परिवर्तित सहर (फोटो फिचर )
अनेक आयाममा बदलिइरहेको छ-सहर। सहरको दृश्यमा सिमेन्टको जंगलको रूपमा गुजुमुज्ज घरहरू देखिन्छन्।यहाँको दृश्यमा मानिसका जुत्ताका छाप छन्। फोहोरको थुप्रो, चोक, गल्ली, ट्याम्पो, सवारीका चर्को हर्न, बत्तिँदै दौडिरहेका मोटरसाइकल र तिनका साइरन। टाटेपाटे हुँदै गएको र भत्किँदै गएको कालोपत्रे सडक, अनेक विज्ञापनका बोर्ड, सिनेमाका पोस्टर, बस स्ट्यान्ड। सडक किनारमा चिया, पानीपुरी, चनाचट्पटे, फास्टफुड बेच्नेहरूको लाइन— मेरो काठमाडौं अनौठो सहर हो।
सहरमा हरेक दिन दृश्यहरू बदलिइरहन्छन्। र, सहर अव्यवस्थित बन्दै गएको दृश्य हरेक दिन सिनेमामा परिवर्तन भइरहने दृश्यझैं लाग्छ। म चाहन्छु— मेरो सहरमा बाटोको वरिपरि हरिया रूख हुन् जहाँ म स्वच्छ सास फेर्न सकूँ। व्यवस्थित बस्ती होस्, जहाँबाट म निस्सासिएर भाग्न नपरोस्। मेरो सहरमा बाटो बनेकै भोलिपल्ट खाल्डो नबनोस्, जहाँ खानेपानीका लागि घन्टौं लाइन बस्न नपरोस्। आज सहरका मजस्ता हरेक बासिन्दाको रहर हो यो।
सानो छँदा मैले जुन सहर देखेको थिएँ, त्यो सहर अहिलेको दृश्यमा छैन। माथि नै भनिसकेँ, सहर अहिले कंक्रिटको जंगल भइसकेको छ। छिनछिनमा बदलिइरहेको मेरो सहरको साक्षी बसिरहेको छु म। सडकदेखि सदनसम्मका सबै दृश्य अव्यवस्थित छन्।
म काठमाडौं सहरको केन्द्रबाट करिब १३ किलोमिटर टाढा बस्छु। केन्द्रसम्म दैनिक आवतजावत गर्दाको पीडा आफ्नो ठाउँमा छँदैछ। सहरको कोलाहलबाट केही घन्टा भए पनि शान्त र सुन्दर ठाउँमा बस्ने रहर सधैं हुन्छ मलाई। घर– अफिस गर्दाको टेन्सन सम्झँदा भागेर कतै टाढा जाऊँजस्तो सधैं लाग्छ।
मेरो सहरको सडक यस्तो छ जहाँ दौडिनु दुःखलाई निम्त्याउनु मात्रै हो। हरेक गुडाइमा खाल्डाखुल्डीमा उफ्रिनु, धुलोमा निस्सासिनु मेरो दैनिकी हो। यहाँको अवस्था देख्दा यस्तो लाग्छ— सरकारले आफ्नो विवेकमा सिमेन्टको ढलान गरेको छ। सहरले अब यहाँ आउने मानिसलाई आकर्षित गर्न नयाँ योजना बनाउनु जरुरी छ। सधैं सोच्छु- म सहरबाट भाग्नु नपरोस्।

.jpg)








प्रतिक्रिया दिनुहोस !