रुदीखोला ‘ए’ को ९० प्रतिशत निर्माण पूरा

रुदीखोला ‘ए’ को ९० प्रतिशत निर्माण पूरा

बालुवाबेंसी (कास्की) : कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलामा निर्माणाधीन रुदीखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा अघि बढेको छ । ८.८ मेगावाट क्षमताको यस आयोजनाको समग्र निर्माण ९० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख सरोज भट्टराईका अनुसार बाँधस्थल निर्माण, हेडरेस पाइप राख्ने, पेनस्टक पाइप राख्ने, सर्ज ट्यांक निर्माण, पावरहाउस निर्माणलगायत निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । भट्टराईका अनुसार कास्कीको मिजुरे र लमजुङको सिङ्दीबेसी सीमामा बाँधस्थलको इन्टेक, वयर, बाँध सुरक्षा पर्खाल, कल्भर्ट (नहर) निर्माणको काम सकिएको छ ।

बाँधस्थलमा पानी जम्मा गर्ने पोखरी खन्ने, हेडरेस पाइप राख्ने ठाउँ खन्ने काम सकिएको छ । पाइप बिछ्याउने, पेनस्टक पाइप राख्ने, सर्जट्यांक खन्ने गरी समग्रमा ९० प्रतिशत निर्माण सकिएको भट्टराईले बताए ।

कास्कीको मिजुरेस्थित बालुवाबेंसीमा निर्माण भइरहेको पावरहाउसको काम पनि सकिएको छ । पावरहाउसमा ‘सिभिल स्टक्चर’ को काम सकिएको छ । ‘पावर हाउसमा मेसिन जडानको काम अन्तिम चरणमा पुगेको छ । टर्बाइन जोडिएको छ’, आयोजनाका सिभिल इन्जिनियर विपिन पाण्डेले भने, ‘७ जुनमा विद्युत् उत्पादन गर्ने गरी काम गरिरहेका छौँ ।’ पाण्डेका अनुसार ७ जुनमा पेन स्टकबाट पानी हालेर टर्बाइनको ‘टेस्टिङ’ गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

३१ मार्च २०१६ बाट निर्माण सुरु भएको यो आयोजनाबाट १५ सेप्टेम्बर २०१७ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो । तर, भूकम्प, नाकाबन्दी र बाढी पहिरोका कारण निर्माणमा केही समय ढिलाइ भएको आयोजनाले जनाएको छ । गत असारमा आएको बाढीले क्षति पुर्‍याउँदा निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ ।

८.८ मेगावाट आयोजनाको निर्माण ९० प्रतिशत सकिएको छ ।

बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रालि प्रवद्र्धक रहेको आयोजना निर्माणका लागि सिभिलतर्फ हाई हिमालय हाइड्रो कन्सट्रक्सन प्रालि, हाइड्रो मेकानिकलमा नर्थ हाइड्रो एन्ड इन्जिनियरिङ र इलेक्ट्रोनिक्समा टीपीएस इन्डिया प्रालिले काम गरेका छन् ।

लमजुङको पसगाउँस्थित सिङ्दीबेंसीमा बाँध बाँधेर कास्कीको मिजुरे रबैडाँडा हुँदै ६ किलोमिटरको पेनस्टक मेटल पाइपमार्फत पानी लगेर बालुवाबेंसीस्थित विद्युतगृहबाट विद्युत उत्पादन गरिने छ । सो आयोजनामा रुदीसहित छेदुवा खोलाको पानीसमेत मिसाइने छ । ३ सय मिटर ग्रेस हेड रहेको यो आयोजनाबाट उत्पादित विद्युत् कास्कीको मुग्रेबेसीस्थित ३३ केभीएको ट्रान्समिसन लाइनमा जडान गरिने मेकानिकल ओभरसियर कृष्णप्रसाद पण्डितले बताए ।

आयोजना निर्माणका लागि अनुमानित लागत १ अर्ब ३६ करोड २० लाख रुपैयाँ रहे पनि बाढीपहिरोको क्षति, मूल्यवृद्धि आदि कारणले बढ्न सक्ने बताइएको छ । यसमा सानिमा बैंकको नेतृत्वमा ७० प्रतिशत र प्रवद्र्धकको तर्फबाट ३० प्रतिशत लगानी जुटाइएको छ ।

२०६९ माघ २८ मा विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भएको आयोजनाको हिउँदमा ८.४० पैसा र वर्षामा ४.८० रुपैयाँ दररेट रहेको छ । बिन्ध्यवासिनीले रुदीखोला ‘ए’ सँगै रुदीखोला ‘बी’ को पनि निर्माण गरिरहेको छ । रुदी ‘बी’ को ३० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.