नयाँ पढाइ : इन्टेरियर डिजाइन

नयाँ पढाइ :  इन्टेरियर डिजाइन

सहरमा घर ठड्याउने जो कोहीको पनि सपना हुन्छ । तर, सबैका सपना पूरा हुँदैनन् । जसले घर ठड्याउँछ, उसले आफ्नो घरको साजसज्जामा आफ्नो अलग पहिचान बनाउन, देखाउन चाहन्छ । विशेषतः घर, अपार्टमेन्ट, होटेल, रेस्टुरेन्टमा आफ्नै पहिचान झल्कने डिजाइन हामीले देख्ने गरेका छौं । जस्तो कि हिमालयन जाभाका प्रत्येक आउटलेटमा ह्यान्डिक्राफ्ट र एल्लो लाइटको प्रकाश व्यवस्थापन हुन्छ । घरदेखि कार्यालयको आन्तरिक अर्थात् भित्री सजावटमा कसरी राम्रो लुकआउट दिन सकिन्छ ? यसमा धेरैले विशेषज्ञको सहयोग लिन्छन् । आन्तरिक सजावट विषयले नेपालमा पनि बृहत् स्थान बनाउँदै यसबारे इन्टेरियर डिजाइन कोर्सको पढाइसमेत थालनी गरिएको छ ।

वाल आर्टटेस्टरी इम्पेररका निर्देशक मनीष जैन इन्टेरियर डिजाइनले आफ्नोपन महसुस गराउने बताउँछन् । हरेक दिन नयाँनयाँ ग्राहकको डिमान्डले उनको इन्टेरियर डिजाइनर र आर्किटेक्टटलाई केही नयाँ सोच्न बाध्य बनाउँछ । वाल प्रिन्टिङसम्बन्धी काम गर्दै र अरूलाई पनि रोजगारी दिँदै आएका जैन भन्छन्, ‘यो पेसामा लागेको ६ वर्ष भयो । हिजोभन्दा आज झन् यसको माग बढ्दो छ । होटेल, हस्पिटल र अपार्टमेन्टका साथसाथै मानिसले आफ्नो साधारण घरको भित्ता पनि कलात्मक बनाउन रुचाइ रहेका छन् ।’

जसरी आधुनिक फेसनका लुगामा बुट्टा भरेर, नयाँनयाँ शैलीमा कट आउट गरेर डिजाइनमा लुक दिइन्छ, त्यसरी नै घरका सादा र रंगविहीन भित्ता, सिलिङ र रुमको बनावट इन्टेरियर डिजाइनमार्फत नयाँ रूप दिइन्छ । यो कला एक डिजाइनरको कल्पनाशक्ति र सिर्जनशीलतामा आधारित हुन्छ । नेपालमा पहिलो मुस्लिम आर्किटेक्ट र इन्टेरियर डिजाइनर तबासुम सिदिगी मौलिकतामा नयाँपन दिनु नै इन्टेरियर डिजाइन भएको बताउँछिन् । ‘समयको बदलावसँगै हाम्रो परम्परा र संस्कृतिको जगेर्ना गर्दै काम गर्नुपर्छ । योजना र सही वस्तुहरूको प्रयोगले इन्टेरियर डिजाइनलाई सफल बनाउँछ ।’ उनी भन्छिन् । समय परिवर्तनशील छ, सोहीअनुसार हाम्रा इच्छा आकांक्षाहरू पनि बदलिन्छन् । उनको विचारमा इन्टेरियर डिजाइन एक पटक प्रयोग गरेपछि जीवनभर त्यही बनावटमा चित्त बुझाउनु पर्छ भन्ने छैन । आफ्नो इच्छाअनुसार यसलाई बारम्बार परिवर्तन गर्न पनि सकिन्छ ।

सिदिगी भन्छिन्, ‘अन्य सम्मानित पेसाजस्तै यसबाट पनि राम्रो कमाइ गर्न सकिन्छ तर समयअनुसार डिजाइनर ‘अपग्रेड’ हुन सक्नुपर्छ ।’ लाहोरको नेसनल कलेज अफ आर्टबाट सन् २००६ मा इन्टेरियर डिजाइनमा स्नातकत्तोर गरेकी सिदिगी इन्टेरियर डिजाइनको विषयमा हाम्रो समाजमा गलत धारणा रहेको बताउँछिन् । घर बनाएसँगै इन्टेरियर डिजाइनको लागि छुट्टै बजेट त चाहिन्छ, तर अधिक खर्च हुन्छ भनेर तर्सिनुपर्ने अवस्था पनि छैन । सिदिगी भन्छिन्, ‘वास्तवमा यो बजारमा सहजै उपलब्ध हुने सामानको उचित प्रयोगले थोरै खर्चमा पनि सम्भव छ ।’

अन्य पेसाजस्तै इन्टेरियर डिजाइनबाट पनि राम्रो कमाइ गर्न सकिन्छ । तर, समयअनुसार डिजाइनर ‘अपग्रेड’ हुन सक्नुपर्छ ।

सहरमा ठूल्ठूला तारेहोटल तथा रेस्टुरेन्ट धमाधम खुल्दैछन् । तिनलाई आकर्षक रूप दिन इन्टेरियर डिजाइनरहरूलाई भ्याइनभ्याइ छ । प्रतिस्क्वायर ३० देखि ५० रुपैयाँमा नै डिजाइनको काम सम्पन्न हुन्छ । तर एउटा घरको कोठामा डिजाइनिङ र डेकोरेसन दुवै गर्नु परे सामानसहित प्रतिस्क्वायर फिट एक हजारदेखि १५ सय पर्न आउँछ । तर होटेलहरूका लागि भने दुई हजारदेखि ३५ सयसम्म खर्च हुन्छ । इन्टेरियर डिजाइनरहरू मासिक रूपमा काम गरे पनि औसत ३५ हजारसम्म पारि श्रमिक लिन्छन् । कन्सलटेन्टहरू भने कामको अवस्थाअनुसार आफ्नो पारि श्रमिक तोक्छन् ।

इन्टेरियर पोइन्टका प्रबन्ध निर्देशक चन्द्रप्रसाद हुमागाईंले दुबईमा पाँच वर्ष बसेर इन्टेरियर डिजाइनको काम सिके । पछि नेपालमै केही गर्न सकिने सोचेर फर्किए । ‘सुरुसुरुका दिनमा मानिसलाई यसबारे सम्झाउनै मुस्किल प¥यो’, उनले दस वर्ष अगाडिको समय सम्झे अनि फेरि भन्दै गए, ‘म मेरो आइडिया लिएर घरघर चहारेँ, कसैले वास्ता गरेनन् । तर, आज मेरो घर सजाइदिनु प¥यो भन्दै मानिसहरू अफिसमै खोज्दै आउँछन् ।’ विगत सुनाउँदै हुमागाईं भावुक बन्छन्, लगत्तै मुस्कुराउँछन् पनि ।

इन्टेरियर डिजाइनिङ गर्ने मात्र होइन, योसँग अन्य पेसाका व्यक्तिहरू पनि जोडिएका हुन्छन् । इन्टेरियर डिजाइनमा फर्निसिङ गर्नेदेखि लिएर कलरिङ लाइटिङ, विभिन्न फर्निचरका सामान प्रयोग गर्ने अनि पेन्टिङ, प्रिन्टिङ सबै पर्छ । घरमा कुन सामान कहाँ, कुन कुनामा राख्ने र कसरी आकर्षक लुक दिने भन्ने कुरा डिजाइनरले गर्छ तर फिटिङ गर्ने कार्य अन्य व्यक्तिहरूबाट हुन्छ । हुमागाईं सम्झन्छन्, ‘एक दशकअघि ठूला घरानाका मानिस मात्र यसका सौखिन थिए । आज सामान्य व्यक्ति पनि आफ्नो घर सजाउन अग्रसर हुन्छन् । उनी भन्छन्, ‘यो पेसामा महिला धेरै छन् ।’ उनको अफिसमा पनि डिजाइनिङमा महिला नै छन् । हुमागाईं भन्छन्, ‘घर सजाउने मामिलामा महिलाको च्वाइस राम्रो हुन्छ ।’

बिरा फर्निचरमा इन्टेरियर डिजाइनिङमा सात वर्षदेखि काम गर्दै आएकी प्रकृति श्रेष्ठ आफ्नो कामप्रति निकै सन्तुष्ट छिन् । सुरुसुरुमा आफ्नो बुबालाई यो विषय पढ्ने भनेर मनाउन निकै गाह्रो भयो उनलाई । ‘अहिले मेरो प्रोगेस देखेर उहाँ मक्ख हुनुहुन्छ,’ उनले गर्व गर्दै सुनाइन् । २०६२ सालमा प्रकृतिले इन्टेरियर डिजाइनमा ब्याचलर पढिन् । त्यतिबेला उनलाई पढ्न भने त्यति सहज थिएन । स्रोतको अभावमा सामग्रीका लागि पुराना किताब र पुराना इन्डियन म्यागजिन किन्थिन् ।

राम्रो कमाइ हुने यो पेसामा कुनै अफिससँग सम्बद्ध हुने लगायत घरमै पनि छुट्टै काम लिएर गर्न सकिन्छ । कान्तिपुर होटेल म्यानेजमेन्ट कलेज (केएचएमसी), बुद्धनगरबाट ब्याचलर सकाएकी प्रकृतिले थुप्रै होटेल तथा रेसिडेन्टहरूको सजावटसम्बन्धी डिजाइन गरी सकिन् ।

कैलाली, टीकापुरकी प्रेरणा चौधरी, नेपाल इन्जिनियरिङ कलेजबाट आर्किटेक्ट डिजाइनिङमा पाँचवर्षे कोर्स गर्दैछिन् । यो कोर्स पूरा गर्न साढे दस लाखसम्म खर्च हुने उनी बताउँछिन् । कुनै पनि कुरा योजनाबद्ध रूपमा तयार गर्नुपर्छ र यसकै लागि आर्किटेक्ट डिजाइनिङ पढ्नुपर्छ, उनी भन्छिन् । प्रेरणाका अनुसार पनि प्रायः महिला नै यो पेसाप्रति आकर्षित छन् । ‘मेरै कक्षामा ४० मध्ये आठ जना मात्र केटा विद्यार्थी छन्, बाँकी सबै केटी,’ उनले सुनाइन् । यो विषयमा नेपालका कलेजहरू अझै व्यावहारिक शिक्षा दिनेतर्फ जान नसकेको चौधरीको बुझाइ छ । प्रेरणाका अनुसार नेपालमा घर बनाउँदा इन्जिनियरको माग बढी हुन्छ तर घर कसरी बनाउने र कुन डिजाइनमा बनाउँदा उपयुक्त हुन्छ भन्ने कुरा आर्किटेकलाई बढी थाहा हुन्छ । ‘नेपालमा बनेका ठूल्ठूला स्ट्रक्चर वातावरण मैत्री नहुनुमा सायद यही कारण छ’, उनले भनिन् ।

नेपालमा अहिलेसम्म (केएचएमसी) र आईसी कलेज अफ आर्ट एन्ड फेसन गरी दुई ओटा कलेजले मात्र इन्टेरियर डिजाइनको स्नातक तहसम्मको अध्यापन गराउँछन् । केएचएमसीका इन्टेरियर डिजाइन विभागीय प्रमुख विकास बासुकलाका अनुसार मास्टर लेभलको पढाइ यहाँ हुन सकेको छैन । सन् २००० मा स्थापना भएको उक्त कलेजमा २००२ देखि इन्टेरियर डिजाइनको पढाइ सुरु भएको हो । प्रत्येक वर्ष ३० भन्दा बढी विद्यार्थी यहाँ भर्ना हुन्छन् । ‘यो कोर्स इन्जिनियरिङ र मेडिकलजस्तो महँगो छैन । पाँचदेखि ६ लाखमै ब्याचलर पढ्न सकिन्छ,’ बासुकला भन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.