तीनचार सातामा अमेरिका-उत्तर कोरिया वार्ता
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार साताभित्र वार्ता गर्ने बताएका छन् ।मिचिगन राज्यको एक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘वार्ताहरू सकारात्मक मात्र नभएर महत्वपूर्ण रूपमा अघि बढिरहेका छन् । उत्तर कोरियाका नेता किम जोङ उनसँग आगामी तीन वा चार सातामा हामीले पनि वार्ता गर्नेछौँ ।’
यसअघि पनि उनले गत महिना मात्र उत्तर कोरियासँगको वार्ता अभूतपूर्व रूपमा सफल हुने धारणा सार्वजनिक गरेका थिए । राष्ट्रपति ट्रम्पको घोषणा ह्वाइट हाउसले पनि पुष्टि गरेको छ । ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग वार्ता गर्नुहुने भएको छ र सो वार्ताको मिति चाँडै तय गरिनेछ ।’
हालैमात्र उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरमा भएको वार्ता, सहमति र यी दुई देशबीच भएको युद्धअन्त्य घोषणासँगै कोरियाली प्रायद्वीपमा शान्ति र वार्ताका लागि ठूलो प्रगति भएको छ ।
मुन र आबेसँग ट्रम्पको फोनवार्ता
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँग फोन वार्ता गरेका छन् । फोनवार्तामा ट्रम्पले उत्तर कोरियाली नेतासँग भएको फोनवार्तापछिको पछिल्लो प्रगतिबारे जानकारी लिएका थिए । फोनवार्तामा राष्ट्रपति ट्रम्पले दुई कोरियाली उच्च नेताबीचको सहमति र सम्झौताका साथै उत्तर कोरियाको पछिल्लो अडान र मनस्थितिको बारेमा कुराकानी गरेका थिए । त्यसैगरी राष्ट्रपति ट्रम्पले यसै विषयलाई लिएर जापानी प्रधानमन्त्री सिन्जो आबेसँग पनि फोन वार्ता गरेका छन् । उक्त वार्तामा विशेषगरी उत्तर कोरिया र दक्षिण कोरियाबीचको हालै भएको भेटवार्ता र सम्झौताका बारेमा कुराकानी भएको छ ।
सीको कामना
उता चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिका र उत्तर कोरियाबीचको वार्ताको सफलताको कामना गरेका छन् । यी दुई देशबीच हुने भनिएको आगामी वार्ता प्रगति उन्मुख होस् भन्ने कामना गर्दै राष्ट्रपति सीले उक्त वार्ता छिट्टै आयोजना गर्न पनि आग्रह गरेका छन् । उनले उक्त वार्ताको सफलताको कामना गर्दै वार्ता शान्त र सौहार्द रूपमा सम्पन्न गर्न पनि अमेरिका र उत्तर कोरियालाई आग्रह गरेको सिन्ह्वाले जनाएको छ ।
यसैगरी उत्तर कोरियाली नेता किम उन जोङ जापानसँग पनि वार्ता गर्न इच्छुक देखिएका छन् । उत्तर कोरियाली नेता उन जापानसँग पनि कुनै पनि समयमा आफू वार्ता गर्न तयार रहेको कुरा दक्षिण कोरियाली राष्ट्रपति मुनसँगको वार्ताका क्रममा बताएका थिए । उनले आफू जापानसँगको वार्ताका लागि इच्छुक रहेको र त्यसका लागि उत्तर कोरियाले आन्तरिक तयारी पनि गरेको जानकारी दिएका थिए।
कोरियाली प्रायद्वीपमा खुसियाली
कोरियाली प्रायद्वीपमा सन् १९५३ पछि कोरियाली जनता त्रास र अन्योलमा बाँच्न बाध्य छन् । कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच अझै पुनर्मिलन हुन नसकेको अवस्थामा दुई कोरियाबीचको यो पछिल्लो वार्ताले आशा थपेको छ । कोरिया युद्धपछि पहिलोपटक दुई देशका उच्च नेताबीच भएको यो भेटले आगामी दिनमा कोरियाली प्रायद्वीपमा शान्ति आउने तथा कोरियाबीच एकता हुनसक्ने सम्भावना रहेको भन्दै कोरियालीले खुसी प्रकट गरेका छन् ।
