यातायात बन्दले सास्ती

यातायात बन्दले सास्ती

 धनगढी : सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरूले गरेको बन्दका कारण प्रदेश ७ को जनजीवन प्रभाति भएको छ। कैलालीको गौरीफन्टा र कन्चनपुरको बनबासा नाका भएर भारतबाट नेपाल आउने बढी मारमा परेका छन्।

गौरीफन्टाको बाटो भएर डोटीको बर्छेन जान आएका सुरज भुलले शनिबार छोराको विवाह छुट्ने बताए। ‘शनिबार छोरोको बिहे छ, कसरी जाने हो’, धनगढी बसपार्कमा भेटिएका सुरजले भने, ‘बन्द भन्ने हामीलाई थाहै थिएन।’ सुरज बिहीबार दिउँसो भारतबाट धनगढी पुगेका हुन्। उनले छोराको बिहेका लागि ल्याएको पैसा यतै बसेर सकिने अवस्था आएको बताए। भारतको मुम्बईबाटै आएका पुरन नेपालीको पनि २२ गते भाइको बिहे छुट्ने भएको छ। ‘भाइको बिहेका लागि घर आएको हुँ, बन्दमा परेर बीच बाटोमै अलपत्र भएँ’, छोरीसहित भारतबाट आएका उनले गाडी नखुले भारत फर्किने बताए।

भारतमा भएकाले उनीहरूलाई नेपाल बन्दबारे खासै थाहा हुँदैन। ‘बन्दबारे केही थाहा थिएन’, अछाम साफेँबगर–३ झकालेका अर्जुन आउजी भन्छन्, ‘शनिबार मैले पूजामा नपुगी हुँदैन।’ लोक सेवा पास गरी मौखिक परीक्षा दिन २३ गते काठमाडौं जानुपर्ने धनगढीका सुवास खड्का पनि समस्यामा छन्। ‘बल्ल तल्ल लिखितमा नाम निकालियो, त्यो पनि हुने नहुने केही थाहा छैन’, खड्काले भने, ‘२३ गते परीक्षा छ के गर्ने होला।’ यातायात व्यवसायीहरूको सिन्डिकेट तोड्न सरकारले चालेको कदमविरुद्ध उत्रेका यातायात व्यवसायीहरूले शुक्रबार देशैभरी सवारीसाधान ठप्प पारेका छन्।

धनगढीसहित पहाडी सात जिल्लामा सवारीसाधन चलेका छैनन्। समितिको निर्देशनअनुसार बस व्यवसायीहरूले बसपार्क र घरमा सवारीसाधन थन्काएका छन्। त्यसमाथि शनिबार हुने भनिएको विप्लव माओवादीको बन्दको हल्लाले उनीहरूलाई झनै त्रसित बनाएको छ। सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात व्यवसायीले यातायात बन्द गरेका हुन्। बन्दले जिल्लाभित्रै पनि विभिन्न ठाउँ जानेहरू अटो रिक्सामा महँगो भाडा तिर्न बाध्य भएका छन्। केही निजी सवारीसाधनमार्फत महँगो भाडा तिरेर गन्तव्यतर्फ गएका छन्।

बैतडी सुनसान

सिन्डिकेट प्रणाली खारेज गर्ने सरकारको निर्णयविरुद्ध उत्रेका यातायात व्यवसायीको सवारीसाधन बन्दका कारण बैतडी पनि सुनसान बनेको छ। बैतडीमा महाकाली यातायातका केही जिप चले पनि उनीहरूले पनि शुक्रबार गाडी बाहिर निकालेनन्। ‘बैंकको कामले बैतडी सदरमुकाम जाने भनेर आएको गाडी नचल्दा समस्या भयो।’ सुर्नया गाउँपालिका ६ का भवानीदत्त अवस्थीले भने, ‘गाडी नचल्दा हामीलाई धेरै सास्ती भएको छ।’ बैतडीमा निजी गाडीहरू पनि कम हुँदा सडकमा गाडी निकै कम गुडेको छ। ‘हामीले समितिको निर्णयअनुसार जिप बन्द गरेका हौं। समितिले नचलाउने भनेको छ।’

जिप व्यवसायी मानबहादुर टेरले भने, ‘यातायात व्यवसायीहरूको केन्द्रीय कार्यक्रमअनुसार नै हामीले सवारीसाधन बन्द गरेका हौं।’ गाडी नचल्दा विभिन्न कामले सदरमुकाम पुग्ने र सदरमुकामबाट गन्तव्यतिर जाने यात्रुहरू मारमा परेका छन्। यस्तै बैतडीबाट तराई जाने यात्रुहरूसमेत बिचल्लीमा परेका छन्। ‘बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन्। समितिका सबै पदाधिकारी तराईतिर भएकाले यता समन्वय गर्न पनि सकिएको छैन’, प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले भने, ‘जबरजस्ती चलाऊ भन्ने पनि भएन।’

डोटीका यात्रु पनि सकसमा

डोटीको दुर्गम क्षेत्र सायल गाउँपालिकाको छपाली गाउँका गणेश रोकाया कोहलपुर मेडिकल कलेजमा बिरामी आफन्त भेट्न बिहीबार अबेर रातिसम्म सिलगढी पुगे तर शुक्रबारको बन्दका कारण उनी बसपार्क आउने÷जाने गरिरहेका छन्। बिरामीको कुरुवा बस्न उनी नेपालगन्ज जाने भनेर घरबाट निस्केका हुन्। ‘अस्पतालमा बिरामी छट्पटाइरहेको छ, यता यातायात नचलेका कारण म भौंतारिरहेको छु’, उनले भने। यातायात बन्दका कारण रोकायजस्तै कयौं यात्रु दिपायल र सिलगढीमा अलपत्र छन्। सिन्डिकेट तोड्न सरकारले चालेको कदमविरुद्ध उत्रेका यातायात व्यवसायीले सवारीसाधन नचलाउँदा जिल्लाबाट बाहिर जाने यात्रुहरूको बिचल्ली भएको छ। डोटीबाट सञ्चालन हुने शैलेश्वरी यातायात व्यवसायी संघले पनि आफू मातहतका सवारीसाधनहरू बन्द गराएको छ। ग्रामीण भेगमा सञ्चालन हुने यातायातसमेत बन्द गरिएको शैलेश्वरी यातायात व्यवसायी संघका अध्यक्ष गणेश मलासीले बताए। बन्दका कारण डोटी भएर अछाम तथा बाजुराबाट आउने सवारीसाधन पनि चलेका छैनन्।

कन्चनपुरमा स्कर्टिङ

यातायात बन्दले कन्चनपुरको जनजीवन अन्यजस्तै छ। यातायात व्यवसायी समितिहरूले आफ्ना सवारीसाधन थन्काएर राखेपछि निर्वाध रूपमा कन्चनपुरमा समेत सवारीसाधन चल्न सकेका छैनन्। सवारीसाधन सञ्चालन हुन नसकेपछि गन्तव्यमा हिँडेका यात्रुहरू मारमा परेका छन्। प्रालिअन्तर्गत रहेका र निजी सवारीसाधन भने सञ्चालनमा छन्। महेन्द्रनगरमा रहेको नमस्ते यातायात प्रालिका सवारीसाधन सञ्चालन भइरहेका छन्। अन्य निजी सवारीसाधनसमेत सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। सवारीसाधन सञ्चालन गर्ने प्रालिका सवारीसाधनलाई प्रशासनले स्कर्टिङ गरिरहेको छ।

वडा प्रहरी कार्यालयले महेन्द्रनगरबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीसाधनलाई स्कर्टिङ गरिरहेको छ। वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश भट्टका अनुसार कैलालीको अत्तरियासम्म स्कर्टिङ गरेर सवारीसाधन पु¥याउने काम भइरहेको छ। समितिबाट सञ्चालन हुने सवारीसाधन नचलेपछि यात्रुहरूलाई भने सास्ती भएको छ। महेन्द्रनगर बसपार्कमा बिहानैदेखि विभिन्न गन्तव्यमा जान हिँडेका यात्रु रोकिएका छन्। प्रालिबाट सञ्चालनमा रहेका सवारीसाधन चले पनि पर्याप्त नहुँदा यात्रुहरूले मर्कामा छन्।

यातायात व्यवसायीहरूले आन्दोलन निरन्तर जारी राख्ने जनाएका छन्। कन्चनपुरमा महाकाली सेती यातायात व्यवसायी समिति र पवनदूत यातायात व्यवसायी समिति गरी दुई वटा समिति छन्। महाकाली–सेती यातायात व्यवसायी समितिका अध्यक्ष डम्बरराज पन्तले २६ गतेसम्म समेत सरकारले माग सम्बोधन नगरे त्यसपछि अनिश्चितकालीन बन्द गरिने बताए। महाकाली टेम्पु तथा ट्याक्सी व्यवसायी समितिका उपाध्यक्ष ललित जोशीले टेम्पु तथा ट्याक्सी व्यवसायी समितिसमेत आन्दोलनमा रहेको बताए।

डडेलधुरा सुनसान

यातायात बन्दको प्रभावले डडेल्धुरा जिल्ला सदरमकाम पनि सुनसान बनेको छ। तराईका दुई जिल्ला कैलाली र कन्चनपुरबाट सवारी साधन नआएपछि र डडेलधुराकै उग्रतारा यातायात व्यवसायी संघले समेत सवारी साधन नचलाएपछि डडेलधुरा सुनसान भएको हो। सार्वजनिक यातायातका गाडीहरू बन्द गरिएको डडेलधुरा उग्रतारा सार्वजनिक यातायातका अध्यक्ष पदमराज जैसीले जानकारी दिए। जिल्ला भएर आवतजावत गर्ने सवारीसाधन नचलेपछि जिल्लाको चहलपहल घटेको छ। डडेलधुरा भएरै अन्य पहाडी जिल्ला डोटी, बझाङ, बैतडी र दार्चुला जाने गाडीहरू पनि नचलेपछि सदरमुकाममा यात्रुहरू अलपत्र परेका छन्।

जिल्लाका दर्जनौं सडकमा गाडी नचल्दा यात्रुहरू झोला बोकेर घर फर्किरहेका दृश्य देखिएका छन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.