आज २५६२अौ बुद्धजयन्ती : यसरी मनाइँदै छ लुम्बिनीमा बुद्धजयन्ती

आज २५६२अौ बुद्धजयन्ती : यसरी मनाइँदै छ लुम्बिनीमा बुद्धजयन्ती

भैरहवा : विश्व सम्पदा सूचीमा सूचीकृत एवं शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा धुमधामका २५६२ औं बुद्धजयन्ती मनाइँदै छ। विश्वका अधिकांश मुलुकबाट भिक्षु, बौद्धमार्गी एवं व्यक्तिहरू बुद्धजयन्ती मनाउन लुम्बिनी आएका छन्। यस वर्षको बुद्धजयन्ती समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, पर्यटन मन्त्री रवीन्द्र अधिकारी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, एनआरएन अध्यक्ष भवन भट्टलगायत देश विदेशका विशिष्ट पाहुनाहरू आउने भएपछि लुम्बिनीमा चहलपहल बढेको छ।

चार वटै सुरक्षा निकाय परिचालन

चहलपहल बढेसँगै स्थानीय प्रशासनले लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारेको छ। देशका चार वटै सुरक्षा निकाय सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका हजारौं सुरक्षाकर्मी परिचालन गरिएका छन्। साथै लुम्बिनी विकास कोषको आन्तिरक सुरक्षा विभागलाई पनि परिचालन गरिएको छ।

व्यक्तित्वअनुसार उनीहरूलाई सोही किसिमको सुरक्षा प्रदान गरिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए। भीभीआईपीका लागि क्रमशः पहिलो घेरामा नेपाली सेना, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरोमा नेपाल प्रहरी तैनाथ रहने व्यवस्था मिलाइएको उनले बताए। राष्टिय अनुसन्धान विभागलाई पनि सुरक्षार्थ खटाइएको छ।

२५६२ वटा दीप प्रज्वलन गरिने

मायादेवी मन्दिर परिसरमा लुम्बिनी विकास कोषलगायत विभिन्न संघसंस्थाले २५६२ वटा दीप प्रज्वलन गर्ने भएका छन्। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि यसरी दीप प्रज्वलन हुन लागेको हो।

बुद्धको अस्तु धातु प्रदर्शन

अन्तर्राष्ट्रिय बौद्ध समाज लुम्बिनीले भगवान् बुद्धको अस्तु धातुको सार्वजनिक प्रदर्शन गराउने भएको छ। समाजले प्रत्येक वर्ष बुद्धजयन्तीका दिन सर्वसाधारणलाई बुद्धको अस्तुधातु सार्वजनिक प्रदर्शन गराउँदै आएको छ। आजै सर्वसाधारणलाई बुद्ध अस्तुधातु अवलोकन गराउने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष एवं लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रेय महास्थवीरले बताए।

अस्तुधातुलाई सर्वज्ञ धातु पनि भन्ने गरिन्छ। अस्तुधातुलाई श्रीलंकाबाट अमरपुर संघका सभापति श्रीलंका सरकारका धार्मिक सल्लाहकारले आफ्नो मन्दिरमा राखेर पूजा गर्ने गरेको श्रीलंका सरकारमार्फत समाजका संस्थापक अध्यक्षलाई प्रदान गरेको हो। संस्थापक अध्यक्ष भिक्षु मैत्रीले श्रीलंका सरकारको अनुरोधमा त्यहाँ १२ वर्षसम्म बुद्ध धर्म अध्ययनका साथै बौद्ध शिक्षकका रूपमा कार्य गरी श्रीलंका रेडियोमा ६ वर्षसम्म सिंहाली, नेपाली र हिन्दी भाषामा कार्यक्रम प्रस्तुत गरेका थिए। यो अस्तुधातु नेपालमा २०५० सालमा ल्याइएको हो। लुम्बिनीसँगै आनन्दकुटी विहार काठमाडौं र हिरण्यवर्ण महाविहार पाटनमा समेत भिक्षुमैत्रीमार्फत अस्तुधातु ल्याइएको हो।

बुद्धको मूर्तिलाई हात्तीमा परिक्रमा गराइने

लुम्बिनी सांस्कृतिक नगरपालिकाको पुरानो बजार महिलवारमा स्थानीय सबै भेला भई दुई हात्तीसहित र्‍याली निकाली मायादेवी मन्दिरमा जाने र त्यहाँ भिक्षुहरूले मायादेवी मन्दिर परिसरमा शिलप्रार्थना, बुद्ध बद्धना सम्पन्नपश्चात् त्यहाँबाट बुद्धका तीन रुप (जन्म, ज्ञानप्राप्ति र महापरीनिर्वाण) सहितको मूर्तिलाई हात्तीमाथि राखी मायादेवी मन्दिर परिक्रमा गराई त्यहाँको उत्तर ढोका (प्रवेशद्वार)बाट हात्तीसहित शान्ति पदयात्रा निस्कनेछ।