आणविक केन्द्र बन्द गर्दै उत्तर कोरिया
उत्तर कोरियाली नेता किम जोङ उनले आणविक केन्द्र बन्द गर्ने घोषणा गरेका छन् । उत्तर कोरिया र दक्षिण कोरियाका नेताबीच शुक्रवार शिखरवार्ता भएपछि किमले यस्तो निर्णय गरेका हुन् ।
यसलाई वार्ताको सकारात्मक प्रभावको रूपमा हेरिएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँगको भेटसँगै उनले यो संकेत गरेका थिए । उनले आणविक केन्द्र मे महिनामा बन्द गर्ने पनि स्पष्ट पारेका छन् । यसो निरीक्षण गर्न अमेरिकी विशेषज्ञलाई पनि बोलाइने उनले जानकारी दिएका छन् ।
उत्तर कोरियाका आणविक अस्त्र र अन्तरमहाद्वीपीय क्षेप्यास्त्र परीक्षणका कारण यस क्षेत्रमा तनाव सिर्जना भएको थियो ।दक्षिण कोरियाली राष्ट्रपतिका मुन जे इनका प्रवक्ताले यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि छलफलको तयारी भइरहेको बताएका छन् ।
ट्रम्प र किमबीच हुने बैठकमा पनि नेता किमले यो विषयमा ट्रम्पलाई स्पष्ट पार्ने बताइएको छ । यसबाट किमका बारेमा रहेका ट्रम्पको धारणा परिवर्तन हुनेछ । उत्तर कारियाली नेता अमेरिकामाथि क्षेप्यास्त्र प्रहार गर्ने व्यक्ति नभएको पनि दक्षिण कोरियाली अधिकारीले बताएका छन् ।
आगामी मे वा जुन महिनामा अमेरिकी राष्ट्रपति ट्रम्प र उनका समकक्षी किमबीच बैठक हुँदै छ । जोडतोडका साथ यसको तयारी भइरहेको बताइएको छ । किमलाई उद्धृत गर्दै मुनका प्रवक्ताले भने, ‘एकपटक हामीले वार्ता गर्न शुरु गर्यौं भने अमेरिका र ट्रम्पलाई मेरा विषयमा थाहा हुनेछ । दक्षिण कोरिया, प्रशान्त क्षेत्र वा अमेरिकामा क्षेप्यास्त्र प्रहार गर्ने व्यक्ति होइन ।’ आफू पनि क्षेप्यास्त्र हतियार विकास गर्ने पक्षमा नरहेको किमले बताएका छन् । उत्तर कोरियामाथि आक्रमण हुँदैन भन्ने सुनिश्चितता भए त्यस्ता हतियार आफ्नो प्राथमिकता नभएको उनको दाबी थियो ।
नेता किमले भने, ‘यदि हामी अमेरिकासँग नियमित छलफल गर्छौं, आपसी विश्वास कायम गर्छौं र युद्ध गर्दैनौं भने हतियार राखेर बाँच्न हामीलाई रहर छैन ।’ त्यसअघि आक्रमण र भड्काउने काम नहुने वचनबद्धता आउनुपर्ने नेता किमको माग छ । शान्तिको वातावरण तयार भएमा हतियार राख्नु आवश्यक नभएको उनको भनाइ छ । केही समयअघिसम्म लगातार परमाणु अस्त्र परीक्षण गरिरहेको उत्तर कोरियाको यो निर्णयले सबैलाई आश्चर्यचकित बनाएको छ । यसका पछाडि विभिन्न अनुमान गरिन थालेका छन् । ट्रम्पसँगको वार्ता सफल पार्न उनले यस्तो आदेश दिएको अमरिकी सञ्चारमाध्यमले दाबी गरेका छन् । परमाणु परीक्षण बन्द गर्न उत्तर कोरियामाथि लगातार दबाब बढ्दै आएको थियो ।
उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको शिखरवार्तालाई सकारात्मक रूपमा लिइएको छ । यसअघि सन् २००० र २००७ मा भएका दुईवटा शिखरवार्ता भने निर्णयमा पुग्न सकेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस !