प्रधानाध्यापक कोइरालामाथि आक्रमण : सिके राउतका कार्यकर्ता पक्राउ
राजविराज : विद्यालयमा कुटपिट गरेको आरोपमा प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका ३१ वर्षीय शंकर भनिने ज्ञानेन्द्रकुमार खडगालाई पक्राउ गरेको छ ।
बी.पी. स्मारक पब्लिक माध्यमिक बिद्यालय भारदहका निमित्त प्रधानाध्यापक ४९ वर्षीय लेखनाथ कोइरालालाई खडगाले विद्यालयको कार्यालय कक्षमै गत शुक्रबार हात मुक्काले कुटपिट गरेको आरोपमा खडगा पक्राउ परेका हुन् ।पक्राउ परेका खडगालाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत कारवाही थालिएको प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए ।
कोइरालाको अनुहारभरी चोटपटक लागेको छ । रक्ताम्य भएर बेहोस भएका निमित्त प्रअ कोइरालाको भारदहस्थित अस्पतालमा उपचारपश्चात राजविराजस्थित अञ्चल अस्पतालमा उपचार भएको छ । उदयपुरको त्रियुगा नपा–१२ प्रतिभा टोल घर भएका मावि शिक्षक कोइराला १५ वर्षदेखि यो विद्यालयमा कार्यरत छन् ।
आरोपित खडगाले भने विद्यालयमा शिक्षकहरु अनुपस्थित रहेको विषयमा सोधपुछ गर्दा बढेको विवादपछि धक्काधक्का हुँदा चोटपटक लागेको हुन सक्ने बताए ।
विद्यालयभित्र कुटपिट गर्ने खडगालाई कडा कारवाही गर्न माग गर्दै प्रधानाध्यापक प्रकाश गुप्ताले इलाका प्रहरी कार्यालय भारदह, जिल्ला प्रहरी कार्यालय सप्तरी, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा समन्वय समिति, हनुमाननगर कंकालिनी नगरपालिका कार्यालय, वडा नम्बर १ को कार्यालयमा समेतमा उजुरी दिएका छन् ।
सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका स्थानीय नेतासमेत रहेका खडगाले विद्यालय हाताभित्रै जिम क्लब खोलेर प्रशिक्षण दिइरहेको बताउँदै शिक्षकहरुले याे हटाउन समेत माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !