रोहिंग्या शरणार्थी शिविरमा राष्ट्रसंघीघ अधिकारी
कोक्स बजार : म्यान्माबाट पलायन भएका रोहिंग्या शरणार्थी शिविरमा संयुक्त राष्ट्रसंघका अधिकारीले भ्रमण आइपुगेका छन्।टोलीमा कुवेत, बेलायत र पेरुका सुरक्षा परिषद्का प्रतिनिधि सहभागी छन्। रोहिंग्या समुदायका नागरिकलाई स्वदेश फर्काउने प्रयोजनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न सुरक्षा परिषद्को एक प्रतिनिधिमण्डलले शनिबारदेखि म्यान्मा र बंगलादेशको भ्रमण गरेको हो।
उनीहरू शनिबार र आइतबार शरणार्थीहरू रहेको स्थान कोक्स बजारको भ्रमण गरेर आगामी सोमबार म्यान्मा फर्किने बताइएको छ। कोक्स बजारमा रहेको शरणार्थी शिविरमा शरणार्थीहरूका साथै सरकारी अधिकारीहरूसँग पनि सुरक्षा परिषद्का ती सदस्यहरूले भेटवार्ता गरेका छन्। म्यान्मा भ्रमणका क्रममा उनीहरूले म्यान्माली अधिकारीहरूसँग भेटवार्ता गरी शरणार्थी फिर्ताका लागि आवश्यक परामर्श गर्ने राष्ट्रसंघीय प्रवक्ता स्टेफन डुजारिकले जनाएका छन्।
यसैगरी राष्ट्रसंघीय अधिकारीहरूले बंगलादेशमा रहेका ठूलो संख्याका म्यान्माली रोहिंग्या शरणार्थीहरूका लागि कम्तीमा २५ करोड अमेरिकी डलर सहायता चाहिएको बताएका छन्।
उनीहरूले बंगलादेशमा रहेका रोहिंग्याहरूको खानपिन तथा अन्य आधारभूत आवश्यकताकै लागि उक्त रकम चाहिएको बताएका हुन्। सुरक्षा परिषद्का प्रतिनिधिहरूले बंगलादेशको र म्यान्माको भ्रमण गर्नुअघि म्यान्माली शरणार्थीलाई उक्त सहायता उपलब्ध गराउन विश्वका दाता राष्ट्र तथा संस्थाहरूलाई यस्तो आग्रह गरेका हुन्। राष्ट्रसंघीय अधिकारीहरूले रोहिंग्याको अवस्थामा अभैm सुधार नआएको र उनीहरूलाई स्वदेश फर्काउने बारेमा पनि अहिले नै फर्काउन सकिने गरी कुनै प्रगति नभएकाले उनीहरूका लागि यो सहायता आवश्यक भएको बताएका हुन्।
म्यान्मारमा सैनिक दमनको कारण देश छोडेर भाग्न बाध्य भएका रोहिंग्याहरू हाल बंगलादेशको कोक्स बजारमा करिब १० लाख पुगेको अनुमान छ। यो अनुमानित तथ्यांक मात्र भएको बताइएको छ। करिब सात लाख रोहिंग्या म्यान्माको राखिन राज्यबाट गत अगस्त २५ देखि लगातार दुई महिनामा त्यहाँ पुगेका थिए। त्यस्तै पछिल्लो समयमा पनि उनीहरू देश छोडेर भाग्ने क्रम जारी रहेकाले त्यहाँ पुग्ने शरणार्थीहरूको संख्या बढेको हो।
म्यान्माको राखिन राज्यमा हत्या, हिंसा र बलात्कारलगायत सैनिक दमन जारी रहेको बताइएको छ। त्यसै कारणले रोहिंग्या शरणार्थीले आफूहरू घर फर्किन नसकेको जनाएका छन्। म्यान्मा सरकारले शरणार्थीलाई घर फर्किन कुनै रोकटोक नभएको बताउँदै आएको छ।
आफ्नो जन्मथलोमा अहिले पनि त्यस्तै असुरक्षित अवस्था नरहेको भन्दै यस्तै अवस्थामा घर फर्किन गाह्रो हुने प्रतिक्रिया दिएका थिए।
ज्यादतीका कारण राखिन राज्यमा रहेका रोहिंग्याले आफ्ना जीविकोपार्जन गर्न पाएका छैनन्। यसै कारणले त्यस क्षेत्रका नागरिकले भोकमरी र कैयौँ समस्या सामना गरिरहनु परेको छ।
हजारौँ विस्थापित : राष्ट्रसंघ
यांगुन : म्यान्माको दुर्गम उत्तरी क्षेत्रमा सेना र जातिवादी विद्रोहीबीच भएका झडपका कारण हजारौँ सर्वसाधार विस्थापित भएको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन्।
राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का प्रमुख मार्क कट्सले भने, ‘चीनको सीमा क्षेत्र नजिकै रहेको म्यान्माको कचिन राज्यमा भएका झडपका कारण विगत तीन सातामा चार हजारभन्दा बढी मानिस विस्थापित बनेका छन्।’
यो तथ्यांक उक्त क्षेत्रमा सेनासँग भएका झडपका घटनाका कारण विस्थापित १५ हजार र आन्तरिक रूपमा विस्थापित बनी विभिन्न शिविरमा बसेका ९० हजार विस्थापित सर्वसाधारणबाहेकको भएको उनको दाबी छ।
‘हामीलाई स्थानीय संघसंस्थाले दिएको जानकारीमा सेना र विद्रोहीको झडप भएका इलाकामा अझै कैयौँ सर्वसाधारण फसेका र मानवीय सहयोगको याचना गरिरहेका छन्’, कट्सले भने, ‘हामीले उनीहरूलाई सुरक्षाको अनुभूति दिनुपर्छ।’
ओसीएचएले प्राप्त रिपोर्टमा केही नागरिकसमेत मारिएका भन्ने स्थानीयको दाबीलाई भने अझै पुष्टि गरिसकेको छैन। यसबारे सरकारका प्रवक्तासँग प्रतिक्रिया लिन खोज्दा उनलाई सम्पर्क गर्न नसकिएको एएफपीका स्थानीय संवाददाताले जनाए।
प्रतिक्रिया दिनुहोस !