समृद्धिको वाधक को हो ?
हाम्रो प्रमुख सम्भावना अनि चुनौती नेपाल युवा देश हुनु हो। अहिले आधा नेपाली २२ वर्षमुनिका छन्। अबको २० वर्षपछि विस्तारै यो तथ्यांकले बुढ्यौली रूप लिन्छ। नेपाल युवा देश रहँदैन अनि विकास गर्न निकै गाह्रो हुनेछ। विकासको प्रमुख आवश्यकता भनेको सीपमूलक युवा नागरिक हुन्। तसर्थ, हामीसँग हाम्रो देशलाई पहिलो विश्वमा उकास्न अब हाराहारी २० वर्ष जति मात्र समय बाँकी छ।
हामीले केही समययता ‘समृद्धि’ रटान लगाउँदै आएका छौं, तर हामीले हामी कस्तो समृद्धि ल्याउन खोज्दै छौं अनि त्यो समृद्धि कसरी प्राप्त हुन्छ भन्नेबारे खासै छलफल गर्न सकेका छैनौं। हामी उधारो समृद्धि सपनामा मस्त छौं।
समृद्धिका तीन सामाजिक वाधक
नेपाली समाजको केही चरित्र छ जसले नेपाललाई समृद्ध बन्नबाट रोक्दै छ। अब हामीले हाम्रो समाजको उत्थानको निम्ति व्यक्तिगत, सामाजिक अनि राजनीतिक रूपबाट मुख्यतया निम्न चरित्रमा सुधार अनि बहस चलाउन जरुरी छ।
कामको सम्मान
कोरियामा सन् १९७० मा ‘सेमाउल उन्दोङ’ (नयाँ गाउँ अभियान ) अभियान सञ्चालन गरियो। ‘काम नगर्ने भए खाना नै नखाऊँ’ भन्ने नाराको साथमा प्रत्येक नागरिकलाई राष्ट्र निर्माणमा अपिल गरियो। कामको सम्मान गर्न सिकाइयो। समृद्धिको यात्रामा नागरिकको भूमिकालाई प्रधान बनाइयो। फलस्वरूप नागरिकले आफ्नो सपनालाई नेतृत्वको योजनासँग जोड्न सफल भए। यो अभियान अनि भावना समृद्धिको आधार बन्यो।
हाम्रो समाजको एउटा समस्या छ। हामी कामको सम्मान गर्न जान्दैनौं। अझ, हामी कामलाई हेप्ने गर्छौं। हामी कामलाई ठूलो काम अनि सानो कामको रूपमा बुझ्छौं अनि कामलाई प्रतिष्ठाको विषय बनाउछौं। हाम्रो यो व्यवहार अनि बुझाइले समृद्धिको यात्रामा ठूलो तगारो बन्ने अवस्था देखिएको छ। ‘उद्यमशीलता अनि उत्पादनशील’ समाज निर्माणका निम्ति कामको सम्मान निकै महत्वपूर्ण छ।
समृद्धि अनि विकासलाई लागि दक्ष जनशक्ति प्रारम्भिक पूर्वाधार हो। हामीले प्राविधिक अनि विकासे जनशक्ति उत्पादनमा कुनै पनि गृहकार्य गरेका छैनौं। अहिले पनि सीपमूलक काम जस्तै प्लम्बिङ, बिजुलीको काम, निर्माणका कामदेखि कपाल काट्ने कामसम्मका कामलाई हामीले महत्वपूर्ण मान्न सकेका छैनौं। हामी यस्ता कामलाई प्रतिष्ठाको विषय बनाउँछौं जसले गर्दा उक्त कामबाट सिर्जना हुने रोजगारी गुमाउँदै छौं। तसर्थ, कामको सम्मान अनि उक्त कामको व्यवसायीकरण महत्वपूर्ण छ।
‘डकर्मी’ भन्ने टेलिफिल्ममा हरिवंश आचार्यले मोटरसाइकल चढेर आउने, सफा लुगा लगाएर हिँड्ने अनि डकर्मी काम गर्ने गर्दा उक्त पेसाको नै इज्जत बढेको थियो। कामको सम्मान भएको थियो। हो, अब हामीले काम गर्ने तरिका पनि बदल्न जरुरी छ अनि कामलाई हेर्ने दृष्टिकोण पनि बदल्न जरुरी छ।
अहिलेसम्म लगभग सबै पार्टीले जातीयता, वर्ग अनि राष्ट्रियताको नाममा राजनीति गरेका छन्। तर त्यही पार्टीहरूले त्यही वर्ग अनि त्यही समुदायले अँगाल्दै आएको पेसालाई उत्थान गर्न सकेका छैनन्। अबको राजनीतिले जातीयता अनि राष्ट्रियतालाई उद्यमशीलतासँग जोडेर राजनीति गर्न जरुरी छ। अब माझी परम्परागत पेसा मात्र होइन, उद्यम अनि व्यवसाय बन्न जरुरी छ। यदि हामीले कामलाई हेर्ने दृष्टिकोण बदल्न सक्यौं भने हामी समाज बदल्न सक्छौं। यो बदलावले समृद्धि ल्याउन सक्छ।
प्रोत्साहन अनि सजायको संस्कार
जबसम्म नागरिकदेखि जनप्रतिनिधिसम्मलाई राम्रो काममा साथ पाउँछु अनि खराब काममा सजाय पाउँछु भन्ने अनुभूति हुँदैन तबसम्म हामीले उन्नतिको बाटोतर्फ उन्मुख हुन सक्दैनौं। कानुनी तवरबाट सुरु गर्दै यो संस्कारलाई हाम्रो व्यवहार बनाउन जरुरी छ। समृद्धिका निम्ति अर्को सर्त सभ्य समाज हो।
विभिन्न संस्थाहरूमा कसैले राम्रो गर्यो, प्रगति गर्यो भने हामी खुट्टा तान्ने, उसको कुनै कमजोरीलाई ठूलो बनाएर उसलाई गिराएर आफू राम्रो बन्ने प्रवृत्ति छ। यो प्रवृत्तिले व्यक्ति र समाजलाई अगाडि बढाउन सक्दैन। जब समाजले व्यक्तिलाई इमान्दार अनि प्रगति गर्न प्रेरित हुन सक्दैन, तब देशले कसरी प्रगति गर्न सक्छ ? सक्दैन। समृद्धि प्रोत्साहन अनि सजायको अनुभूतिबिना सम्भव छैन। प्रोत्साहन अनि सजायको नीतिले अनियमितता, ढिलासुस्ती, शक्तिको दुरुपयोग जस्ता प्रवृत्तिलाई समेत निर्मूल पार्दै जान्छ।
सामूहिक भाव
नेपालमा संसारकै उत्कृष्ट डाक्टर छन्, तर अस्पताल राम्रो छैन। यहाँ विश्वलाई नै सिकाउने इन्जिनियर छन् तर हामी पूर्वाधारमा पछाडि छौं। हामीकहाँ संसारसँग भिड्न सक्ने खेलाडी छन्, तर उनीहरूको संस्था नै बन्द हुने अवस्थामा छ। हामी व्यक्तिगतरूपमा सफल बन्दै छौं तर सामूहिकरूपमा असफल छौं। हामी यहाँ मात्र होइन, विदेशी भूमिमा पनि गुठी, संस्था, पार्टीको नाममा विभाजित छौं। यो चरित्र समृद्धको वाधक हो। जबसम्म हामीले व्यक्तिको सफलतालाई समाजको सफलता बनाउन सक्दैनौं तबसम्म उद्यमशील समाज अनि समृद्ध राज्य बन्न सक्दैन।
जबसम्म नागरिकदेखि जनप्रतिनिधिसम्मलाई राम्रो काममा साथ पाउँछु अनि खराब काममा सजाय पाउँछु भन्ने अनुभूति हुँदैन तबसम्म हामीले उन्नतिको बाटोतर्फ उन्मुख हुन सक्दैनौं।
हामीले सामूहिक भावको विकास गर्न जरुरी छ। एक्लै व्यवसाय गर्दा सफल हुन निकै गाह्रो हुन्छ। सामूहिक भावले ठूलो पुँजी जम्मा गर्न सक्छ, आत्मविश्वास बढाउन सक्छ। जसले गर्दा हामीले हाम्रो उत्पादन अनि उद्योगलाई समेत ठूलो स्केललाई लैजान मद्दत गर्छ। संगठनमा पनि एकजना व्यक्ति राम्रो नेता बन्न सक्छ, तर उसले राम्रो संगठन बनाएर त्यो संगठनले योगदान गर्न सकेन भने के काम ? तसर्थ, हामीले सामूहिक भावलाई सामाजिक तवरबाट विकास गराउन जरुरी छ। अब ‘आफ्नो गाउँ आफैं बनाउँ ’ जस्ता कार्यक्रम फेरि सञ्चालन गरेर विकास अनि उद्यमशीलतामार्फत सामूहिक भाव जगाउन जरुरी छ। नागरिकको सामूहिक साथ विना समृद्ध सम्भव छैन।
समृद्धिका तीन संरचनागत वाधक
‘फिक्स द वेसिक्स’ भने झैं हामीले हाम्रो राजनीतिक, प्रसाशनिक अनि कूटनीतिक विषयका केही आधारभूत संरचना नै पुनर्संरचना गर्न जरुरी छ। तीमध्ये मुख्य कुरा निम्न छन्।
कर्मचारीतन्त्र
सरकार अनि नागरिकबीचको पुल नै कर्मचारीतन्त्र हो। हाम्रो हालको कर्मचारीतन्त्र नै समृद्धिको वाधक बन्ने देखिएको छ। मन्त्री अनि प्रधानमन्त्रीले चाहेर पनि कार्यान्वयनको पक्षमा काम नहुने अवस्था छ। राज्य व्यवस्था बदलियो तर हाम्रो कर्मचारीतन्त्रको मानसिकता बदलिन सकेको छैन।
कर्मचारीतन्त्रभित्र रहेको आलस्यता अनि कमजोरीलाई चिर्न कर्मचारीतन्त्रको पुनर्संरचना जरुरी छ। केही कर्मचारीलाई अवकाश अनि धेरै कर्मचारीलाई अपग्रेड गर्न जरुरी छ। अनि, सक्षम र रचनात्मक युवालाई कर्मचारी संयन्त्रमा ल्याउन जरुरी छ। अब कर्मचारीले पनि नेताले बोकेको सपनालाई आफ्नो सपना अनि कर्तव्यसँग जोडेर योगदान गर्न जरुरी छ। त्यो ऊर्जा भर्ने काम इमान्दार नेतृत्वको नै हो।
कर्मचारीतन्त्रभित्र रहेको भ्रष्टाचारको लागि इमान्दार नेतृत्व चाहिन्छ अनि कर्मचारीले भ्रष्टाचार नगरी आफ्नो परिवार धन्न सक्ने सेवासुविधा राज्यले दिन जरुरी छ। कोरियामा कर्मचारीलाई भ्रष्टाचारी भावनाबाट टाढा रहन ‘सुनलाई ढुंगा जस्तै देख’ लेखिएको ‘हरियो टाइ’ वितरण गरिएको थियो। साथै, विभिन्न प्रेरक व्यक्तित्वबाट तालिम गराएर प्रेरित गरेको थियो।
अब कार्यालयमा रहेको पार्टीको युनियनको बोर्ड निकाल्न जरुरी छ। कर्मचारीले राजनीति गर्ने होइन। राज्यले अब कर्मचारीतन्त्रमा योग्यता अनि योगदानले प्रोत्साहन पाउने सिस्टम ल्याउन जरुरी छ। हाम्रो नेतृत्वले ‘म घुस खान्न र अब हाम्रो कर्मचारीतन्त्र योग्यता अनि क्षमताको आधारमा चल्छ र अब विस्तारै तपाईंहरू सेवासुविधा बढाउँदै लानेछौं’ भनेर उहाँहरूलाई विश्वासमा लिन सक्ने हो भने कर्मचारीतन्त्र समृद्धिको संवाहक बन्न सक्छ तर यदि अहिलेकै अवस्थामा रहने हो भने समृद्धिको वाधक नै कर्मचारीतन्त्र हुनेछ।
वैदेशिक नीति
नेपाल जुन भौगोलिक अवस्थामा छ, त्यसअनुरूप नेपालले आफ्नो शान्त अनि समृद्धिको निम्ति हामीले कुशल अनि रचनात्मक वैदेशिक नीति अपनाउन जरुरी छ। अब नेपालको विदेश नीतिमा सकभर सबै दलमा राष्ट्रिय सहमति हुनुपर्छ। अब सन्तुलित विदेश नीति अवलम्बन गर्न जरुरी छ। दुई ठूला छिमेकी भारत र चीनसँग समनिकटताको सम्बन्ध राखी उनीहरूको तीव्र आर्थिक विकासबाट अधिकतम लाभ लिने नीतिको नेतृत्व गर्न जरुरी छ। अनि अर्को हामीले बुझ्नुपर्ने भनेको कुनै पनि देश आएर हाम्रो देश बनाइदिने होइन, हाम्रो देश हामीले नै हो।
अब हामीले भारत र चीनसँग रहेको राजनीतिक सम्बन्ध मात्रै सुदृढ बनाउने होइन कि हाम्रो आर्थिक अनि व्यापार सम्बन्ध पनि स्थापित गर्न जरुरी छ। अब नेताहरूले एउटा एम्बुलेन्सका अनि आफ्नो छोराछोरीलाई छात्रवृत्तिका निम्ति दूतावास धाउन बन्द गर्न जरुरी छ। अनि भारत र चीनबाट आएको रेलमा हामीले के भरेर पठाउने भन्ने विषयमा योजना बुन्न जरुरी छ। आत्मसम्मानले समृद्धि अनि समृद्धिले आत्मसम्मान दिलाउने हँुदा यसलाई सन्तुलित हिसाबमा नेतृत्व गरिन जरुरी छ।
सुसंस्कृत राजनीति
अब समृद्धिका निम्ति सबैभन्दा ठूलो सुधार त राजनीतिक संयन्त्रमा अनि नेतृत्वमा आवश्यक छ। पार्टीगत संरचनामा नै व्यापक सुधार आवश्यक छ। राजनीतिमा इमान्दारिता, पारदर्शिता, उत्कृष्ठता अनि पद्धतिसहित सुसंस्कृत राजनीतिको थालनी आवश्यक छ। अहिले शिक्षामा प्राध्यापक अनि विद्यार्थी संगठन नै वाधक बनेका छन्।
उद्योगको अनि कार्यालयको समस्या प्रत्येक पार्टीको युनियन हुन्। अब लगानीका लागि राजनीतिक वातावरणको सुनिश्चितता आवश्यक छ भने पेसागत राजनीतिक संगठन खारेज गर्न जरुरी छ। पार्टीमा नेतृत्व छानिने पद्धतिमा व्यापक सुधार आउन जरुरी छ। राजनीति अहिले नेताहरूले भन्दा पनि बिचौलियाले सञ्चालन गरिरहेका छन्। अब राजनीतिमा नागरिकको सिधा पहुँच हुन जरुरी छ।
निश्कर्ष
समृद्धिका निम्ति केही ‘स्ट्रकचरल’ अनि केही ‘फंग्सनल’ परिवर्तन नगरेसम्म समृद्धिको आधार तय हुन सक्दैन। हामीले हालसम्मको बहसमा समृद्धिको आधार अनि समृद्धि जगमाभन्दा पनि बुइगेलको बारेमा चर्चा गर्दै छौं जुन छोरा पाउनु कहिले कहिले भोटो सिउनु अहिले भने झैं भएको छ। तसर्थ, अब हामी यी दृश्य अनि अदृश्य वाधकबारे छलफल हुन जरुरी छ। नत्र नेताले चुनावमा बाँडेका योजना जस्तै हाम्रो समृद्धि पनि उधारो सपनामै सीमित हुनेछ।