःखेसो सुन्दै आउनुपरेको सामाजिक सेवा युनिटका कर्मचारीको भनाइ छ ।

पश्चिमाञ्चलको सबैभन्दा ठूलो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) पोखरामा दैनिक १ हजार बिरामीले स्वास्थ्य सेवा लिने गरेको अस्पताल प्रशासनले जनाएको छ । यो अस्पताल ३ सय ५० शड्ढयाको हो । अस्पतालमा पश्चिमाञ्चल क्षेत्रका धेरै जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्छन् । यति ठूलो अस्पतालको फार्मेसीमा आपूर्तिकर्ताका कारण देखाएर महिनौंदेखि औषधि अभाव हुनु दुःखद रहेको अस्पतालका कर्मचारी सुनाउँछन् ।

अस्पताल परिसरमा साझाको फार्मेसी रहेकाले साझाबाट पछि उपलब्ध गराउने गरी औषधिको व्यवस्था गर्नुपर्ने र समयमै औषधि उपलब्ध नगराउने सप्लायरलाई कारबाही गर्नुपर्ने कर्मचारीको भनाइ छ । दैनिक करिब १ हजार जना बिरामीले उपचार सेवा लिने अस्पतालको फार्मेसीमा भएको औषधि अभावले हजारौं मारमा परेका छन् ।

चैतको दोस्रो सातादेखि अस्पतालको फार्मेसीमा केही औषधि अभाव रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्देशक डा. अर्जुन आचार्यले बताए । औषधि आपूर्तिकताले औषधि ल्याउन ढिलाइ गरेकाले यस्तो अवस्था आएको तर छिट्टै समस्या समाधान हुने उनले बताए । बिरामीले पहिले जुन औषधि प्रयोग गरिरहेको हो त्यही नामको औषधि खोज्ने भएकाले पनि बढी अभाव देखिएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.