सहरी महिलाको श्रम जीवन

सहरी महिलाको श्रम जीवन

आजको सहर मानव सभ्यताको एक उन्नत र आधुनिक चरणको प्रतिविम्ब हो। आज विद्यमान अर्थव्यवस्थाको ढाँचा, शिक्षाको तरिका, विज्ञानका आविष्कार, शासन सञ्चालनका विधि सबैसबैको आरम्भ र निर्धारण सहरबाटै हुन्छ, भइरहेको छ। गाउँहरू र सहरीकरण नभएका आदिवासी इलाकाहरू त यसका प्रयोगस्थल, भोगस्थल र कतिपय अर्थमा परम्परागत प्रतिरोधस्थल मात्रै रहेका छन्।

पछिल्ला केही वर्षमा नेपालका बस्तीहरूलाई महानगर तथा नगरीकरण जति तीव्र रूपमा गरिएको छ, त्यति नै तीव्र गतिमा समृद्धिका नारा पनि फैलाइँदै छ। यो सहरमुखी र 'समृद्धिमुखी' तीव्रताको होडमा महिलाहरूको जिन्दगी कुन तीव्रतामा छ त ? यो निकै कम चासो र कम खोजीको विषय बन्ने गरेको छ।

सहर गाउँभन्दा सुविधायुक्त र सहज पहुँचयुक्त हुन्छ नै। तर, आर्थिक संरचनाका हिसाबले सहरमा पनि हुनेखाने र गरिखाने वर्गको खाडल झन् ठूलो छ। नेपाली सहरमा थोरै संख्याका पुँजीपति र मध्यम वर्ग अनि ठूलो संख्याका निम्नमध्यम वा श्रमिक वर्गको हिस्सा रहेको छ। ग्रामीण अर्थतन्त्र र परम्परागत मूल्यमान्यताभित्र सीमाबद्ध भइबसेका महिलाका तुलनामा सहरमा बस्ने महिलाहरूले जिन्दगी मुक्त हुन्छ। अझ उच्च वर्गका लागि सहर तुलनात्मक रूपमा स्वतन्त्र र सुविधायुक्त जगत् नै मान्न सकिन्छ।

कृषिकर्ममा आधारित ग्रामीण समाजमा महिलाहरूको जीवन घरेलु दासका रूपमा रहन्थ्यो। उनीहरूलाई कामको छनोटको स्वतन्त्रता थिएन। घरदेखि खेत, खेतदेखि गाईबस्तु, वनदेखि घरसम्मको यात्रा नै उनीहरूको श्रमको परिधि हुन्थ्यो। सहरका महिलाका हकमा भने काम छनोटको केही मात्रामा स्वतन्त्रता देख्न सकिन्छ।

सहरका महिलाहरू स्कुल पढाउन, ब्युटी पार्लरमा काम गर्न, उद्योग कलकारखाना वा सरकारी निकायमा जान, सेवा एवं मनोरञ्जन क्षेत्रमा काम गर्न आदि चयन गर्न स्वतन्त्र छन्। यो स्वतन्त्रताका आफ्नै सीमा छन्। परम्परागत वैवाहिक सम्बन्धमा रहेका महिलाहरू सहरमा पनि श्रीमान् (वा परिवार)को अनुमति वा प्रत्यक्ष निगरानीसहित कामका यस्ता क्षेत्र छनोट गर्न मात्रै स्वतन्त्र हुन्छन्।

नेपाली समाज सहर र गाउँको संक्रमणकालीन अवस्थामा पनि छ। अवसर, स्वतन्त्रता, पढ्ने चाहना, ग्रामीण अभाव आदिले सहरमा तीव्रतर ढंगले मानिसहरूको प्रवाह बढिरहेको छ। रोजगारी र कामको खोजी गर्दै विदेश जाने र सहर प्रवेश गर्ने महिलाको संख्या पनि बढिरहेको छ। विवाहित महिला छोराछोरी पढाउन, युवा महिला अध्ययन र अवसर खोजी गर्न गाउँबाट सहरतर्फ गइरहेका छन्। गाउँका मूल्य, संस्कार, रीतिहरूले निर्माण गरेका बन्धनहरूभन्दा सहर उदार र फुका हुन्छ।

नेपाली समाज अहिले संस्कृतिका क्षेत्रमा सामन्तवाद र अर्थव्यवस्थाका रूपमा पुँजीवादको मि श्रणमा बाँचिरहेको छ। यसको सबैभन्दा मार भोग्नेमा श्रमजीवी महिला नै छन्। उनीहरू सामन्तवादी संस्कृति र मूल्यमान्यताबाट उत्पीडित पनि छन्, पुँजीवादी दुनियाँबाट शोषित पनि छन्।

सहरले उपभोगको संस्कार निर्माण गर्न सिकाउँछ, बजारको वस्तु बन्न पनि सिकाउँछ। सहरमा घरबाहिर श्रम गरेको ज्यालाबाट होस् वा विदेशबाट कमाएको 'रेमिट्यान्स', महिलाको आर्जनलाई सहरले विलासी वस्तुको अधिकतम उपभोगको निम्ति खर्च गर्न सिकाउँछ। सहरमा कामकाज दगुरिरहने महिलालाई बजारले 'वर्किङ उमन'का रूपमा प्रोत्साहित मात्रै गर्दैन, त्यस्ता वर्किङ उमन'को छविलाई कस्तो साधन र प्रसाधन चाहिन्छ भनेर 'टाइप' निर्माण पनि गरिरहेको छ। पुँजीवादी व्यवस्थाले झट्ट हेर्दा महिलालाई आत्मनिर्भर चेतनाउन्मुख बनाएको देखाए पनि अन्तर्यमा उपभोक्तावादी दपेटमा लिइरहेको छ।

बेलायती औद्योगिक क्रान्तिको समयमा बेलायती महिलाहरूको जीवनमा अभूतपूर्व असर परेको कुरा हिस्टी क्रन्च अनलाइनमा प्रकाशित एक लेखमा उल्लेख छ। 'औद्योगिक क्रान्तिमा महिलाको भूमिका' नामक लेखमा भनिएको छ, 'औद्योगिकीकरणभन्दा अगाडि प्रायः महिलाहरू कपडा सिलाउने र फाटेका लुगा मर्मत गर्ने, बालबच्चा हुर्काउनेका साथै खेतीकिसानी जस्ता पारम्परिक कामहरू गर्थे।' तर, औद्योगिक क्रान्तिको सिलसिलामा महिलाहरूको परम्परागत भूमिकामा परिवर्तन हुन सुरु भयो।

पुरुष सराबर नै कारखाना र खानी क्षेत्रमा काम गर्न थाल्नु, सोही अनुसारको संगठन र राजनीतिक चेतनाको संसर्गमा पुगेपछि महिलाको चेतनामा विकास भएको देख्न सकिन्छ। महिलाहरूले औद्योगिक क्षेत्रमा काम गरे पनि पुरुषको भन्दा आधा कम ज्यालामा काम गर्नुपथ्र्यो। जब घरबाहिरको बाहिरी संसारमा पाइला हालेर त्यस्तै खालको नवीन चुनौतीको सामना गर्न प¥यो, त्यहाँबाट परिस्थितिबाट नै महिलाहरूमा आफ्नो हकअधिकारका लागि जागरुक हुने वातावरण तयार भयो।

त्यसैले त महिलाहरूले समान कामको समान ज्याला, मताधिकारको प्रयोग लगायतका कुरामा आफ्नो हकदाबी गर्न थाले। यसले युरोपेली सन्दर्भमा महिलालाई संगठित हुन सिकाउँदै राजनीतिक, आर्थिक, सामाजिक लगायतका अधिकार लिनका लागि क्रियाशील पनि बनायो। राजनीतिक चेतना र महिला मुक्तिको आधुनिक अवधारणाहरू सहरकै उपज हुन् भन्ने कुरा यसले पुष्टि गर्छ।

नेपाली समाज अहिले संस्कृतिका क्षेत्रमा सामन्तवाद र अर्थव्यवस्थाका रूपमा पुँजीवादको मि श्रणमा बाँचिरहेको छ। यसको सबैभन्दा मार भोग्नेमा श्रमजीवी महिला नै छन्। उनीहरू सामन्तवादी संस्कृति र मूल्यमान्यताबाट उत्पीडित पनि छन्, पुँजीवादी दुनियाँबाट शोषित पनि छन्। समाजशास्त्री चैतन्य मिश्रले 'पुँजीवाद र नेपाल' पुस्तकमा पुँजीवादका सन्दर्भमा अलौकिकता, भाग्यवाद, ईश्वरवादको साटो ऐतिहासिक भौतिकवादी संस्कृतिको निर्माण गर्दै एवं उत्पादन सम्बन्ध लगायतका अन्य क्षेत्रहरूमा परेका गाँठा फुकाउँदै वा अन्तरविरोधहरूको हल गर्दै जानु आवश्यक बनेको बताएका छन्।

तर, नेपाली सहरमा कस्तो पुँजीवाद आएको छ भने तीज, शिवरात्रि, स्वस्थानी पूजाजस्ता भाग्यवादी, ईश्वरवादी र पितृसत्तावादी संस्कारले पनि निरन्तरता पाएकै छ, अनि महिलालाई वस्तु बनाउने सुन्दरी प्रतियोगिताहरू पनि चलिरहेका छन्। त्यसकारण श्रमजीवी महिलाका हकमा सांस्कारिक हकमा सामन्तवादको उत्पीडन पनि कायमै छ भने पुँजीवादी व्यवस्थाको शोषणकारी प्रभाव पनि बढ्दो छ।

केही वर्षअगाडि मार्टिन चौतारीको आयोजनामा भएको युवा महिला सम्मेलनमा एकजना अनुसन्धाता महिलाले सहरी महिला जागिर र पारिवारिक दायित्वको दोहोरो मारमा परेको आफ्नो अनुसन्धानपत्रमा उल्लेख गरेकी थिइन्। हाम्रो समाजको परम्परागत दृष्टिले महिलालाई घरबाहिरको कामका लागि उपयुक्त मान्दैन। महिलाको मूल दायित्व अझै पनि परिवार–सेवा अर्थात् बच्चा जन्माउनेदेखि हुर्काउने, सासूससुराको ख्याल राख्ने, खाना पकाउने र श्रीमान्को सम्पूर्ण आवश्यकता पूरा गरिदिने ठानिन्छ। र, पनि परिवारको अर्थप्रणालीका खातिर महिला घरबाहिर निस्किइरहेकी छ।

समाजको फेरिएको उत्पादन सम्बन्धका कारण पितृसत्ताले महिलालाई ढोकाबाहिर जान अनुमति प्रदान गरेको हुन्छ। तर, केही घन्टे घरबाहिरको 'स्वतन्त्रता'सँगै महिलामा अत्यधिक कार्यबोझ थपिएको छ। घर र पेसाबीचको सन्तुलनको मारमा निम्नमध्यम र मध्यम वर्गका सहरिया महिलाहरू चेपिएका छन्। पुँजीपति वर्गका महिलाका हकमा भने सहर एक सुखसुविधायुक्त जिन्दगीको पर्याय हो।

यिनै कामकाजी भनिने श्रमजीवी महिलालाई 'मुक्ति'का लागि सहर अर्थात् बजारले 'सुपर उमन'को अवधारणा अघि सारेको छ। घरदेखि कार्यालय र कारखानासम्म, सासूससुरादेखि छोराछोरी र श्रीमान्सम्म असल जागिरे, असल बुहारी, असल आमा र असल श्रीमतीको होडमा फिट हुने महिला नै 'सुपर उमन' हुने मान्यता सहरले स्थापित गर्न खोजेको छ। पितृसत्तालाई पनि जोगाउन र बजारसत्ता (पुँजीवादी व्यवस्था)लाई पनि अनुकूल हुन महिलालाई प्रशिक्षित गर्ने गरिएको छ।

हाम्रो समाजको परम्परागत दृष्टिले महिलालाई घरबाहिरको कामका लागि उपयुक्त मान्दैन। महिलाको मूल दायित्व अझै पनि परिवार–सेवा अर्थात् बच्चा जन्माउनेदेखि हुर्काउने, सासूससुराको ख्याल राख्ने, खाना पकाउने र श्रीमान्को सम्पूर्ण आवश्यकता पूरा गरिदिने ठानिन्छ।

भारतीय साहित्यकार कात्यायनीका अनुसार 'उत्पादनको क्षेत्रमा महिला र पुरुषको कामको प्रकृतिमा भेद गरेर नारी श्रमलाई बढीभन्दा बढी सस्तो बनाइरहेको छ, उनीहरूलाई तथाकथित 'हल्का', 'स्त्रीयोचित', दिक्कलाग्दो र अधिक मिहेनत पर्ने काममा लगाइरहेको छ भने 'गृहिणी'को दायित्वबाट बाँधिएको छ।' सहरमा महिला मुक्त त छ, धेरै अर्थमा परिवार–सेवाबाट।

सहरी जीवनमा अभ्यस्त भइसकेको अधिकांश परिवारको सामूहिक स्वरूप भत्किसकेको र घरबाहिर ननिस्की जीवन चल्न असम्भवप्रायः हुने भएकाले महिला घरका चार दिवार नाघेर बजारमा पुगेकी हो। यो एक हिसाबले परम्परागत संरचनाबाट मुक्ति नै हो। तर, त्यो मुक्ति घरभित्र थुनिएको अवस्थाबाट मात्रै हो, बजारमा पुगेका धेरै सहरी महिलालाई व्यवस्थाले वस्तुमा फेरिदिएको छ।

मेरा परिचित एक जोडी श्रीमान्– श्रीमती दुवै शिक्षक थिए। श्रीमान् बिहान जुरुक्क उठेर चिया पसलमा चियागफ छाँट्न पुग्थे भने उनकी श्रीमती खाना पकाउने, छोराछोरीका सम्पूर्ण धन्दामा लाग्थिन्। श्रीमान्चाहिँ चिया पसलबाट फर्केर खाना खाएर आरामले स्कुल जान्थे भने श्रीमतीचाहिँ हतारहतार छोराछोरीलाई खुवाएर जुठो भाँडो सकेर बच्चालाई लिएर स्कुल दौडन्थिन्।

अहिले उनीहरू सेवानिवृत्त भइसके, पेन्सन पाकिसक्यो। पछि थाहा भयो, समान भूमिकामा रहेकी श्रीमतीजीको तलबमा श्रीमान्जीको एकाधिकार पो रहेछ। यस्तै समान खालको घटना भारतीय सहरी समाजमा पनि भेट्न सकिन्छ। केही वर्षअघिको 'हंस' पत्रिकामा भारतीय लेखक सुशीला टाकभौरले आफ्नो यस्तै भोगाइको संस्मरण लेखेकी थिइन्। उनी पेसाले विश्वविद्यालयमा प्राध्यापन गर्थिन् तर उनको तलब बुझ्न श्रीमान् पुग्थे, त्यो पनि श्रीमतीलाई अनुमति निवेदन लेख्न लगाएर।

यो सिलसिला वर्षौंसम्म चल्यो र एकपटक उनले आफ्नो तलब आफैं लिन्छु भन्दा श्रीमान्को कुटाइ खानुपर्‍यो। सहरी महिलाहरू उत्पादन र आर्यआर्जनमा लागे पनि सम्पत्तिमाथिको नियन्त्रणमा पितृसत्ता धेरै हदसम्म एकाधिकारी छ भन्ने यो एउटा सानो उदाहरण हो। महिलाकै नाममा घरजग्गा भए पनि श्रीमान्को अनुमतिबिना बेचबिखन गर्ने अधिकार नभएका घटनाहरू मिडियामा बेलाबेला आउने गरेका छन्।

पुँजीवादी सहरको विशेषता नै उत्पादनका साधनका अत्यधिक उपयोग गरेर अत्यधिक मुनाफा आर्जन गर्नु हो। त्यसैअनुरूप सहरमा पुगिसकेपछि महिलाको स्थिति श्रमिकमा बदलिन्छ। त्यसैले स्वभावतः श्रमिकबाट कम दाममा अत्यधिक काममा जोताउनु यसको विशेषता नै बन्न पुग्छ। महिला घरबाहिर निस्केर सहरमा काममा पुगे पनि घरघरका काम, परिवारभित्रको पितृसत्तात्मक सोच उस्तै छ। जसरी भए पनि महिलाले घरको काम त भ्याउनैपर्छ। यसका लागि सहरका श्रमजीवी महिला बिनाआराम, बिनासामाजिक सुरक्षा नै आत्मनिर्भर जीवनका निम्ति झन् बढी काममा जोतिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.