इतिहास रच्ने मुुक्केबाज
सन् १९७९ को कुुरो हो। त्यतिबेला ओलम्पिक खेलकुुद सुुरु हुुनुुभन्दा एक वर्षअघि खेलाडी छनोटका लागि ‘प्रिओलम्पिक’ पनि आयोजना हुुन्थ्यो। सन् १९८० को ओलम्पिक रूसमा आयोजना हुुने भएकाले प्रिओलम्पिक पनि रूसमै थियो। नेपालबाट प्रिओलम्पिकमा सहभागिता जनाउन २१ वर्षे एक ठिटो पनि मस्को पुुगेका थिए। ६० केजी तौलसमूहमा भाग लिएका उनको पहिलो भिडन्त एसियन च्याम्पियन मंगोलियन खेलाडीसँग परेको थियो। बक्सिङ खेल्दा लगाउने ‘बुुट’ नभएकाले उनी खाली खुुट्टा नै रिङमा ओर्लिए। तर, तत्कालै रेफ्रीले ‘ह्वेर इज योर बुुट ? ’ भनेर प्रश्न तेर्साए। टुुटेफुुटेको अंग्रेजीमा आफूसँग ‘बुुट’ नभएको जवाफ फर्काउन नपाउँदै रेफ्रीले उनलाई रिङबाट घोक्रेठ्याक लगाइदिए।
एकातिर ‘बुुट’ नभएकाले छनोट खेल नै खेल्न नपाउने भएपछि ओलम्पिकमा छनोट हुुने सपना तुुहिने पीडा अनि, अर्कोतिर स्वदेश फर्कंदा ‘प्रतिद्वन्द्वीसँग डराएर खेलेन’ भन्ने आरोप खेप्नुु पर्ने त्रास। ती युुवाले आँसुु थाम्न सकेनन् र मजैले ‘हिक्का छाड्न थाले। उनी रोएको देखेपछि जापानी टोलीका प्रशिक्षकले आफ्नो खेलाडीको ‘बुुट’ ल्याएर उनलाई दिए। त्यसपछि रिङमा ओर्लिएका उनलाई रेफ्रीले अर्को अप्रत्याशित प्रश्न तेर्साए ‘ह्वेर इज योर कोच ? ’ प्रशिक्षक बिना नै मस्को पुुगेका उनलाई अर्को फसाद पर्यो। तर, संयोगले म्याराथनमा भाग लिन मस्को पुुगेका धावक वैकुुण्ठ मानन्धर हात हल्लाउँदै ‘आई एम कोच’ भन्दै आइपुुगे।
खेल सुुरु भयो, रिङ बाहिरबाट ‘वैकुुण्ठ दाइ’ हात हल्लाएर बक्सिङ खेल्न सिकाउने, अनि रिङभित्र भने मंगोलियन बक्सरको मुुक्का खाँदाखाँदा हैरान। खेलमा हार त पक्का थियो नै। उता खेल सकेर होटेल फर्कंदासम्म त अनुुहार फुुलेर हाँडीजत्रो, आफैंले आफैंलाई नचिन्ने। त्यसपछि त बिर्सेर पनि बक्सिङ रिङमा नओर्लने अठोट गरेछन् उनले।
बक्सिङको रिङमा बिर्सेर पनि पाइला नटेक्ने प्रण गरेका तिनै युुवा पछि गएर नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाउने पहिलो बक्सिङ खेलाडी बने। उनी थिए, उमेशबहादुुर मास्के। सदस्यसचिव शाहले पटकपटक सम्झाएपछि उनी फेरि रिङमा सक्रिय हुुन थाले। प्रिओलम्पिक छनोटबाट फर्किएपछि उनी सन् १९८० मा ‘एसियन बक्सिङ च्याम्पियनसिप’ मा भाग लिन भारतको बम्बई पुुगे। एसियन च्याम्पियनसिपका लागि ओम श्रेष्ठ र नरेन्द्र पुुमासँगै उनले केही समय थाइल्यान्डमा प्रशिक्षण गर्ने अवसर पनि पाएका थिए। त्यसकै नतिजा मास्केले नेपाललाई बक्सिङमा पहिलो अन्तर्राष्ट्रिय पदक दिलाए। एसियन च्याम्पियनसिपको लाइटवेट ६० केजी तौलसमूहमा उनले कांस्य पदक जितेका थिए।
एसियन च्याम्पियनसिपसँग पनि उनको एउटा रमाइलो प्रसंग जोडिएको रैछ। त्यतिबेला नेपाल बक्सिङ संघका अध्यक्ष थिए, विष्णुुगोपाल श्रेष्ठ। श्रेष्ठलाई आफ्ना खेलाडीप्रति अल बढी नै विश्वास थियो। त्यसैले होला, उनले एसियन च्याम्पियनसिपमा आफ्ना खेलाडीले पदक जित्न नसके पद त्याग गर्ने घोषणा गरिदिए। त्यसको मनोवैज्ञानिक दबाब खेलाडीमा पनि परेको थियो।
त्यतिबेला ४४ देशका खेलाडीको सहभागिता रहेको एसियन च्याम्पियनसिपमा पदक जित्नुु निकै ठूलो उपलब्धि थियो। त्यसैले पनि होला, खेलाडीलाई स्वागत गर्न तत्कालीन प्रधानमन्त्री मरीचमानसिंह श्रेष्ठ आफैं विमानस्थल पुुगेका थिए। प्रधानमन्त्रीले पदक जितेको खुुसीमा मास्केलाई १० हजार रुपैयाँ पुुरस्कार पनि दिए।
‘त्यो पदक मेरा लागि धेरै अर्थमा महŒवपूर्ण थियो। एकातिर, बक्सिङमा नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय पदक थियो भने अर्कोतिर त्यो पदकले संघका अध्यक्षको पद पनि जोगिएको थियो’, मास्केले विगत सम्झिए, ‘त्यसमाथि प्रधानमन्त्री आफैं विमानस्थलमा आएर १० हजार रुपैयाँ पुुरस्कार दिँदा त गर्वले छाती नै ढक्क फुुल्यो।’
न्युुरोड, वसन्तपुुरको मरुटोलमा जन्मिएका मास्केको साइँला दाइ किरण मास्के आफैं पनि बक्सिङ खेलाडी भएकाले यो खेलमा होमिन उनले परिवारसँग भने खासै ठूलो संघर्ष गर्नुु परेन।
२०२८ सालमा काठमाडौंको जैसीदेवलमा ‘योङ स्टार क्लब’ स्थापना गरिएको थियो। त्यही क्लबमा उनीहरूले बक्सिङको कखरा सिकेका थिए। मास्केसँगै रविराज थापा, दीपक रञ्जितलगायतका आफ्नो समयका चर्चित बक्सिङ खेलाडी पनि त्यही क्लबका उत्पादन हुुन्। केशव स्थापित पनि बक्सिङ सिक्न नियमित रूपमा क्लब धाउँथे।
कुुराकानीको सिलसिलामा एउटा रमाइलो प्रसंग सम्झिएर मास्के मजैले हाँसे। उनका अनुुसार केशव स्थापित भर्खरभर्खर बक्सिङ सिक्न क्लबमा आएका थिए। तर, उनी निकै चलाख थिए। आपसमा भिडन्त गर्दा अनुुभवी खेलाडीले नयाँ खेलाडीमाथि बेस्सरी मुुक्का बर्साउँथे। तर, स्थापित भने कहिल्यै कुुटाइ नखाने। निकैपछि मात्र त्यसको रहस्य खुुल्यो, उनी त आफ्ना प्रतिद्वन्द्वीलाई विस्तारै कानमा साँझको खाजा ख्वाउने लोभ देखाएर पो बढी कुुटाइ खानबाट सधैं जोगिँदा रहेछन्।
नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाउने पहिलो बक्सिङ खेलाडी हुुन्, उमेशबहादुुर मास्के। सन् १९८३ मा जापानमा भएको ‘क्लि फो कप’ प्रतियोगितामा आफ्ना सबै प्रतिद्वन्द्वीलाई ‘नकआउट’ गरेकाले आयोजकले उनलाई ‘मिस्टर नकआउट’को उपाधि दिएका थिए।
मास्केले अन्तर्राष्ट्रिय प्रतियोगितासँगै दुुईवटा ओलम्पिकमा पनि राष्ट्रको प्रतिनिधित्व गरे। मस्को ओलम्पिकको तयारीको बारेमा उनले अर्को रमाइलो प्रसंग कोट्याए। तयारीका लागि खेलाडीलाई दिउँसो १२ बजेको चर्को घाममा खलखल्ती पसिना आउने गरी अभ्यास गराइँदो रहेछ। यसरी नेपाली खेलाडी गर्मीमा खेल्न अभ्यस्त भएका थिए। तर, ओलम्पिकमा सहभागी हुुन मस्को पुुग्दा त बित्यास पर्यो। मस्कोको मौसम त मुुटुु नै कमाउने खालको चिसो। खेलाडी त लुुगलुुग काम्दै ठिक्क। ‘खेल आयोजना स्थलको मौसमको विषयमा सामान्य हेक्का राख्न नसक्दा यस्तो स्थिति सिर्जना भएको थियो’, उनले सुुनाए।
सन् १९८४ मा अमेरिकाको लस एन्जल्समा ओलम्पिक आयोजना हुुँदै थियो। त्यसका लागि खेलाडीलाई गतिलो तयारी गराइएको थियो। त्यतिबेला नेपालमा बक्सिङको छुुट्टै क्रेज भएको र अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत एकपछि अर्को पदक प्राप्त गरेकाले पनि होला, खेलाडीसँगै पदाधिकारीले पनि ओलम्पिकमा उत्कृष्ट प्रदर्शनको आशा गरेका थिए। तर, मस्कोमा उनी नाइजेरियन खेलाडीसँग अंकका आधारमा पराजित भए। एकजना खेलाडीले भने रिङमा प्रतिद्वन्द्वीसँग मजैले पिटाइ खाए। त्यसपछि त्यहाँका केही पत्रपत्रिकाले ‘नेपाली बक्सरले डरले रिङमै पिसाब फेर्यो’ भनेर समाचार लेखिदिए।
त्यो समाचार नेपालसम्म पनि पुुग्यो। स्वदेश फर्कंदा साथीहरूले ओलम्पिकबाट फर्किएका सबै बक्सिङ खेलाडीलाई मुुख देखाउन लाज हुुन्छ भनेर विमानस्थलमै हेलमेट ल्याइदिए। जताततै हाम्रा खेलाडीले रिङमा पिसाब फेरे भनेर निराधार हल्ला चल्यो, मुुख देखाउनै गाह्रो भयो। ‘हामी बाहिर हिँड्ने छाड्यौं, कतै जानुु परे पनि हेलमेटले मुुख छोपेर हिँड्थ्यौं। पछि एकजना साथी त नेपाल बस्न नसकेर विदेशतिर हानिए’, अहिले पनि मास्केलाई त्यो क्षण सम्झँदा हाँसो उठ्छ रे।
सन् १९८४ को ओलम्पिकपछि सक्रिय खेलजीवनबाट बिदा लिएका मास्केले त्यसबीचमा सन् १९८२ मा जापान र थाइल्यान्डमा भएको ‘किङ्स कप’, सन् १९८३ मा जापानमै भएको ‘क्लि फो कप’ जस्ता थुुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर पदक जिते। ‘क्लि फो कप’ मा दलबहादुुर रानामगर र उनले स्वर्ण पदक नै जितेका थिए। त्यो प्रतियोगितामा त मास्केले ‘मिस्टर नकआउट’ को उपाधिसमेत हात पारेका थिए। त्यसको पछाडि पनि एउटा रमाइलो कारण जोडिएको रहेछ। अन्तर्राष्ट्रिय बक्सिङ महासंघको नियमअनुुसार, एउटा खेलाडीले एकै दिन दुुइटा ‘बाउट’ खेल्न पाउँदैन।
तर, त्यो प्रतियोगितामा उनले एकै दिन दुुइटा ‘बाउट’ खेल्नुुपर्ने भयो। पहिलो ‘बाउट’ मा उनले बंगलादेशी खलाडीलाई ‘नकआउट’ गरे। प्रतियोगिता त्यही दिन सक्नुुपर्ने भएकाले आयोजकले उनलाई अर्को ‘बाउट’ खेल्न सक्छौं ? भनेर सोधे। पहिलो खेलमा प्रतिद्वन्द्वीलाई नकआउट गरेको उन्मादसँगै युुवा जोस पनि थियो। रूसी प्रशिक्षक फिलोमिनोसँग अनुुमति लिएर दोस्रो बाउट खेल्न उनी रिङमा ओर्लिएँ। दर्शक, सहभागी खेलाडी र पदाधिकारी त्यतिखेर अचम्ममा परे जब, खेल सुुरु भएको केही समयभित्रै उनले श्रीलंकाली खेलाडीलाई पनि ‘नकआउट’ गरिदिए। प्रतियोगितामा आफ्ना सबै प्रतिद्वन्द्वीलाई ‘नकआउट’ गरेकाले आयोजकले उनलाई ‘मिस्टर नकआउट’ को उपाधि नै थमाएर स्वदेश पठाए।
सक्रिय खेल जीवनबाट बिदा लिएपछि उनी २०५१ देखि २०५६ सालसम्म नेपाल बक्सिङ संघको अध्यक्षका रूपमा सक्रिय रहे। उनकै कार्यकालमा नेपालमा आठौं दक्षिण एसियाली खेलकुुद भयो। त्यो प्रतियोगितामा नेपालबाट सहभागी १० मध्ये दुुई खेलाडी प्रकाश थापामगर र रामचन्द्र थापामगरले स्वर्ण, पाँच खेलाडीले रजत र दुुई खेलाडीले कांस्य पदक जिते। यसलाई पनि उनले आफ्नो सफलता मानेका छन्।
उनी संघको अध्यक्ष हुुँदा सन् १९९६ मा चीनमा ओलम्पिकको छनोट खेल हुुँदै थियो। नेपालबाट १० जना खेलाडी सहभागी हुुने भनिए पनि बेलैमा रकम निकासा हुुन नहुुँदा ट्राभल एजेन्ट्सले उधारोमा प्लेनको टिकट दिन मानेनन्। त्यसपछि उनले ट्राभल एजेन्ट्सलाई आफ्नो गाडी धरौटी राखेर टिकट उपलब्ध गराउन अनुुरोध गरे तर, त्यसमा पनि कुुरा मिल्न सकेन। ‘केही सिप नलागेपछि खेलाडीको विश्वास मर्न नदिन मैले आमा र श्रीमतीको करिब डेढ केजी सुुनका गहना धरौटी राखेर खेलाडीलाई चीन पठाएँ। त्यसका लागि मैले पछिसम्म आमा र श्रीमतीलाई ढाँट्नुुपर्यो। म त्यो क्षण जीवनभर भुुल्न सक्दिनँ’, मास्के भन्छन्। खेलाडी र पदाधिकारीका रूपमा बक्सिङ खेलको विकासमा सहयोग पुुर्याएकै कारण उनले सन् २००४ मा अमेरिकाको बायोग्राफी इन्स्टिच्युुटबाट ‘वर्ष पुुरुष’ अवार्डसमेत पाएका छन्।
पछिल्लो समय नेपालमा बक्सिङको क्रेज र उपलब्धि कम हुुँदै गएकोमा भने मास्के दुुःखी छन्। ‘हरेक राष्ट्रका आआफ्नै विशेषता र सम्भावना हुुन्छन्। अन्तर्राष्ट्रिय खेलवृत्तमा हामीलाई पहिचान दिलाउने खेल भनेकै पावर गेम हुुन्। त्यसैले आगामी दिनमा पनि हाम्रो ध्यान बक्सिङ, तेक्वान्दो, कराँते, भारोत्तोलनजस्ता पावर गेममै केन्द्रित हुुनुुपर्छ। त्यसो हुुनसके मात्र हामीले अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेख्य सफलता हात पार्न सक्छौं’, मास्के भन्छन्।
प्रतिक्रिया दिनुहोस !