प्रधानमन्त्री ओलीसहित सरकारका मन्त्रीहरू, प्रदेशसभाका मुख्यमन्त्री, मन्त्री, सांसद, लुम्बिनीस्थित स्वदेशी तथा विदेशी प्रमुख भिक्षुहरू, विशिष्ट व्यक्तिहरू, सर्वसाधारणसहितको पदयात्रा शान्ति दीपबाट केन्द्रीय नहरको तट हुँदै मुख्य कार्यक्रमस्थल संग्रहालय पुग्नेछ छ। हात्तीसहित र्‍याली कार्यक्रमको संयोजन लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीले गरेको छ।

नेपाली सेनाद्वारा अस्थायी सभाहल निर्माण

विगतमा बुद्धजयन्ती कार्यक्रमस्थल अस्तव्यस्त रहेको स्वयं प्रधानमन्त्री केपी ओलीले दुई वर्षअघि प्रधानमन्त्रीकै रूपमा आउँदा देखेका थिए। यस वर्ष करिब दुई महिनाअघि बुद्धजयन्ती कार्यक्रमको जानकारी उनले रुचिपूर्वक सोधेका थिए।

त्यसैले अहिले सेनाले अस्थायी रूपमै भए पनि तीन हजार क्षमताको इन्डोर सभाहल निर्माण गरेको छ। सोही सभाहलमा आइतबार लुम्बिनी विश्व विद्यालयको प्रथम दीक्षान्त समारोह सम्पन्न भएको छ। तीन करोड ९७ लाख रुपैयाँको लागतमा अस्थायी संरचनाका रूपमा कम्तीमा पाँच वर्षसम्म प्रयोग गर्न मिल्ने गरी सभाहल निर्माण भएको हो।

शान्ति पुरस्कार घोषणा भएन

सरकारले प्रदान गर्ने ५० हजार अमेरिकी डलर राशिको शान्ति पुरस्कार घोषणा यस पटक पनि हुन सकेन। लुम्बिनी विकास कोषले प्रदान गर्ने शान्ति पुरस्कार यस पटक प्राविधिक कारणले घोषणा नभएको बताउँदै छिट्टै विशेष कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिने जनाइएको छ। पहिलो पटक यो पुरस्कार जापानको हिरोसिमा र नागासाकीका मेयरलाई प्रदान गरिएको थियो।

आगन्तुकलाई निःशुल्क भोजन

लुम्बिनीस्थित कासाई होटलले ६ हजारभन्दा बढीलाई निःशुल्क भोजन गराउने भएको छ। होटलका अध्यक्ष नोर्बु कासाईले हरेक वर्ष बुद्धजयन्तीका दिन लुम्बिनी कार्यक्रममा आउने आम सर्वसाधारणलाई निःशुल्क भोजन गराउँदै आएका छन्। नौ वर्षदेखि निःशुल्क भोजन तथा बुद्धजयन्ती कार्यक्रमलाई सहयोग गर्दै आएका अध्यक्ष कासाईले सहयोग र भोजन कार्यलाई निरन्तरता दिँदै आएका हुन्। गत वर्ष पाँच हजारलाई भोजन गराइएकोमा यस वर्ष ६ हजारलाई भोजन गराउने तयारी भएको होटलका महाप्रबन्धक विनेश मानन्धरले जानकारी दिए।

पशुपन्छी बध नगर्न आग्रह

बुद्ध पूर्णिमाका दिन पशुपन्छी बध तथा माछामासु बिक्री वितरण कार्य नगर्न रूपन्देही सिद्धार्थनगर नगरपालिकाले सबैमा आग्रह गरेको छ। बुद्धजन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको नगरपालिकाले विज्ञप्ति जारी गर्दै हत्याहिंसा नगर्न बुद्धको ज्ञान र शिक्षालाई आत्मसाथ गर्दै त्यस्ता कार्य नगर्न अनुरोध गरेको हो। कार्यालयले बुद्ध पूर्णिमाका दिन घरघरमा दीप प्रज्वलन गरी बुद्धको शिक्षा फैलाउन सबै नगरवासीमा आग्रह गरेको छ। लुम्बिनी जाने यात्रुहरूलाई नगरबाटै बुद्धजन्मस्थलमा रहेको आभास दिलाउन कार्यालयले नगरका सबै विद्युत् पोलमा नेपालको राष्ट्रिय र बौद्ध झण्डा राखेको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.