कांग्रेस पदाधिकारी जिल्ला सभापति भेलामा केन्द्रित

काठमाडौं : कांग्रेसका नवनियुक्त उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्त नेताहरूले पार्टीको आसन्न जिल्ला सभापति भेला, महासमिति बैठकसँगै पार्टी सुदृढ बनाउन केन्द्रित हुने बताएका छन् ।
पार्टीमा विवाद चुलिइरहँदा शुक्रबार कांग्रेस सभापति शेरबहादुुर देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महतलाई मनोनयन गरेका थिए ।
उपसभापति निधिले आफूहरू चाँडै नै पार्टीले गठन गर्ने विधान मस्यौदा समितिदेखि पार्टीका विभागलाई पूर्णता दिनमा लागेको बताए । उनले भने, ‘सभापतिकै निर्देशनअनुसार काम गर्न लागेका हौं ।’
महामन्त्री खड्का केही साताअघि दुर्घटनामा परेका थिए । अहिलेसम्म पनि उपचाररत नै रहेका उनले अर्को साता मात्र आफूले काम थाल्ने बताए । उनले जेठ अन्तिम साता जिल्ला सभापति भेला र भदौसम्म हुने महासमिति भेला नै पार्टीको हालको प्रमुख कार्यभार रहेको बताए । सहमहामन्त्री महतले जिल्ला सभापति भेला काठमाडौं या हेटौंडा कहाँ गर्ने अनौपचारिक छलफल चलिरहेको बताए ।
१३ औं महाधिवेशनपश्चात् सभापति देउवाले पदाधिकारी मनोनयन र पार्टीका विभाग गठन गरेका छैनन् । पदाधिकारी मनोनीत भएलगत्तै निधि, खड्का र महतले शनिबार असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग भेटेका थिए । भेटमा पार्टीका विभाग गठन र जिल्ला सभापति भेलाबारे छलफल भएको थियो । पदाधिकारी मनोनयन भएको बैठकमा अनुपस्थित नेता पौडेलले सभापति देउवाविरुद्ध देशदौडाहा गर्ने घोषणा गरेसँगै निधि, खड्का र महतले उनलाई फकाउने प्रयास गरेका थिए ।
सहमहामन्त्री महतले भने, ‘एकताबद्ध भएर पार्टी पुनर्निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले आपसी मतभेद चर्काउनु हितकर हुँदैन ।’ वरिष्ठ नेता पौडेलले जिल्ला सभापति र महासमिति भेलामा देउवाविरुद्ध मोर्चाबन्दी गर्ने संकेत दिएपछि नवनियुक्त पदाधिकारीहरू सभापतिलाई बलियो बनाउने ध्येयमा लागेका छन् । निर्वाचन समीक्षा गर्न हालै बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाको तीब्र आलोचना भएको थियो ।
प्रतिक्रिया दिनुहोस !
