लमजुङमा यातायात सेवा रोक्ने समितिका पदाधिकारी पक्राउ
बेसीशहर : सार्वजनिक सवारीसाधन बन्द गर्ने यातायात व्यवसायी समितिका दुई पदाधिकारीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ।
लमजुङमा सञ्चालनमा रहेको लमजुङ कालिका सार्वजनिक यातायात सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे र उपाध्यक्ष विश्वम्भर अर्याललाई पक्राउ गरिएको प्रहरी निरिक्षक बुद्धीसागर पुरीले जानकारी दिए। अन्य पदाधिकारीहरुको खोजी भइहेको उनले जानकारी दिए।
सार्वजनिक यातायात बन्द गर्ने पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्देशन दिएलगत्तै प्रहरी प्रशासन सक्रिय भएको हो। लमजुङमा लमजुङ कालिका सार्वजनिक यातायात सञ्चालक समिति र पृथ्वी राजमार्ग बस सञ्चालक समितिले यातायात सञ्चालन गर्दै आएका छन्। यी दुवै समितिले शुक्रबार यातायात चलाएका छैनन्। लामो तथा छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन नहुँदा यात्रु मर्कामा परेका छन्।
देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई लिखित निर्देशन पठाउँदै गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार गाडी सञ्चालन नगर्ने व्यवसायीहरुलाई लाई पक्राउ गर्न निर्देशन दिएका दिएका थिए।