स्थानीयले खने वातावरणमैत्री सडक

स्थानीयले खने वातावरणमैत्री सडक

बैतडी : बैतडीका धेरैजसो ठाउँमा सडक निर्माणका लागि जेसीबी र एस्काभेटर सञ्चालन भइरहेका छन् । जेसीबी र एस्काभेटरले गाउँगाउँमा सडक निर्माण गरिरहेका बेला मेलौली नगरपालिकाको स्वाखान–थ्वाँ–गाउँकोट सडक भने स्थानीयले नै हाते औजारले खनिरहेका छन् ।

मेसिनका कारण स्थानीयले रोजगारी नपाएपछि कतिपय भारत गए पनि मेलौली नगरपालिका–७ का महिला र पुरुष सडक निर्माणमा जुटेका हुन् । ग्रामीण सामुदायिक पूर्वाधार कार्यक्रमअन्तर्गत उनीहरू सडक निर्माणमा जुटेका हुन् । डेढ किलोमिटर सडक निर्माणका लागि दैनिक डेढ सय मजदुर संलग्न हुने गरेको ग्रामीण सामुदायिक पूर्वाधार कार्यक्रमका ओभर्सियर हरीश लुहारले बताए । ‘हामीले कामका लागि नगद कार्यक्रमअन्तर्गत स्थानीयकै सहयोगमा सडक निर्माण गरिरहेका छौं । यसले गाउँलेलाई रोजगारी पनि मिलेको छ । सडक निर्माण पनि भइरहेको छ । मेसिनले जस्तो वातावरणमा प्रभाव पार्ने भन्ने पनि हुँदैन ।’

गाउँको सडक निर्माणमा सहभागी हुन पाएपछि स्थानीय पनि निकै खुसी छन् । ‘अन्य ठाउँमा मेसिनमार्फत काम भइरहे पनि गाउँमा हामी आफैं सडक निर्माणमा जुटेका छौं । हामीलाई रोजगारी पनि मिलेको छ । घरपरिवार चलाउन गाउँमै रोजगार पाएका छौं’, मेलौली–७ का मदनराज भाटले भने, ‘गाउँमा हुने विकास निर्माणमा यसरी नै स्थानीयको सहभागिता भयो भने रोजगारी पनि हुन्छ । काम पनि दिगो हुन्छ ।’

ग्रामीण सामुदायिक पूर्वाधार कार्यक्रमअन्तर्गत स्थानीय नै सडक निर्माणमा जुटेका हुन् ।

स्वाखान–थ्वाँ–गाउँकोट सडक निर्माणमा महिला पनि काममा खटिएका छन् । ‘हामी पनि पुरुषसँगै सडक खन्न व्यस्त छौं । उनीहरूले गर्ने काम हामीले पनि गरिरहेका छौं । गाउँमै केही पैसा कमाउन पाएका छौं’, मेलौली नगरपालिका–७ की रमिला भाटले भनिन् ।

गाउँको सडकमा काम गर्न पाएपछि मेलौली–७ की जसु भाट पनि खुसी छिन् । ‘धेरै ठाउँमा मेसिनले काम गर्छन्’, उनले भनिन्, ‘मेसिनले नै विकासको पैसा खाइदिन्छ । तर हाम्रो गाउँमा सडक निर्माणका लागि स्थानीय जुटेका छौं । हामीलाई रोजगारी पनि मिलेको छ ।’

ग्रामीण सामुदायिक पूर्वाधार कार्यक्रमले स्थानीयलाई रोजगारी दिने किसिमले काम गरिरहेको ओभरसियर लुहारले बताए । ‘त्यसैअन्तर्गत हामीले स्थानीय नागरिक परिचालन गरेर सडक बनाइरहेका हौं’, उनले भने ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.