गाउँपालिकाको केन्द्र पुग्न तीन दिन
गोरखा : गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका अध्यक्ष वीरबहादुर लामा गाउँपालिकाको बैठकमा सहभागी हुन लगलग ३ दिन पैदल हिँड्छन्। गाउँपालिकाको केन्द्र वडा नं ३ को फिलिममा पर्छ।
वडासदस्यको साथमा सामागाउँबाट हिँडेको पहिलो दिन ९ घन्टा हिँडेपछि वडा नं. ४ को नामु्रङ गाउँमा बास बस्छन्। दोस्रो दिन बूढीगण्डकीको किनारै किनार अर्को ९ घण्टा हिँडेपछि ड्याङमा बास पर्छ। ‘तेस्रो दिन बेलुका बल्ल फिलिम पुगिन्छ’, लामा भन्छन्, ‘बैठक सकेर फर्कंदा उकालो हिँड्नुपर्छ। ३ दिनमा पनि घर पुग्न मुस्किल पर्छ।’
जनप्रतिनिधि नियमित बैठकमा सहभागी हुन मात्रै होइन, सेवाग्राहीलाई समेत कठिन भएको उनको भनाइ छ। चुमनुब्री सडक सञ्जालले नछोएको दुर्गम गाउँपालिका हो। यसको सातवटै वडा हिमालपारि तिब्बतको सीमामा पर्छ। यातायात सुविधा नहुँदा सर्वसाधारण सेवाग्राही र जनप्रतिनिधिलाई गाउँपालिका केन्द्र पुग्न सकस हुने वडासदस्य मिङ्मार लामा बताउँछन्। ‘नागरिकता, मालपोत, नापीको काम गर्न, कृषि, पशु, शिक्षा कार्यालयको काम गर्न जनतालाई फिलिम नपुगी सुख छैन’, उनी भन्छन्, ‘जनप्रतिनिधि आफ्नो घरको काम छाडेर हिँड्नुपर्छ। कुनै बेला खल्तीमा बाटोखर्चसमेत हुँदैन। टुरिस्ट लाइनको होटलमा बस्नुपर्छ। गाह्रो छ।’
अहिलेसम्म सरकारी सेवा सुविधा केही नलिएको वडासदस्य लामाले बताए। ‘खासमा भन्ने हो भने गाउँपालिकाको केन्द्र मिलेको छैन’, उनी भन्छन्, ‘१ डेढ दिनसम्म हिँड्नुपरेको भए ठिकै हुन्थ्यो तर पुग्न ३ दिन, फर्किन चार दिन लाग्ने भनेको सानो कुरा हो ? ’ यस्तै विभिन्न कारणले नागरिकले संघीयताको अनुभूति गर्न नपाएको उनको भनाइ छ।
गाउँपालिकाको केन्द्र पुग्न बढीमा २ घण्टा लाग्ने भन्ने सरकारी नीति–नियम कार्यान्वयन नभएको वडाध्यक्ष वीरबहादुर लामाको भनाइ छ। ‘बढीमा २ घन्टा हिँडेपछि पुगिने ठाउँमा केन्द्र राख्नुपर्छ भनेर सरकार आफैंले भनेको हो’, उनी भन्छन्, ‘तर हाम्रो ठाउँको हालत यस्तो छ। कसलाई के भन्ने ? ’
६ वटा वडा सचिवविहीन
नयाँ संविधान कार्यान्वयन भएर १ वर्षदेखि जनप्रतिनिधिबाट सेवा सुविधा पाउने भनिए पनि चुमनुब्री गाउँपालिकाका बासिन्दाले सरकारी कर्मचारीबाट सेवा पाएका छैनन्। गाउँपालिकाको ७ वटा वडामध्ये ६ वटा वडा सचिवविहीन रहेको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङ बताउँछिन्। ‘वडा नं. ७ मा चाहिँ सचिव हुनुहुन्छ। उहाँ पनि गोरखाबजारतिरै बस्नुहुन्छ’, गुरुङ भन्छिन्, ‘वडा नं. ६ को काम पनि उहाँले गरिरहनुभएको छ। बाँकी वडामा सचिव छैनन्।’ कसैको बढुवा र कोही सरुवा भएको जानकारी पाएको उनले बताइन्।
वडासचिव नहुँदा सिफारिस लेख्ने, व्यक्तिगत घटना दर्ता गर्ने काममा समस्या भएको वडा नं. ४ का अध्यक्ष पेमा डुण्ढुप लामा बताउँछन्। ‘जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता गर्न समस्या भएको छ’, उनी भन्छन्, ‘पढे÷लेखेका वडाध्यक्ष भए त आफैंले गर्छन्। दुर्गमका धेरै वडाध्यक्षलाई लेखपढ गर्नसमेत आउँदैन। बैठकको निर्णय लेख्न त समस्या छ।’ प्राविधिक सहायकले केही काम टारिरहे पनि घटना दर्ता र चेकमा सही गर्न सचिव चाहिने भएकाले समस्या भएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !